लाचार सडकहरू
रुन्चे हाँसो हाँसिरहेछन्
थकित पुलहरू पागल झैँ
अकारण खित्का छोडिरहेछन्
कुइनेटाहरू, कृष्णेभीरहरू
जोगीमाराहरू, त्रिशूलीका किनारहरू
खाना नखाएको बबुरो पीर लिएर
पिरोल्लिरहेछन्
धोक … ! टन्न धोक … ! र चलाऊ
बस, मोटर, ट्रक, मोटरसाइकल
जति पनि चलाउ
तिमीलाई त के –
हतार छ
तिमीलाई त के-
अर्कोलाई उछिन्नु छ
भर, अझै भर
बसभित्र, बस बाहिर छतमा, जताततै
तिमीलाई त के –
पैसा कमाउनु छ
थाहा छ यही देखेर
पूर्व पश्चिम, उत्तर दक्षिण
जहाँ पनि राजमार्गले दबाई खाँदैछ
राजमार्ग पुरै हस्पिटलमा दाखिला छ …
नियमहरू, ट्राफिक सिग्नलहरू
मुर्छित छन्
एम्बुलेन्सहरू आमरण
अनशनमा छन्
तिमीलाई त के –
सबै सबैलाई पेलेर हिड्दा भयो
तिमीलाई त के –
त्रिशूलीमा हाम्फाले पनि भयो
ट्रयाक्टर र ट्रक जुधाए पनि भयो
हेर … ! बिचरा गाडीको कति ताकत रहेछ
छाम … ! इन्जिनलाई कति ज्वरो आउदो रहेछ …
अब सडकलाई हैन
मान्छेलाई मुर्दा घोषित गर्ने बेला आयो
मान्छेको सट्टा फुटेको
धाजा परेको
सडकलाई
झर्दै गरेको पहिरोलाई
अन्माउने बेला आयो
अब मान्छेले बाचेर के काम
जगाउ बेस्मारको मृत्यूको ध्वनि जगाऊ
यहा त मान्छेकै खेलाचि पोखिएको छ
महिनाको रेकर्ड बढाऊ
बर्षको आकडा नघाऊ
यहा मान्छेलाई मर्न नै प्यारो भइरहेछ
बिजुलीका नाङ्गा तारहरू
बिलौना गाइरहेछन्
ठूला ठूला ढुंगाहरू
पहाडबाट झर्दै अंकमाल गर्न पाएनौ भनिरहेछन्
आओ आओ मान्छेहरू
बाटो, घाटो, सडक, पेटी
नदी, नाला, निति, नियम
एम्बुलेन्स, साइरन, शिग्नल
जेब्राक्रस सबैको रोदन सुनौ
तिमी त
यसै पनि मूर्दा भएका छौ
तिम्रो काम नै छैन ।
अस्तु ।