हिउँदको सिरेटोसँगै न्युमोनियाले दर्जनौँ शिकार फसाउँदै अगाडि बढ्यो । यसबाट जोन्सी बच्नसक्ने कुरै थिएन । ऊ सयनकक्षको झ्यालबाट अर्को घरको पर्खालमा नियाल्दै थिइ । सामान्य परीक्षण पछि रूम पार्टनर स्युलाई डक्टरले बाहिर बोलाए ।
“दशमा एक सम्भावना । बाँच्ने इच्छा जागृत भएमा सम्भावना दोब्बर हुन्छ ।”
काममा ध्यानमग्न भएकै बेला मलीन आवाज आयो — जोन्सी झ्यालतिर हेर्दै उल्टो गन्दै थिई – ‘‘बाह्र’’ ‘‘एघार’’ … ।
‘‘के गन्दैछौ ।”
“तीन दिन अघि गन्दा गन्दा टाउकै दुख्थ्यो । ऊ अर्को गयो । अब पाँचओटा मात्र बाँकी छ, जब अन्तिम पात खस्छ, अनि म पनि जान्छु । डक्टरले भनेन ?”
“बकवास । मलाई उज्यालो चाहियो चित्र भोली नै दिनु छ । झ्यालमा बोर्ड राख्छु तिमी सुत ।”
‘‘काम सकिनासाथ भन है । त्यो अन्तिम पात खसेको हेर्छु ।’’
‘‘सुत । म बूढो बर्मनलाइ नमूना बन्न बोलाउँछु । एक मीनटमा आएँ, हलचल नगर्नु ।’’
बूढो बर्मन भुईँतल्लामा उनीहरूकै पछाडिको कोठामा बस्ने एक चित्रकार थियो । साठी नाघिसकेको बर्मन चित्रकलाको क्षेत्रमा असफल थियो । चालीसवर्षदेखि सर्वोत्कृष्ठ चित्र बनाउने धुन, तर सुरू गरेको थिएन । स्युले बर्मनलाई जोन्सीको कुरा सुनाई । ऊ सोचनीय भयो ।
भोलीपल्ट बिहान उठ्नासाथ जोन्सीका आँखा ती पातहरू भएतिर गए । अझै पनि एउटा पात त्यहिँ थियो ।
साँझ अबेरसम्म जोन्सी हेरीरही । राती पानीसँगै हावा पनि चल्यो । भोलीपल्ट बिहान पनि त्यो पात ज्युँ का त्युँ थियो । जोन्सीले तात्तातो सुप पिउने चाहना गरी । दिउँसो डक्टरले भने-
“सम्भावना अब अलि बलियो छ । राम्रो हेरचाह र स्याहार सुसार गर्नु । तल बर्मनलाई पनि न्युमोनिया भएछ । बूढो मान्छे ! बाँच्ने सम्भावना छैन ।”
भोलीपल्ट – “अब खतरा छैन, तिमीले जित्यौ अब खानपानमा ध्यान दिनु सब ठीक छ ।”
स्यु जोन्सीलाई भन्दै गई । “दुई दिनदेखिको बिरामी बूढो बर्मन आज मरेछ । चिसोले कक्रक्क भएको अवस्थामा चिसो जुत्ता र चिसो कपडा सहित तल भुईँमा फेला परेका थिए । त्यस्तो चिसो राति कहाँबाट आएको कसैले पत्तै पाएन । उसको शरीरसँगै एउटा बलिरहेको टर्च, हरियो र पहेँलो रङहरू मिसीएको कुची र प्लेट साथै भऱ्याङ पनि सँगै थिए । त्यो पात किन झरेन ? हेर त त्यो त बर्मनको सर्वोत्कृष्ट चित्र पो रहेछ त ।”
ओ.हेनरीको कथा The Last Leaf को भावानुवाद
मझेरीमा पहिलो पटक प्रकाशित – 2012-09-09 14:01:08 +0000

धेरै राम्रो छ यो कथा, अनुबाद
धेरै राम्रो छ यो कथा, अनुबाद र प्रकाशन गर्नुभएकोले पढ्न पाएँ -धन्यबाद यहाँमा। तर अचेल नयाँ अनुदित कथा पढ्न पाँईदैन नी?