Skip to content

दाइजो र छोरी

  • by


मान्छे हो अति दुष्ट छौ किन अहो सार्‍है नराम्रो खुनी ।
तिम्रो त्यो मति भ्रष्ट भो अनि भयौ राँगो सरी वैगुणी ।।
राम्राको नगरी विचार तिमिले खाली नराम्रा छ जो ।
हत्या लुट छलै गरेर नपुगी माग्यौ अरे दाइजो ।।१।।

बाबाको करमा परेर पनि ती छोरी पढेरै रहे ।
आमाले ममता गरेर सुखले छोरी बढेरै गए ।।
पूर्णिमा जुनकै समान कसरी ठूला भये ति वरा ।
छोडी जानु बाबुका घर कठै क्यै छैन झै बीचरा ।।२।।

छोराझै ति बसेर गर्भभित्र नौ मैन्हा विताई गरी ।
उस्तै रीत गरी समान दुखले पैदा हुने बेसरी ।।
पैदा भै त सकी रुनी अनि कराऊने उसैका सरी ।
ती छोरी पनि बने भिन्न कसरी होलान्त छोरै सरी ।।३।।

हाम्रो छैन समाज ठीक पनि त्यो होच्याउने गर्दछ ।
छोरीका तिरका जहान हरु ती तल्लो भनी मान्दछ ।।
छोराको जुन छन् बखान गरिने के छन् र राम्रा कुरा ।
रक्सीका सुरमा उ हिड्छ करमा बोकेर नाङ्गो छुरा ।।४।।

जाली त्यो छलछाम काम नगरी बिग्रेर हिड्ला अरे ।
आफ्नै साथि र इष्टमित्र नभनी घाटी त गिड्ला भरे ।।
के उस्का जननी र बाबु पनि ती लाजै नभाका ठुलो ।
त्यस्तैका नि विहेमहाँ निज पिता खोज्छन् अरे दाइजो ।।५।।

अर्काको धनको गरेर मनमा जो आस साँच्दो छुचो ।
आफ्नो छैन कमाइ आस अरुकै गर्ने भको त्यो लुचो ।।
पाल्ला के गरेर पत्नि उसले लाछी र ढोंगी छ जो ।
खाली माग्दछ पत्निका घरमहाँ चाहिन्छ रे दाइजो ।।६।।

जस्तै लेखपढी गरोस् नकचरो हो बुद्धु त्यो वैगुणी ।
मूर्खैका मनमा रहन्छ कुप जो बन्ला भरे त्यो खुनी ।।
त्यस्तालाइ नदेउ कोख कि फुल ती पर्ला कुनै दुर्दिन ।
अन्जान्मै परि फेर छाड उसका साथै नराखी कन ।।७।।

छोरी हो असली पढेर बसि ता आफ्ना भरैमा अडी ।
छोरी नै छलि छे छलेर रहि ता जान्छे घरैमा सढी ।।
छोरी हुन्न दिनै ति दुष्ट मति माग्ने दाइजो का घरै ।
मार्लान् की भनि पो हुने छ र सदा लाग्ने खुनीको डरै ।।८।।

जस्ले माग्दछ दाइजो उसकनै पाता कसि बेसरी।
राख्नै पर्दछ दाइजो सँगसँगै डामेर साँढे सरी ।।
आमा होस् कि त बाबु सो कन यहाँ बाँधेर भैंशी सरी ।
हाल्नु पर्दछ घांस खा अव त लौ भन्दै र गाली गरी ।।९।।

जुत्ताकै त बनाइ त्यै त पगरी माला उसैको पनि ।
लूच्चालाइ घुमाउनू शहरमा ठोकेर ढ्याग्रों छ नि ।।
थूक्नू त्यै मुखमा नमानी डर त्यो हो दाइजो मागने ।
खुट्टा भांच्नु नि पर्छ लौ गजवकै खूनी त जो लागने ।।१०।।

त्यो खुनी नर हो पिपासु पनि त्यो हो दाइजो मागने ।
त्यस्तालाइ दियेर मूटु सरिकी छोरी कहाँ फालने ।।
मान्छे हो अव लौ हुन्न दिन ती छोरी दाइजो कै सरी ।
तिम्ले के छ र पाउनू ति फुल झैं छोरी विदाई गरी ।।११।।

पाल्यौ हातमहाँ नचाइ घरकी लक्ष्मी भनी वेसरी ।
फाल्छौ हातमहाँ पराइ घरका राक्षस् कहाँ के गरी ।।
माग्ने भो धन जो नमानि शरमै दुष्टै त हो पाजि त्यो ।
ठोक्नै पर्छ ल गोलि खा बरु भनी माग्ने गरे दाइजो ।।१२।।

पैलो सात र सात तैँ त पछिका पुस्ता सबै पागल ।
बन्नेछन् आस गरीस् त फेर अरुको, पाम्ला भनी त्यो धन ।।
तैंले गै रहनू ल जेल भित्र भनी, कोच्ला कि त्यो शासन ।
फेरौं लौ सबले मिली चलन यो, फाली पुरानो कन ।।१४।।

छोरी गर्भ बनेर घात जसरी, फाल्ने बनायौ पुरा ।
रोक्नै पर्दछ लौ भने अव गरौं, नाश् दाइजो कै कुरा ।।
पाँग्रा दूइ त हुन् भने त रथका, छोरा र छोरी दुवै ।
आजै मेट ल दाइजो लिनदिनै, प्रथा छ फाल्ने खुवै ।।१५।।

कीरा पो त समाजको जसले, पार्ने छवी यो फिका ।
फाल्नै पर्छ नि कुरीतको त धमिरो, बनेर एक्कै ढिका ।।
ठोकौं तेसकनै छ मूर्ख असती, त्यो देश द्रोही त जो ।
नेपाल्बाट विदा गरौं न अरुको, मागी लिने दाइजो ।।१६।।

(शार्दूलविक्रीडीत छन्द)

– चूडा निर्भीक
(२०६९/५/४/२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *