जगदीश घिमिरेको नयाँ उपन्यास सकसलाई एउटा उपन्यास मात्र भन्नु त्यसमाथि अन्याय हुन्छ । यो एउटा उपन्यासभित्र थुप्रै उपन्यास हो । अझ भनौँ भने यो उपन्यास हुँदाहुँदै पनि एउटा नौलो प्रयोग हो । पाठकलाई यो इतिहासजस्तो पनि लाग्न सक्छ, ऐतिहासिक उपन्यासजस्तो पनि लाग्न सक्छ अथवा पृथ्वीनारायण शाहको पालादेखि अहिलेसम्मको प्रमुख ऐतिहासिक घटना र परविर्तन, तिनका नाममा मानिसले भोगेका त्रासदीहरूको हिसाबकिताब र इतिहासको संक्षिप्त दस्तावेजजस्तो पनि । तर, पुस्तक पढिसकेपछि पाठक एउटा कुरामा भने एकमत हुन करै लाग्छ, त्यतिबेलादेखि अहिलेसम्म जेजति परविर्तन भए पनि आमनेपालीले पाउने सकस भने कहिल्यै पनि परविर्तन भएन । यस अर्थमा सकस आजसम्म निमुखा मानिसले विभिन्न कालखण्डमा विभिन्न रूपमा पाएका सकसको दस्तावेज हो, जुन अहिले पनि निरन्तर छ ।
शाहवंशदेखि आजको समयसम्म सकसका रूप फेरिए, सकस पाउने तरकिा फेरिए तर त्यसले दिने पीडाको संवेग र तीव्रता घटेन । बरू बढ्यो । यो हाम्रो पुर्खा र सकसको भयावह कथा हो । यो राजनीतिका नाममा हुने शक्तिको खेलले ल्याएको विचलन र सोझासाझा जनताले युगौँदेखि पाइरहेका अनगिन्ती सकसको दस्तावेज हो ।
“सरकार ? नेपालमा सरकार नै कहाँ छ ? कस्तो छ ? सरकारले भ्रष्टाचार र सत्ताको एकलौटी दुरुपयोगबाहेक केही गरेको थाहा पाउनुभएको छ र ?” आख्यानको सुरुमै हिंसापीडित महिला र बालबालिकाको हितमा काम गर्ने महिला देवीजीको यो संवादले सकस आक्रामक छ भन्ने छनक दिन्छ । वास्तविकता र समयले भोगाएका कटु यथार्थ सुन्दर तरकिाले अभिव्यक्त गर्न सकिँदैन । ती बीभत्स नै हुन्छन्, डरलाग्दा नै हुन्छन् र तिनलाई पढ्दा पनि सकस नै हुन्छ । घिमिरेले तिनलाई जस्ताको तस्तै लेखिदिएका छन् ।
“क्याम्पस स्कुलजस्तो हुँदैन रहेछ । पढाइ थोरै, गुन्डागर्दी धेरै । राजनीति अरे !” कुनै राजनीतिक पूर्वाग्रह नभएका विद्यार्थीलाई कांग्रेसी, कम्युनिस्ट र मन्डले तीनैथरीको प्रताडना हुने र त्यसलाई कलेजका प्रिन्सिपलले आधुनिक कलेजको कल्चर भनेर पन्छिने छोटो सन्दर्भले लामो प्रभाव पारेको छ । आन्दोलनमा अगाडि प्रयोग हुने सहिदहरूका बारे, जनसरकार गठन हुने बेला ल्याइएका स्वैच्छिक रूपमा उपस्थित हुन उर्दी जारी गरिएका निमुखा जनताका अवस्था मार्मिक र गहिरो व्यंग्यका साथ लेखिएको छ । राज्य र विद्रोही दुई फलामे चक्कामा पिसिनुपरेको शरद नामको मूल पात्र र त्यसले उसको मानसिकतामा ल्याएको खलबलीको माध्यमबाट सिंगो देशको मानसिकताको चित्रण भएको छ । सकसका पृष्ठसँगै यी र यस्तै अन्य सबै सानाठूला विकृति, सामाजिक, आर्थिक, राजनीतिक, वैचारकि र नैतिक विचलनका नालीबेलीका प्रचुर पोकापन्तुरा घिमिरे धमाधम खोल्दै जान्छन् ।
यसको सबैभन्दा प्रभावशाली पक्ष भनेको निर्भीकता हो । त्यतिबेलाका शासकहरूका सनक, मनमानी, राजा मरेपछि सतीप्रथाका दर्जनौँ सुसारेलाई ज्यूँदै पोलिएका वृत्तान्तहरूले आङ जिरङि्गै पार्छन् । विशेष गरी उनले इतिहासबाट रणबहादुर शाहका पागलपनका कुरा खोतलेका छन् । रणबहादुरले आफ्ना राजकुमार गीर्वाणलाई बिफर सर्ला भनेर तीनै सहरका काँचा केटाकेटीलाई चारभञ्ज्याङ कटाउन दिएको आदेश, त्यो क्रममा जनताले पाएका सकसको हृदयविदारक वर्णन गर्न लेखकले निर्भीक भएर कलम चलाएका छन् ।
त्यसबेलाका शासकहरूका सकस दिने प्रवृत्ति अहिलेका शासकहरूमा पनि ज्यूँदै रहेको कुरालाई उनले जीबा नामक पात्रको सपनाको माध्यमबाट सशक्त र प्रतीकात्मक रूपमा लेखेका छन् । जीबाको सपनामा यमराजको अदालत देखिन्छ । रणबहादुर शाहले आफूले गरेका धतंगो बहुलट्टीलाई अपराध नभएर राजकीय धर्म भन्दै स्पष्टीकरण दिएपछि यमराजले उनको आत्मालाई दिएको वरदान (वा श्राप, जसरी बुझ्नुहुन्छ)को माध्यमबाट तीव्र आक्रोश व्यक्त गरिएको छ । यमराजले रणबहादुरको आत्मा कालान्तरसम्म पनि नेपालका राजा, मन्त्री, भारदार, सेना, प्रहरी, विद्रोही, क्रान्तिकारी, नेता, न्यायाधीश, कर्मचारी, व्यापारी र पियनसम्मका जनसरोकारवालाहरूमा ज्यूँदो रहोस् भनेको प्रतीकात्मक सपनाले अहिलेको अवस्थामाथि चोटिलो प्रहार भएको छ । हुनलाई यी सबै हामीले नसुनेका, नदेखेका वा नभोगेका कुनै पनि कुरा होइनन् । तर, ती सबैलाई एकमुष्ट रूपमा छर्लंग पार्दा त्यसले दिने दनकबाट चाहिँ कोही पनि निरपेक्ष रहन सक्दैन र पाठक रन्थनिन्छ । यो सकसको अर्को प्रभावशाली पक्ष हो ।
कथानकको समय लामो भएको हुनाले पात्रहरू धेरै छन्, विविध छन् । घटना अनगिन्ती छन् । तसर्थ, कुनैकुनै ठाउँमा कुरा स्थापित गर्दा नगर्दै अघि बढेको भान हुन्छ । ती अनगिन्ती विविध पात्र र घटनाले पारेका तत्कालीन र दीर्घकालीन सामाजिक, मानसिक, आर्थिक तथा समग्र प्रभावका बारेमा लेखिँदा कतैकतै कोचकाच पारिएको र खाँदिएको जस्तो लाग्छ । पेट त भरयिो तर मन भरिएन भनेजस्तो । कतैकतै अझै गहिराइमा डुब्नुपर्ने सन्दर्भमा लेखक सतहमा मात्रै पौडिएर अघि बढेका हुन् कि भन्ने लाग्छ । ती सन्दर्भमा अझ बढी गहिराइमा गएका भए अझै धेरै सिपी र मोती टिपेर ल्याउन सक्थे कि त घिमिरेले ? किनभने, त्यस किसिमको साहित्यिक गोताखोरी गर्न सक्षम र सबल थोरै लेखकमध्ये उनी एक हुन् ।
जीबा नामक पात्रको जीवनका कुराबाट सिंगो मुलुकको सामाजिक र राजनीतिक परविर्तन तथा विचलनका कुरा प्रस्तुत भएका छन् । कुमारी र शरद अर्का दुई महत्त्वपूर्ण पात्र हुन्, जसको भोगाइमा हामी यो पुस्ताको प्रतिनिधित्व भएको पाउँछौँ । साहित्यका नाममा पाठकलाई क्लिष्टताको जालोमा नबेरी सरल र बोलीचालीको भाषामा लेख्नु उनको सबल पक्ष हो । यसले गर्दा यो हाम्रै वरपिरकिो कथा हाम्रैजस्तो लाग्छ ।
इतिहासका केही कुरा विवादास्पद हुन सक्छन् । हुन त इतिहास भनेको नै विवादास्पद कुरो हो । शक्तिमा हुनेले आफ्ना राम्रा कुराको मात्रै अभिलेख गर्न चाहन्छ, नराम्रा कुरालाई पनि राम्रै रूपमा लेख्न चाहन्छ । शक्ति गुमेपछि अर्कोले उसका नराम्रा कुरा मात्र खोतल्न थाल्छ । सम्पूर्ण रूपमा पूर्वाग्रहरहित चाहिँ दुईथरीकै प्रयास हुन सक्दैन । नेपालकै इतिहास पनि राजनीतिक रूपमा लेखिएको हो वा प्राज्ञिक, तिनको प्रामाणिकता के कति हो र अहिलेको समयको इतिहास कसरी लेखिनुपर्छ भन्ने विषयमा हुने माथापच्चीलाई केही हदसम्म सघाउन सकेछ भने त्यो सकसको बोनस हुनेछ ।
सकसको अन्त्य आशामा गएर भएको छ ।
“धैर्य गर, जतिसुकै कालो र घना भए पनि मेघ स्थायी हुँदैन । ढिलोछिटो बढारन्िछ । उज्यालो आउँछ, आउँछ । सकस जति भए पनि भविष्य शान्तिकै हो ।” तर, सकसको अन्त्य कहिले हुन्छ भन्ने कुराचाहिँ घिमिरेलाई थाहा छैन । हामी कसैलाई पनि थाहा छैन ।
सकस
लेखक : जगदीश घिमिरे
प्रकाशक : जगदीश घिमिरे प्रतिष्ठान
पृष्ठ : ३०६
मूल्य : ३७५ रुपियाँ
नेपाल साप्ताहिक, अंक ५१५
२०६९ आश्विन १४
