Skip to content

धोका (लघुकथा)

  • by


सुरेश र बिनोद मामा फुपूको छोरा भए पनि उनीहरू साथी जस्तै थिए र भारतको कुनै विश्वविद्यालयमा सँगै पढ्थे । एक हप्ताको लागि कलेज छुट्टी भएको मौका पारेर बिनोदले सुरेशलाई भ्रमणको लागि लग्यो । तिमीले कहिल्यै नदेखेको अत्यन्तै रमणीय दृष्य देखाउँछु भन्दै विनोदले सुरेशलाई अनकन्टार ठाउँमा पुर्यायो । जहाँबाट आखाँले भ्याएसम्म कहीँ कतै पनि बस्ती देखिँदैन थियो । थाकेर लखतरान भएपछि सुरेशले बिनोदलाई सोध्यो, “तिम्रो रमणीय ठाउँमा कहिले पुगिन्छ ?”

ठीक त्यही बेला मुखुण्डोले अनुहार छोपेका दुई चार जना डाकुले सुरेश र बिनोदलाई अपहरण गरे । आँखा र मुखमा पट्टी बाँधेर उनीहरूलाई कता लागे अत्तो पत्तो भएन । त्यहाँबाट सुरेश र बिनोद छुट्टिए ।

घरी-घरी सुरेशले महिलाहरूको चित्कार सुन्थ्यो भने कुनै बेला नदी सुसाएको सुन्थ्यो । ऊ अपहरणमा परेको पनि दुई हप्ता बितिसकेको थियो । आँखामा पट्टी बाँधिएकोले वरिपरिको गतिविधि नदेखिए पनि गाँजा र चरेस जस्ता नशालु पदार्थको गन्ध आउँथ्यो । खाना खाने बेलामा भने सुरेशको हात खोलिदिने गरेका थिए । आज खाना खाँदै गर्दा सुरेशले पानी माग्यो । तर त्यो पहरेदारको चालचुल नभए पछि छाम्छाम छुमछुम गर्दा त ऊ घुरेर निधाएको थियो । त्यही मौकामा सुरेशले आफ्नो आँखाको पट्टी त्यो पहरेदारको आँखामा लगाइदियो र हात खुट्टा बाँधिदियो । त्यसपछि बाथरुमको पाइपबाट तल ओर्लियो । उसलाई थुनेर राखेको त्यो भब्य भवन त ब्रम्हपुत्र नदीको किनारमा पो रहेछ । सुरेश उठेर भाग्न लाग्दा त्यो भवन अगाडि एउटा जीप रोकियो । साँझ झमक्क परेकोले वरपर ठम्याउन नसकिने भएको थियो । सुरेश छेवैको बुटामा लुकेर बस्यो ।

“बोस सुरेशलाई के गर्ने ?” कसैले सोध्यो ।

“उसको फिरौतीको लागि मागेको पुरै रकम मेरो हातमा परिसक्यो । त्यसैले अब उसलाई मारेर नदीमा फालिदिनु । होइन भने पछि मेरो पोल खुल्न सक्छ ।” उता एउटा आवाज सुनियो ।

त्यस आवाज सुरेशलाई परिचित लाग्यो । उसले नियालेर हेर्यो । गाडीको उज्यालोमा त्यो बोसको अनुहार देखियो । बोस अरु कोही नभएर उसको मामाको छोरा उही साथी बिनोद थियो ।

लक्ष्मी पोखरेल
काठमाण्डौ, कपन

Leave a Reply

Your email address will not be published. Required fields are marked *