Skip to content

मेरो छेउमा बसेर मेरी श्रीमती रुँदै थिइन्


मेरो छेउमा बसेर मेरो श्रीमती रुदै थिइन् ।

…१

समय गतिशील हुन्छ । यो कुरा सबैलाई अवगत भएको कुरा हो र यसमा सबैको एकमतरहेको नै त छ । समयको मोड र दौडलाई निरन्तर रुपमा पछ्याउनु हामी सबैको बाध्यता र काम हो । जब मानिस जन्मन्छ उसको मृत्यु निश्चित छ । तैपनि उसले मृत्युलाई सहज रुपमा स्वीकार गर्न कदापि सक्दैन ।

… मेरो छेउमा बसेर मेरी श्रीमती रोइरहेकी थिइन्, तर उनी किन रोएकी हुन मलाई थाहा हुन सकिरहेको थिएन । उनको रुवाइ एकनासले चलिरहेको थियो भने वरिपरि मानिसहरूको पनि निकै नै भीड लागेको छ । मेरो चारैतिर यता उता सबै बसेका छन् । तर किन सबै मौन र गहभरी आँसु पारेका छन् म किन किन थाहा पाउन सकेको छैन । म मेरी श्रीमतीलाई सोध्छु । तर उनी मेरो प्रश्नको जवाफ दिन्नन् । लाग्छ सायद उनले मेरो प्रश्नको जवाफ दिन उपयुक्त ठानिनन् वा के भो… । उनी त केबल रोई नै रहन्छिन, के भयो उनी रोइरहेकी मात्र छन् । म आफूलाई हेर्न बाध्य हुन्छु र मैले आफूलाई सुतिरहेको अवस्थामा पाउछु । त्यो घरभित्र होइन, घर बाहिरको चोटामा सेतो सिरक ओडेर ।

समयको गति जहाँ पुगेको भएपनि मलाई सम्झनाका पर्दामा आउँछ । सायद लाग्छ मेरो बिद्यालय अध्ययनको समयमा हुनु पर्छ त्यो क्षण । त्यस ताका बिताएका ती पलहरू कति रमाइलो थियो । तर रमाइलो सधैँ टिक्दैन भन्ने कुरा यथार्थमा परिणत भएको थियो मैले ९ कक्षामा पढ्ने समयमा । त्यो समय एउटा आँधी आएर मेरा खुसीलाई दुःखमा बदलिदिएर गएको थियो । हो त्यो बेला मेरो परिवारको आर्थिक अवस्था निकै नाजुक बन्यो । सबैको आँखामा एक ठग साबित भएको थियो मेरो परिवार र म पनि सानै उमेरमा त्यो पीडालाई आफ्नै आँखाले हेर्न पाएको थिए मैले । हुन त मैले के नै गर्न सक्थे र ? आखिर म एउटा समयको बन्धनले डोर्याएर जता लैजान्छ त्यसलाई बाध्य भएर बिबसतापूर्वक सहनु पर्ने मानिस थिए । जसलाई मेरा परिवारले आफ्नो भन्थे र मेरा आफन्त थिए, उनीहरू नै मेरोलागि बज्र बनेर प्रहार भएका थिए । जसबाट मैले सहयोगको अपेक्षा गरेको थिए उनीहरू नै मलाई लखेट्न उद्दत बनेर लागेका थिए । मेरो खुसी हैन आसु र पीडामा उनीहरूलाई आनन्द लाग्दो रहेछ मैले बल्ल त्यो समय महसुस गर्न पाए ।

जिन्दगीका आरोह अबरोहहरू बित्दै गै रहेका थिए । एक दिन त्यस्तो पनि आयो मैले कसैलाई मन पराए । आखिर मानिस सामाजिक प्राणी हो र उसले समाजमा मिलेर वा त जमात बनाएर बस्न चाहन्छ त्यो मध्ये कसैलाई मन पराउनु र माया गर्नु पनि एक सिँडी हो । त्यही क्रम होला जस्तो लाग्छ मलाई, आहा कति आनन्दित क्षण है उनलाई मैले मन पराउनु । तर मैले उनलाई माया गर्नु र मन पराउनु त गलत भने केही गरेको थिइन तैपनि उनलाई भनिरहेको थिइन । त्यो समय म मात्र १६ बर्षको थिए । लाग्छ त्यतिबेला यो उमेरकाहरू माया प्रेम र यस्ता अन्य कुराहरू भन्दा टाढा थिए । तर मैले उनलाई मन पराएको कुरा भन्न सकिरहेको थिइन । उनी अलिक सभ्रान्त यानेकि धनी परिवारको छोरी थिइन् । उनले पनि मलाई मन पराउने रहिछन् थाहा लाग्यो उनका मिल्ने साथीहरूबाट । तर उनलाई मैले प्रेमको प्रश्ताव राखेको भने थिइन । उनी आफैले मलाई प्रेम प्रस्ताब राखिन् । मलाई जे चाहिएको थियो त्यही कुरा भनेपछि म के नाई भन्थे र ? दिनहरू बित्दै गए समय विगत देखिनै गतिशील थियो र अझै पनि छ र निरन्तर चलिरहन्छ पनि । ती दिनहरू सम्झनामा मात्र छन् अहिले मसँग ।

३ बर्ष लामो प्रेम त्यस समय एक दिन आएर यस्तो मोडमा आईपुग्यो कि कसैले पनि त्यसलाई चाहेर पनि बदल्न सक्नेवाला थिएनन् । आखिर समय हो यसलाई कसले पो छेक्न सक्छ र कसले बदल्न पनि । मैले नचाहँदा नचाहँदै पनि उनलाई एक धनी परिवारको केटाले उनको परिवारसँग मागेर विवाह गर्ने भएछ । उनका परिवारलाई मेरो र उनको सम्बन्धको बारेमा थाहा त थिएन । तर पनि उनले पनि आफ्ना बाबु आमाको आग्रह बमोजिम विवाह गर्न राजी भएकी रहिछन् । आखिर म के नै गर्न सक्थे र उनी जाँदै थिइन् अर्कैको घरमा बेहुली बनेर तैपनि म त उनलाई माया गर्थे नि । माया गर्नु कुनै भुल त थिएन र उनलाई मैले माया गरेको कुरा कसरी भन्न सक्थे अनि भनुँ पनि कसरी उनका परिवारलाई । किनकि उनको परिवारको र मेरोबिचमा आर्थिक सम्पन्नताको पर्खाल जो थियो । उनले त भन्न सकिनन् भने मैले झन कसरी भन्न सक्नु उनको परिवारलाई । जब उनले मेरो आवश्यकता ठानिन् वा उनी आफ्नो परिवारको दवावमा परिन्, त्यो त उनैलाई थाहा होला । तैपनि विवाहको मञ्जुरी दिनु पहिला मलाई एक पटक… ।

आज आएर म फेरि त्यही बिगतलाई सम्झन बाध्य भए । हामी बीचको त्यत्तिका लामो प्रेम सम्बन्ध, अनि हामीले सँगसँगै बिताएका ती दिनहरूमा क्रमश बित्दै गएका पलहरू । भएका कुराहरू चलचित्रको पर्दामा जस्तै गरेर आउन थाले मेरो मन मस्तिस्कमा एक दिन उनले मसँगै बसेर एउटा रचना सुनाउछ भन्दै लठारिएकी थिइन् । मैले पनि उनलाई निकै राम्रो ल भन्दै कविता सुनाउनका लागि अग्रह गरेको थिए । त्यस पल उनले मेरा अगाडि आफ्ना दुई घुँडाले भुईँमा टेकेर हातले इशारा लगाउँदै एउटा कविता बाचन गरेकी थिइन्, मैले त्यो कविता सम्झिए । उनका कवितामा यस्ता शब्दहरू समावेस थिए ।

तिमीलाई सधैँ सधैँ हेरु-हेरु लाग्छ
मायालुको भाषा साटी बोलु-बोलु लाग्छ

कता कता व्यथा जग्छ उसलाई सम्झिएर
नयनहरू खोजिरहन्छन् मोतीबिच अल्झिएर

कसरी बुझुँ अल्झोमा छु तिम्रो मौन रित
सुटुक्क भनु कानमा क्यार मेरो दिलको गीत

तिमीलाई सधैँ सधैँ…

यो कविता सम्झदा बल्ल यथार्थ याद भयो तर जती पीडादायक भए पनि त्यो बिगतलाई कसरी भुल्न सकिने रहेछ र ? बिगतमा सुनेका कविता सायर उनले पठाएक एक एक चिठीहरू मेरोलागि मात्र बाँकी नै त थिए । उनले एक दिन पठाएको चिठी पनि खोलु खोलु जस्तो लाग्यो ।

…२

अमृत

तिम्रो यादहरूको पवित्र फूलहरूले मैले आफ्नो मन मन्दिरलाई सजाउँदै केही दिनको लागि म काठमाण्डौ जाँदै छु । किनकि मलाई मेरो बाबाले “केही काम छ सँगै जाउँ” भन्नु भयो अनि म बाबाको कुरा पनि त काट्न सक्दिन नि त्यो त तिमीलाई थाहा भएकै कुरा हो । मैले उहाँको बचनलाई काट्न सक्दिन । निकै दिनअघि बाबाले भन्नु भएको थियो त्यो कुरा त मैले तिमीलाई भनेकै थिए । अब हामी काठमाण्डौ जान लागेकाले तिमी चिन्तित बनौला यदि नभनीकनै जाँदा भनेर मात्र चिठी लेखेको हुँ मैले । काठमाण्डौ जानु भन्दा पहिला मैले तिमीलाई भेट्न खोजेको थिए बाबा आमाले मलाई बाहिर जानै दिदैनन भन्ने कुरा पनि मैले तिमीलाई भनिरहन त पर्दैन त्यो तिमीलाई थाहा भएकै कुरा हो त्यसैले भेट्न नपाएकोले चिठी पठाएको छु मनमा पीडा नलिई बस ल ।

