दुध र तरकारीको झोलालाई भुइँमा राखेर हरिकृष्ण बाजे पसल अगाडिको मेचमा धर्खरिँदै बस्न खोज्छन् । ठिक त्यही बेला एक जना ठिटोले उनलाई पाखुरामा समाएर बिस्तारै मेचमा बसाइदिन्छन । त्यसपछि ती युवकको अनुहारमा हेर्दै हरिकृष्ण बाजेले सोध्छन्, “बाबुलाई मैले चिनिन नि ।”
हरिकृष्ण बाजेको कुरा सुनेपछि फेरि ती युवकले भने, “ल ! काका पनि मलाई चिन्नु भएन ? हजुरको साथी प्रेमजंगको ठुलो छोरा हो म ।”
फेरि हरिकृष्ण बाजेले छक्क पर्दै भने “लौ हेर, चिन्नै नसकिने लाठे पो भएछौ त ! अनि बाबुको नाम चैं के रे, मैले त भुलिसकेछु । समयले नेटो काटेको पत्तै नपाइ हाम्रो भेट नभएको पनि जुगौं भएछ हैन बाबु ?”
“हो नि काका अनि हजुर लाई थाहा छ ? बेलाबेला बाबाले हजुरको कुरा गरिरहनुहुन्छ । ऐ साँची मेरो नाम त भन्नै भुलेछु, हजुरले मलाइ रविन नभनेर रवि भन्नु हुन्थ्यो नि सम्झिनु त ।”
“ऐ हे ! होत नि अहिले पो याद आयो, लौ त रविन बाबु तिम्रो बाबालाई मैले सम्झेकोछू भनिदेउ है” – भन्दै हरिकृष्ण बाजे झोला बोकेर हिंड्न खोज्छन् ।
एकछिन केही सोचे जस्तो गरेर रविनले बाजेको हातबाट झोला खोस्छन र उनलाई घर पुर्याइदिने जिकिर गर्छन । पहिले त हरिकृष्ण बाजेले एक्लै जानसक्छु भनेर जिद्दी गर्दैथिए तर रविनले उनको कुरा सुन्दै नसुनी उनलाई डोर्याएर घर पुर्याइदिन्छन् ।
श्रीमानलाई अरु कसैले डोर्याएर ल्याएको देखेपछि हरिकृष्ण बाजेकी श्रीमतीले अत्तालिंदै हजुरलाई के भयो भनेर सोधिन ।
“म एक्लै घर जान्छु – भन्दा रबीन बाबुले नमानेका मात्र हुन । हेर त, मलाई केही भएको छैन” भन्दै बाजे मेचमा बस्छन अनि रविनसँग श्रीमतीको परिचय गराइदिन्छन् ।
त्यसपछि बाजेकी श्रीमतीले पानी दिंदै भन्छिन् “किनमेल गर्न म आफैँ जान्छु हजुर जानु पर्दैन भन्दा छिरिक्क मान्नु हुन्न । आज फेरि रोगले च्यापेजस्तो छ । आफ्नो स्वास्थको ख्यालै नगरी छोराहरुको पिरले रातभरि सुत्नु हुन्न । त्यसैले रक्तचाप पनि बढेको छ कि के हो । होइन हजुरका छोराहरुलाई आफ्नो सुख सयल भएपछि बाबु -आमा चाहिएन, सबै बिर्सेर उतै बस्न थाले । मैले त उबेला घांटी हेरेर हाड निल्नुपर्छ भनेकै थिएँ, तर हजुरले मेरो कुरा सुन्दै नसुनी भएको सम्पत्ति सबै सकेर छोराहरूलाई विदेश पढ्न पठाउनुभयो, तर त्यो सबै उनीहरूले बिर्से, हजुर भने उनीहरुकै बारे चिन्ता गरेर आफूलाई रोगी बनाउँदै हुनुहुन्छ ? अब अहिले आएर यो बुढेसकालमा एक्लै बस्नु परेको छ । केही भैपरी आउँदा हार गुहार गर्ने कोही पनि छैन,” भन्दै रुन थालिन ।
“लौ हेर, व्यर्थै रुन थालेकी, मैले काहाँ चिन्ता गरेको छु र बरु तिमी पो सधैँ रुन्छ्यौ । हेर! विकासकी आमा, यो दुनियाँ यस्तै छ, आजसम्म जसरी चल्यो अब पनि चल्छ । फेरि अर्को कुरा, आफूलाई मात्र हैन अरूलाई पनि हेर्नु पर्छ । भयो, पिर नगर, उनीहरूको जीवन फलोस -फुलोस । यत्ति भए हामीलाई अरू केही चाहिंदैन । बरु जाऊ चिया -नास्ताको बन्दोबस्त गर, बाबुलाई पनि भोक लागेको होला” – भन्दै श्रीमतीलाई भान्सामा पठाउँछन् र हरिकृष्ण बाजे आफूचाहिं रविनसँग दुखसुखको कुरा गर्न थाल्छन ।
लक्ष्मी पोखरेल

लक्ष्मी पोखरेल ज्यूको बुढेसकाल
वाह !!!
मिठो मिठो मिठो
अझ पढ्न पाम, यस्तै तिखो मिठो कथाहरु।
धन्यवाद।
बिन्ति, कलम नरोकियोस।
kathama ma satikta hunu
kathama ma satikta hunu jaruri chha chhoto mitho hunu parchha.