कविताहरू – ५
पारसमणि शम

एक

मानिसहरूमा एक भिन्न प्रकारको विचार त्यस समय आउने गर्छ जब उसको सम्पूर्ण आय स्रोतका बाटाहरू बन्द हुँदै जान्छन् । वास्तवमा हिजो-आज यस शहरमा पनि यस्तै भइरहेको छ । कविताका सम्पूर्ण आय स्रोतका बाटाहरू बन्द भएका छन् । कविताहरू जस्ताको सबै आय स्रोत बन्द बन्दै गइरहेका छन् । तर कविताले यस शहरमा बाँच्नुछ । जीवन यापन गर्नुछ । यस पापी संसारमा जिएर देखाउनु छ । कविताले संघर्ष गर्नु छ । त्यो कविता कुनै समय सबैकी प्रशंसाकी धनी थिई । उसलाई चाहनेहरू यस समाजमा धैरै थिए । उसका कारनामाहरूका किस्सा दिन दिनै समाचारपत्रहरूमा छापिन्थे । उसलाई रत्न भन्थे मानिसहरू तर आज कविताको जुन अवस्था छ, त्यो देखेर पनि समाज मौन छ । कसैले कविताबारे चासो राख्दैनन् । समाचारपत्रहरूमा पनि कविताको किस्सा छापिन छाडे । कविता अब इतिहासमा बिलाइसकेकी थिई । कविताको स्थितिबारे आज कसैले पत्तो राख्दैन । कविताको किस्सा छापिएको एउटा लेख बहुमुखि प्रतिभाकी धनी कविता चौथो श्रेणीको किताबमा सीमित बन्न पुगेको छ ।

दुई

कवितासँग म सँगै पढ़ेको । सँगै हुर्केको भन्दा पनि हुन्छ । कविता जब दुईमा थिइ म त्यस स्कूलमा पुगेको थिए । कविता निकै गम्भीर प्रकृतिकी थिई सानैदेखि । ऊ एकाग्र चित्तकी थिई । अनि थिई शान्त स्वभावकी । पढ़ाइमा पनि कविता अरूभन्दा निकै तेज नै थिई । सबैकी प्यारी थिई ऊ ।

कुद्ने घोटाजस्तो । ऊ सानैदेखि तेजगतिमा दौडिन्थी । उसको रफ्तार थियो त्यसले एक दिन उसलाई चरमसीमामा पुर्याउनेछ भन्ने सबैको भनाई थियो । ऊदेखि म प्रभावित बनेको थिएँ । वास्तवमा ऊसँग विलक्षण प्रतिभा थियो ।

तर समयको गति कहाँ गएर उल्टो भइदियो त्यो मलाई थाहा भएन । स्कूलमा पिटी उषाकी नामले परिचित कविताको सपना थियो ओलम्पित गोल्ड हत्याउने । ऊ चितुवा जस्तो दौडिन्थी । चौथो श्रेणीमा ओलम्पिक खेलमाथि एउटा लेख थियो । त्यो पढेपछि कवितामा ओलम्पिक गोल्ड जित्ने हुटहुटी लागेको थियो । उसको जीवनको लक्ष्य र सपना थियो ओलम्पिक गोल्ड ।

१३-१४की हुँदा ऊ राष्ट्रिय स्तरकी खेलाडी बनीसकेकी थिई । ऊ राष्ट्रिय स्तरकी एथ्लिट बनेपछि समाचार पत्रहरूमा ऊ दिन दिनै छाउँथिई । कविताबारे पढ्न पाउँदा मलाई गर्व महसुस हुन्थ्यो । यसैबीच कविताले छात्रवृत्ति पाएर राजधानी गई । त्यसपछि केही वर्ष ऊ उसका किस्साहरू पढ़्न पाइन्थ्यो । एकपल्ट एउटा साक्षात्कारमा उसले ओलम्पिक गोल्ड जीवनको सपना भएको बताएकी पनि थिई । चार पाँच वर्षमा उसले जति राष्ट्रिय स्तरका प्रतियोगिताहरू हत्याई त्यति नै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा ऊ छनौट पनि भई । तर यहाँ उसलाई भाग्यले साथ दिएन । ऊ राष्ट्रिय स्तरकी एक होनहार प्रतिभा हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय स्तरमा उसको सफलता देखिएको थिएन । यसका पछि के कारणहरू थिए त्यो सर्वसाधारणलाई थाहा थिएन ।

तीन

आज मैले कवितालाई भेटें । उसको अवस्थालाई देखेर मेरो मन भाँचियो । कविताको कथा सुनेपछि उनको अवस्थाप्रति आफैलाई धिक्कार लागेर आयो । एउटी अन्तर्राष्ट्रिय स्तरकी प्रतिभाले पनि यति दुख पाउछे भन्ने सोचेको पनि थिइन । तर कविताको कथाले मलाई रूवायो ।

कवितालाई मैले आज दश वर्षपछि भेटेको थिएँ । यस दशवर्षमा के-के भयो कविताले मलाई सबै सविस्तार सुनाई । कविताको कथा सुनेपछि यस देशमा कसैले कसैको विश्वास गर्न नसक्ने स्थिति भएको प्रमाणित भएको जस्तो अनुभव मैले गरेँ ।

आज भन्दा दशवर्ष अघि जब उसले जिल्ला स्तरीय एथ्लिटक मिटमा पहिलो स्थान प्राप्त गरेपछि छात्रवृति पाएर राजधानी गएकी कविताबारे केही वर्ष समाचार पत्रहरूमा उसका कारनामाहरू पढ़ेको थिएँ । चार-पाँच वर्षदेखि कविताबारे केही पढ़न पाएको थिएन । ऊ राजधानीमा नै थिई । तर आज अचानक भेट भयो । मैले चिनिन पनि । कविताले नै मलाई बोलाई । उसको परिवर्तित रूप देखेर म दङ्गदास भएको थिएँ ।

चार

राजधानीको एउटा प्रतिष्ठित खेलकूद स्कूलमा उसले भर्ना पाएपछि उसको प्रतिभाले अझ प्रस्फूटित हुने अवसर पाएकी थिई । एकवर्षको छोटो अवधिमा नै उसले आफूलाई राष्ट्रिय प्रतिभाको रूपमा स्थापित गरी । उसले सबभन्दा पहिला आँचलिक स्तरको प्रतियोगितामा गोल्ड जिती । फेरि राष्ट्रिय खेलमा रजत, अर्को वर्ष गोल्ड ।

कविता दुई वर्षभित्रमा अन्तर्राष्ट्रिय खेलाडी बनी । उसले साफ खेलमा भाग लिएर देशका काश्य पदक जिती । अन्य अन्तराष्ट्रिय प्रतियोगितामा पनि उसको प्रदर्शन अन्यको तुलनामा उत्कृष्ट रहेको थियो । समाचार पत्रहरूको स्पोट्स पेजमा उसका किस्सा छापिन्थे । एशियाई खेलका निम्ति उसले तयारी गरिरहेकी थिई । यसैबीच उसमाथि षडयन्त्रहरू शुरू भए, जसको उसले पत्तो पाइन । उसलाई एशियाई खेलमा बदनाम गराउने षडयन्त्र चयन समितिबाट नै भएको थियो । त्यस समय चयन समितिका अध्यक्षले एउटी खेलाडीलाई छनौट गराउन चाहन्थे । तर उनकी त्यस खेलाडी सरिताको प्रदर्शन राष्ट्रियस्तरमा नै राम्रो थिएन । यस्तो स्थितिमा सरिता चयन हुने कुरै थिएन । उनलाई कविता नै बाधा लाग्यो । किन भने एशियाई खेलका लागि सय मिटर दौडमा एकजना खेलाडी मात्र पठाउनु पर्ने बाध्यता थियो । यस बाध्यतामा परेर उनले चयन समितिका अन्य सदस्यको विपरित सरितालाई पठाउन सकेनन् । कविता एशियाई खेलमा चयन भई । एशियाई खेलमा कविताले उत्कृष्ट प्रदर्शन गर्दै काश्य पदक जिती । देशका लागि यो उल्लेखनीय उपलब्धी थियो । तर भाग्यले कविताको साथ छोडेर षडयन्त्रकारीहरूलाई साथ दियो । कविताले पदक त जिती तर त्यो फेरि खोसियो ।

खेलपछिको डोपिङ टेस्टमा उसले प्रतिबन्धित औषधी सेवन गरेको आरोप लाग्यो । उसको क्यारियरमा कालो बादल छायो । डोपिङ टेस्टमा दोषी पाईएकी कविताले कति स्पष्टिकरण दिई थाहा भएन । देश फर्किएपछि कविताले आफूले कुनै त्यसस्तो कार्य नगरेको बताई तर कसले सुन्ने । त्यसपछि कवितामाथि एक वर्षको प्रतिबन्ध लाग्यो । उसले घरेलू प्रतिस्पर्धामा पनि खेल्न पाइन । घर फर्किने विचार गरी तर एक वर्षपछि फेरि उसले आफूलाई अन्तराष्ट्रिय प्रतियोगितामा पाउनु थियो । यसैले उसले घर फर्किने विचार परित्याग गरी राजधानीमा नै संघर्ष गरी बस्ने विचार गरी । अहिलेसम्म कमाएको धन विस्तारै राजधानीको भीडमा सकिन लागेको थियो । नीजि स्तरमा प्रशिक्षण लिनु मँहगो भइरहेको थियो ।

यसैबीच उसलाई राजधानीका एक धनाठ्य व्यक्तिले केही धन दिने भए । कविता भर्खर यौवन अवस्थामा पुगेकी थिई । ती व्यक्तिले कविताको रूप देखेर नै उसलाई प्रशिक्षणका लागि धन उपलब्ध गराउने भएका थिए । कवितालाई पैसाको पूरै आवश्यकता छ भन्ने कूरो ती व्यक्तिलाई राम्रोसँग थाहा थियो । यसैले उनले कवितामाथि खोला जस्तो पैसा बगाउने भई । आवश्यकताले मानिसको विचार नै परिवर्तन गरिदिन्छ । कविता पनि ती व्यक्तितिर विस्तारै आकर्षित बन्न थालेकी थिई । अनि त्यस समाजले देख्दा भलाद्मी देखिने त्यस व्यक्तिको कविता दिन दिनेै शिकार बन्न थालिसकेकी थिइ ।

कविताले पैसा लिन भने त्यस व्यक्तिको विस्तरकोठामा जानुपर्थ्यो, एक दिन उसले आफ्नो अभाव टार्न र लक्ष्य प्राप्त गर्ने चहानामा त्यसै गरी त्यसै दिनदेखि उसको जीवनको कालो अध्याय शुरू भई सकेको थियो ।

एक वर्षको प्रतिबन्धित समय पूरा भएपछि कविता पुनः राष्ट्रिय स्तरका प्रतियोगिताबाट खेलमा फर्किई । तर कविताको फर्काई पहिलाको जस्तो थिएन । लगातार तीनवटा प्रतियोगितामा खराब प्रदर्शन पछि चौथोमा भने मरेर उसले कास्य पदक जिती । समय-समयमा उसले त्यस व्यक्तिको विस्तर पनि तताउनु पर्ने बाध्यता छँदै थियो । अब त उसलाई बानी पनि परिसकेको थियो । विस्तर तताउने प्रवृत्तिले उसलाई रोमाञ्चक तुल्याउँथ्यो ।

ठीक ओलम्पिकको चयन प्रक्रियाको समयअघि कविताको अवैध यौन सम्पर्कको कालो किस्सा मीडियाले छापेपछि उसको ओलम्पिक गोल्ड जित्ने सपना सपना नै रह्यो ।

त्यसपछि कविताको जीवन नर्कतुल्य बन्न पुग्यो । त्यस व्यक्तिले पनि छाडिदियो । कविताका कारनामाका किस्सा अब इतिहास बने ।

आज कविताको कथा सुने पछि मेरो मन भाँचियो ।

कविता जस्ता कति हाम्रा प्रतिभाहरू अन्याय र षडयन्त्रको शिकार बनेका छन् । म जस्ता साथीहरू कथा मात्र सुन्नसक्छौ, गर्न केही सक्दैनौ । कविताहरू दिन-दिनै कविता बन्न पुग्छन् । हामी हेरिरहन बाध्य छौं । हामी चुप छौ । कविताहरूको कथा सुनेर चुप छौं, र चुप बसेर हेरिरहन्छौं तमासा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *