बिर्सेको छैन ती वन पाखा, झ्याउरे र ठाडा भाका
साथीभाई अनि म भएँ टाढा, गाउँ भयो लाखा पाखा
बिर्सेको छैन त्यो तारे भीरमा, काँडेपात झारेको
त्यो ठाडो खोला हातमा समाई, उनीलाई तारेको
बिर्सेको छैन साबेते वनमा, त्यो टुसा भाँचेको
आधा पो घरमा लुकाको आधा, मायालाई साँचेको
बिर्सेको छैन पात बजाई बजाई, बोलाको छेउ छेउमा
नटेक भनी सम्झाको उनलाई, खोलीको लेउ लेउमा
बिर्सेको छैन चानेको पहिरो, बस्तीनै उठायो
खै कस्तो रै छ जात र भात, नाता नै टुटायो
पैसा नै रै छ पापी त आफु, जीवन नै खैला बैला
खुलेको समाज मिलेको मन, त्यो घान्द्रुक पैला पैला
घान्द्रुके बाटो चारहाते चौडा, सलक्क सिंढीमा
बिर्सेको छैन रोधीको बसाई, टना टन पिंढीमा
मादलु ताल थपडी उस्तै, आँगनमा नाचेको
कुम जोडी जोडी सोल्टिनीसँग, कम्मर भाँचेको
हिमाली छाँया कोटको डाँडा, बतासै सिरिरी
त्यो लाली गुराँस, चाँपको फुल बन्भरी फिरिरी
त्यो ठाडो बाटो सिध्गीन्को पानी, कसरी भुलूँ म
मालुंगे चोया मान्द्रोको बिट, कसरी जेलौं म
हिमान गाउँले
बहराइन
