Skip to content


सेसेलुङ जस्तै अग्लो
सुदुर ईतिहासलाई
तिम्मुको ढाका टोपी ओडेर,
तल कावेली, तमर हुँदै
सप्तकोशीबाट समुन्द्रसम्म
साम्राज्य फैलाएको ईँवा,
बस्तीहरूलाई ब्यूँझाउँदै
युग बोकेर बाँसी रहन्छ..
इँवा बगिरहन्छ …
अबिरल … अबिरल … ।

पारि-वारिको बासिन्दाहरू
दुवालो छेक्छन् ।
उता फर्काउछन्,
यता फर्काउछन्,
जता फर्कायो उतै फर्किन्छ
इँवाको पानी, लामदुवालीहरूमा ।
असला, कत्ले, बाम
र,
तिते माछाको
खोजी गर्न मै
मख्ख रमाउछन यहाँका बासिन्दाहरू ।

कहिलेकाहीँ
इँवा बौलाउँछ
साह्रै बेइमानी देखाएर ।
खोला खेती बगाउछ,
याक्साहरू बगाउछ,
गाई गोठ बगाउछ,
बासिन्दाको सपना बगाउछ ।
सुनामी जस्तै
बाडी गडगडाउनु
इँवाको बहादुरी
र,
बाध्यता दुबै हो ।
भए भर सबै बगाएपछि
बासिन्दाहरू खुब बिरत्तिन्छन,
सेताम्मे पल्टेको बगर हेरेर ।
बासिन्दाहरू !
ईँवाको धुप ध्वार गर्छन्,
पूजा हाल्छन् सङ्गोलमा,
कोही दुध चडाउछन्,
कोही बोका, रागा, हास, कुखुरा चडाउछन्,
फेरि अर्को पटक
निर्दोस पशुको बलि चड्छ ।
इँवा बगिरहन् …
अबिरल … अबिरल … ।

इँवासँग साह्रै चम्किलो
उज्यालो खानी छ,
पुरै कर्णालीसम्म बाल्ने,
तर,
इँवाकै पारि-वारि बस्तीहरूले
अध्यारो बस्नु पर्छ ।
इँवासँग बिशाल बिशाल
उद्योग र कलकारखाना चलाउने
शक्ति र सामर्थ्य छ,
तर,
त्यही इँवाको पारि-वारि
बासिन्दाहरूले !
मकै, गहु, कोदो, धानहरू
ढुङ्गे जातो र मुडे ढिकिहरूमा
पिस्नु र कुट्नु पर्छ ।
इँवा बगिरहन्छ …
अबिरल … अबिरल … ।

इँवा कति बग्यो,
के के बगायो,
खै !
बासिन्दाको दु:ख कहिलै बगाएन ।
इँवामा जाल हानी खाने
जालहारी दाइको त झन
दु:ख कहिलै बग्दै बगेन, बग्दै बगेन ।
इँवाकै बगरमा बित्यो
एउटा पुस्ता
जाल हान्दा हान्दै ।
पसिना बग्यो,
उमेर बग्यो,
तर बगेन दु:ख
जालहारी दाइको इँवामा ।
बुडा भन्छन्:-“अब आँफै बग्नु मात्र बाँकी छ” ।
इँवा बगिरहन्छ …
अबिरल … अबिरल … ।

इँवाको शक्ति र सामर्थ्यलाई
माथि सिंहदरबारका मान्छेहरूले बुझिदिए,
बस्तीहरूको दु:ख
बगेर जान्थ्यो होला !
बस्तीहरू झिलीमिली बलेपछि
इँवा उज्यालोमा बगिरहन्थ्यो ।
बसिन्दाको दु:ख पनि
इँवाको पानिसङ्गै बगेर जान्थ्यो ।
इँवा सृस्‍टिदेखि बगिरहयो..
र बगिरहन्छ …
अबिरल … अबिरल … ।

९ सेप्टेम्बर २०१२
बिरानो देशबाट
“इँवा” -पुर्बी नेपालको लिम्बुवान भूमिलाई चुमेर अबिरल बग्ने साह्रै ऐतिहासिक खोलाको नाम हो । यो खोला पाँचथर र ताप्लेजुङ् जिल्लाको सीमाना पनि हो भने इँवाको अर्थ कुखुराको भाले भन्ने हुन्छ, “इँवा” लिम्बु भाषा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *