अपाङ्ग प्रधानाध्यापक

  • by


‘जो परीक्षामा निरीक्षक बन्दा वा रिजल्ट निकाल्दा पदीय जिम्मेवारी निर्वाह गर्दैन, त्यसको नामावली मलाई दिनुस् । सख्त कार्वाही हुनेछ ।’ विद्यालय निर्देशकले आदेश दिएका थिए ।

मलाई बोर्डिङ्ग स्कूलको अपाङ्ग प्रशासक बन्नु जीवनकै दुर्भाग्य हो भन्ने महसुस थियो । त्यसैले पनि फुकिफुकी पाइला चाल्नुको विकल्प थिएन । शिक्षक कर्मचारीहरू कोही जानेर त कोही नजानेर काम बिगार्छन् । नजान्ने भन्दा पनि बुझपचाउनेहरूको सङ्ख्या बढी हुन्छ । कार्वाहीको सुरुवात कसबाट केका लागि गर्ने ? म आफैँ निरुत्तर थिएँ ।

निरीक्षण गरेर कापी बुझाउने दिन २८ गते थियो । मैले सूची तयार पार्नु थियो । पार्नै पर्यो भनी सुरु गरेँ ।

स्कुल नै नआउनेको नामावली– रमेशकुमार, वसन्त, अजय ।

समयमा नआउने र फोन गरी–गरी बोलाउनु पर्नेहरूको नामावली– कञ्चन, राहुल, रिङ्कु, शिवकुमारी, सञ्जीव, अमरकिशोर, कोमल, कृति, रामनारायण ।

नामावली लामै थियो । पचास प्रतिशत शिक्षककर्मचारीबाट जिम्मेवारी बहन नगरेको प्रतिवेदन तयार भयो ।

अब सूची निर्देशककहाँ पुर्याऊँला । उनले आर्थिक दण्ड तोक्लान् । कतिपय शिक्षक रिसाएर स्कूल छोड्लान् । कतिपयले दोष मेरै थाप्लामा खन्याउलान् । स्कूलमा पो म प्रशासक, स्कूल बाहिर त सडकछाप नै हुँ । यस्तै यस्तै विश्लेषणमा घोरिइरहेको थिएँ ।

‘सबै बौद्धिक श्रमजीवि नै हुन् । जस्तो म त्यस्तै उनीहरू । उनीहरूको गल्तीले नाफामा निर्देशक रहन्छन्, घाटामा म रहन्छु । शिक्षक पनि मलाई नै धोका दिन्छन्, निर्देशक पनि त्यसै गर्छन् । समयमा शिक्षक राखिँदैन, कक्षा खाली हुन्छ । त्यो पिरलो पनि मलाई नै छ । शिक्षक रिसाएर म विरुद्ध खनिएलान्, त्यो पनि मलाई नै पिरलो थुप्रिएको छ ।’ म एक्लै भुत्भुताउन पुगेँछु ।

‘बहुत बात नही छै । शिक्षकके जायज तलव सुविधा दियौ । आओर, काज बिगाडैवलाके आर्थिक दण्ड तोकूँ । समस्याके समाधान भ जायत । मुदा, अपाङ्ग प्रधानाध्यापक से उपर उठू ।’ (धेरै कुरा छैन । शिक्षकलाई जायज तलव सुविधा दिनुस् । र, काम बिगार्नेहरूलाई आर्थिक दण्ड तोक्नुस् । समस्याको समाधान भइहाल्छ । तर, अपाङ्ग प्रधानाध्यापकबाट माथि उठ्नुस् ।) स्कूलका वरिष्ठ शिक्षक प्रकाशको बोलीले मेरो तन्द्रा भङ्ग भयो । म उनकै मुखाकृति हेरेको हेर्यै भएँ ।

नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
पत्राचार – लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी
फोन नं -०३१५२००३८, ९८१४७०००९९

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *