साउनको महिना झरी नपरे पनि चारैतिरको थुम्काथुम्कीमा सेतो बादल देखिन्थ्यो । जस्ले गर्दा ती नाङो डाँडाहरू कपाल फुलेको मेरी हजुरआमा जस्तै देखिन्थे । साउने सक्रांति हुनु पर्छ, आमा मामाघर जान तयारीमा देखेपछि मैले नि कम्मर कसें । “बाटोमा हिँड्न सकिन्न घरैमा बस” भन्दै हुनुहुन्थ्यो आमा । म कहाँ मान्थेँ र ! आमा निस्किनु अगावै घरमाथि सालघारीमा पुगेर आमालाई कुरिरहेँ । त्यही नजिकै सालको रुखमा न्याउली कराउँदै थियो । गुलेली बिर्सेछु चुक चुक लाग्यो । आमा नि आईपुग्नु भो । चोरी औँला टोक्दै आमा पर्टी फर्केर मुस्कान दिएँ । आमा नि मुर्छा परेर हाँस्नुभो मेरो बठ्याँई देखेर र भन्नु भो, “हेर यो चोर त अघि नै आएर पो बसिराख्या रहेछ ! छि: छि: कपडा हेर यस्को चेपाङ जस्तै देखेको छ ।”

मलाई कपडाको कुनै वास्ता थिएन । जसरी हुन्छ मामा घर जानुथ्यो, तर एउटा कुराले भने अघोरै चिन्ता पारेको थियो । अघिल्लो दिन मात्रै मैले जाँघे (कट्टु) फटाएको थिएँ पुर्णेसँग भकुण्डो खेलेर । कहिले आमाको अघि अघि कहिले आमाको पछि-पछि गर्दै हिड्थें । बाटो वरिपरीका फूलहरू टिप्दै केही खल्तीमा हाल्थेँ, केही कानमा सिउरिन्थेँ । बाटोमा भेटिएका चिल्लाचिल्ला सा-सानु ढुङ्गा पनि खल्तीमा हाल्थेँ । कहिले पानी परेको दिशातर्फ फर्केर थुक्थेँ… ।

मामाघर पुग्नसाथ आमा भित्र नपस्दै भित्र पसेर सबैलाई ढोगेँ । सेतो बादल शिरमा बोक्दै उभिएको पहाड झै देखिने गरी हजुरआमा कुनाको खाटमा हुनुहुन्थ्यो । अनि सोध्दै हुनुहुन्थ्यो छर (नयाँ) लामा आइपुग्यो ? म नि नजिकै गएर बसेँ । म मर्दा मेरो किरिया गर्ने लामा भन्दै मलाई सुम्सुम्याउन थाल्नु भो । भोलिपल्ट बिहानै मामाको छोराछोरी सबै स्कूल गएछन् । मामाघरमा काम गर्ने तीन जना चेपाङ भएता पनि आमा नि गाउँले आइमाईहरूसँग घाँस काट्न जान लाग्नु भाको देखेर म नि कचिया र नाम्लो खोज्न थालेँ । सात बर्षको हुँदो हो, “भिरमा जान सक्दैन यतै खेल्नु” भनेर बिचमै मलाई छाडी आमाहरू गीत गाउँदै माथि भिरतिर लाग्नु भो । त्यस्तै ३० मिनेटपछि मेरो हात काट्यो, वनै थर्किने गरू रोएँ । म रोएको सुनेर आमा नि हाम्फालदै आउनुभयो र “नआउ भन्दा मानेन” भन्दै एक झापट गालामा हान्नु भो । अनि आफ्नो नयाँ पटुकी काट्न थाल्नु भो मेरो घाउमा बाँध्नलाई । “यहीँ बस म घाँस काटेर आउँछु” भन्ने आमा मास्थिर (माथितिर) लाग्नु भो । म तित्रे चरा झैँ त्यहीँ बसी रहेँ । कुहिरोभित्र पारिपट्टी कामी गाउँमा मजस्तै बच्चाहरू कोही रुँदै थिए त कोही –

धानको बाला मै मरी जाला
मेरो माया कहाँ बसी रोइराला

भन्दै गीत गाउँदै थिए । नजिकै ठुलो चिप्लो ढुङ्गा थियो म पनि मास्तिर आमा पट्टी फर्केर त्यही गीत गाउन थालेँ ।

धानको बाला मै मरी जाला.. ।

त्यति खेरै मेरो उध्रेको कट्टु (जाँघे )को प्वालबाट चिसो बतास भित्र छिर्दै थियो सुलुलु … ।

चिप्लो ढुङ्गामाथि चढेर हात काट्ने कचियाले ठुङ्दै गीत गाउँदै थिएँ, कोही हाहा हाँसेको अवाज सुनेँ । माथि फर्केर हेरेको फुस्फुसाउँदै गरेको हुस्सुभित्र हात्ती झैँ देखिने घाँसको भारी बोक्दै आमाहरू आउँदै हुनुहुँदो रहेछ । सबैजनाले म बसेको ठाउँम भारी बिसाएर थकाइ मार्नु भो ।

“रुने मान्छे त गीत गाउन नि आउदो रहेछ नि?” भन्दै प्याकुली बिक दिदीले अँठ्याउनु भो । अनि मैले ठुङ्गेको ठाउँ हेर्दै “लौ ढुङ्गामा नाम नि लेखेछ,” भन्नुभयो ।

त्यतिखेर आमाले नि घाँसको भारी बिसाइसक्नु भएको थ्यो । “छि ! यो बाँदरको मुख हेर, आँशुसँगै रगत नि दलेछ” भन्दै मलाई आमाले तान्नु भो र आफ्नो लुङीको सप्कोमा थु थु गर्दै मेरो मुख पुच्छनु भो । सबैको भारी हुँदा मेरो नहुँदा म रुन्छ भन्ने आमालाई थाहा थियो । त्यसैले एकैछिनमा एकमुठा घाँस मेरो लागि तयार पार्नु भो । आफू जस्तै सानु घाँसको भारी देखेर म नि रमाउँदै हातको औँला टोक्दै मुस्कुराई रहेँ । बाटैभरि कहिले मामाघर पुगुँला र आफ्नु घाँसको भारी मामालाई देखाउला भन्ने कुराले पिरोली रह्यो । त्यसैले खुट्टाको चप्पल चुरा झैँ हातमा लाएँ र कुँदे पुतुतु ओरालो । हामी पुग्नु अगावै चेपाङहरूले गोठमा घाँस बिसाईसकेको थियो र आमाले पनि भैँसी माउ नजिकै बिसाउनु भो । तर म चाहिँ लागे गोठ छोडेर मामाघरतिर मामालाई खोज्दै । दक्षिणीमोडको पिँडीमा बसेर मामा हुक्का चिलिम तमाखु तान्दै हुनुहुँदो रहेछ ट्वार ट्वारर् । नजिकै पिँडीमै मैले घाँसको भारी बिसाई दिएँ ।

“लौ मेरो नातिले घाँसको भारीपनि ल्याइ पुर्याएछ । ओइ सुनमाया यहाँ आईजो त यो घाँसको भारी उता गोठमा पुर्याइ देउ । यो रुम्बा खलक आइपुगेपछि कोही बस्न मान्दैन । न दिदी चाहिँहरू, न बाउ चाहिं । सबै काम गर्न अघि सर्छ” भन्दै मामा फत्फताउँदै हुनुहुन्थ्यो ।

भर्खर स्कूलबाट आइपुग्नु भाको सूनमाया दिदी पनि बाहिर आउनु भो र “आमामामा सम्धीको भारी मैले बोक्न सक्छ र?” भन्दै गिज्याउदै नसकेको झैँ गरी दुई हातले उचाली लानु भो । म लाजले पानी पानी भएँ । किनकि सुनमाया दिदीदेखि मलाई सारै लाज लाग्थ्यो । म लाजले मामाको पछाडी लुकेँ । घाँस गोठमा पुर्याइवरी फर्की आई सुनमाया दिदीले गिज्याउदै “बुडीभैँसी छेउमा बिसाउनु पर्छ नि सम्धीकहाँ बुढीमामा छेउमा बिसाउनु भाको?” भन्दै झन् गिझ्याउन थाल्नु भो । म झन लाजले उध्रेको कट्टुको प्वालबाट हावा नै नछिर्ने गरी दुबै खुट्टालाई बढो जोडले कसेर जोडदै मामाको पछाडी लुकेँ, मामाले उडाउनु भा’को तमाखुको धुवाँ हेर्दै आकाशमा ।

साँच्चै लाज भन्ने कुरा त जति महशुस गर्यो उति ठुलो लाग्ने रहेछ । मुस्किलले हातको कान्छी औंला छिर्न सक्ने उध्रेको मेरो जंगीको सानु प्वाल निक्कै भयंकर ठुलो झैं महशुस हुँदै थियो । शायद साँझ सुत्दा लाजले त्यही प्वालमा हातले छोपेर सुतेकोले होला बिहान बिउँझिदा हात त्यसरी नै थियो भने कुना पटी फर्केर कुकुर सुताई सुतेको रहेछु । चिसो बतासको स्पर्स र फूलको रस खाने फिस्टे चराको तिखो स्वर कानमा ठोंकिदै थियो । आँखा खोली हेरें, उज्यालो भैसकेछ, उज्यालो प्रकासले कोतार्दै थियो घरको भित्ता । छेउ पटी सुत्नु भएको आमा देखिन । सम्झे आमा आज नि घाँस काट्न जानु भएछ क्यारे ! खरले छाएको भए पनि मामाको घर दुइ तले निक्कै ठुलो थियो र माथि बरण्डा (मटन) निकालिएकोले हामी त्यहीं सुतेका थियौं । अल्छी मानि मानि भर्याङ्गको छेउमा आइ तल चियाएँ । मामा बुढी कराइमा दुध तताउँदै बाँसको ढुङ्ग्रोले फु…फु… गरी फुक्दै हुनुहुँदो रहेछ । चरी लौरी टेक्दै प्राय मेरो घरमा आउनु हुन्थ्यो मामा, त्यसैले मलाई लाज डर लाग्ने थिएन । तल ओर्लेर अँगेना छेउमा मामा नजिकै बसें । मामाले भुल भुल उम्लीदै गरेको दुध चरेसको एक डबुका हाल्दिनु भो । बायाँ हातको औंला काटेकोले धारमा गै राम्ररी हातै नपखाली दायाँ हातले छ्याप छ्याप मुखमा पानि छ्यापि आई दुध पिएँ । ‘अरु “सबै स्कूल पढन गइ हाल्यो अब तिमि चाहिं घरमै पढ्नु” भनेर मामाको छोरा छोरीको किताब निकालेर दिनु भो मामाले । दुध खाको तागत निकाल्दै भट्याउन थालें हावा हावामा मुखमा जे आउँछ त्यही । हातले किताबको पाना पल्टा झैं गर्थें आखाले चोरी चोरी मामालाई हेर्थें अनि मुख चाहिं निक्कै ठुल ठुला आवाज निकालेर पढे झैं गर्थें । बेला बेला मामा मुसु मुसु हाँस्दै गर्नु भएको मैले छड्के आँखा लाएर हेर्दै थिएँ । पढे जस्तो गर्दा गर्दै हिजो कामि गाउँका बच्चाहरूले गाउने गीत-”

धानको बाला मै मरी जाला,
मेरो माया कहाँ बसी रोइरला’

मेरो मुखबाट फ्याट खुस्किहाल्यो । मामा मुर्छा परेर हाँस्नु भो । अनि छर लामा (नयाँ लामा)बाट मलाई नक्कले लामा भन्न थाल्नु भो । म लाजले पानी पानी भएँ । त्यति नै खेर आमा ढोकामा झुल्किनु भो । आमा तल्लो घर कान्छा मामा कहाँ जानु भएको रहेछ आमाले ल्याउनु भएको रक्सीको खालि बोतोल लिनलाई । हातमा झोला बोक्दै “बाबु अब घर जानु पर्छ बाबाले मार्नु हुन्छ । त्यत्रो भैंसी, बाख्रा के के भो” भन्दै आमा फत्फताउन थाल्नु भो ।

मामाले नि खान तयार पारि सक्नु भएको थियो । खान बस्यौं । “दिदीले धुम्सी कुखुराको चल्ला लाने भन्दै थियो तिमीले बोक्न सक्छौ त नाति?”भन्नु भो मामाले ।

साँच्चै कस्तो अचम्म! काँडा उम्रेको जस्तो कुखुरा । सक्छु भनेर कुखुरा लखेट्न थालें । ठूलो समाउन सकिन, सानु चल्ला भने नि लान्छु भन्दै चिप चिप गर्दै गरेको चल्ला अँठ्याए । “पर्दैन मर्छ” भन्दै आमा कराउदै हुनुहुन्थ्यो । तर मैले छाड्दै छाडिन । एउटा हातमा कुखुराको चल्ला अर्को हातको औंला काटेकोले मामालाई ढोग्दा गोडा नटेकेर निउरे जस्तो घोप्टो परे । बदमास बतास, त्यही बेला सिरिरिरिरी… गरी उध्रेको कट्टुको प्वालबाट छिर्यो । बाटैभरि चल्लालाई फट्यांग्रा, कितिर्की किराहरू खोज्दै खुवाउदै आमाको पछि दौडी रहे । बर्षायाम कहिले पुर्बी क्षितिज कहिले पश्चिम कालो बादल झरी बोक्दै हामीतिर आउँदै थियो । आमा मलाई त्यही कालो बादल देखाउदै “छिटो आ छिटो” भन्दै भाग्दै हुनुहुन्थ्यो । नभन्दै साल घारीमा हामीलाई पानीले भेट्यो । रुझेको मुसा झैं हामी आमा छोरा पानीमा नि आफ्नो गन्तब्यतिर लम्की रह्यौं । जाडोले कुखुराको चल्ला आँखा चिम्म पर्दै थियो । “ला! अब मर्छ” भन्दै हुनुहुन्थ्यो आमा । त्यसरी आँखा चिम्म गरेर मर्न लागेको चल्लाको मल्द्धर (चाक)मा फुकेको देखेको थिएँ पुर्नेको आमाले, त्यसरी नै कुखुराको सुली आउने ठाउँमा मुख जोडेर जोडले फुक्दै कुँदे ओरालो । पिलिक्क पछाडी फर्केर हेर्नु भो आमाले, मेरो त्यो चर्तिकला देखेर हाँस्दै “थु थु… बाँदरलाइ घिन नि लाग्दैन” भन्दै भाग्दै हुनुहुन्थ्यो । घर नि आइपुग्यो । गाइ बाख्रा बानीवरी दिदीहरू पढ्दै हुनुहुदो रहेछ । बाबा नि आफ्नै खोपामा लामा किताब (छ्योई) पढ्दै हुनुहुन्थ्यो । मेरो हातको चल्ला देखेर दिदीले “मेरो चल्ला” भन्दै झम्टिन आउनु भो, मैले नि “नाई मेरो” भन्दै अँठ्याए । एक पटक चिप भनेको सुनेको थिएँ मरिसकेछ । चिसोले होला भनेर अगेना छेउमा लागेर राखेको चलेन । त्यो देखेर दिदी रुनु भो म नि आँखाभरि आँशु बोक्दै उभेर निकै बेर हेरिरहेँ ।

हामी घर आइपुगेको थाहा पाउनु भएर बाबा नि खोपाबाट निस्किनु भो र मलाई देखेर भन्नुभयो “थुइक्क चेपांग!! सन्दुसैभरि सर्ट पाइन्ट ढुसी परेको होला नांगै गएर बिजोग देखाएर आइस…!”

समाप्त ।

राजेश रुम्बा लामा ‘अतृप्त’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *