तीज फेरि आयो । मलाई मन पर्ने पर्वमा तिहारपछि तीज प्रमुख हो । मैले कहिल्यै भगवानजस्तो पति पाऊँ भनेर व्रत बसिन । तर रमाइलोको लागि बस्थेँ बिहे पहिले पनि कहिलेकाहीँ । बिहेपछि भने परदेश नलागुन्जेल नियमित बस्ने गर्थेँ । परदेशिएका यता केही साल भने अलग धर्मी, अलग बातावरण र परिवेशका कारण नियमित हुन सकेको छैन । जुनाबेला म व्रत बस्थेँ । त्यो पनि भगवानलाई खुशी तुल्याउन या त्यसबाट पतिको आयु लम्ब्याउन पटक्कै होइन । म पूर्ण आस्तिक हुँ तर मान्छेको कष्टसाध्य कर्मले भगवान प्रसन्न हुनुहुन्छ भन्नेमा मैले तबबाट विश्वाश गरिन जबदेखि म केही बुझ्ने भएँ ।
हो यसो हुँदाहुँदै पनि म तीजमा व्रत बस्थेँ । पूजा न्यास्ध्यान गर्थेँ र पतिका पाउ पखालेर श्रदापूवर्क पानी पिउँथेँ । कसैले भन्नुहोला ओहो ! कस्ती अन्धबिश्वासी ! कस्ती दासी ! भन्नेहरुलाई छुट छ । तर सत्य त्यसो होइन । म यो सब मेरै खुशीले मनैदेखि चाहेर गर्थेँ । त्यसो नगरदा पति रिसाउने या कसैको दबाबमा जबर्जस्ती मैले त्यसो गर्दिनथेँ । स्वतस्फूर्त मनैले चाहेर केवल माया र श्रदामा गरिने अन्य हरेक कृयाकलाप जायज र हितकर हुन्छन भने यो किन नहुने? यसो गर्दा मलाई घाटा या दबाब बिल्कुल हुन्नथ्यो । बरु घाटानाफा हेर्ने हो भने फाईदै बेसी हुन्थ्यो । एक त यसो गर्दा मेरो संस्कृतिमा चलिआएको रीतको सम्मान र निरन्तरता हुन्थ्यो त अर्को पति पत्नी बिच अझै माया गाढा हुन्थ्यो । त्यो किन भने तीजको एक बिशेषता र प्रमुख मान्यता व्रत बस्ने र पतिलाई श्रद्धा गर्ने यो कार्य नित्तान्त पतिपत्नी बिचमा हुने कार्य हो । जहाँ श्रदा र अवर्णनिय अपार माया छ त्यहाँ सबथोक जायज र समान हुन्छ । मलाई तीज पर्वका यी बिशेषता असाध्यै मन पर्छ । नाता र सम्बन्धमा सुमधुरता र समर्पण कायम राख्न सबै समाजमा सबै धर्मले आ-आफ्नै खालको नियम र परिधि किटेर सुम्पिएका हुन्छन् । तिनमा रहेबसेका गलत रित हट्नुपर्छ तर हृदयभरीको प्रेम-सागर बिच समर्पणमा गरिने यस्ता रित मलाई अहितकर लाग्दैनन किनकी मायामा समर्पणमा यी केही नरामो रित हुँदै होइनन् । यी रित निभाउँदा न त म दबिएकी छु । न त मेरा हक अधिकार खोसिएका छन् र न मैले आफूलाई बन्धक बनाउनु परेको छ ।
फेरि कसैले भन्नुहोला समर्पण हो भने बरोबर हुउनुपर्यो नि ! के तपाईंका पतिले पनि तपाईंका पाउ धोएर पानी पिउँछन? अहँ पिउँदैनन् । र किन नपिउने भनेर म कहिल्यै भन्दिन पनि । पहिलो कुरा मलाई पतिले यसो गर ! भनेर दबाब दिएर मैले गरेकै होइन । अर्को कुरा समर्पण र त्याग भन्ने कुरा स्वतस्फूर्त गरिनुपर्छ जहाँ बदलामा प्रतिफल आशा गरिन्न । अनि अझ अर्को कुरा, मैले भनेँ नि म कतिपय हाम्रा परम्परा र संस्कारका कुरालाई अत्यन्त श्रद्दा गर्छु । जहाँ अलग नाता सम्बन्धको अलग स्थान र मर्यादा तोकिएको छ । त्यो नाघेर नै मलाई समानता भएको या हुने जस्तो लाग्दैन । हाम्रो संस्कारले नारीलाई हेप्नुपर्छ, दबाउनुपर्छ र पछि पारिनुपर्छ भनेको छ भने त्यसको म घोर बिरोध गर्छु । तर यदि हाम्रो संस्कारले नाता र सम्बन्धको सुमधुरता र मर्यादाको निम्ति केही काइदा सुझाएको छ भने त्यसलाई म सदा सम्मान र अनुशरण गर्छु ।
मित्रहरु ! समग्रमा मेरो आशय के हो भने हामी जुनबेलापनि समानताको कुरा गर्छौँ जो अत्यावस्यक हुँदै हो । तर समानताको परिभाषा “बराबर हेप्नु” नभएर “बराबर सम्मान गर्नु” हो । आर्थिक, नैतिक, सामाजिक , शैक्षिक आदि आदि कुरामा सबलता हासिल गर्न पाइएको या सकिएको छ भने संस्कृतिले तोकिदिएको केही सीमित काइदा जो अलग नाता र सम्बन्धको मर्यादा र आत्मियता को लागि हो भने कसैको दबाबमा आएर होइन तर स्वतस्फूर्त ति काइदा अवलम्बन गर्दा कोही पनि पिछडिएको हुँदैन । पहिले हामी यो बुझ्न प्रयत्न गरौँ कि पिछडिनु र दबिनु भनेको खास के हो?
अनि माया र समर्पणभरि मन र आँखाले हेरौँ त सबथोक जायज र मिठा लाग्छन् चाहे त्यो पतिको पाउको पानी होस् या बलिष्ठ अंगालो ।
(नोट: यो मेरो ब्यक्तिगत धारणा हो । कसैमाथी लाद्न खोजिएको दबाब होइन है ! सम्पूर्ण मित्रहरुमा तीजको शुभकामना!)
दीप्स शाह
deepssanu@gmail.com

समय सँगै मान्छेको सोच्ने
समय सँगै मान्छेको सोच्ने ढंगमा पनि उतारचढाव आउछ। तर खुट्टाको पानी खाएर कोही दबिने र होचिने भने कदापी होइन। दबिने भनेका ती हुन् जो एकले अर्काको भावनाको कदर गर्दैनन्। र आफ्नो एक तर्फी बिचारमात्रै श्रीमानले श्रीमतीमा र श्रीमतीले श्रीमानमा लाद्छन्। आफ्नो खुशीले गरिने कुराले त जसरी भन्सामा नयाँ नयाँ परिकार पाक्दा त्यसको सुगन्धले मनमा एक प्रकार हर्ष दिन्छ त्यस्तै हो। तर जाहाँ बेमेल छ, त्यहाँ न माया फस्टाउछ न संस्कार र संस्कृति मौलाउछ भन्ने मलाई लाग्छ।यो लेख पढेर दुई शब्द लेख्ने प्रेरणा मिल्यो। धन्यवाद दिप्सजीलाई। (गीता थापा)