Skip to content

गजल-संग्रह ‘आँसुले जलेका मनहरूको’ लोकार्पित

  • by


सुरज गिरी (पिएनएन, नवलपरासी)
२०६९ भाद्र ८

गजलकारद्वय खगेन्द्र कुमार अमृत र कुमार श्रेष्ठ यात्रीको संयुक्त गजल संग्रह आँसुले जलेका मनहरू नामक पुस्तक काठमाण्डौ, हनुमान ढोकास्थित भुङ्ग्रो रेष्टुरेण्ट एण्ड बारमा भव्यताका साथ लोकार्पण भयो ।

उक्त कार्यक्रम विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय महासचिव श्रीरमेश पौडेलको सभापतित्वमा भएको थियो । प्रमुख अतिथिका रुपमा गजलकार प्राज्ञ श्रीललीजन रावल आसिन हुनुभएको थियो भने विशेष अतिथिमा विश्वासदिप तिगेला रहनु भएको थियो । उक्त लोकार्पण कार्यक्रममा अतिथिका रुपमा विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाका प्रमुख सल्लाहाकार श्रीसुरज गिरीको पनि उपस्थिति थियो भने देवी नेपाल, पदम गौतम डिवी लिम्बु रेडियो मिडियाबाट, छन्द गजलकार बासुराज चापगाई, गजलकार आनन्द श्रेष्ठ, कृष्ण प्रसाद अधिकारी, चलचित्र निर्देशक सुरभचन्द ठकुरी, नायक संजोक राना, सत्यदेवी अधिकारी, दुर्गा थापा, दुर्गा श्रेष्ठ लगायतका अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई निकै रौनक बनाएको थियो । कार्यक्रम प्रस्तोताका रुपमा इच्छा गुरुङ्ग हुनुहुन्थ्यो भने आँसुले जलेका मनहरू नामक पुस्तकको समिक्षक देवी नेपाल हुनुहुन्थ्यो ।

उक्त लोकार्पण कार्यक्रममा आयोजक विश्व नेपाली साहित्य महासंघको तर्फबाट साउदी अरेबिया शाखाका सल्लाहाकार सुरज गिरीले स्वागत मन्तव्य दिंदै भन्नुभयो– आँसुका धाराहरूले गलाउँदा आज गजलकारद्वयले आफ्ना कलमका मसीले सम्पूर्ण जनमानसमा आफन्तबाट अलग्गिएका, प्रेमबाट धोका खाएका, देशको माया र आफन्तको माया छातिभरी बोकेर विदेशी माटोमा रगत पसिना बगाएका नेपाली दाजुभाईहरूमा भएको पीडालाई गजलका रुपमा कृति बनाइ सबैको सामु ल्याउनुहुने गजलकारद्वयलाई शुभकामनाको साथै हार्दिक आभार प्रकट गर्दै साहित्य क्षेत्रमा लामो समयदेखी निरन्तर लाग्दै आउनु भएका यस्ता साहित्यप्रेमीहरूको स–सम्मानको लागि प्रत्येक साहित्यीक प्रतिष्ठान तथा संघसंस्थाले बेला बेलामा कार्यक्रमको तर्जुमा गरि पुरस्कृत गर्ने हो भने पक्कै पनि साहित्यकार र साहित्यप्रतिका रुची भएका यस्ता होनाहार गजलकार, कविहरूको मनोवललाई अझ उँचो बनाउन सकिने कुरालाई प्रष्ट्याउनु भयो ।

पुस्तकको समिक्षा गर्दै देवी नेपालले आँसुले जलेका मनहरू नामक पुस्तक दुई जनाका गजलले सुसज्जित भएको र यसमा एकले अर्काको गजलसँग कुनै सम्बन्ध नराखी स्वतन्त्र रुपमा लेख्नु भएकोमा धन्यवाद दिनु भयो । विदेशमा हुने पीडालाई आज गजलकारद्वयका कलमबाट सम्पूर्ण देशमा बस्ने हामी लगाएत हाम्रा परिवारमा पनि संदेश दिने काम भएकोमा गर्व गर्नुभयो । त्यस्तै विश्वासदिप तिगेला र ललीजन रावलले पनि पुस्तक भित्रका गजलहरूको गायन गर्दै कार्यक्रमलाई रोमाञ्चित तुल्याउनु भएको थियो ।

गजलकारद्वयले आफ्ना भनाइहरू राख्दै समिक्षकले औंल्याउनु भएको कहीँ कतैका तुत्रीहरूले आगामी दिनहरूमा लयवद्ध गायन जस्तो बनाइ अरु संग्रहहरू पनि अगाडी आउने कुरामा विश्वस्त देखाउनु भयो । कुमार यात्री र खगेन्द्र अधिकारी अमृतका अनुसार विदेशमा हुँदाका पीडा लाखौं नेपालीले भोगेको भएपनि लेख्न नसक्नुको कारण पीडा दबेर बसेको थियो । त्यसलाई आफ्नो कलम प्रयोग गरेर यस कितावमा राख्न पाउँदा हर्षविभोर भएको कुरा प्रष्ट्याउनु भयो ।

कार्यक्रमको अन्त्यमा रमेश पौडेलले उक्त कार्यक्रमलाई लाइभ टेलिकास्ट गर्ने विभिन्न रेडियो एफ एम लगायत अनलाईन मार्फत विश्वलाई यस कार्यक्रमको प्रत्यक्ष प्रसारण गराउने अनलाइन मिडिया प्रवासी नेपाली डटकम र यसका सञ्चालक सागर श्रेष्ठका साथै सम्पूर्ण प्रवासी नेपाली परिवारलाई मुरी मुरी धन्यवाद दिनु भयो । अन्त्यमा गजलकारद्वयलाई साधुवात गर्नुहुदै कार्यक्रम विर्सजन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *