भित्ता छेड्दै छालाको रिसाइ
देखाउँछ बाहिर सबलाई टल्पलाई
सहारा सबलाई बन्छ थकाइको
पग्ली पानी पानी बनी तप्किन्छ यो
विकार बोकी निस्कन्छ दुर्गन्ध लिएर
स्वच्छ बनाउन जीवन ऊ हो पसिना
थकाइमा झर्छ पसिना
डर र त्रासमा चिड्चिडिन्छ पसिना
गल्ती गर्दा आत्तिन्छ पसिना
झुट लुकाउँदा डराउँछ पसिना
बस्दा यात्रामा समय लामो
पिल्सिँदै निस्कन्छ पसिना
दुर्गन्ध रहित मानवलाई
गन्धित तुल्याइ झर्छ पसिना
कहिले तातो बनेर आउँछ
कहिले चिसोमा चुहाउँछ
कहिले घामलाई पखाल्दै बग्दछ
कहिले रोमाञ्चलाई नचाउँछ
बसमा रहँदैन कहिल्यै
शरिरबाट निस्की कपडा समाउँछ
कति अनौठो छ यो पसिना ।
फेरो लगाई झर्छ, रोक्छ कसले
कुम्ल्याई रोग ब्याध निचोर्छ यसले
खुला गराउँदै छालाका प्वालहरु
हावा खुवाउँछ आनन्द मान्दै,
अनी
थचक्क थच्क्याउँछ शितल बोटमा
हम्काउन लगाउँछ टोपी समाती
अचम्मको चित्रण बनाई,
बगिरहन्छ पसिना ।
सुरज गिरी (नवलपरासी)
