रामलाई अञ्जना सारै मनपर्थ्यो तर अञ्जनालाई राम मनपर्दैनथ्यो । किनकि रामले होटलमा रक्सी पिएको अञ्जनाले देखेको थिई । रामले जीवनमा त्यही एकचोटी पिएको रक्सी उसको जीवनविष बनिदियो । आफूले मनपराएको केटीले त्यसैका कारण बिहे गर्न चाहिनन् । रामले रक्सी एकचोटी बाहेक पिउँदै नपिएको भनेर अञ्जनासँग कसमै खायो तर अञ्जनाले रक्स्याहाको विश्वास हुँदैन भनेर विश्वासै गरिनन् ।
रामले सम्झाउन नसकेकोले आफ्नो बुबा धर्मसँग यसबारेमा सल्लाह मागे । धर्मले पनि अञ्जनाको घरमा गएर उनको आमाबुबासँग अञ्जनाको हात मागे तर रक्सीवाजसँग बिहे गरिनदिने निर्क्यौल गरे अञ्जनाको आमाबुबाले ।
अञ्जनाले अर्कै केटासँग बिहे गरिन् । रामले पनि अर्कै केटीसँग बिहे गर्यो । हुँदा हुँदा १० वर्ष वितिसक्यो ।
धर्मले एकजना मोटरसाइकल दुर्घटना पर्न लागेको व्यक्तिलाई दुर्घटनाबाट आफ्नो ज्यानको बाजी थापेर बचायो । उसको नाम पुष्कर हुन्छ । पुष्करको ज्यान बचेकोले उसले धर्मलाई सर्वस्वनै दिन तयार हुन्छ । तर यसको वदलामा धर्मले सर्वस्व नलिने तर एक छाक भात मात्र ख्वाउन आग्रह गर्दछ , त्यो पनि तत्कालै । किनकि धर्मले कर्णालीको बासिन्दाले जस्तै भात नखाएको धेरै वर्ष भइसकेको थियो । त्यसैले उसको आँखाले एकछाक भातभन्दा ठूलो यो दुनियामा उसले अरु केही देखेन । पुष्कर भने अफिस जाने हतारोमा थियो त्यसैले उसले आफ्नो बाइक पछाडि धर्मलाई राखेर आफ्नो घरमा लगेर श्रीमतीलाई भन्यो ः– “उहाँ बुबालाई भात खुवाएर पठाऊ, उहाँले मेरो ज्यान बचाउनु भा’ छ, तिमीलाई विधुवा हुनुबाट बचाउनु भा’ छ , लौ म हिँडेँ, उहाँलाई भात खुवाएर स–सम्मान पठाउनु ल ? म गएँ ।”
यता पुष्करको श्रीमती त उही अञ्जना हुन्छे । त्यसैले अञ्जनाले पुरानो “मेरो रामसँग बिहे गर् कि बिहे गर्” भनेको रिस अझै नमरेकोले “उहाँले भात खुवाएर पठाऊ भन्नुभएको रहेछ ल भात खानुस्” भनेर निस्तो भात खुवाई पठाइन् ।
गुणको बदला जसलाई गुण गरेको हो उसले मात्र तिर्दछ र तिर्न सक्दछ । आफ्नै जीवनसाथी नै भए पनि दोस्रो पक्षमा गएपछि त्यसको परिणम गुणी पक्षले पाउन सक्दैन र बैगुणमा परिणत हुन्छ ।
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com
