प्रदिपले पत्रकरिता गरेको तीन वर्ष भइसकेको थियो । आन्दोलनको बेलामा १९ दिन अफिसमा उपस्थित हुन नसकेकोले उसको जागिर गएको थियो । त्यो बेला उसले दैनिक पत्रिकाका लागि दैनिक स्तम्भ लेख्ने काम गर्दथ्यो । उसले तीन वर्षको अवधिमा लेखेका सारा नोटहरू आफ्नो पेनड्राइभमा सेभ गरेर राखेको थियो । पेनड्राइभबाट उसले एउटा सिडीमा पनि सेभ गरेर राखेको थियो । पेनड्राइभमा भाइरस परेकोले उसले डाटाहरू हटाएको थियो । तैपनि पेनड्राइभ नचलेकोले त्यो पेनड्राइभ उसले आफ्नो साथी बिप्लबलाई जिस्केर “ला तँलाई यो पेनड्राइभ उपहार भो” भनेर दिएको थियो । तर बिप्लबले त्यही पेनड्राइभलाई बनाएर त्यसमा गीतहरू सेभ गरेर उक्त पेनड्राइभबाट गीतहरू सुन्दै गरेको थियो । गीत मन नलागेपछि त्यो गीत डिलिट गर्थ्यो र अर्को गीत राखी सुत्रे प्रक्रिया गरिरहन्थ्यो । यसो गर्दा गर्दै उसले पनि उक्त पेन ड्राइभ बिगार्यो र उसले बिग्रेका इलेक्ट्रिक सामानहरू राख्ने घर्रामा उक्त पेनड्राइभलाई थन्क्याएर राखेको थियो ।
प्रदीपको आर्थिक स्थिति जब राम्रो हुनथाल्यो उसले आफूले पहिले तीन वर्ष लेखेका कुराहरूको ४–५ वटा जति पुस्तक प्रकाशन गर्ने भनेर घरका सदस्यहरूसँग सल्लाह गर्यो र उक्त सिडीमा तीन वर्ष मेहेनतको सबै डाटा भएको बारे ठूलो–ठूलो स्वरमा भन्यो । त्यसको भोलिपल्टनै घरमा ठूलो चोरी भयो । सबैजनालाई सुन–चाँदी गर–गहना चोरीको मात्रै चिन्ता भयो र प्रहरीमा पनि यसैबारेमा मात्र उजुरी गरियो तर सिडी चोरीको कसैलाई वास्ता भएको थिएन । मात्र प्रदिपलाई सिडी हराएको चिन्ता भएको थियो । घरका सदस्यहरूले भन्दै थिए “घरमा कत्ति अमूल्य सामान चोरी भइसक्यो, यसलाई भने जाबो एउटा सिडी हराएको मात्रै चिन्ता ।”
केही वर्ष पछि प्रदिपले कम्प्युटर हार्डवेयर पढ्न थाल्यो । उसले हार्डवेयर पढ्दा यो कुरा थाहा पायो कि पेनड्राइभमा डिलिट भएको फाइल फेरि सेभ गर्न सकिन्छ । फेरि त्यो पनि पहिलोपटक पेनड्राइभमा राखेको डाटा सेभ हुन्छ । उसको खुशीको सीमा रहेन किनकि उसले बिप्लबलाई दिएको पेनड्राइभमा उसले पहिले आफूले तीन वर्ष स्तम्भ बनाउँदा बनाएका नोटहरू सबै उक्त पेनड्राइभमा पहिलोपटक राखेको थियो । अनि प्रदिप बिप्लबकहाँ गएको थियो । बिप्लबसँग पहिले उसले दिएको पेनड्राइभ माग्यो । बिप्लवले पनि “बिग्रिसक्या पेनड्राइभ पनि के माग्या होला, लैजा तेरो सामान तँलाईनै भो” भनेर जिस्केर दियो । प्रदिपले त्यो पेनड्राइभलाई एकदम मेहेनत गरेर अत्यन्तै स–साना तारहरूलाई वायरिङ्ग गरेर मिलायो । पेन ड्राइभ भरी गीतै गीत थियो । प्रदिपले सफ्टवेयरको मद्दतले डिलिट भइसकेको उसको पहिलो डाटा भोलिमात्रै निकाल्ने बिचार गर्यो । त्यत्तिबेलासम्म रात परिसकेको थियो तर प्रदिप एकदम दङ्ग परेर ठूलो–ठूलो स्वरमा भन्न थाल्यो “मेरो वर्षौको मेहेनत खेर नजाने भयो । मेरो डाटा मलाई प्राप्त हुने भयो ।” थकित प्रदिप दङ्ग परेर सुत्यो ।
बिहान हुँदा घरमा ठूलो चोरी भइसकेको थियो । सबैजनालाई सुन–चाँदी गर–गहना चोरीको मात्रै चिन्ता थियो र प्रहरीमा यसैका बारेमा मात्र उजुरी दिइएको थियो । पेनड्राइभ चोरीको कसैलाई वास्तै थिएन । मात्र प्रदिपलाई पेनड्राइभ हराएको अत्यन्तै धेरै चिन्ता थियो । घरका सदस्यहरूले भन्दै थिए “घरमा कति अमूल्य सामान चोरी भइसक्यो यसलाई भने बिग्रेको ५०० रुपियाँ जाने पेनड्राइभ हराएको मात्रै चिन्ता ।”
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com
