Skip to content

कला र साहित्यका क्षेत्रमा नेपाल

कला र साहित्यका क्षेत्रमा नेपाल
पारसमणि शम

कला र साहित्यका क्षेत्रमा प्राचीन कालदेखि नै नेपाल एक समृद्धशाली राष्ट्र रहिआएको छ| नेपाली भाषाको उदय खस प्राकृत भाषाबाट भएको हो भन्ने विद्वानहरूको मत रहेका कारण नेपाली भाषाको उदय अन्य आधुनिक भारतीय आर्य भाषाहरूसरह दशौं शताब्दीदेखि भएको मानिन्छ| खस प्राकृत भाषाबाट नेपालीसित कुमाउनी र गढवाली भाषाको विकास भएको हो भन्ने मत भाषा वैज्ञानिकहरूको रहेको छ| तर नेपालमा कला र साहित्यको विकास भने नेपाली भाषाको विकासभन्दा धेरै अघि नै शुरू भएको अनेकौं तथ्यहरू पाइन्छन्| लिच्छवि र मल्ल कालदेखि नै हिमालयखण्डमा कला र साहित्यको उदय भइसकेको पाइन्छ| आजको नेपाल त केवल सोह्रौं सत्रौं शताब्दीदेखि विकसित भएको राष्ट्र हो| त्यसभन्दा अघि यो भारतीय उपमहाद्वीपको एक खण्डका रूपमा रहेको थियो| हिमालयखण्डमा पर्ने यस क्षेत्रको लुम्बिनीमा आजभन्दा २५ सय वर्ष अघि भगवान बुद्धको जन्म भएको हो| प्राचीन कालमा नेपाल छुट्टै राष्ट्र थिएन भन्ने कुरो हामी रामायण र महाभारत अनि पुराणहरूबाट थाहा पाउँछौं| रामायणमा सीताको जन्म जनकपुरमा हुनु, महाभारतमा पाण्डवहरू गुप्तवासका लागि विराटनगर जानु अनि पुराणमा वराह क्षेत्रमा भगवान विष्णुको वराहा अवतार हुनु अनेकौं तथ्यहरूले भारतीय उपमहाद्वीपको सांस्कृतिक एकता र अखण्डतालाई दर्शाउँछ| आज पनि नेपालको पशुपति नाथको मन्दिर हिन्दूहरूका लागि सबैभन्दा ठूलो तीर्थ रहेको छ| अतः नेपाल राजनैतिक रूपले अलग राष्ट्र आज भए पनि सांस्कृतिक अनि सामाजिक रूपले भारतीय उपमहाद्वीपको अभिन्न अङ्गका रूपमा प्राचीन कालदेखि नै रहिआएको स्पष्ट छ|
दशौं शताब्दी देखि खसहरू हिमालयतर्फ आजको उत्तराखण्डबाट पूर्वतिर लाग्दा क्रमशः आजको नेपालमा प्रवेश गरेका हुन्| खसहरूले बाह्रौं तेह्रौं शताब्दीमा वर्तमान नेपालको सिजामा खस राज्य स्थापना गरेको तथ्यले यही कुरो पुष्टि गर्छ| खसहरू भारतबाट राजनैतिक एवं सामाजिक कारणले शान्तिको खोजीमा हिमालयतर्फ लाग्ने क्रममा उनीहरू हिमालयका अन्य जनजाति राई, लिम्बू, मगर, तामाङ, नेवार आदिसित मिसिँदै गए अनि खस अर्थात् नेपाली भाषालाई सम्पर्क भाषाका रूपमा स्थापित गर्दै गए| टुक्रा टुक्रा राज्यमा विभाजित नेपाललाई बाइसी-चौबीसी राज्यका रूपमा चिनिन्थ्यो| सा-साना प्रान्तका आ-आफ्नै राजा रजौटाहरू थिए| सत्रौं शताब्दीमा आएर शाह वंशका गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान चलाएपछि आधुनिक नेपालको उदय भएको हो| अनि नेपालले एउटा सिङ्गो सिमाना प्राप्त गरेको हो| आधुनिक नेपालमा भाषा-साहित्य र कलाको प्रचूर मात्रमा विकास भएको पाइन्छ|
नेपाली नाटक र रङ्गमञ्चीय परम्पराको इतिहास निकै लामो देखिन्छ| हरिसिद्धि पुराणअनुसार नेपालमा सर्वप्रथम सन् ८८४-मा हरिसिद्धि नाटक मञ्चन भएको बुझिन्छ| लिच्छविकालमा ललितकलाको विकासमा निकै जोड दिइएको कुरा तत्कालीन नृत्य र कलाकौशलको बारेमा त्यसबेलाका अभिलेखहरूमा उल्लेख गरिएकोबाट समेत पुष्टि हुन्छ| नरेन्द्रदेवको पालामा नृत्य पारखीहरू निकै थिए| यसैगरी द्वितीय जयदेवको समयको शिलापत्रमा ‘पोण्डिमण्डपीका’ र ‘पे्रक्षण मण्डपी’को उल्लेखबाट त्यो बेला ती ठाउँ विभिन्न शुभकार्य गर्न र नृत्य वा नाटक गर्न त्यसको प्रयोग हुन्थ्यो भन्ने थाहा लाग्छ| गोपाल वंशावलीमा चम्पादेवको पालामा चार अङ्कको ‘रामायण’ नृत्य नाटकको आयोजना भएको उल्लेख छ| यी सम्पूर्ण तथ्यहरू हेर्दा लिच्छवि कालमा नाटय-रङ्गमञ्चीय कलाको उल्लेख्य विकास नभए पनि यसको पृष्ठभूमि भने अवश्य तयार भएको थियो भन्न सकिन्छ|
मल्लकालमा आइपुग्दा यस सयममा विभिन्न कला, कौशल र सांस्कृतिक गतिविधिको विकाससँगै नाट्यकलाले पनि एउटा ठोस रूप लियो| इतिहासकारहरू मल्लकाललाई नाटकको स्वर्णकाल समेत मान्दछन्| मल्लकालमा नाटक भन्नाले गीत, नृत्य र अभिनयको सम्मिश्रण मानिन्थ्यो| खासगरी त्यसताका गाइजात्रा, इन्द्रजात्राजस्ता विभिन्न जात्राको अवसरमा प्रस्तुत हुने नाट्यकला विशेष उल्लेखनीय छ| त्यो बेला काठमाडौं, पाटन र भक्तपुर तीनवटै राज्यमा नाटक लेखन र मञ्चन निक्कै हुनुका साथै विभिन्न स्थानहरूमा नाटककै लागि भनेर थुप्रै नाट्यशाला र डबलीहरू पनि निर्माण भएको बुझिन्छ|
नेपाली रङ्गमञ्चीय परम्परामा डबलीको विशिष्ट स्थान रहेको छ| डबलीमा विभिन्न प्रकारको नाच तथा लोक नाटक प्रदर्शन गर्ने चलन त अहिले पनि प्रचलित छ| यस्ता नाच-नाटकहरू लगातार कैयौँ दिनसम्म देखाइन्छ| कार्तिक नाच, हरिसिद्धिको नाच, श्वेतकालीको नाच आदि महिनौं पूर्वाभ्यास गरेर डबलीमा प्रस्तुत गरिन्छ| यसैगरी ‘रोदी’ लोक जनजीवनको अर्को पक्ष हो| समग्रमा हेर्दा डबलीले नाटकलाई सार्वजनिक रूप दिन मात्र सफल भएन विभिन्न समयको नाट्य कलाको विकासमा समेत निकै ठूलो मद्दत पुर्‍याएको छ|
यसैक्रममा नेपालमा विस्तारै साहित्य लेखनतर्फमा पनि साहित्यकारहरू उन्मुख भए| सन् १४०० लेखिएको ‘बडेराजा मलय बम्ब’ कवितांश प्राप्त भएको छ| यो नै नेपाली भाषाको पहिलो कविता हो भन्ने विद्वानहरूको मत रहेछ| यसपछि पृथ्वीनारायण शाहको समय सुवानन्द दासको पृथ्वीनारायण कवितासितै नेपाली कविताको समृद्ध परम्परा शुरु भयो| शक्तिबल्लभ अर्याल, सुरानन्दबॉंडा, वसन्त शर्मा, रघुनाथ भट्टजस्ता कवि हुँदै आदिकवि भानुभक्त आचार्यसम्म आइपुग्दा नेपाली कविताको पृष्ठभूमि बलियो बनेको पाइन्छ|
सन् १७९८ तिर शक्ति वल्लभ अर्यालले पहिलोपटक संस्कृत नाटक ‘हॉंस्यकदम्ब’को नेपालीमा अनुवाद गरे| त्यसपछि भवानीदत्त पाण्डेले ‘मुद्रा राक्षस’को अनुवाद गरे| दुवै नाटकमा नाटकीयताभन्दा आख्यानात्मकता नै बढी थियो| भानुभक्त आर्चायले सन् १८४०-५० तिर संस्कृतको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेपछि नेपालको हरेक क्षेत्र विशेष गरी सामाजिक, शैक्षिक क्षेत्रमा अभूतपूर्व परिवर्तन भयो| नेपालमा शिक्षाको विस्तार भयो भने आम मानिसमा सामाजित जनचेतनाको विकास भयो|
सन् १८४७ देखि नेपालमा राणाहरूको एकतन्त्रीय शासन सुरू भएपछि नेपाली नाटक र रङ्गमञ्च, कला-साहित्यलाई उनीहरूले बढीजसो समय आफ्नो मनोरञ्जनका माध्यमका रूपमा नै उपयोग गरे| राणाहरूको उदयको समयमा भारतको तत्कालीन रङ्गमञ्चमा पारसी थियटरको निकै प्रभाव रहेको थियो|
यसरी त्यो बेला नाटक सारा जनताको लागि नभएर सीमित वर्गको विलासिताको निम्ति प्रयोग हुन थाल्यो| त्यो समयमा हिन्दी र उर्दूको प्रभाव बढेपछि नेपाली नाटकको एकाएक ह्रास हुँदै गएको देखिन्छ| नेपाली रङ्गमञ्चको स्वस्थ परम्परामा यो एउटा अवरोध थियो|
व्यावसायिक परम्परालाई भारतेन्दुले अस्वीकार गरेर भारतीय रङ्गमञ्चमा नवीनता दिन खोजिरहेको समयमा मोतीराम भट्ट भारतेन्दुको सम्पर्कमा पुगे| उनीबाट प्रभावित मोतीराम नेपाल फर्केपछि सन् १८८६ तिर उनले नेपालमा पनि भारतेन्दु शैलीलाई प्रस्तुत गर्ने जमर्को गरेको देखिन्छ| राणा दरबारहरूमा भएको पारसी रङ्गमञ्चको प्रभावलाई हटाएर नेपालीपन र स्तरीयता दिने उनको प्रयास रहेको थियो| मोतीरामले सन् १८८६ मा पहिलोपल्ट नेपाली रङ्गमञ्चमा नेपाली भाषामा कालिदासद्वारा लिखित ‘अभिज्ञान शाकुन्तलम्’को अनुवाद गरी ’शकुन्तला’ नाटक प्रदर्शन गराए| हिन्दी र उर्दूको तत्कालीन बाहुल्यता तोडेर नेपाली भाषाका नाटक प्रस्तुत गर्ने उनको यो जमर्को क्रान्तिकारी कदम थियो त्यसैले उनी नेपाली रङ्गमञ्चका अगुवा मानिन्छन्| उनका अन्य अनुवादित प्रमुख नाटकहरू ‘शकुन्तला’, ‘पद्मावती’ र ’प्रियदर्शिका’ हुन्| उनले नै नेपाली साहित्यलाई भानुभक्तका बारेमा चिनाए| भानुभक्तको रामायण सम्पादन गरी प्रकाशन गरे| भानुभक्तको जीवनचरित्र लेखे अनि कवि भानुभक्तलाई आदिकवि संज्ञा दिए| उनले नेपाली साहित्यमा समालोचना, जीवनलेखन, अनुसंधान, पत्रकारिता आदि क्षेत्रमा नेपाललाई नयॉं दिशा प्रदान गरे| उनले श्रङ्गारधारालाई नेपाली साहित्यमा प्रवेश गराए भने गजल लेखन परम्परा शुरु गरे|
यसैबीच सन् १९०१-मा सरकारको मुखपत्रका रूपमा गोरखा पत्र पत्रिकाको प्रकाशन शुरु भयो| यो पत्रिका आजसम्म नै निरन्तर रूपमा प्रकाशित भइरहेको छ| नेपाली कला-साहित्यको विकासमा यस पत्रिकाको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ|
नेपाली रङ्गमञ्चमा एकातिर सतही र मनोरञ्जनपूर्ण थियटरको बोलवाला र अर्कोतिर संस्कृत परम्परा अघि बढिरहेको बेला मौलिक नेपाली नाटकका प्रथम स्रष्टाका रूपमा पहलमानसिंह स्वॉंर देखा परे| स्वॉंरको नाटक ‘अटलबहादुर’ १९०६ नेपाली रङ्गमञ्चमा एउटा ठूलो क्रान्ति थियो| त्यस समयको नेपाली रङ्गमञ्चको परिवेशमा सर्वथा नवीन प्रयोगको रूपमा रहेको नाटक ’अटलबहादुर’ संस्कृतमूलक रूपान्तरका नाट्यपरम्परा र रोमाञ्चकारी थियटर परम्पराभन्दा बेग्लै रूप लिँदै नेपाली नाट्य परम्परामा देखा पर्‍यो|
सन् १९१६-मा आइपुग्दा श्रङ्गारिक धाराले चरमसीमा नाघेपछि लेखनाथ पौड्याल, महानन्द पौड्याल, सोमनाथ सिग्देल आदिको नेतृत्वमा आध्यात्मिक एवं परिष्कारवादी धाराले नेपाली साहित्यमा प्रवेश पायो| लेखनाथ पौड्यालको ऋतु विचार, तरूण तपसी, सत्यकलि संवाद, लालित्य आदि पूर्वीय दर्शनमा आधारित महत्वपूर्ण पुस्तक मानिन्छन्|
अर्कोतिर नेपाली नाटक र रङ्गमञ्चमा आधुनिकता भित्राउने श्रेय बालकृष्ण समलाई जान्छ्| मौलिक रूपमा शुद्ध नेपाली भाषाको नाटकको आरम्भ गर्ने स्रष्टाको रूपमा सम देखा परे| समको आगमनपछि नै नाट्य लेखन र मञ्चन दुवै क्षेत्रमा एउटा सिङ्गो युगको निर्माण भयो| पूर्वेली, पश्चिमेली र नेपाली लोकतत्त्वको समन्वय गरी एउटा विशिष्ट नाट्यकलाको संरचना गर्ने काम नाट्यकर्मी समले गरे| समका प्रमुख नाट्यकृतिहरू हुन्-मुटुको व्यथा, मुकुन्द इन्दिरा, प्रहृलाद, चिन्ता, प्रेम, म, भक्तभानुभक्त, अन्धवेग आदि|
यसैबीच सन् १९३४-मा काठमाडौंबाट ऋद्धिबहादुर मल्लको सम्पादनमा प्रकाशित शारदा पत्रिकाबाट नेपाली साहित्यका हरेक क्षेत्रमा आधुनिककालको सुत्रपात भयो| कथा, कविता, निबन्ध, समालोचना, संस्मरण आदि हरेक क्षेत्रले आधुनिकता प्राप्त गर्‍यो|
यही क्रममा नेपाली साहित्यले लक्ष्मीप्रसाद देवकोटा जस्ता प्रतिभाशाली कवि एवं निबन्धकार प्राप्त गरिसकेको थियो| देवकोटाले नेपाली कविता र निबन्ध साहित्यलाई त्यो उचाईमा पुर्‍याए जहॉंसम्म आजसम्म नेपाली कविता र निबन्ध साहित्य फेरि पुग्नसकेको छैन| उनको मुनामदनलगायतका एक दर्जनजति खण्डकाव्य, शाकुन्तल, सुलोचना, महाराणा प्रताप, प्रमिथस, पृथ्वीराज चौहान जस्ता महाकाव्य, पागल, भिखारी, गरीबजस्ता सयौं कविता कृतिलगायत लक्ष्मी निबन्ध संग्रह र दाडिमको रूखनेर जस्ता निबन्ध संग्रहले नेपाली साहित्यलाई विश्‍व साहित्य समक्ष खडा गरेको छ|
सन् १९५० -मा नेपालमा राजनीतिक परिवर्तन भयो र राणा शासनको अन्त्य भयो र प्रजातन्त्रको आगमन भयो|
१९५० सालपछि नेपाली साहित्य र कलाको विकासमा जनस्तरबाट उल्लेख्य प्रयासहरू हुन थाल्यो| राणाहरूको दरबारमा देखाइने हिन्दी र उर्दूका रोमाञ्चकारी नाटकहरूभन्दा भिन्न रूपमा विभिन्न चाडपर्वको बेला जनस्तरमा नाटकहरू प्रदर्शन हुन थाले| राणातन्त्रको पतन र प्रजातन्त्रको उदयपछि नै नेपाली रङ्गमञ्च, कला, सङ्गीत र साहित्यले पनि स्वतन्त्र र सङ्गठित रूपमा फैलने अवसर पाए|
यसपछि पुराना कवि साहित्यकारहरूसित नयॉं पुस्ताका साहित्यकार, कलाकार, नाट्यकर्मीहरूको उदयसितै नेपाली कला र साहित्यले निरन्तर विकास गरिरहेको छ| भीमनिधि तिवारी, श्यामदास वैष्णव, हरिप्रसाद रिमाल, बेखारत्न महर्जन, नीरविक्रम प्यासी, गोपीनाथ अर्याल, यमबहादुर, मास्टर रत्नदास प्रकाश, सिद्धान्तराम जोशी, आनन्द थापा, रामशेखर नकर्मी, कृष्णप्रसाद अधिकारी, प्रचण्ड मल्ल, यदुकुमारी, सत्यमोहन जोशी, विजय मल्ल, हरिहर शर्मा, हरिप्रसाद रिमाल, जगन्नाथ तिमल्सिना, महेश थापा, गोविन्द तिमल्सिना, प्रभाकर शर्मा, वीरेन्द्र हमाल, गोपालप्रसाद रिमाल, मोहन कोइराला, बैरागी काइँला, भूपि शेरचन, गुरुप्रसाद मैनाली, विश्‍वेश्‍वरप्रसाद कोइराला, पारिजात, कालिप्रसाद रिजाल, ध्रुवचन्द्र गौतम, कृष्णचन्द्र सिंह प्रधानलगायतका अनेकौ साहित्यकार, कलाकारले नेपालमा साहित्य र कलाको विकास गरिरहेका छन्|
यसैगरी डिजिटल प्रविधिलाई आत्मसात् गर्दै क्यामेरा, टेलिभिजन, सिनेमा आदिलाई प्रत्यक्ष प्रयोग गरिने काम अर्थात् मल्टिमिडियाको प्रयोग बितेको एक दशकमा आएर प्रशस्त भएका छन्| साथसाथै विभिन्न नाट्य संस्थाले कथा, कविता तथा निबन्धको समेत मञ्चन गरेर देखाउने प्रवृत्ति बढेर गएको छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *