मेरो साथी माइक
मेरो देशमा बहु-उपप्रधानमन्त्री
सोध्छ सोध्छ जस्तो लागेको थियो
किन चासो त्यसलाई
मेरो साथी भएर होला
एकदिन त सोधिहाल्यो
“किन तिम्रो देशमा ४ उपप्रधानमन्त्री?”
म एकछिन घोरिएँ
के जवाफ दिउँ भनेर
ती चारै महारथीको अनुहार
मेरो वरीपरी घुम्न थाले
रातापिरा, टाठाबाठा, गम्म खाईलाग्दा
उपप्रधानमन्त्री हुन सुहाउँदा अनुहार
दुब्ला, भोका, असुरक्षित
जनताहरुका माझ
तर मलाई जवाफ दिनै थियो
मैले अविकशित देश सम्झेँ
अनि भनेँ
“देशको बिकास गर्न”
माइक छक्क पर्यो
भन्दै गयो
“हाम्रो एउटै राष्ट्रपति
एउटै उपराष्ट्रपति
प्रधानमन्त्री चाहिएन त
तिमीहरुको देशमा
राष्ट्रपति, उपराष्ट्रपति
प्रधानमन्त्री अनि
४ जना उपप्रधानमन्त्री !”
भन्दिउ झैँ लाग्यो
तर देश भित्रको लाज
बिदेशीलाई कसरी खोलुँ
मैले ढाकछोप गरेँ
खिसिक्क हाँसे
तर दिक्क भएर भने
“देशको बिकाश चाँडो चाँडो गर्न”
माइक चुप लाग्यो
शायद सोच्यो होला
यो बेवकुफ के भन्छ भनेर
म पनि छक्क परेँ
४ उपप्रधानमन्त्रीले
मलाई बेवकुफ
किन बनाएँ भनेर
त्यो पनि बिकाशको
चरमचुलिमा पुगेको देशको
साथीको अगाडि
म डेरामा पुगेँ
त्यही प्रश्न
निदाउन खोजेँ
निन्द्रा लागेन
अनुत्तरित त्यही प्रश्न
कोल्टे फेरेँ
उत्तानो परेँ
घोप्टो परेँ
त्यही त्यही प्रश्न
त्यसपछि म जुरुक्क उठेँ
लुरु लुरु हिडेँ
ढोका घच्घचाउँदै हिडेँ
माइकले मलाई सोधे झैँ
मैले
जनतालाई सोधेँ
सांसदलाई सोधेँ
मन्त्रीहरुलाई सोधेँ
उपराष्ट्रपतिलाई सोधेँ
राष्ट्रपतिलाई सोधेँ
अनि
चारैजना उपप्रधानमन्त्रीलाई सोधेँ
“हाम्रो देशमा ४ उपप्रधानमन्त्री किन?”
तर
सबैले एउटै जवाफ दिए
“हामीलाई थाहा छैन,
प्रधानमन्त्रीलाई सोध”
इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्
