सानो कापी (लघुकथा)


चमेलीले राजालाई एउटा सानो कापी लगेर दिई । राजाले त्यो कापीमा लेखिएका अक्षरहरू पढ्न थाले । उनले पढ्दै गर्दा अचानक चिच्याउँदै हजामले (लौहा) भन्यो, “सरकार ! मैले त होइन मन्त्रीज्यूले अह्राएको हो ।”

राजाले छक्क पर्दै सोधे, “तिमीलाई मन्त्रीले के अह्राएका थिए ?”

“सरकार ! आज कपाल काटेको बेला हजुरको घाँटी रेटेर मारिदिनु भनेका थिए ।”

कपाल काट्न बसेका राजा हजामको कुराले स्तब्ध भए, “अनि यो कागज कहाँ फेला पार्यौ त ?” भनेर चमेलीलाई सोधे ।

चमेलीले भनी – “मूलद्वारको छेउमा बढार्दै गर्दा भेटेकी हुँ । तर एकै छिनअघि दरबारभित्र आउँदै गरेको एक जना युवकलाई त्यही ठाउँमा द्वारपालेहरूले बेहोस हुने गरी पिटेर बाहिरको प्रतिक्षालयमा लडाइदिएका छन् । शायद उसैको हुनुपर्छ सरकार !”

त्यो युवकलाई दरबारभित्र ल्याउन राजाले आदेश दिए । राजाको छेउमा आइपुग्दा बिचरा लठेप्रो धर्मराज डरले थरथरी कामिरहेको थियो । नडराई बस भन्दै राजाले उसलाई आफ्नो छेउको मेचमा बसाए र “यो कापी तिम्रो हो ?” भनेर सोधे ।

“हो सरकार !” ओठ कमाउँदै धर्मराजले भन्यो ।

राजाले फेरि सोधे, यो कापीमा के लेखेको र किन लेखेको ?

राजाको अगाडि निहुरमुन्टी, “न” जस्तै हुँदै धर्मराजले भन्यो,” सरकार ! मेरो घरमा बिहान बेलुका हात मुख जोर्न पनि गार्हो भएकोले म काम खोज्न आएको हुँ । यहाँसम्म आइपुग्दा बाटोमा जे जे देखें त्यही त्यही लेखेको हुँ ।”

फेरि राजाले सोधे, “के के देख्यौ त ?”

घरबाट निस्किएपछि सबैभन्दा पहिले रुखमा एक्ले बाँदर बसेको देखें । त्यसैले “टुसुक्क बसेको छ” भनेर लेखें । अलिक पर पुग्दा मूसाले धान खाँदै थियो । त्यसलाई “कुत्रुक-कुत्रुक गर्दैछ” भनेर लेखें । फेरि अलिकति हिँडेपछि हिलो पानीमा सुँगुर लडिबुडी गर्दै थियो । त्यसलाई “घसिघसाउ -घसिघसाउ पानी” भनेर लेखें । हिँड्दा हिँड्दा मलाई थकाइ र भोक लागेपछि ढुंगामा बसेर खाजा खाँदै गर्दा मेरो सामुन्नेको रुखमा एउटा कालो ढेडु देखें र उसलाई पनि मलाई जस्तै भोक लागेको होला भन्ने सम्झेर “कालु ! तेरो कुरा मैले जाने” भनेर लेखेको हुँ ।

उसको कुरा सुनिसकेपछि “मलाई रक्षा गर्न मेरो भगवान बनेर आएका रहेछौ तिमी” भन्दै राजाले धर्मराजलाई चाहिने जति सम्पति दिएर पठाए । र, ईश्वरलाई धन्य भन्दै चार लाइन लेखिएको त्यही कागजमा नजर डुलाउन थाले ।

१, टुसुक्क बसेको छ ।
२, कुत्रुक – कुत्रुक गर्दै छ ।
३, घसिघसाउ – घसिघसाउ पानी ।
४, कालु तेरो कुरा मैले जाने ।

संयोगबस त्यो हजामको नाम कालु थियो ।

लक्ष्मी पोखरेल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “सानो कापी (लघुकथा)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *