सेक्स म्युजियम, रेडलाइट एरिया र हामी मूर्ख

  • by


हामी पाँच जना आम्सटरड्यामको सेक्स म्युजियमअगाडि थियौँ । हाम्रो सामुन्ने नग्न महिलाको स्टेचु खडा थियो, कामुक तर मुस्कुराइरहेकी । थुप्रै युवकयुवती लाम लागेर टिकट लिँदै भित्र गइरहेका थिए । हामी भने विवाद गरिरहेका थियौँ, पहिले के गर्ने भनेर । कसैको विचार थियो, पहिले रेड लाइट एरयिा घुम्न जाने । कोही भन्थे, पहिला सपिङ् गरौँ अनि मज्जाले दुवैतिर घुमौँला । लामो गलफतीपछि पहिला सेक्स म्युजियम नै घुम्ने निधो भयो ।

हाम्रो टोलीमा दुई जना भुटानी थिए, तारा लिम्बू र पेमा छिरङि । हाम्जे वासाह अली जोर्डनका, जाफर इकवाल भारत कश्मीरको र म नेपालको । तारा मात्र छोरी मान्छे थिइन् समूहमा तर उनलाई यस्ता कुराको अवलोकनमा स्त्रीलज्जा थिएन । उनी सबै विषयमा बोल्न र लेख्नुपर्छ भन्ने मान्यता राख्ने पत्रकार थिइन् । वास्तवमा हामी पाँचै जना पत्रकार, पत्रकारिताको तीनमहिने तालिमका लागि हल्यान्ड आएका ।

प्रतिव्यक्ति चार युरो तिरेर हामी सेक्स म्युजियम छिर्‍यौँ । छिर्नासाथ हामीलाई टाईसुट लगाएको शालीन मान्छे (कृत्रिम)ले अभिवादनको शैलीमा आकषिर्त गर्‍यो र अनौठो आवाजका साथ गुप्तांग देखाइदियो । सेक्स म्युजियमको यो शैली बडो अनौठो लाग्यो ।

विभिन्न आसनमा यौन सम्पर्क गरिएका तस्बिर, मूर्ति र चित्रहरू राखिएका थिए । क्रमैसँग हेर्दै अगाडि बढियो । हेर्दै जाने क्रममा हाम्रो समूह तितरबितर भयो । आफ्नो रुचि अनुसार विभिन्न चीजबीज हेर्ने क्रममा कोही अगाडि पुगिसकेका थिए भने कोही एउटैमा घोत्लिरहेका । तर, कसले कहाँ के हेरिरहेको छ भनेर न कसैलाई चासो थियो, न त संकोच नै ।

युवकयुवतीको घुइँचो भनी साध्य छैन । शनिबार बिदाको दिन भएर पनि हुन सक्छ । धेरैजसो त फोटो खिच्नमै रमाइरहेका थिए । अन्यत्रको म्युजियममा जस्तो यहाँ फोटो खिच्न बन्देज रहेनछ ।

घुम्दै म एउटा कोठामा पुगेँ । यौन सम्पर्क गरिरहेका थुप्रै फोटो राखिएका थिए । यौन सम्पर्क गर्दा उत्पन्न हुने कामुक सुस्केरा र लयको ध्वनि पनि आइरहेको थियो । वातावरणले वास्तविक नै हो कि झैँ भान दिन्थ्यो । युवकयुवतीहरू बिनाकुनै संकोच यसको आनन्द लिइरहेका देखिन्थे । केही समय त्यहाँ बिताएर म अर्को ठाउँतिर लागेँ ।

सिँढी उक्लिँदै माथिल्लो तलामा पुग्दा तारासँग भेट भयो । उनी फोटो खिच्दै रहिछिन् । मेरो पनि खिचिदिइन् मूर्तिहरूसँग । अर्को कोठामा पुग्दा मभन्दा पनि अग्लो कृत्रिम लिंग राखिएको थियो । त्यससँगै उभिएर फोटो खिच्न तारा हिच्किचाइनन् ।

नारी-­पुरुषका थरीथरीका कृत्रिम नग्न शरीर र यौनांगहरू नै त्यहाँ हेर्नुपर्ने खास चीज रहेछन् । एउटा चित्र र त्यसप्रति गरिएको प्रतिक्रियाले मेरो ध्यान खिच्यो । चित्रमा केवल लिंग थियो र त्यसलाई प्रेमपूर्वक अँगालो हालेर एउटी नारी आनन्दमा मग्न थिइन् ।

“आई एम गोन्ना डु दिस,” एक युवतीले उनकी साथीलाई भनिन् र मज्जाले हाँसिन् ।

“रयिल्ली !” मैले मुस्कुराउँदै आँखा झिम्काइदिएँ । ऊ पनि हाँसी र अर्कोतिर लागी ।

तारा पछाडि छुटिसकेकी थिइन् । अगाडि जाँदै गर्दा जाफर भेटियो । ऊ भन्दै थियो, “हामीले बेकारमा पैसा बर्बाद गर्‍यौँ । यति जाबो कुराहरू त इन्टरनेटमा फोकटमा हेर्न पाइन्छ नि !” म उसको कुरा नसुनी अगाडि बढेँ । जे पनि फोकटमा खोजेर हुन्छ?

हेर्दै अगाडि बढ्दै जाँदा बाहिर निक्लिने ठाउँ आइपुग्यो । बाहिर गएँ । कोही साथी अघि नै बाहिर आइसकेका रहेछन् । बिस्तारै सबै त्यहीँ भेला भयौँ र सपिङ् गर्दै अगाडि बढ्यौँ । कहाँ पुगिने हो, कसैलाई केही पत्तो थिएन । जताजता किनमेल गर्ने ठाउँ छ, त्यतैत्यतै हिँडियो । सामान्य उपहारका सामानहरू किन्यौँ ।

निकै पर नहर किनारमा पुगेपछि एकैछिन सुस्तायौँ । नहरमा डुंगाहरू कुदिरहेका थिए । पर्यटकहरू यसैमा रमाइरहेका थिए । त्यहाँ पुगेपछि पेमाले रेडलाइट एरयिा घुम्ने रहर फेरि दोहोर्‍यायो । पेमा हामी सबैभन्दा उमेरले अलि केटौले छ । त्यो एरयिा कहाँ छ, सोध्नका लागि हाम्जेलाई मैले भनेँ । उसले ठाडै अस्वीकार गर्‍यो । जाफर अलि हच्कियो । पेम्बा लजायो । ताराको त त्यहाँ जाने रुचि नै थिएन । अब सोध्ने पालो मेरै थियो । ग्राहक कुरिरहेको एक जना रिक्साचालकलाई मैले यसबारे सोधेँ । उसले नहर किनारका दुवैतिरका भव्य घरहरू देखाइदियो । मलाई पहिला त्यो रिक्साचालकसँग केही कुरा गर्न मन लाग्यो । ऊ मजस्तै जवान र खाइलाग्दो थियो, ह्यान्डसम पनि । मेरो देशका रिक्साचालकको जस्तो कुपोषित र चाउरिएको अनुहार उसको थिएन ।

“तिमी कहिलेकाहीँ त्यहाँ जान्छौ?” मैले सोधेँ ।

“जान्नँ ।” उसको छोटो उत्तर ।

“किन? पत्नीभक्त हौ कि गर्लफ्रेन्ड छ?”

“दुवै होइन, म जान सक्दिनँ किनभने त्यो एकदमै महँगो छ । ५० युरो तिर्नुपर्छ । त्यति कमाउन मैले दुई घन्टा रिक्सा कुदाउनुपर्छ,” उसले वृत्तान्त सुनाउँदै गयो, “धनी पर्यटकले मात्र रिक्सा चढ्न सक्छन् । तर, अहिले आर्थिक मन्दीले गर्दा ग्राहक नै छैनन् । प्रत्येक साता सय युरो रिक्साको भाडा कम्पनीलाई बुझाउनुपर्छ । बचत हुँदैन । अनि, म कसरी त्यहाँ जान सक्छु?”

“म पनि तिमीजस्तै हुँ,” ठट्टा गर्दै थपेँ, “बरू मेरो सातामा दुई दिन बिदा हुन्छ, पुरुषहरूले चाहिँ त्यहाँ काम पाउँछन् कि पाउँदैनन् हँ? पाए त म पनि त्यहाँ पार्टटाइम काम गर्थें । तर, म महिलालाई मात्र सेवा दिन सक्छु नि! यहाँ त पुरुषले पनि पुरुषलाई सेवा गर्ने चलन रहेछ ।”

ऊ मज्जाले हाँस्यो र भन्यो, “महिलालाई सेवा दिने ठाउँ पनि छन् । तर, तिम्रो हाइट अलि सानो भएकाले योग्य हुँदैनौ होला ।”

“नेपालीको औसत उचाइ यति नै हो । त्यहाँ काम गर्न अर्कोपटक युरोपमै जन्मूँला है त !” मैले उससँग बिदा मागेँ । उसले रमाइलो मानेर बिदा दियो ।

हाम्रो पाँच जनाको टोली रेडलाइट एरयिाभित्र घुस्यो । हामीले धेरै गल्ली पछाडि नै छोडिसकेका थियौँ । एउटामा बल्ल हामी छिर्‍यौँ । बल्ल पो त रिक्साचालकको भनाइ सही साबित भयो ।

ब्रा र पेन्टी मात्रै लगाई छिनेको कम्मर मर्काएर उभिएकी केटीले हामीलाई दायाँ आँखा झिम्काई । मैले त्यसरी नै जवाफ दिएँ हाँसेर । अरूले के गरे, थाहा भएन । अगाडि बढ्दै गयौँ । सोकेसका सुन्दर गुडियाझैँ कामुक मुद्रामा उभिएका तरुनीहरूले हामीलाई त्यसरी नै आकषिर्त गरे ।

हाम्जे र जाफर पक्का मुसलमान थिए । त्यसैले उनीहरू केही संकोच मान्दै तारासँग अघिअघि हिँडिरहेका थिए । पेमा केटौले थियो । भित्रै छिरूँलाझैँ गर्थ्यो । उसलाई थुमथुमाउँदै म उसैसँग हिँडिरहेको थिएँ । तीन जना पर पुगिसकेका थिए । हामी दुईलाई अलि ठट्टा गर्ने लहड चलेर आयो । सिसाबाहिरबाटै देखिएकी एउटी सुन्दर युवतीको ढोका ढकढकायौँ । उसले मुस्कुराउँदै ढोका खोली । भित्र अर्को पनि कोठा रहेछ । त्यहाँ अर्की केटी मेकअप गर्दै थिई । पहिलो ग्राहकले भर्खरै काम फत्ते गरेर गएको हुनुपर्छ भन्ने अनुमान गरेँ । कपडा त दुवैको उस्तै थियो । ब्रा र पेन्टी मात्रै । बिछ्यौना अत्यन्त सफा र सुन्दर थियो ।

हामी छिर्नासाथ उसले मीठो स्वरमा सोधी, “यहाँ हामी दुइटी केटी छौँ । यदि तिमी चाहन्छौ भने तिमी मसँग र तिम्रो साथी अर्कीसँग । अथवा, तिमीहरू दुवै जनाले हामीमध्ये एक जनालाई छान्न सक्छौ । हामीलाई कुनै समस्या छैन । तर, प्रतिव्यक्ति पचास युरो दिनुपर्छ ।”

मलाई के भन्नु के भन्नु भयो । पेमा केही बोलेन । वास्तवमा हामी जिस्काउने लहडमा मात्र छिरेका थियौँ । हतारमा मैले भनिदिएँ, “हामी रेट कति हो भनेर बुझ्न आएका ।”

“मैले रेट भनिसकेँ । अब के तिमी तयार छौ?” उसले अलि ढिपी गरेझैँ सोधी ।

किन छिरिएछ नि भन्ने मनमनै लाग्यो । पेमा चुइँक्क बोल्दैन । जे परे परोस् भनेर मैले भन्दिएँ, “सरी ! तिमी कसरी बसेकी रहिछौ भनेर हेर्न मात्र आएका हामी त, हाम्रो काम सकियो ।”

एकाएक उसको सुन्दर मुहारमा कालीको रौद्र रूप सलबलायो । उसले आग्नेय नेत्रले मतिर हेरी र भनी, “तिमी मेरो समय बर्बाद गरिरहेका छौ । अब यहाँ कहिल्यै नआऊ । तिमी मूर्ख रहेछौ । साह्रै मूर्ख ।”

उसको वाक्य पूरा नहुँदै हामी त्यहाँबाट सुइँकुच्चा ठोक्यौँ, दायाँबायाँ उभिएका अरू सुन्दरीहरूतिर आँखा नडुलाई । पल्लो गल्लीमा हाम्रा तीन जना साथी पर्खिरहेका रहेछन् । जाफर हामीलाई खोज्दै रहेछ । हामी रेडलाइट एरयिाबाट बिदा भयौँ ।

यत्तिकैमा मेरो मोबाइलले म्यासेज आएको सिग्नल दियो । नेपालबाट मेरी धर्मपत्नी यशोदाले पठाएकी रहिछन् । लेखिएको थियो, ‘हेलो कालु के छ खबर? राम्ररी पढ्नू र यताउति आँखा नडुलाउनू । अश्लील कुरा हेरेर नबहकिनू नि! ल मेरो राजा । ‘

नेपाल साप्ताहिक, अंक ५१४
२०६९ आश्विन ७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *