उसको नाम के हो मलाई थाहा छैन तर माइकल भनेपछि टोलका सबैले उसलाई चिन्दछन् ।
म बिहानै एउटा स्टान्डर्डको होटलमा माइकलसँगै चिया पिउँदै थिएँ । त्यहाँ हामीले एउटा–एउटा समोसा पनि खायौं । खान सकेपछि अलिबेर पैसा कसले तिर्छ उसैलाई फाइदा हुनेजस्तो ताल पर्यो । मैले नै पर्स निकालेर काउण्टरमा गएर साहूजीलाई “कति भयो ?” भनेर सोधेँ ।
“बैसठ्ठी रुपियाँ भो” भनेर साहूजीले भन्यो ।
मैले “कसरी ?” भनेर सोधेँ ।
“समोसा एउटाको १६ रुपियाँ चिया एउटाको १५ रुपियाँ” भनेर भन्यो ।
मैले ६० रुपियाँ दिएँ । “२ रुपियाँ छुट भो” भनेर भनेँ ।
माइकलले रिसाएर काउण्टरमा २ रुपियाँ तिर्यो ।
“पैसा काउण्टरमा तिर्ने होइन क्या, हामीले खाएकै ठाउँमा बिल आउँछ अनि प्लेटमा पैसा राखिदिने, अनि केही टिप्स पनि दिने ब्रोले त सारै इन्सल्ट गर्नुभो ।” उसले भन्दै थियो ।
त्यत्तिनै बेला माइकलसँग बानेश्वरसम्म जाने प्रोग्राम बन्यो । माइक्रोमा बसेर हामी बानेश्वरमा हुइँकियौं । बानेश्वर पुगेपछि मैले झुत्रो लुगा लगाएको मायालाग्दो बच्चा खलासीलाई तीस रुपियाँ भाडा तिरेँ । तर माइकलले त्यो तीस रुपियाँ खोसेर खलासीलाई गाली गरेर “बढी पैसा लिन्छस्, यहाँसम्मको त एकजनाको बार–बार रुपियाँ होइन ? हामीसँग आइडेन्टीटी कार्ड पनि छ ला तँलाई बीस रुपियाँ” भनेर बीस रुपियाँ दियो र दश रुपियाँ खल्तीमा राख्यो ।
उसले मलाई सम्झाउँदै थियो “काठमाण्डौंजस्तो शहरमा कहाँ के गर्ने । कहाँ के नगर्ने भत्रे कुरा ब्रोलाई त पटक्कै आउँदो रहेनछ । साइको चाहिँ नबन न ल ब्रो ?”
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com
