Skip to content


मेरो हात अब कसैले नबाँध
म प्रभातलाई आउन पत्र लेख्दैछु
मेरो मुख पनि कसैले बन्द नगर
म अब प्रभातलाई बोलाउँदैछु
प्रभात तिमी आऊ है
यहाँ अँध्यारो भइरहेको छ
त्यहाँ अँध्यारो भइरहेको छ
जताततै रुमल्लिएको छ
जतातै भट्किरहेको छ
अँध्यारोको बोलवाला छ
असत्यको युग छ
दुःखीहरुले प्रतिवाद गर्न सकिरहेका छैनन्
उज्यालोका सँबाहक हौ तिमी
लालीमा किरण हौ तिमी
ताजा घाम ल्याउँछौ तिमी
अन्धकार मेटाउँछौ तिमी
तिमी हिम्मतिलो छौ
बिहानीको पहिलो प्रकाश ल्याउँछौ तिमी
त्यसैले तिमी चाँडै आऊ प्रभात
हामी रातभरी छटपटिरहेका छौं
दुःख पुकार सुत्रे कोही छैनन्
आफू–आफूमै मैमत्त छन् ठालूहरु यहाँ
दुःखीहरुलाई कोही सघाइरहेका छैनन्
यो दुःखीको आर्टनाद सुनिदेऊ
यहाँ हामीले केही देख्न सकेका छैनौं
रात रात औशीको रात छ
काला वादलहरु मडारिरहेका छन्
एक झिल्को उज्यालो छैन यहाँ
त्यसैले हाम्रो लागि तिमी क्रान्ति हौ
तिम्रो लाल किरणको प्रतिक्षा गरिरहेका छौं
तिम्रो रातो घाम चहिन्छ हामीलाई
प्रभात तिमीलाई खोज्न पूर्वतिर दौडिरहेका छौं
पूर्वीय चाँडै आऊ तिमी
काल रात्रिको जञ्जिर तोडेर आऊ तिमी
गरीब दुःखीको घाँटीको सिक्री तोड्न आऊ तिमी
आँखामा कालो पट्टी बाँधिएको अवस्था छ
घोर कालरात्रि चिर्न चाँडै आऊ तिमी
तिमी युग बदल्ने जागृति हौ
कालो साम्राज्य ढलाउने ज्योति हौ तिमी
प्रभात तिमी किन विलाइरहेछौ
रातको साङ्लोहरु तोडेर चाँडै आऊ तिमी
सायद तिम्रो छातीमा सङ्गिन छ
तर तिमीलाई दुःखीहरु सबैको साथ छ
चाँडै आऊ तिमी सङ्गिन तोडी लाली प्रभात बनेर
सुन्दर क्षितिज हेर्ने रहर छ हामीलाई
अँध्यारो चिर्ने नौलो किरण हेर्ने रहर छ हामीलाई
तिमीले मात्रै स्नेहको ज्योति ल्याउन सक्छौ
लम्क–लम्क मेरा दाजुभाइ हो पूर्वतिर
लम्क–लम्क मेरा दिदीबहिनी हो पूर्वतिर
प्रभातलाई हामीले चाँडै ल्याउनु छ
थोत्रो सँसार ढालेर नयाँ सँसार बनाउनु छ
जिउनु त प्रभातले जस्तो जिऊँ
जो अरुको लागि जीवन देओस्
तर सुनिदिने कोही छैनन्
प्रभात तिमी हाम्रो उन्मुक्ति हौ
प्रभात आज तिम्रो प्यास लागिरहेको छ
हे क्रान्तिको रातो सिपाही प्रभात तिमी चाँडै आऊ
पहिलोपल्ट न्यायको घाम सँसारमा ल्याइदेऊ
बन्धन चुँडाली चाँडै आऊ प्रभात तिमी
दुनियाँलाई उठाइदेऊ , नयाँ चेतना ल्याइदेऊ
क्रान्ति आउन अगाडिको प्रसब पीडा पो हो कि
सुख पाउने आशा बोकी हण्डर खाइरहेका छौं
पल–पल वर्षौं लागिरहेछ
तिम्रो घनघोर प्रतीक्षा गरिरहेको छु
तिम्रो प्रतीक्षा गरेको धेरै भइसक्यो
तिम्रो आव्हान गरेको जुगौं भैसक्यो
हे प्रभात कहिले आउँछौ तिमी
आकाशमा सदा काला बादलहरुले ढाकिएको अवस्था छ
तिमी दुःखीहरुका लक्ष्य हौ
अबको प्रभात आउँदा
हो अबको प्रभात आउँदा
सधैं जसो आएर नविलाइदेऊ है प्रभात
सदाको उज्यालोको निम्ति आउनु
अन्धकार सधैंका लागि नष्ट गरिदिनु
अब तिमी आयौ भने तिमीलाई जान दिँदैनौं
तिमी भएमात्र क्रान्ति हुन्छ
बरु हामी बाटो सङ्घर्षका रोज्छौं
तिमीलाई कदापी जान दिँदैनौं
हाम्रो आस्था हौ तिमी
तिमी आयौ भने मात्र क्रान्तिको ज्वाला दन्किन्छ
उज्यालोका लागि ढले कति योद्धाहरु
निभे कति आशाका दीपहरु
त्यसैले तिमी सदाका लागि आउनै पर्छ
कालो इतिहासलाई जलाइदेऊ तिमी
सदा सत्यको प्रकाश ल्याइदेऊ
तिमी दीव्य ज्योति बनी आऊ
समयको बन्धनलाई तोडिदेऊ
इन्कलाब भई आऊ तिमी
इन्कलाब भई आऊ तिमी

बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *