Skip to content

कान्छी, मलाई त कविता लेख्नै आउदैन

  • by


कान्छी !
मलाई त कविता लेख्नै आउदैन ।

लेख्न त मन पर्छ
मेचीको पनि कालीको पनि
कोर्न त मनलाग्छ
कोशीको पनि, कर्णालीको पनि
तर पनि काठमाण्डौमा पानीको हाहाकार देखेर
मलाई त कविता लेख्नै आउदैन कान्छी ।

मलाई त नेपालीहरूको प्रगतिको कथा लेख्ने मन थियो
मलाई त देशले बिकासमा फड्को मारेको कुरा उन्ने मन थियो
तर दाइ भाइ आफू आफू नै कुर्शिको लागि लडेको भेटेर
दिनैपिच्छे नेपालीको अकालमै मृत्युको समाचार सुनेर
मलाई त कविता लेख्नै आउदैन कान्छी ।

के लेख्नु बिदेशमा ऊँट चराएको ब्यथा
के सम्प्रेसण गर्नु अर्काको देशमा थुनिएको कुरा
के पाना भर्नु मालिकबाट यौन शोषण भएको तिक्तता
कुनै राम्रो खबर नै छैन
मलाई त कविता लेख्नै आउदैन कान्छी ।

के गर्नु देश र जनताको दुखबाट बेखबरहरूको प्रशंसा
के गरी पुलकित गर्नु यी घुषपैठहरूको कालो करतुत
कान्छी म त तिमी र हामी जस्ताहरूको सपना तुहिन लाग्दा मर्माहत छु
ढिडो, मकै, कोदो र एक छाक चामलको लागि चाडबाड कुर्नु पर्ने सम्झेर आहत छु
मलाई त कविता लेख्नै आउदैन कान्छी ।

अब कविता लेखेन भनेर
पीर नगर
जून दिन तिमी जस्तालाई बलात्कार गर्ने,
बेच्ने, बोक्शी भन्नेहरू माथी पूर्ण रूपमा कारबाही होला
जून दिन सबै दिन दुखीहरूको घरमा
समान शिक्षा, उज्यालो र अवसरको ठाउ होला
जून दिन प्रत्येक नेपालीमा नेपाली हु भनी स्वाभिमान उम्रेला
जून दिन मेरो देशले दुनिया सामु सबै तबरले उन्नति गर्ला
तब म कविता जरूर लेखौला कान्छी
अहिले –
मलाई त कविता लेख्नै आउदैन कान्छी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *