Skip to content

हामी दुईको बिचमा (सवाल-जवाफ)

  • by


सवाल – रामकृष्ण पौडेल “अनयास”

हामी दुईको बिचमा सरु कुलघरान जात थियो
धनी गरिव आकाश पाताल संम्बन्धको बात थियो

मेरो हातको चल्ने भए बाँड्थे आधी गाँस पनि
बार्न खोज्नु चुलोचौको तिम्रो ठुलो मात थियो

धुरी खाँबो भाँचिएको चुहिने खरको छानो मेरो
के निदाउथ्यौ खाने बस्ने भिन्ऩाभिन्ऩै खाट थियो

रगत एउटै भए पनि छुदा सुन-पानी छर्की
सम्पत्ति र जात दाँज्नु आखिर तिम्रो घात थियो

ईज्जत ढाक्ने एकहात बस्त्र मुख जोर्ने गास अनि
बाँचुन्जेल साहराको खाँचो तिम्रो हात थियो

जवाफ – सरस्वती न्यौपाने “सरु”

दुनियाले बनाएको जातमा खसे आँसु मेरा
बीच बाटोमै छाडी दिने बातमा खसे आँसु मेरा

जात भन्दा माया ठुलो भन्थे सधैं आट गर्नु
दोष लगाई लत्याई दियौ लातमा खसे आँसु मेरा

महलमा हैन मैले तिम्रै मनमा वास मागें
कोमल मन हैन रैछ पातमा खसे आँसु मेरा

दुनियाले जे भने नि माया गरें तिमीलाई नै
तिम्रै यादमा अन्धकार रातमा खसे आँसु मेरा

कायरताको बिष पियौ, समाजसँग हार्यौ अनि
रुदारुदै पुछ्दै थिए हातमा खसे आँसु मेरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *