हो,
म भ्रम पालेर अचेल
अविश्वासको दाना पानीले पोस्दैछु
बिश्वास रोपिरहेछु ढुंगो पुजेर
म अलौकिकता प्राप्तिको
अमुर्त चहानाले थलिएर
ओछ्यान परेको धेरै भयो
देख्नेहरू कुसलै देख्छन
दिग्भ्रान्तिले चर्किएको मुटु
शान्तिको कामना गर्दै ढुंगा पुज्छु
अनि रमाउछु आत्मरतिमा
म कती बेखुब छु,
मानव निर्मित मुर्तीलाई भगवान मान्छु
दुध चढाउछु, दुधे छोराको भाग काटेर,
फलफुल चढाउछु बुढी-आमाको आँखा छलेर
भाग्यलाई हतियार बनाएर,
लेखान्त भन्ने शब्दको भ्रममा,
मन्दिर धाउछु, लमतन्न हुन्छु
चिरिन्जीवी हुने लालाशामा
फुलको सुन्दरतालाई बलाकृत गरेर
ढुंगाको मुर्ती सजाउछु,
अनि रमाउछु,
हरेक पल,
हरेक पल,
हो म आजकल भ्रमका फुलबारीहरूमा
भ्रमरा झै डुलेर थुनिन्छु
गोधुलीसँगै धर्मको कमलभित्र,
अनि निशसिएर् उकुस मुकुसमा
बिताउँदैछु कयौ रातहरू
सुन्दर बिहानीको पर्खाइमा
तर,
झुल्किन्छ उही अट्हासपूर्ण विहानी
भ्रमको कुहिरोको घुम्टो ओढेर
हो,
म जस्तै मान्छेहरू
धर्मभीरु बन्ने बहानामा
हराएका छन काग भएर,
भ्रमको कुहिरोभित्र,
हुटिट्यौले आकाश उचालेको
किम्वदन्ती घोक्दै,
नागले घर्ति बोकेको
लोककथा पढ्दै,
केवल भ्रम पालेर
मेरी आमाले भन्नु हुन्थो
उहाँलाइ हजुरबुबाले
नौ बर्षमै कन्यादान दिनु भयो रे
स्वर्गमा घडेरी किन्न,
माली बाछी दान दिनु भयो रे
पुछ्छार समातेर बैतर्नी तर्न
बिचरा हजूर बाको
कथित् यामराजका बहानले
इह लिला स्वाहा गरी दियो
के उहाँ बैतर्नीको बाटो हुदै
स्वर्ग पुग्नु भयो
मामा तपाईले देख्नु भयो ?
आमा तपाईले देख्नु भयो ?
म सानो छँदा बुबाले खिर डाल्याउनु भयो
मैले सोधे यो के हो किन यसो गरेको
बुबाले भन्नु भयो यो पिण्ड हो
पितृले खान्छन भन्दै धारा माथि राख्नु भयो,
मैले देख्दा देख्दै कुकुरले खायो
मैले प्रति प्रश्न गरे त्यही हो पितृ
उहाँले मलाइ चुप लाग्ने आदेश दिनु भयो
कठैबरा,
स्वर्ग, नर्कको भ्रम फैल्याएर
देब मानवको बर्ग छुट्याएर
पाप धर्मको सिमा कोरेर
निर्मम हत्या गरेर
विवेकको, स्वनिर्णयको, बिचारको
धर्मका ठेकदारहरूको निगाहामा
बाँचेको बिचरा हाम्रो संस्कार
उध्खलन गरेर नयाँ सोचको
उद्घाटन गर्नु पर्छ आफैँबाट
उखेल्नु पर्छ कु-संस्कार
भ्रमको कुहिरो फटाएर
ल्याउनु पर्छ नयाँ विहानी
सुरु गर्नु पर्छ आजैबाट ।
अस्तु
तिर्थ’यात्री”पौडेल
बहराइन
