Skip to content

म अनि यी कविताहरू

  • by


यी कविता रगत पच्छे छन्
यी कविताहरू दम र पक्षघातले पीडित छन्

यी कविताहरू अस्पतालको बेडमा भर्ना गरिएका छन्
तर डाक्टर छैनन्
डाक्टरहरू आन्दोलनमा छन् या त
बेतलबी बिदामा छन्

यी कविताहरू खेतमा छन्
पानी बेगरको जमीन झैँ
चरक्क चिरिएको झल्को दिन्छन्
तर मल छैन
मल भए कविताहरू
धानकोबाला झैँ झुल्थे होलान्
यी कविताहरू
खाद्य सस्थान अगाडि
मल पाऊँ भनेर
अहिले
उजुरी हाल्दैछन्

यी कविताहरू स्कुलमा छन्
यी कविताहरू
स्कुलमा भए पनि पढ्दैनन्
यी कविताहरू
चर्को फि र अंग्रेजी नाम भएको
शैक्षिक सस्थामा ताला लगाउदैछन्
कि त
बिद्यार्थी बोकेको गाडी जलाउदैछन्

कविताहरू
पार्लियामेन्टबाहिर छन्
यी कविताहरूलाई
केही नगरेकोमा, संबिधान नबनेकोमा चिन्ता छैन
यी कविताहरू कोहि सडकमा टायर बाल्दैछान
यी कविताहरू कोहि चाही ठूलो कामको बखान छाट्दैछन्
न कविताहरू कविताहरूलाई मान्दछन्
न कविताहरू कविताहरूलाइ गन्दछन्

त्यसैले कविताहरूको गाउ आक्रान्त छ यतिबेला
कविताहरूको शहर रोएको छ यतिबेला
कविताहरूको देश चुक चुकाएको छ यतिबेला
कविता र कविताहरूकै फाटो छ यति बेला

म यौटा सानो कविता
दम र पक्षघातले पिडीत
कविताहरूको समुहबाट
हेरिरहेछु
देश र निर्दोश कविताहरूको खातीर
कहिले संग्लिन्छ
कविताको मन
कहिले फहरिन्छ
एक आपसमा
भाईचरा र एकताको झण्डा
म सानो कविता
कविताहरू र देशको भलोको निम्ति
प्राथना गरी रहेछु .

अस्तु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *