Skip to content

तिमीसँग खाएको कसम

  • by


तिमीसँग खाएको कसम
सायद तिमीले बिर्सिसक्यौ होला
तर, मेरो सम्झनाको सन्दुकमा भने अझै कैद छ
जति बेला तिमी मबाट ओझेल पर्दै थियौ
त्यति बेला मैले तिमीसँग म सधैं खुशी रहने कसम खाएकी थिएँ
त्यसैले आएर मलाई एक फेर हेर त !
मेरा यी नयनहरू कति सालिन छन्
मेरो मुहारमा कतै पनि नैरास्यताको वादल देखिदैन
अनि, मेरा यी गुलाबी ओठहरू हेर त ! सधैं मुस्कुराइरहेका छन्
मेरो परदेशी ! तिमीलाई थाहा छ ?
जस्तै दु:खको पहाडले थिचे पनि मैले हाँसेर सहेकी छु
पीडाका सबै निशानीहरूलाई
यो अनुहारमा अहँ पटक्कै झल्किन दिएकी छैन
तिमीसँग जुन कसम खाएकी थिएँ नि !
त्यो मैले पूरा गरेकी छु
तर, तिमीलाई मेरो एउटा बिन्ती छ
यदि तिमीसँग समय भयो भने
मेरो कविताहरू पढी दिनु
जब मेरा मनका तरङ्गहरूमा नजर डुलाउँछौ नि !
तब तिमीले महसुस गर्नेछौ
कहीँ तृष्णाका लाभाहरूलाई
कहीँ मायाका गाभाहरूलाई
अनि, कहीँ बेदनाका चट्टानहरूमा च्यापिएका
मेरा आशक्ति भावनाहरूलाई
ए साँची ! सुन त, फगत तिम्रो लागि म खुशी त छु
तर मेरो मनको मझेरी भने सधै रुझेकै छ
भित्र भित्रै खोक्रिएको छ
तै पनि मलाई एक फेर फर्किएर हेर त !
म सधै खुशी नै देखिएकी छु
मेरा ओठहरू मुस्कुराए कै छन्
किन की मैले तिमीसँग म सधै खुशी रहने कसम खाएकी थिएँ नि !
हो त्यही कसम आजसम्म पनि
मेरो सम्झनाको कन्तारोमा जमिरहेकै छ !
जमिरहेकै छ !! जमिरहेकै छ !!!

लक्ष्मी पोखरेल
काठमाण्डौ,कपन

Leave a Reply

Your email address will not be published. Required fields are marked *