‘सर ! हम बहुत दुःखी लोग छी । कहियौ सुख नही भेटलियै ।’ (सर ! म धेरै दुःखी मान्छे हुँ । कहिल्यै सुख भेटिनँ ।) ठेलावालले पसिना पुछ्दै मनको पीडा ओकल्यो ।
‘दुःख र सुख जीवनका दुई पाटा हुन् । यी साथै रहन्छन् । एकलाई पन्छाए अर्काको समेत नाम रहन्न । दुःख पचाउनेले सुख भेट्छ, सुखलाई जतन गर्नेले लाभैलाभ आर्जन गर्छ ।’ मेरो कथन सुनेर ऊ आश्चर्यमा पर्यो ।
‘बात नही बुझलिए । कनि निक सँ कहु न ।’ (कुरा बुझिनँ । अलिक राम्ररी भन्नुस् न ।)
‘दुःखमा पनि हाँस्नुस् । सुखमा पनि सचेत रहनुस् । मैले भन्न खोजेको कुरा यही हो ।’
‘कि हाँसब आओर कि सचेत हैबै । हमरा सभक नसिब खराब अछि ।’ (के हाँस्नू र के सचेत हुनू ! हामीहरूको भाग्य नै खराब छ ।) उसको जवाफले म अवाक भएँ र जवाफ फर्काउन नसकेर घोरिन थालेँ ।
‘पसिना बगाएर कमायो, हावामा उडायो । दिनभरि ठेला चलायो, रातभरि भट्टीमा वितायो । स्वास्नीलाई पाखुरी सुर्कियो । छोराछोरीलाई दाह्रा किट्यो । यसको दिनचर्या यसरी नै वितेको छ । तपाईं अरू के बुझ्न चाहनुहुन्छ र, मास्टरजी !’ घर मालिकको प्रश्नले म तर्सिएँ । ठेलावालालाई हेरेँ । ऊ केही लज्जित देखियो ।
‘काज गरैछी त, शरीरके भोजनों चाही । रोज एक गिलास रेडबुल नही लेबै त भर रात निंद नही आबैछै ।’ (काम गर्छु त, शरीरका लागि भोजन पनि चाहिन्छ । रोज एक गिलास रेडबुल (रक्सी) नलिने हो भने भररात निन्द्रा आउँदैन ।) उसले सफाइमा स्पष्टीकरण दियो ।
आफ्नो नसिब बुझाउन उसले मलाई घरसम्म लग्यो । दलानमा ७ जना नाङ्गैभुतुङ्गै केटाकेटी थिए ।
‘बेटाके खातिर सात गो बेटाबेटी भेलै सर ! एकरो लालनपोषणमे हमरा खुन सुकल छै ।’ (छोराका लागि सात सन्तान भए सर ! यिनीहरूको लालनपोषणमा मेरो खुन सुक्छ ।) उसले मेरो ध्यान खिच्न खोज्यो । म भने उसको नसिब पढेको पढ्यै भएँ ।
नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
पत्राचार – लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी
फोन नं -०३१५२००३८, ९८१४७०००९९