उही तिमीलाई माया गर्ने ।

भनिन्छ नमरी स्वर्ग देखिदैन तैपनि स्वर्ग देख्ने भन्दैमा मर्न पनि त सकिदैन । आज आएर मैले ज्यूदै स्वर्गको अनुभूति गर्ने मौका पाएको छु । किनकि जब मैले यो चिठी आज हेरेँ हेर्दा बल्ल केही बुझे पनि । उनले यही पत्रमै लेखेकी थिइन् नि बाबा आमाको कुरा म काट्न सक्तिन भनेर । मैले त्यो समय बस ! पढे मात्र बुझिन र बुझ्ने प्रयास गर्न पनि चाहिन किनकि आखिर म अन्धभक्त थिए । मायाको पुजारी उनको पत्र पाउनु नै ठूलो कुरा थियो मलाई अरु केही होइन । तर आज आएर बुझ्दै छु पत्रको अर्थ र उनका बानिहरू । म के नै गर्न सक्थे र आखिर म त नदीको एकापट्टिको किनार नै थिए नि उनी अर्को किनार हाम्रो मिलन सम्भव थिएन । जुन प्रकारको समय आउँदै गर्दछ त्यही अनुरुप आफूलाई परिवर्तन गर्नु पर्ने थियो ।

समयको दौडमा म पनि सामेल थिए । समय जसरी दौडिदै जान्छ म पछ्याउँदै जान्थे । मैले उसलाई जित्न त सक्दैनथे तैपनि उसलाई पछ्याउन त पक्कै पनि सक्थे नि । हो यसरी नै समय बितिरहेको थियो । एक दिन त्यो दिन पनि आयो समय बित्दै जाँदा । जुन दिन उनको विवाहको दिन थियो र त्यो आयो ।

कुरिरहे र हेरिरहे पनि हेर्दा हेर्दै उनले रातो साडीमा सजिएर घुम्टिभित्र बसेर डोलीमा चडेर गइन् । हेर्दाहेर्दै उनलाई लिएर जन्तीहरू डाँडै काटेर गए, म उनको बाटो निकै बेर हेरिरहे । उनी मेरी प्रेमीका मात्र नभएर गाउँले छिमेकी पनि त थिइन् नि । त्यसैले उनको विवाहमा म आफै गएर उनको विवाहको काममा सघाउने काम गरे ताकि उनका बाउआमालाई मेरो र उनको सम्बन्धको बारेमा शंका नहोस । विवाहको दिन उनलाई अन्माउने बेलामा म उनको घरको डिलमा उभिएर बसेको थिए । उनलाई लिएर जाने जन्तीको लर्को निकै पर पुगिसक्दासम्म पनि म त्यही उभिएको थिए । जन्ती गएको निकै बेर भैसकेको रहेछ यतिसम्म कि निम्ता मान्न आएका सबै गाउलेहरू गै सकेका रहेछन्, त्यहाँ त म मात्र एकै ठाउँमा उभिएर बसेको पो रहेछु । वरिपरि कोही नदेखेपछि लागे म मेरो घरतिर ।

उनी काठमाण्डौ गएर करिब करिब एक महिना उतै बसेर फर्केकी थिइन् । उनले काठमाण्डौबाट मलाई पत्र लेखेर पठाएकी थिइन् । उनले प्राय अरुको साहरामा पत्र पठाउने गर्थिन् । उनले पठाएका पत्रमा कहिल्यै पनि आफ्नो नाम उल्लख गरिनन् । किनकि उनी सँधै डराइरहन्थिन कि हाम्रो सम्बन्ध बाहिर नदेखियोस् भन्ने कुरामा । अनि सँधै उनले गुमनाम पत्र लेख्ने गर्थिन् र म पनि । जब उनले काठमाण्डौबाट पठाएको पत्र पाए म तत्काल पढ्न थाले ।

अमृत तिमीलाई सम्झना सँधै सँधैको, अनि मुटुभरिको माया ल…

मेरो मनप्राण आतुर छन् जति सक्यो छिटो तिमीलाई भेट्न । अतुर छन आएर तिम्रो सामु उभिएर तिमीलाई हेरिरहन अनि अंगालोमा बेरेर राख्न । तर यहाँबाट सम्भव नहुने रहेछ । मुटुमा सजाएको तिम्रो तस्बीरले यहाँ पुग्दो रहेनछन । प्रिय तिम्रो अनुहार नै हेर्न नपाएर म पागलै हुन लागि सकेको छु । मेरा ओठहरू तिम्रो अधरको जल नपाएर उजाड धरती भएका छन् । तिम्रा नयन र ओठहरूका सुधारस पाउन, त्यसको स्पन्दनमा आफूलाई समावेस गराउन म निकै आतुर छु ।

अमृत हाम्रो प्रेम गोप्य राख्नु पर्छ ल । किनकिपछि हामीले आफ्नो सीमालाई प्राप्त गरेको थाहै नहोस क्या । ल सायद अब छिट्टै नै केही दिनमै हामी आउछौं । म्याग्दी आउने बाबाले भन्नु भएको छ त्यसपछि बसेर निकै बेर कुरा गरौला ल ।

उही तिम्रो मायालु

कतिसम्म मेरो मुटु दुख्छ यो पढ्दा । गोपनीय राखौं कसैले थाहा नपाउन । तर मैले आफैले थाहै नपाउने गरी उनी अर्कैको अंगालोमा बाँधिन पुगिन । उनका आर्दशहरू सम्झे प्रेमको कुनै जात हुदैन र प्रेममा धनीगरीव उच निचको भाबना हुदैन । तर उनले भनेको पनि ठीकै हो प्रेम गर्न र अरुलाई पीडामा पार्नको लागि त किन जात पात धनी गरीब चाहियो र अन्तिममा विवाह गर्ने बेलामा मात्र हो धन पैसा र अन्य कुराहरू चाहिने हैन र ? उनको विवाहपछि म दार्जलिङ्गका साहित्यकार प्रकाश राई अर्थात् प्रकास कोविदको कवितालाई साथ दिन चाहे र २ बर्षसम्म उनकै कवितालाई आत्मसाथ गर्दै दिनहरू बिताए । कोविदका कविताका प्रत्यक हरपले मलाई नै हेरिरहेका हुन्थे र मेरै भाषा बोलिरहेका जस्तो लाग्न थाल्यो । अनि मैले उनको कविताको साथ नदिईरहनै सकिन । जिन्दगी फूलै फूल मात्र पनि होइन भन्ने कुरा मनन गर्न काँडाको बाटोमा यात्रा गरेपछि मात्र मानिसले थाहा पाउने त रहेछ नि । नत्र कसलाई थाहा होला कि फूल र काँडाको महत्व र अर्थको बारेमा ।

फूलै फूल मात्र खुशीयाली होइन काँढाको आफ्नै महत्व छ
सुखै सुख मात्र जिन्दगी होइन दुःखको आफ्नै आस्था छ
बिगतका बिषालु यादहरूबिच बाँचिदिने मेरो आदत छ
रक्सी, तैंले नछोड मलाई तैमाथि मात्र विश्वास छ ।

आखिर जीवनमा सधैँ जिउने मर्ने भन्दै आश्वासनको महल बनाइदिनेहरू नै एकदिन थाहै नपाइ पराई हुँदा रहेछन् । सबै चिजलाई धन र दौलतको तराजुमा तौलिने रहेछन् र त्यही तराजुमा मायालाई जोखिँदो रहेछ यो अजीव संसारमा । आखिर यही कविताले भनेको जस्तै रक्सी नै मेरो साथी हुन थाल्यो । उनलाई सम्झन्छु अनि विगतलाई याद गर्छु तब भुलाउनका लागि केही पाउदिन र म पुन त्यही मेरो एकमात्र शाहरा रक्सीलाई साथ दिन्छु । उनले त छोडेर गइन् मलाई एक पटक पनि केही भन्न चाहिनन् या मौका मिलेन तैपनि उनले विगतमा कोर्ने गरेका पत्रहरू त कोर्न सक्थिन् नि उनको विवाह हुनुपूर्व मलाई एउटा पत्रमा कारण यो भनेनर भन्न सकिनन् ।

उनको विवाहको २ बर्ष मैले उसैको साहरामा दिनहरू कटाए । उनको विवाह सँगै मैले पनि मेरो घर छोडेर सदरमुकाम बस्न थालेको थिए । बेनी बजारका गल्लीहरूमा खल्तीमा ५ रुपैयाँ पनि नहुदा भोको पेट सुतेका ती कयौं रातहरू कति दर्दानाक र पीडादायक थिए । उनी त गइन्, विवाहको पहिलो बर्षमै छोरो जन्माएकी रहिछन् । उनले आफ्नो छोराको नाम आदित्य राखिछन् । एक पटक आज भन्दा ४ बर्ष पहिला बेनी बजारको बिरेन्द्र चोक नजिकै मेरो उनीसँग जम्का भेट भयो । उनको विवाह भएको ३ बर्षपछि बल्ल भेट भएको थियो । उनको छोराको नाम आदित्य राख्नुको स्पष्टीकरण दिन खोज्दै थिइन मसँग तर म उनका कुरा सुन्न सकिन म हिडे । बेनी बजारको बिरेन्द्रचोक उनले भन्दै थिइन बिगतका यादहरूलाई म यही छोराको अनुहारमा पढ्न पाउला भनेर यो नाम राखे ।

उनले यसो भनिरहँदा मैले अरु केही कल्पना गर्न नसके पनि मेरो दिमागले केही कुरा भने पक्कै सोच्यो । त्यो समय मेरो मनमष्तिस्कमा केही भावना आए ः(

आँखाबाट बग्ने आँसु साउनको भेल भयो
आँखा चिम्ली माया गर्नु बैगुनीलाई खेल भयो
परिक्षा त दिनु थियो उनीसँग मैले तर
बास्कुनेको कमजोर किस्मत जाँचै विना फेल भयो ।

…३

हो मैले उनीसँग परीक्षा नै दिन पाइन मसँग परीक्षा दिन नपर्दै उनी एक्कासी पास भइन र म फेल भए । तर पनि म सन्तोष गरेर बसेकै थिए । प्रेम र बिछोड भनेका एक सिक्काका दुई पाटा नै भन्न सुहाउने रहेछ । प्रेम भएपछि बिछोड ध्रुव सत्यहो भन्दा फरक नपर्ला जस्तो लाग्छ मलाई । आखिर प्रेम गर्नु नै त मेरालागि अभिषाप र पाप नै बन्यो नि । तैपनि संसारको रितलाई कसले पो लत्याउन सक्छ र ? त्यही प्रेममा पागल भएर म कुनै दिन गुन्गुनाएको थिए यही गीत ः

ए मेरो दिल अब छैन तेरो पहुँच यहाँ
चुर चुर भईस अब तँ
जा कही टाढा जा कही टाढा
आशाको तेरो मन्दिरलाई कसिङ्गर सम्झी भत्काइदियो
तड्पनको रात तँलाई दिई उसले आफ्नै महल सजायो
ए मेरो दिल जा कही टाढा जा कही टाढा
जहाँ तेरो रोदन क्रन्दन कसैले सुन्न नपारोस
तँ भित्रको तेरो असह्य तड्पन कसैले देख्न नपाओस
ए मेरो दिल जा कही टाढा ।

हो यही सोचेर म आफ्नो जन्म घर छोडेर जिल्ला सदरमुकाम बेनी आएको थिए । बेनीमा पनि धेरै भेटे साहुहरू । तर दिमागका भिखारीहरू उनीहरूलाई पैसा कमाउनु बाहेक अन्य केही थाहा छैन् । तर म के नै गर्न सक्थे र यही सोच्न त सक्थे मैले । उनीहरूका भिखारी दिमागको बारेमा सोचेर बस्न बाहेक म के गर्न सक्नु र । जब उनीहरूको आवश्यकता रहन्छ तब अनेक कुराहरू गर्ने गर्दछन् तर आवश्यकता महसुस भएन भने लात हानेर छोड्छन् । कतिसम्म हुदा रहेछन् यी सैतानहरू मनन गरेर बस्दै थिए । सैतानहरू यस अर्थमा कि उनीहरूले आफ्नो फाइदा होला जस्तो भएन भने आफ्नै जन्म दिने बाबु आमालाई पनि कतै नदीमा लगेर धकेल्न बेर नलगाउने खालका देख्छु म ।

तिम्रो मेरो साथ अब
नदीका दुई किनारा
भग्न हृदय लिई
अब बर्बादी पथमा अब बिचरा ।

हो उनी त आफ्नो संसार बनाएर जीवनको नयाँ अध्याय सुरु गरेको पनि कयौं बर्ष बितिसक्यो । तर म भने उनको यादमा तड्पिएको थिए । मलाई मेरो जन्मभूमि, म हुर्किएको ठाउँ बास्कुना र मेरो सींगाका शितल बतासले । भतभती पोल्थे हरियो मखमली सरीका अनाजहरू भएको वरिपरिको ठाउमा रगत पोतिएको देख्थे । म चाहन्नथे कि फर्केर त्यो ठाउँमा पुनः जानु परोस मेरो लागि बिरानो भएको थियो सिंगा । सरसरती सम्झन्थे अनि भक्कानो फुटेर आउथ्यो । कोठामा छिरेर मजाले रुन्थे अनि नुहाएर बाहिर निस्कन्थेँ । अरुलाई म रोएको देखाउनु थिएन । तर बेनीमा म कहिल्यै पनि हाँस्न सकिन । मन खोलेर त्यो अरुले मुल्याङकन गरोस तर बेनी छोडेर बाहिर गएको बखत म रिसाएको र गम्भीर भएको देख्ने सायद मानिस कम नै होलान् । मलाई राख्थे साथीहरू नाम ‘हँसमुख’ तर बेनीमा त्यो नामको लागि योग्य म कहिल्यै बन्न सकिन । र सिंगा जानको लागि म पनि कहिल्यै चाहिन । त्यही कारण बाबा आमालाई अनुरोध गरेर चितवन बसाई सराई गर्न लगाएँ । अहिले मेरा बाबा आमा एक जना दाइ चितवन हुनुहुन्छ । र विगत केही महिनादेखि म पनि आफ्नो दिनहरू चितवनको भरतपुरमा बिताइरहेको छु । तर यो चितवन बसाइ पनि उत्कृष्ठ छैन भन्न सक्दिन म । जहाँ मैले जागिर र अरुको भन्दा पनि आफ्नै काम भनेर गर्दै आएको थिए । त्यही ठाउमा मलाई किन सौतेलो व्यवहार गरे म थाहा पाउन सकिरहेको छैन । किनकिन मलाई चोटमाथि चोट दिएका थिए । तर मैले जहाँबाट आफ्नो प्रगति पथ भनौं या मेरो जिन्दगीका ११ वसन्त पार गरे त्यो ठाउँलाई मैले चटक्कै छोड्न सक्ने कुरा पनि भएन र नछोडेर पनि भएन । मेरो कुरामा भन्ने गर्थे मानिसहरू कसैलाई कर काप र आवश्यकता छैन भनेर ।

याद आउँछ विगतको कुरा कुनै बेला म बेनी डेराबाट एक दिन निस्कने बेलामा घरबेटीकी सानी छोरीले भन्दै थिई, “अमृत दाइ कोठाबाट बाहिर निस्कने बेलामा ढोकामा ताला लगाएर जानु पर्छ नि ! फेरि चोर आएर तपाईँको कोठाबाट चोर्लान् नी !”

उनलाई मैले जवाफ दिएको थिए, “नानु जसको सारा सब लुटियो उसको के पो होला र चोरका लागि चोर्न बाँकी ।”

हुन त ती नानुले कति बुझिन मैले भनेको कुरा मलाई थाहा हुने कुरा भएन । तैपनि सायद त्यो पल मलाई केही हल्का भने महसुस भएको थियो । किन पनि नहोस आखिर मेरा सबै लुटिएको पनि कयौं वर्ष बितिसक्या थियो नि त । मेरो के नै थियो र त्यो चोरलाई चोर्नको लागि र के चोरोस चोरले तर त्यो बाल मस्तिष्कलाई के थाहा यी कुरा उनी केही बेर उभिइन्, मलाई हेरिरहिन् । सायद उनले केही सोच बिचार गरिन् कि ? तर मलाई के थाहा उनले केही त भनिन मलाई मैले दिएको उत्तरपछि “गए है दाइ” भन्दै हिडिन् । म पनि चुपचाप गन्तव्यहिन यात्राका लागि बाहिर निस्किए । अलिक पर सडकमा हिड्ने बेलामा केही बाक्यहरू सम्झिए सायद यो शब्द प्रकाश कोविदका हुनुपर्छ । उनको कुनै एउटा उपन्यासमा पढेको थिए मैले । हो यही शब्द मलाई निकै मन छुने लागेको थिए र नसम्झी रहन सकिन ।

मायाको आधारमा सम्झौता नै हुन्छ
लिनु पर्ने जे छ दिनु पर्ने जे छ

त्यो बराबर हुन्छ अनुरोध हुन्छ
मायाको आधारमा सम्झौता नै हुन्छ

भत्किएका सपनाहरू फेरि नै सजिन्छन्
चुडिएका आशाहरू फेरि नै जोडीन्छन्

मायाको आधारमा अनुरोध हुन्छ

सम्झिए यी शब्द यहाँ भनेका छन् अनुरोध हुन्छ तर केही अनुरोध हुदैन रहेछ मायामा, मायामा त सँधै सम्झौता र बार्गेनिङ्ग मात्र हुँदो रहेछ । सम्झौता अनि धोका हुन्छ मेरो शब्दकोशमा मायाको अन्तिम रुप भनेकै अर्कालाई पीडा दिनु रहेछ भन्ने महसुस भैरहेको छ मलाई अहिले । हुन त धेरै छन् प्रेममा सफल भएकाहरू पनि तर मलाई सँधै धोका र बिछोडका घाउहरू मात्र लागिरहन्छन् भन्न मन लाग्छ । म र मेरो नजिकको साथी यही प्रेमका कारणले गर्दा ज्यूदो लास भन्न मिल्ने अवस्थामा पुगेका जो थियौं ।

बेनीमा बस्न लागेको केही बर्षपछि आज भन्दा ४ बर्ष अगाडि एक जना युवतीले प्रेम प्रस्ताब राखेकी थिइन् । मैले बिगत सम्झेँ, बर्तमान हेरे र भविष्यको कल्पना गरेर उनलाई भने “तिमी मेरो लागि हैन अरु कसैको लागि” भनेर पन्छाई दिने प्रयास गरेँ । तर उनी दिनानुदिन मलाई फोन गरेर हुन्छ या कसरी, म डिप्लोमा सकेपछि विवाह गर्नुपर्छ भन्दै थिइन् । आखिर ममा के छ र त्यस्तो उनले मलाई यति बिघ्न विवाह विवाह भनेर सताइरहने ।

उनको बाबुले एक दिन मेरो दाइसँग भनेका थिए जो अहिले मलाई डिप्लोमा सकेर विवाह गरेर बस्ने भन्ने युवतीका बाबुले मेरा छोराहरूले दिएको खण्डमा मेरो छोरीसँग धेरै पैसा हुन्छ सायद पाँच सात लाख पनि अझै बढी पनि हुन सक्छ । तर धनको तराजुमा मेरो दाजुलाई जोख्नेका छोरी मेरो लागि योग्य हुन सक्दैन थिए । त्यही भनेर मैले उनलाई पटक पटक पन्छाउने प्रयास गरेको थिए । मनमनै भन्थे म विवाह गर्न सक्दिन यस्ता सपनाका महल नबनाउन तर उनले जहिले पनि भन्दै थिइन कि यदि तपाईँसँग विवाह गर्न पाइन र तपाईले अरुसँग विवाह गरेमा तपाईको बिवाह र मेरो मृत्यु एकै दिन हुन्छ । सबैको घृणाले गर्दा ढुङगा सरी भएको मेरो मनलाई पगाल्ने असफल प्रयास गर्नेहरू देख्दा दया लागेर आउथ्यो तर उनीहरूको पनि अधिकार हो कसैलाई माया गर्नु मन पराउनु । यही सोचेर म सुन्थ्ये मात्र तर नाजवाफ ।

समयको गति कति बेगमा दौडिएको हुँदो रहेछ । समयसँगै दिनहरू बितिरहेका थिए । एक दिन कुनै एक युवती मैले देखे । किन किन उनलाई म असाध्यै राम्री भएको देखे । त्यो बखत उनको यतिसम्म कि नाम पनि सोध्न सकिन र उनीसँग बोलचाल पनि नगरी छुटियो । कुनै दिन म म्याग्दी बेनीभन्दा बाहिर जाँदाको घटना थियो यो । तर दुई चार महिनापछिको कुराहो उनीसँग पुनः भेट भयो । उनले भनिन्, “पहिला पनि हाँसिरहेको देखेको थिए, आज पनि ।”

म कन्फ्युज भए । पुन सम्झिए उनलाई भेटेको समय र उनीसँग कुरा गर्न थाले मैले माथि नै भनिसकेको छु कि मलाई जिल्ला बाहिर गएको बेलामा सबैले भन्छन् “कति हाँस्ने !” भनेर । तर बाहिर जाँदा जति हासिन्छ त्यो त त्यही सकिन्छ । जब जिल्ला फर्कन्छु तब पुन उही पुरानो यादले सताउछ । अनि मेरो मुहारको हाँसो फेरि हराउन थाल्छ र हुन थाल्छ मलिन अनुहार । यही त हो मेरो दैनिकी भनौं या जिन्दगी ।

केही दिन उनीसँगै भए म त्यसपछि उनलाई म असाध्यै मन पराउन थालेँ । तर उनले मलाई कुन हेराइले हेर्छिन थाहा थिएन । मलाई तैपनि पुन म अर्को भड्खारोमा जाकिदै छु भन्ने पनि लागेको थियो । तर पनि मैले उनलाई यति बिधि मन पराएछु कि म उनलाई नभनी रहनै सकिन ।

जिन्दगीमा पहिलो चोटी उनलाई मैले प्रेम प्रस्ताब राखे । उनले व्यङ्ग्य गरेको जस्तो सोचिछन् तर मैले यही यथार्थ भनेर सम्झाउने प्रयास गरेपछि उनले केही दिनको समय मागिन् । मैले पनि उनलाई हुन्छ भनिदिए । तर मैले पाउछु या पाउदिन थाहा थिएन । उनीसँग छुटीने दिन आयो फोन गरेर उनले भन्ने भनिएको थियो । तर केही दिन बितेपछि उनले फोन गर्न पनि छोडिन र मैले फोन गर्दा पनि उठाउन छोडिन् । यो भने उनको दोष थिएन किनकि मैले उनलाई केही नसोधी एक्कासी प्रेम प्रस्ताब गरेको थिए । उनको प्रेम या बिछोड लागएतका कुनै कुराहरू नसोधी नबुझी म यति बिधि उनलाई चाहेको थिए कि उनलाई नभनी बस्नै नसक्ने भएर नै उनलाई भनेको थिए । उनले फोन नउठाएपछि नयाँ नम्बरबाट फोन गरेर उनलाई सोधेँ, “के भयो ? किन फोन नउठाएकी ?” उनको जवाफ पाए “बिचार मिलेन…!”

…४

उनले मलाई बिचार मिलेन भनेपछि म सोच मग्न भए । उनले किन भनिन् बिचार मिलेन भनेर ? तब म एक भयानक खाडलमा परेको अनुभव गरे र एउटा निर्णयमा पुगे । हो उनले मसँग बिचार मिलेन भन्नुको कारणका बारेमा मनमा तरङग उत्पन्न भयो र मैले निर्णय निकाले उनको नजरमा म गद्दार साबित हुने । मैले यही बिचार गरेर अब उनलाई के भन्ने भन्ने बारेमा सोचेँ र निर्णय निकालेँ उनलाई म जसरी भए पनि गलत मानिस हो र कसैले मलाई सम्मान हैन घृणा गर्नु पर्छ भन्ने पार्ने र उनलाई मैले फोन गरेर भनिदिए, “मैले तिमीलाई भनेका कुराहरू मात्र जोक्स हुन् ।”

उनी आक्रोशित भइन र मलाई एसएमएस गरिन्, जस्तो एसएमएस कि म त्यही चाहन्थेँ -I hate you. So don’t call and sms me never. You are very bad boy nonsense man.

आहा कति राम्रो म्यासेज है । यो ठीक हैन । तर म यही हुन लायक थिए होला र त उनले यो म्यासेज पठाएकी होलिन नि हैन र ? आगामी दिनमा त उनले मलाई अब राम्रो भनेर हेर्ने छैनन नि ।

मैले केही सोच्नै नसकेका कारण एक जना असल साथी गुमाएकोमा दुःखी छु । र म उनलाई गुमाउन चाहदैन थिए । तर मैले उनलाई पहिला सोचेको गलत थियो त्यसैले उनले भन्नुभन्दा पहिल्यै मैले आफूलाई गलत सावित गर्नु थियो । त्यसैले मैले उनलाई जोक्स गरेको भनिदिएँ । अनि त उनी नरिसाई बस्न सक्ने नै थिइनन् नि । त्यही भयो र उनी रिसाईन् । तब उनी मेरो नजरबाट टाढा भएर गइन तर म एउटा यस्तो साथी गुमाएको छु त्यो कल्पना गर्नको लागि मसँग शब्दहरू छैनन । र उनलाई मैले सम्झाउने शब्दहरू पनि मसँग छैन ।

यस्तो पनि हुदो रैछ जिन्दगीमा कहिलेकाँही । तर उनले मलाई सधैँ घृणा गरिरहुन मलाई उनले राम्रो मानिस भनेर कहिल्यै मुल्याङकन नगरुन यही मेरो चाहना थियो र उनलाई यही भन्न लायक हुने व्यवहार देखाएँ ।

उनले भनेकी थिइन्, “मैले तपाईँलाई के सोचेको थिए तर तपाईँले !”

यही कारण म हारेको छु उनको नजरमा । म गिरेको छु । त्यसैले उनले मलाई सदा घृणा गरुन यही म चाहन्छु । बस यही चाहन्छु ।

यतिकैमा मेरो विवाह भयो जिन्दगीका आरोह अबरोहहरू क्रमशः बित्दै गए विवाहको ३० बर्षपछि म आज बिरामी परेको पनि ६ महिना भै सकेको थियो । धेरै मानिसहरू मेरो घरमा मलाई हेर्न र भेट्नको लागि भनेर आएका थिए । गाउका सबैले सायद मलाई भेटेर गैसकेका थिए ।

दिनहरू बित्दै गए मलाई बिमारले च्याप्दै जान थाल्यो, म झन झन सिथिल हुदै गैरहेको थिए । एक दिन बिहानै म निदाएँ हल्का आराम भए जस्तो भएको थियो । हल्ला खल्ला सुनेर ब्यूझिए यता उता हेरेँ । सबै मुखामुख र आफूआफूमा एकआपसमा कुरा गर्दै थिए । सबैको आँखामा आँसु टल्पलटल्पल गरिरहेको थियो । सबै मेरै बारेमा कुरा गरिरहेका थिए । कोही मेरा राम्रा कामको बारेमा प्रसंशा गरिरहेका थिए, कोही मेरो बारेमा केही न केही भन्दै नै थिए ।

सोचेँ, केही भनौं कि । तर के भन्ने ?

मेरो छेउमा बसेर मेरो श्रीमती रुँदै थिइन् । मेरो नाम पुकारेर कति भावुक देखिइन् मेरी श्रीमती ।

“किन रोएको ?” मैले सोधेँ

उनी बोलिनन् । पुनः सोधेँ, अझै उनी बोलिनन् । यसो मैले आफैँलाई हेरेँ । म त घरको बाहिर पो सुतिरहेको रहेछु । अरुलाई बोलाएँ नामै लिएर । कसैले सुनेनन् आखिर म त मरिसकेको पो रहेछु । मैले बोलेको कसैले सुन्ने रहेनछन् । मैले मात्र सुन्ने रहेछु अरुहरू बोलेको । म त मरिसकेको मान्छे, कसले नै सुन्थ्यो र मेरो कुरा ?

तर मेरो छेउमा बसेर मेरी श्रीमती रुँदै थिइन्, बस रुँदै थिइन् ।

अमृत बास्कुने
भरतपुर-१०, हाकिमचोक, चितवन ।
फोन – ९८५७६४०२६६

1 thought on “मेरो छेउमा बसेर मेरी श्रीमती रुँदै थिइन्”

  1. Pingback: मेरो छेउमा बसेर मेरी श्रीमती रुँदै थिइन् – News Of Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *