सवाल – सरस्वती न्यौपाने
तिमी र म सँगै बसी पढ्दा कुरा काट्छ समाज
पँधेरीमा सँगै पानी भर्दा कुरा काट्छ समाज ।
पवित्र यो संम्बन्धमा गिद्धे नजर लाउन खोजी
क्याम्पस जादा एउटै साईकल चढ्दा कुरा काट्छ समाज ।
रगतको नाता होईन मनको नाता गाढा हाम्रो
सँगै बसी कुरा कानि, गर्दा कुरा काट्छ समाज ।
तिमीसँगै मेलापात जाँदा अनि वनपाखा
घाँस दाउरा गर्दै भन्ज्याङ, झर्दा कुरा काट्छ समाज ।
पुग्नु पर्ने खोलापारी आको रै छ ठुलै बाढी
हात समाई सँगै खोला तर्दा कुरा काट्छ समाज ।
जवाफ – रामकृष्ण पौडेल “अनयास”
तिम्रो मेरो संम्बन्धमा, कुरा काट्छन काट्न देऊ
चोखो प्रेम मार्न समाज, जे आँट्नेहुन आँट्न देऊ ।
दैव लागोस् गाउँले लागुन जिन्दगीभर छुट्टिदैनौ
वरपीपलको हाम्रो जोडी नास्ने भए नास्न देऊ ।
मुटु धड्कन हाम्रो एउटै रगतको कुरै छाड
यति हुदा आरोप लाउन आँट्छन भने आँट्न देऊ ।
लेकबेँसी बनपाखा मेलापातमा लाउँदा माया
अपराधी हुन भन्दै फोटो, टाँसे देखुन टाँस्न देऊ ।
बाँच्दा सँगै मर्दा हामी एकै साथ मर्नु पर्छ
भन्दै खोला तर्दा आखिर के ढाँट्ने हुन ढाँट्न देऊ ।