Skip to content

गजलमय पल्लव साहित्यिक कार्यक्रम


सोधखोज गर्दै पुगियो लायन्स चोक स्थित लायन्स भवनमा । म र अरविन्दकुमार यादव त्यहाँ १० बजे विहान पुग्दा पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइलो’ अतिथिहरूलाई स्वागत गर्न तम्तयार भेटिए । उनले अनौपचारिक कुराकानीमै मझेरी डट कम पहिलो ठूलो ईपत्रिका भएको र दोस्रो स्थानमा पल्लव डट कम डट एनपी रहेको जानकारी दिए । पल्लव साहित्यिक पत्रिका, पल्लव साहित्य प्रतिष्ठान र पल्लव डट कम डट एनपी (ईपत्रिका) बेग्लाबेग्लै नभएर एक अर्काका परिपुरक रहेको अभिमत जाहेर गर्न समेत उनी पछि परेनन् । मझेरी डट कमले चिनाइदिएका गोर्खे साइलो र ठिस बुढा दुबैलाई एक साथ भौतिक रूपले साक्षात्कार गर्न पाउँदा धन्य, धन्य भएँ र मझेरीलाई मनमनै धन्यवाद टक्र्याएँ ।

ठूलो हावादार हल, पन्ध्र–सोह्र बटा पङ्खा घुमिरहेका, लहरै कुर्सी सजिएका, भित्तामा विविध व्यक्तिका तस्विर राखिएको, अगाडि ठूलो व्यानर सजिएको जसमा लेखिएको थियो–

साहित्य र स्रष्टाको सम्मान गरौं
स्रष्टा सम्मान, कृति विमोचन एवं पुरस्कार वितरण समारोह
स्थान– लायन्स भवन, लायन्स क्लव, लायन्स चोक, नारायणगढ, चितवन
मिति २०६९ साल भाद्र १० गते रविबार

यताउती नजर लगाइरहेँ । भित्तामा राष्ट्रिय गीत ‘सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली’का अतिरिक्त राष्ट्रिय ध्वजाप्रति श्रद्धाभाव जाहेर भएका यी शब्दहरू पनि लेखिएका थिए–

‘हामी हाम्रो राष्ट्रिय ध्वजालाई अभिवादन गर्दै यसप्रति आफ्नो अविचल निष्ठा व्यक्त गर्दर्छौं । एउटा सुयोग्य नागरिकको हैसियतले उत्साह र तत्परताका साथ काँधमा काँध मिलाएर आफ्नो दायित्व पूरा गरे मात्र यसको महिमा र यश फैलिन्छ । यसको सुनौला अक्षरले लेखिएको इतिहासले आफ्नो देसको सुकीर्तिको लागि राम्रो काम गर्ने प्रेरणा प्रदान गर्दछ । हामी हाम्रो राष्ट्रिय ध्वजाप्रति अटुट श्रद्धा व्यक्त गर्दै यसले देखाएको बाटोमा अघि बढ्दै यसको शान र मान बढाउन तथा देस–देशान्तरमा यसलाई हिम्मत र गौरवका साथ सबभन्दा माथि फरफराई राख्न सत्प्रयास गर्नेछौं ।’–लायन्स क्लव अफ नारायणगढ ।

निर्धारित समय वितेको केही क्षणमै हल खचाखच भरियो । उद्घोषकको रूपमा गोर्खे साइलो अगाडि सरे । सभापतिको रूपमा लामिछाने बन्धु समाजका केन्द्रीय अध्यक्ष तिलकेश्वर लामिछानेलाई आसन ग्रहण गराइयो । प्रमुख अतिथिको रूपमा बूँद राणा, विशिष्ट अतिथिको रूपमा नरेन्द्रराज शर्मा, पुरस्कृत तथा सम्मानित स्रष्टा–द्रष्टाहरूमा प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा. गार्गी शर्मा, वरिष्ठ समालोचक दधिराज सुवेदी, बालसाहित्यकार ललिता दोषी, युवा कवि तथा गजलकार लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’लाई आशनमा बसालियो । त्यस्तै अतिथिका रूपमा पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल लगायत बाहिरी जिल्लाका सम्पूर्ण आमन्त्रित महानुभावहरू अतिथिका रूपमा रहे भने चितवन जिल्लाकै बालकदेखि वृद्धसम्मका कवि/कलाकार तथा सांस्कृतिककर्मीहरूको उल्लेखनीय सहभागिता थियो । उक्त कार्यक्रममा २०/२२ जिल्लाका १३६ जना सर्जक एवं साहित्यानुरागीको जमघट थियो ।

शंकर सुवेदीले स्वागत मन्तव्यका साथमा ‘आलु’ शीर्षकको मीठो छन्दोबद्ध कविता पाठ गरी सबैलाई मन्त्रमुग्ध पारे । मेरो पालो पनि एक्कासी आयो । वाचनमा कला नभएको र गलाको समेत कमी रहेको महसुस गरी हडबडाउँदै गजलका साथ प्रस्तुत भएँ–

उधारोमा खाँदाखाँदै खाता बन्द भो
नपरेर पानी पनि छाता बन्द भो ।

उठेकाले थिच्नुहुन्न बल छ भन्दैमा
यस्तो विचार राख्ने हुँदा नाता बन्द भो ।

विदेशीको मनमौजी सहन्न भन्दा
मेरा लागि उसको घरको हाता बन्द भो ।

काम देऊ, माम देऊ, ढिकी बन्दिनँ
यसो भन्दा के विराएँ साता बन्द भो ।

जुत्ताबाट टोपी हुन कोसिस गर्दा त
काम दिन्छु भनी हिँड्ने दाता बन्द भो ।

चितवनमा छन्दको बच्चा जन्मेको छ भनेर उद्घोषकले घोषणा गरे । केही बेरसम्म त तीन छक्क परियो । हाँसको, हात्तीको, मान्छेको, कुकुरको बच्चा जन्मेको थाहा थियो तर छन्द (‘सायद कुनै मान्छेको नाम होला’ भन्ठानेको थिएँ त्यस बेला)को बच्चो भनेपछि अलमलिएँ । त्यो मेरो सोच गलत ठहर भयो, जब मञ्चमा आए– सानो कदका, जुँगाका रेखी मात्र भएका, १६/१७ वर्षे उमेर समूहका व्यक्ति । उनै रहेछन् छन्दका बच्चा– सुरेश सत्याल । उनले स्वागत भाव प्रस्तुत भएको छन्दोबद्ध कविता सुनाए । र, छन्दमा नै अर्को अठोट पनि व्यक्त गर्न भुलेनन्–

म बेपत्ता हुन्थेँ कुन समयमा लान्छ कसले
सँगै मर्ने–बाँच्ने मसित कसम खान्छ कसले ।

म माग्नेजस्तो हुँ मसित त्यत्ति विश्वास नगर
अरू प्रेमी बन्लान् तर म त हुने हो कविवर ।

उमेरमा काँचा तर बौद्धिकतामा पाका छन्दकवि सुरेश सत्यालको ‘म त हुने हो कविवर’ शीर्षकको रसिलो र जोसिलो छन्दोबद्ध कविता सुने पछि मैले आफूलाई साहित्यको भुसुनो नै सम्झिएँ । उनको वाचन कलालाई उनको गलाले पनि उत्तिक्कै साथ दिएको थियो । गोविन्दराज विनोदीको प्रस्तुती पछि इलामदेखि आएका खोलाघरे साइलो कस्सिएर अघि सरे । उनले गजल स्वतन्त्र विधा भएको वकालत गर्दै गजलमा शीर्षक राख्न छुट हुनुपर्ने जिकिर गरे । आफू स्वतन्त्र शीर्षकका साथ गजल लेखनमा सक्रिय भएको र सो बाटो कहिल्यै नमोड्ने अठोट समेत जाहेर गर्दै ‘अझै शान्तिको प्यास ज्युँदै छ’ भन्ने शीर्षकको गजल सुनाए । महाकालीबाट आएका वीरवहादुर चन्दले ‘साहित्यकार, समुन्नत समाज, निर्माता हो’ भन्ने हाइकुका साथै गजल वाचन गरेर बाहिरिए ।

रचना वाचनकै क्रममा कृति विमोचनको कार्यक्रम पनि थपियो । त्यस बखत विमोचित कृतिहरू थिए– लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’को ‘आमाको स्मृतिमा’ (शोककाव्य), युसुफदिन मियाँ ‘पाल्पाली’को ‘रोशनी’ (गजल सङ्ग्रह), उनकै ‘एक बहर एक गजल’ (शास्त्रीय सूत्रमा आधारित गजल सङ्ग्रह) र ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइलो’को प्रधान सम्पादकत्वमा प्रकाशित ‘पल्लव’ (साहित्यिक पत्रिका, अङ्क १७) । विमोचकहरूमा बूँद राणा, नरेन्द्रराज पौडेल, तिलकेश्वर लामिछाने र विवश पोखरेल हुनुहुन्थ्यो ।

त्यस पछि सम्मानित र पुरस्कृत प्रतिभाहरूलाई सम्मान गर्ने, पुरस्कार दिने र दोसल्ला ओडाउने कार्यक्रमको पालो आयो । वरिष्ठ व्याकरणविद्, छन्दमार्गी कवि, स्रष्टा एवं द्रष्टा प्रा. डा. टंकप्रसाद न्यौपाने (धरान–१४, विजयपुर, सुनसरी), वरिष्ठ समालोचक, कवि तथा साहित्यकार दधिराज सुवेदी (विराटनगर–४, गोधुलीमार्ग, मोरङ), बाल उपन्यासकार, काव्यकार तथा साहित्यकार ललिता ‘दोषी’ (बुद्धनगर, काठमाडौं)लाई क्रमशः दुल्लभ लामिछाने स्मृति पुरस्कार सहित पल्लव राष्ट्रिय साहित्य सम्मान २०६९, बोधनाथ–हिमकुमारी लामिछाने स्मृति पुरस्कार सहित पल्लव राष्ट्रिय साहित्य सम्मान २०६९, शेषनाथ लामिछाने स्मृति पुरस्कार सहित पल्लव राष्ट्रिय साहित्य सम्मान २०६९ ले विभूषित गरिएको थियो ।

त्यस्तै काव्यकार तथा वरिष्ठ स्रष्टा–द्रष्टा गार्गी शर्मा (म्हेपी, काठमाडौं), गजलकार, कवि एवं साहित्यकार युसुफदिन मियाँ ‘पाल्पाली’ (भरतपुर–२, नारायणगढ, चितवन), छन्दमार्गी कवि, गजलकार तथा युवा साहित्यकार लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’ (चाँदनी–५, विष्णुनगर, कञ्चनपुर) गरी तीनै जनालाई भने ‘पल्लव राष्ट्रिय साहित्य सम्मान २०६९’ प्रदान गरिएको थियो । सबै पुरस्कार तथा सम्मानको राशी भने जनही नगद रु. ५,१११।– थियो । ती सम्मान, पुरस्कार र दोसलाहरू प्रमुख अतिथि प्राज्ञ बूँद राणा, विशिष्ट अतिथि कथाकार तथा वरिष्ठ हाँस्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेल, पल्लवका अध्यक्ष गोर्खे साइलो र कार्यक्रमका सभापति तिलकेश्वर लामिछानेका हातबाट वितरण गरिएको थियो ।

त्यस पछि रचना वाचनको कार्यक्रमलाई निरन्तरता दिइयो । ‘रातो र चन्द्र–सूर्य’ बोलको गोपालप्रसाद रिमालको कविता साहित्य पारखी सानी नानी सूधा पाल्पालीले मीठो स्वरमा गाएर दोश्रो चरणको कार्यक्रमलाई गति प्रदान गरिन् । लगतै ‘घाट लाने तयारी थियो, लास भाग्यो म के गरूँ’ भन्दै पोष्टराज चापागाईं देखा परे । अर्को एक गजलमा भयावह राजनीतिको शल्यक्रिया गर्नका लागि उनले आफ्नो मधुर स्वर निकाले–

मुलुकै नजाग्ने भयो राजनीति
जहिले नि माग्ने भयो राजनीति ।

सब काँध मिल्छन् गहिरो छ खाल्डो
दगुरी ननाग्ने भयो राजनीति ।

जून हात लिँन्थेँ त्यही हात काटेँ
मुलुकै नजाग्ने भयो राजनीति ।

उनी पछि केशवराज आमोदी, कृष्ण अवस्थी, बलदेव अवस्थी, विमला चन्द ‘सानु’हरूले रचना बाचन गर्दै कार्यक्रमलाई अघि बढाए । हाइकु सङ्ग्रह प्रकाशन गरिसकेकी विमला भट्टराईले आफ्नै पुस्तकबाट हाइकु पाठ गरिन् । ‘नेपाल आमा ! इतिहास लेख्दै छु, विखण्डनको’ भन्दै एक दर्जन मार्मिक हाइकुहरू सुनाएर उनी बाहिरिनासाथ रश्मि रिमाल ‘अखण्ड नेपाल’ शीर्षकको कविता लिएर अघि सरिन् । संविधान बन्न नसकेर अलपत्र भइरहेको अवस्थामा उनको कविताले त्यस भेलालाई केही तताइदिने काम गर्यो । अर्कातिर शासकहरूलाई खबरदारी गरिएका भाव समेत सङ्गालिएका थिए ।

सम्मानित तथा पुरस्कृत स्रष्टा ललिता ‘दोषी’लाई शब्दचित्रमा उतार्दै श्याम भावुकले त्यस हललाई गुञ्जाए–

ललिता चाहिँ नाम उनको गजुरेल थर
ललितपुरको इमाडोलमा भन्छिन् जन्म घर ।
कार्तिक सोर पच्चीस सालमा उनको जन्म भयो
साहित्यमा ‘दोषी’ नाम प्रख्यात हुन गयो ।

त्यस वेला तारा पराजुली, शान्ति शर्मा, धनराज गिरी, विवश पोखरेल, प्रीति कैर, कृष्ण विभोर, तीर्थराज भट्टराई, मदनराज बराल, भगीरथ काफ्ले, कैलाशकुमार पाण्डेय, विर्खे अञ्जान, सदानन्द अभागी, दीपक सोती, गोविन्द ढुङ्गाना, राजबाबु पहाडी आदिले समेत आ–आफ्ना भावना प्रस्तुत गरेका थिए । कविलासा–७, सप्तरीको प्रतिनिधित्व गर्दै सहभागी अरविन्दकुमार यादवले ‘सब मान्छन् यहाँ पैसालाई’ शीर्षकको लामो गद्य कविता वाचन गर्दै वर्तमानको विकृत अवस्थाप्रति कठोर व्यङ्ग्य प्रहार गरेका थिए । गजलमा भने मीठो पाराले प्रभाव जमाए–

झिलिमिली यो सहरको भिखारी मान्छे भएँछु
आज त यौटा नजरको भिखारी मान्छे भएँछु ।

तिमी महलकी बासिनी, नआइदेऊ झुप्रीमा
मायाकै हेतु नगरको भिखारी मान्छे भएँछु ।

तमाम छन् आँखा काजलका गुलाम यो प्रहरमा
किन्न ग्लास जहरको भिखारी मान्छे भएँछु ।

तिर्दै छु आफ्नो रहरको जरिवाना डगरमा
रमाइलो गर्दै सहरको भिखारी मान्छे भएँछु ।

गजल वाचनबाट भने सबैबाट ताली पाए । मैथिली मातृभाषीले पनि त्यत्ति मिठासपूर्ण तवरले गजल वाचन गर्न सक्छन् र ? भन्नेहरूले पनि राम्रै जवाफ पाएको महसुस हुन्थ्यो । वक्ता प्रा.डा. टंकप्रसाद न्यौपानेले नेपाली भाषाको वर्णविन्यास प्रयोगमा मनपरीतन्त्र मौलाएकोमा चिन्ता व्यक्त गरेका थिए । दधिराज सुवेदीले गोर्खे साइलो व्यक्ति नभएर संस्था भएको र उक्त समारोह सामान्य नभई राष्ट्रिय सम्मेलन भएको उद्घोष गरे । त्यस्तै ललिता ‘दोषी’ले कृष्णप्रसाद पराजुलीको प्रेरणाबाट बालसाहित्यमा सक्रिय भएर यस मञ्चमा सम्मानित हुन पाएकोमा गौरव महसुस गरी कवि पराजुलीप्रति श्रद्धा प्रकट गरिन् । उनले राष्ट्रको चिन्ता हरेक नेपालीमा हुनुपर्ने आशयको गद्य कविता सुनाउन समेत भ्याइन् । अर्की वक्ता गार्गी शर्माले भूतको भिनाजुले आमाकी छोरी बन्न लगाएको र आफू स्रष्टा नभई, स्रष्टाको सिर्जनाको रेखदेख गर्ने व्यक्ति मात्र भएको भनेर आफ्नो सहनशीलता र विनम्रता प्रकट गरिन् । काठमाडौं नामक खाल्डोमा भ्यागुतो जीवन व्यतित गरिरहेकी मान्छेलाई त्यहाँबाट यहाँ (चितवन नगरी)सम्म ल्याएकोमा पल्लव साहित्य प्रतिष्ठान र अध्यक्ष गोर्खे साइलोप्रति आभार व्यक्त गरिन् । बयोवृद्ध युसुफदिन मियाँ ‘पाल्पाली’ले बाँचुञ्जेल साहित्य सिर्जना गरिरहने उद्घोषणा गर्दै छन्दोबद्ध गजल सुनाए–

मुस्किल् मुस्किल् मुस्किल् हिँड्नु नै मुस्किल् भो
दुनियाँमा आफ्नो मान्छे मिल्नु नै मुस्किल् भो ।

लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’ ले समेत समयको वचत गर्दै प्रकाशित सङ्ग्रहबाट नै एक रचना पस्किएर विदा मागे । आफ्नी महतारीका साथ सहभागी ८ वर्षे सुन्दरी बालिकालाई अर्का एक सहभागीले ‘कुर्सीमा राम्ररी बस, नत्र लडिन्छ, बाबू’ भन्दा उनले फर्काएको जवाफबाट म चकित भएँ । उनले तोते बोलीमा जवाफ फर्काएकी थिइन्– ‘अंकल म बाबू हैन, नानी हुँ ।’ त्यस घटनाले समेत सुन्नेहरूको मनमा क्षणिक सन्नाटा छाएको थियो ।

बूँद राणा, नरेन्द्रराज पौडेल, तिलकेश्वर लामिछानेहरूको मन्तव्य पूर्व ‘ढिलो चाँडो राजधानी सर्छ चितवनमा’ भन्दै प्रभाकर पण्डितले समग्र चितवनको गौरवशाली पक्षलाई गजलको भाषामा ढालेर सुनाएका थिए–

सिराई चुली हुँदै सूर्य झर्छ चितवनमा
स्वर्ण भूमि सौराहा पर्छ चितवनमा ।

पाटे बाघ निकुञ्जमा हात्ती अनि मृग
दुनियाँकै दुर्लभ गैंडा चर्छ चितवनमा ।

साइबेरियादेखि पक्षी वास माग्न आउँछन्
घडियालले वंश बृद्धि गर्छ चितवनमा ।

छैनन् सन्तान भने जानू विक्रम बाबा भेट्न
निसन्तान मनको गर्जो टर्छ चितवनमा ।

देवघाट, तपोभूमि, बाल्मीकि आश्रम
सीता अनि लव–कुसको घर छ चितवनमा ।

सिङ्गै देश धड्की रन्छ हाम्रै छातीभरि
ढिलो चाँडो राजधानी सर्छ चितवनमा ।

यस गजलले निक्कै ताली पायो । गजलको भाव बुझ्न म उनको नजिक पुगेको थिएँ । मेरा विविध जिज्ञासा शान्त पार्दै उनले भनेका थिए–“यहाँ सिराई चुली, सौराहा, बाल्मीकि आश्रमजस्ता ठाउँ छन् । पाटे बाघ, हात्ती, मृग, गैंडा, घडियाल (गोही)जस्ता अनगिन्ती दुर्लभ र लोपोन्मुख पशुपक्षीहरू पाइन्छन् । अर्को कुरा, चितवन राष्ट्रिय निकुञ्ज हाताभित्र कसरा भन्ने ठाउँमा रहेका विक्रमबाबाकहाँ पुग्ने र माग्ने अनगिन्ती निसन्तान दम्पतीले सन्तान पाएका उदाहरण छन् । थारू समूदायले विश्वास गर्दै आएको उक्त कुरा हाल सबै समुदायले विश्वास गर्दै आएका छन् । चितवन उपयुक्त स्थान भएको कारणले पनि राजधानी बनाउन लायक छ । यी कुरा नाजायज नभई स्वभाविक हुन् ।” हो, हामीलाई काठमाडौं छिर्न पनि गाह्रो छ । सबै कुरा त्यही थुप्रिएको छ । र, सौताको व्यहार गर्न पनि काठमाडौं खप्पिस छ । आवश्यक प्राकृतिक पूर्वाधार विकसित भएको हरियाली चितवनलाई राजधानी बनाउँदा बन्न सक्छ । व्यवहारमा ढाल्न भने त्यति सजिलो कार्य होइन । किनभने काठमाडौंलाई राजधानी बन्न शताब्दी लागेको थियो । अझै पनि नेपाली जनताको राजधानी भने हुन सकेको छैन । त्यसैले त त्यसको विकल्प सोचिँदै छ । विडम्बना ! चितवनमा भौतिक पूर्वाधार तयार पार्न अर्को शताब्दी लाग्न सक्छ । तर, साहित्यको राजधानी घोषणा हुन भने सम्पूर्ण पूर्वाधार विकास भएको महसुस भयो । आजैभोलि घोषणा गर्दा फरक परोइन ।

यस अघिका केही कुराहरू अघि सार्न चाहन्छु । मिति २०६९ साल भाद्र १० गते रविबार लायन्स भवन, लायन्स क्लव, लायन्स चोक, नारायणगढ, चितवनमा हुने ‘स्रष्टा सम्मान, कृति विमोचन एवं पुरस्कार वितरण समारोह’मा आमन्त्रितका हैसियतले मित्र अरविन्दकुमार यादव र म झिसमिसेमा गाडी चढ्यौं । राजविराजबाट बाहिर निस्कन पाएकोमा मन प्रसन्न थियो । अर्को नवीन कुरा के थियो भने यस खाले साहित्यिक कार्यक्रममा उपस्थित हुनु रहर मात्र नभई वाध्यता पनि थियो । कारण, विगत तीन वर्षदेखि पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खे साइलोले नबिर्सीकन निमन्त्रणा गरेका थिए । सहभागी हुन्छु, हुन्छु भन्दाभन्दै हुने दिन कहिल्यै आएको थिएन । यस पटक चाहिँ जे परोस् जानै पर्यो भन्ने लागेको थियो । त्यहाँ उपस्थित नहुँदा साइलोले गर्ने व्यङ्ग्य पनि सुन्नु पर्ने भएकोले यस पटक व्यङ्ग्य नसुन्ने विचार गरेको थिएँ । रामविक्रम थापाजीलाई जाने कि भन्दा फोनमा नै गोर्खे साइलोको व्यङ्ग्यात्मक हिन्दी गजल सुनिसकेको कुरा वताउनुभयो । त्यस बेला उहाँले खोटाङका विविध कार्यक्रममा सहभागी हुनुपर्ने वाध्यता जनाउनुभयो । नभन्दै २०६९ भाद्र ०९ शनिबार साँझ नारायणगढ पुगिसकेपछि गाईघाटका मित्र पुन्य कार्कीलाई फोन गर्दा रामविक्रम त्यहाँ पुगेर जनमत साहित्यिक पत्रिका लिइसकेको जानकारी दिनुभयो । आजीवन सदस्यका हैसियतले मैले पनि जनमत पत्रिकाका केही अङ्कहरू पाउनुपर्ने थियो । वनेपाबाट गाईघाट पुगेको जनमत राजविराज आइपुग्ने माध्यम रामविक्रम बन्न सक्नुहुन्थ्यो कि भन्ने लागेको थियो । पहिले कुरै भएन । परिस्थिति प्रतिकूल भइसकेको थियो । अनुकूल हुँदा पनि जनमतलाई खोटाङ घुमाएर सप्तरी भित्र्याउन उहाँलाई गाह्रै पथ्र्यो क्यारे ।

खानपिन भयो कैलाश होटलमा । रात्री विश्राम पनि त्यहीँ रहेछ । प्राज्ञ बूँद राणा र गोर्खे साइलोका तीन पुस्ते गुरु हुसैन खाँसँग परिचय भयो । सामान्य भलाकुसारी गरियो । गोर्खे साइलोले खाँ आफूलाई पढाउने, आफ्ना छोरालाई पढाउने र हाल नानीनातिनीलाई पढाइरहेका गुरु हुनुहुन्छ भनेर फेहरिस्त प्रस्तुत गर्न समेत भ्याएका थिए । हुन त राणासँग नेपाल प्रज्ञा प्रतिष्ठानमा पहिलो पटक र पुस्तक मेलामा दोश्रो पटक भेट भएको थियो । त्यस बेला मैले तलको आफ्नो पहिलो बालगजल बारे प्रतिक्रिया मागेको थिएँ जसलाई कुमार बब्लुले संगीतबद्ध गरी विभिन्न कार्यक्रममा समेत गाइसक्नुभएको छ–

छुनुमुनु गर्दै टुकुटुकु आऊ बाबू
बुबुमाम खाइवरी फेरि जाऊ बाबू ।

मिलिजुली खेल्ने गर साथीभाइसँग
उनीहरूसँगै मिली गीत गाऊ बाबू ।

लेखपढ सुरु हुन्छ तिम्रै उमेरदेखि
विद्या लिन सधैँभरि स्कूल धाऊ बाबू ।

ठूलालाई मान देऊ सानालाई माया
राम्रो पढिलेखी इनाम पाऊ बाबू ।

सबको आश तिमीमा नै रहेको हुँदा
चन्द्रसूर्य बनेर रोशनी छाऊ बाबू ।

खाना खाएपछि भने अचम्भै भयो । चिताउँदै नचिताएको मान्छेसँग भेट भयो । ती थिए– फेसबुके साथी ठिस बुढा । तिनीसँग परिचित गराउने काम मझेरी डट कमले गराएको थियो । उनलाई भाइ सुसम मार्फत् ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नामक आफ्नो किताब पठाएको थिएँ । भेट होला, अनुहारको दर्शन भेटिएला भन्ने कुरा सपनामा पनि सोचेको थिइनँ । उनीसँग फेसबुकमा लामै भलाकुसारी हुन्थ्यो । सुरुसुरुमा निकै ठट्यौला मान्छे थिए । पछि गम्भीर बन्दै गएका थिए । ‘अचेल किन गम्भीर बन्नुभएको तपाईं, कि गृहमन्त्राणीको प्रवेश भइसक्यो ?’ भनेर एक दिन म्यासेज पठाएको थिएँ । विचाराले बुबाको निधन भएको जानकारी गराएका थिए । त्यस बेलादेखि मलाई पनि गम्भीरताले छुन थालेको थियो । कारण के थियो भने एउटा मिल्ने मित्रको परिवार शोकमा रहेछ । त्यो थाहा नपाईकनै मैले ठट्यौलोपनलाई मूर्तरूप दिएँछु । अर्का चौरासी वटा नयाँ छन्दलाई जन्म दिइसकेका कवि पनि त्यही भेटिए– पोष्टराज चापागाईं । उनी संस्कृत भाषाका ज्ञाता रहेछन् । मधुर गजल लेख्दा रहेछन् । शब्द भने जटिल प्रयोग गर्दा रहेछन् । उनले नयाँ काफियाको खोजी गर्दा नयाँ शब्द प्रयोग भएको स्वीकारोक्ति दिन पनि पछि परेनन् । त्यही नजिक ‘कान थापेर सुन्ने बढी बोल्ने कम’ कवि पनि रहेछ । बिचाराले आमाको बर्खी बारेका रहेछन् । उनी थिए– सुदूर पश्चिमको चाँदनी गाविस निवासी लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’ । बडो मित्रभावले ठिस बुढाले अभिवादन टक्र्याए । तपार्इं हाम्रा टिउरे ठिस बुढा यिनै हुन् भनेर गोर्खे साइलोले नै परिचय गराएका थिए । तापनि मलाई विश्वास भइरहेको थिएन । म सत्यतथ्य पत्ता लगाउन एकोहोरिएको बेलामा उनले मुख खोले– साना नानीहरूले हाँसको बच्चा मन पराउने भएका कारणले प्रोफाइल पिक्चरमा त्यो राखेको हुँ । बौद्धिक हिसावले मात्र हैन मान्छे त शारीरिक रूपमा पनि सुन्दर देखिन्थे । तर, किन तस्विर सार्वजनिक गर्न नरुचाएका होलान् ? मेरो मनमा प्रश्न दगुरी रह्यो । सुरुका दिनमा दलाइ लामाको तस्विर राखेका थिए । धेरै पछि मात्रै टिउरो राख्न थालेका हुन् । मेरी छोरी गरिमा पनि ठिस बुढा भने पछि हुरुक्क हुन्छे । उनले के लेखे, कुन तस्विर राखे भनेर फेसबुक खोल्ना साथ सोधखोज गरिरहन्छे । उसैका लागि भनेर पनि विशेष आग्रहका साथ ठिस बुढाका दुईवटा तस्विर लिएँ । ‘ठिस’ त आफैंले राखेको नाम हो तर ‘बुढा’ चाहिँ वास्तविक थर हो या मनको इच्छा हो, त्यो मैले चाहिँ ठम्याउन सकिनँ । वास्तविक नाम ‘शैलेस’ हो भन्दा रहेछन् ।

त्यस जमघटमा ‘नेपालबोर्डर’ साप्ताहिक पत्रिका हातमा च्यापेर छोरी सूधा सहित रेणुका भट्टराई समेत सामेल भइन् । ‘यात्री’ उपन्यास बाड्दै सदानन्द अभागी समेत देखा परे । त्यो साँझ अझ रोचक बन्दै गयो । चितवन उद्योग वाणिज्य संघसँग समेत संलग्न भएका कारणले गोर्खे साइलो चाहिँ तत्कालै अन्तरवार्ता दिन व्यस्त रहे । पत्रकारको हैसियतले रेणुका साइलोलाई प्रश्न सोध्न व्यस्त रहिन् । यता हामी चाहिँ गजलको संरचना पक्ष बारे छलफलमा डुब्यौं । ठिस बुढाले समेत सक्रिय सहभागिता जनाए । पोष्टराज शास्त्रीय गजल लेखनका जानिफकार हुनुहुँदो रहेछ । उहाँले नै धेरै कुरा वताउनुभयो । यी अनौपचारिक भेट र भलाकुसारी समेत हाम्रा लागि मार्गदर्शक भए ।

सुखद अनुभूति गर्दै विश्रामका लागि विस्तरामा पल्टिएँ । रातको बाह्र बजेदेखि शारीरिक रूपमा परिस्थिति प्रतिकूल अवस्था देखा पर्न थाल्यो । आँधीहुरी–तुफान एकसाथ चल्न थाल्यो । भूकम्प त कति पटक गयो, गयो त्यसलाई गन्न सकिनँ । चितवनमै हस्पिटललाइज हुनुपर्ने हो कि भन्ने त्रासले गाँज्न थाल्यो । अरविन्द मस्तसाथ निद्रादेवीको काखमा थिए । वाधा गर्न रचाइनँ । हामी बसेको रुम नं २१२ समेत मेरै कारणले बेलाबेमा थर्कन थाल्यो । सायद ग्यासले भरिएर उकुसमुकुस पनि हुन थाल्यो । अरविन्द जागा नहुनु पनि काइदा नै भएको थियो मलाई । मनभित्रको बह बाहिर ल्याउन नपाए पनि पेटभित्र गुम्सिएको चीज निर्धक्क बाहिर ल्याउन स्वतन्त्रता मिलेको थियो । त्यस अवसरको पनि भरमग्धुर उपभोग गरियो ।

त्यो आँधीहुरी–तुफान आउनु, चट्याङ्ग पर्नु र पटक–पटक भूकम्प गइरहनुको कारण खोतल्न थालेँ । दिउँसो २ वजेको हेटौंडाको घटना याद आयो । तोयानाथ सुवेदी सरको निवासमा तुलसा म्यामले अतिथि सत्कार गर्नुभएको थियो– पुलाउ, अमिलो अचार, पनिरको स्पेशल तरकारी र दहीले । पनिरको तरकारीमा र पुलाउमा चिल्लो पदार्थ बढी थियो । हुन त चिल्लो पदार्थविना पुलाउ कसरी बन्थ्यो र ! हर्सुने बेलामा आँखा चिम्लेर हसुरेपछि आफ्नो पाचन शक्तिको कमजोरी दोष अरूलाई दिनु जायज छैन भनेर मनले आफैंलाई धिक्कारी रह्यो । कैलाश होटलको खाना ताजा र सादा थियो । उत्ति साह्रो बढी ग्रहण गरिएको पनि होइन र गर्नका लागि वाध्यता पनि थिएन । किनभने त्यहाँ पल्लव र गोर्खे साइलोको अतिथि बने पनि होटल मालिक र कर्मचारीका लागि हामी सिर्फ ग्राहक थियौं, सामान्य ग्राहक !

उज्यालो भएको सङ्केत मिल्दा नमिल्दै नुहाइधुवाइ सिद्धाएँ । अरविन्द फ्वाँफ्वाँ गर्नमै मस्त थिए । यस्तो प्यारो समय मेरो लागि पनि आएको भए कस्तो हुन्थ्यो भनेर ईष्र्या पनि गरेँ । कुनै वाधा गर्न रुचाइनँ । निक्कै मज्जाले उज्यालो भए पछि भने घुमफिर गर्ने मनसुवाले बोलाएँ । उनी केहीबेरमै तयार भए र पुगियो नारायणी नदी पुलमा । त्यहाँ बडो रमणीय प्राकृतिक दृष्य भेटियो । पुलको दक्षिणी भागमा नदी बीचमा एउटा सुन्दर वन देखियो । त्यसलाई बी.पी स्मारक नगर वन भन्दा रहेछन् । नगरपालिकाले त्यसको रेखदेख र संरक्षणको जिम्मा लिएको रहेछ । त्यही वनलाई यौन विम्व बनाएर कवि गोर्खे साइलोले गजबको कविता रचेका रहेछन् । त्यस खाले वन त कत्ति देखियो, देखियो । किनभने हाम्रो घर पनि चारकोसे झाडी भित्रै पर्छ । परबाट नियाल्ने हो भने म जङ्गलमै जन्मे–हुर्केको मान्छे हुँ । अहिले भने घना जङ्गल निक्कै पातलियो नत्र भने अहिले पनि जङ्गलभित्रै घर छ भन्दा पनि हुन्थ्यो । तर, वरिपरी नदी बीचमा घना जङ्गल, छेउछाउमा पहाडका थुम्काथुम्की, त्यस्तो ठाउँ चाहिँ कतै देखे, भेटेजस्तो लाग्दैन । पुलको बार समाएर रसपान गरिरहेकै बेलामा विवश पोखरेल सहितका पूर्वेली साहित्यिक बन्धुहरूसँग जम्काभेट भयो । औपचारिक अभिवादन र हाइहेलो पछि उहाँहरू छुट्टिनुभयो । हामी पश्चिम हानिँदै थियौँ उहाँहरू पूर्व ! छुट्टिनुको विकल्प थिएन । मेरो एक मन त्यही पुलमा उभिएर ती हरिया डाँडाहरू नियालिरहूँ, नदीको कलकल आवाज सुनिरहूँ र त्यस शान्त वातावरणमा हराइरहूँ भन्ने पक्षमा थियो । अरविन्द भने त्यो दृष्य क्यामेरामा कैद गर्न व्यस्त थिए ।

मेरो अर्को मनमा भने भित्रभित्रै जलन हुन थाल्यो– प्रकृति पनि कति निष्ठुर र मतलबी रहेछ । आफ्नो सुन्दरता सीमित ठाउँमा मात्र खन्याउँदो रहेछ । मेरो कर्मक्षेत्र राजविराजमा किन त्यो सुन्दरता दिएन ? मेरो जन्म थलो जहडा र बसोवास क्षेत्र गल्फडिया (उदयपुर) मा समेत किन प्रकृतिको त्यस रूपको दर्शन गर्न पाइन्न ? किन म त्यो कलकले मधुर ध्वनि राजविराजमा पाउँदिनँ ? आकाशे पानीको भरमा जीवन धान्न बाध्य हुनुपर्ने अवस्था मेरो जन्म र कर्म दुबै ठाउँमा छ तर यहाँ भने जताततै सुन्दरता भरिएर छताछुल्ल छ । मैले त्यसलाई क्यामेरामा कैद गरेर पटकपटक किन भुतुक्क भइरहने । सप्तरीका बलान, खाँडो, मौली खोला, भलुवाईजस्ता नदीहरूले पनि त्यस किसिमको मधुर ध्वनि बाह्रै मास निकाल्न पाउने हो भने सप्तरीमा समेत सुन फल्थ्यो । यहाँका मान्छेको दोष छैन । प्रकृतिको भेदभावपूर्ण व्यवहार छ । मेरा बाबुआमा बसेको ठाउँ तपेश्वरी जहाँ बेलका तरी भन्ने विशाल जङ्गल छ, त्यहाँ हिउँदमा एकथोपो पनि पानी पाइन्न । कत्रो विडम्बना ! जङ्गली जनावरले पानी खान नपाई तड्पनुपर्छ । त्रियुगा र सप्तकोशीको भर पर्नुपर्छ । जनावर र पशुपक्षीको त्यही विवशताको फाइदा उठाउँदै सिकारीहरूले कुम्लो भर्छन् । त्यो पनि एकदमै सहज तवरले । नदी किनारामा बाटो ढुकेर बस्यो, लाभैलाभ ! सिकारीहरू तीर्खाले छटपटाउँदै आएका जनावरलाई पानी पिउँदापिउँदै ठहरै पार्न सिपालु हुन्छन् । न दया छ, न त कुनै दायित्ववोध नै ! पक्राउ परिहाले, दुईचार पैसा खर्च गरेर निस्किहाल्छन् । अचेल त झन्, राजनैतिक पार्टीको सोर्स र फोर्स प्रयोग गर्न सिपालु छन् ।

वर्षा याममा भने तिनै खाँडो, बलान, गिनेरी, मौली, सीताराम, नथुनी खोला र नदीहरू भयङ्कर रूप धारण गर्दछन् र त्रियुगा एवं सप्तकोशीलाई परै राख्न खोज्छन् । सामान्य तवरले निरन्तर बगिरहने खोलाका रूपमा ती नदी र खोलाहरू विकसित भएका भए कस्तो हुन्थ्यो ! कहिलेकाँही मेरो मन यस खाले काल्पनिक जगत्मा हराउन पुग्छ । त्यस बेला पनि त्यस्तै भयो । छुटाउनै नहुने त्यस चितवने दृष्यलाई मैले क्यामेरामा कैद गर्न चाहिनँ । मभित्रको उग्र अहङ्कारले प्रकृति विरुद्ध उभिन लगायो । तँ मलाई हेर्दैनस् भने म पनि तँलाई हेर्दिनँ भावनाले मलजल भेट्टायो ।

एक मनमा जेजस्तो भावना दगुरे पनि अर्को मन त किन रिसाउँथ्यो र ! लुकीचोरी दृष्यपान गर्न लालायित भइरह्यो । अनुपम सौन्दर्यताको साक्षात् दर्शन गरिरहँदा क्यामेरामा कैद गरिरहेका अर्का पारखी त्यही भेटिए– ठिस बुढा र पोष्टराज सर ! हामी मुस्कान साटेर अघि बढ्यो । पछि फर्केर आउँदा उहाँहरूले स्थान बदलिसक्नुभएको थियो । हामी पनि होटल फर्कियौं । खाना खान तयार हुनुस् भन्ने सूचना आयो । यस प्रकार हामीले एउटा साहित्य यात्रा पूरा गर्यौ । धन्यवाद !

नन्दलाल आचार्य

5 thoughts on “गजलमय पल्लव साहित्यिक कार्यक्रम”

  1. सच्याइएको छ
    नन्दलालजी,
    सच्याइएको छ । कार्यक्रम आयोजना गर्ने गोर्खेसाइँलोज्यूलाई साधुवाद छ । मझेरीमार्फत परिचित स्रष्टाहरूबिच पनि भेटघाट भएछ । खुसी भएका छौँ ।

  2. ???
    Kuro ta sancho ho tara byaktigat ho.
    This gle pani padhnu bhae6.
    ……ali ali lajae……
    Postraj sirle 98 wata new 6anda banai sakeko bheti96 aajako miti samma.
    ……
    ……
    Ramailo bhayo….

  3. thanks
    निकै खुसि लाग्यो , राम्रो कार्यक्रम भएछ यस्ता क्रियाकलापहरु हामीलाई पनि पठाउन नभुल्नु होला |

    http://www.spandansahitya.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *