पेनाङ्ग


डुलाउँछु आँखा झ्यालबाहिर क्षितिजसम्म पर-पर
महल, सडक, जंगल र अनन्त निलो सगर
सबै नौलो, बिरानो, अनौठो यो पेनाङ्ग सहर
परिचित, आफ्नो, आत्मीय कोही खोजिरहन्छु निरन्तर

इक्वेटरमा देख्छु कोही बोलाउँदैछ आफ्नै पाराले
बर्सौंदेखि पर्खिरहे झैं आतुर स्नेही इसाराले
गोर्खा झैं उभिएर धुप बर्सात साहसले खेपेको
उसैको चिनो हो कि यो रुख बिश्व युद्ध ताका रोपेको

सागर लहर उफ्रिएर आउन खोज्दैछ मैतिर
शीतल प्रवाह हावाको छचल्काउँदै अघिल्तिर
यो जलप्रवाह, यो सितलता हो कि मेरै हिमालको
छुन चाहन्छु, चुम्न चाहन्छु यो पानी मेरै नेपालको

महल ठूला अग्लिदैछन् सगर छुन माथि माथि
कति राम्रा टल्किएका जडेका झैं हिरा मोती
नजिक जान्छु नियाल्छु म देख्छु मान्छे आफ्ना
हिरा मोती होइन, रहेछ नेपाली पसिना ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *