Skip to content


गणतन्त्र, लोकतन्त्र मेरो अतित होइन,
तथापि मलाई लाग्यो आज परिवर्तन प्यारो ।

स्वतन्त्र बोल्न नपाइने राणा शासन होइन,
भोको पेटमै पनि बोल्न पाइने लोकतन्त्र प्यारो ।

सर्वोच्च शिखरले परिचित देश होइन,
मलाई अनुदानको भीख माग्ने नेपाल प्यारो ।

ज्ञानी बुद्धको शान्ति जन्मभूमि होइन,
टायर जलेर प्रदुषण युक्त धुवाँ धुलो प्यारो ।

हरियाली बन पखेरा, छहरा होइन अब
उजाड पाखा अनि सुकेका बगर प्यारो ।

कञ्चन नदी नालाको जलासय होइन अव,
बाग्मतीमा थुप्रिएका फोहर अनि ढल प्यारो ।

सधै पढाइ, सधै काम, यो त राम्रो होइन,
मलाई त बन्द हड्ताल चक्का जाम प्यारो ।

शहिदहरुको सम्मान, इच्छा आकांक्षा होइन,
शहिद बनाउनेहरुको सम्मान प्यारो ।

जनताको शान्ति सुरक्षाको पहरेदार होइन
सधैभरि नोटको बिटो बाँडी हिड्ने प्यारो ।

जनताको रोजीरोटीको ब्यवस्था चै होइन
जनताले दिएको ‘संभासद’ रोजगारी प्यारो ।

सत्ता दिने जनतालाई मुखमा माड छैन
लोकतन्त्र ल्याइदिए नेताजीलाई प्यारो ।

जनताका भावनाको कदर होइन यहाँ,
बल्ल बल्ल भेट्टाएको कुर्सी मोह प्यारो ।

संबिधान रच्ने कसैलाइ फुर्सत छैन यहाँ,
जालसाँझी र पालो पैचोको खेल प्यारो ।

देश हाँक्ने, निडर, बीर सपुत होइन यहाँ,
काम चलाउ संबिधान र सरकार प्यारो ।

युवा सरोकारका उद्योग रोजगार छैन यहाँ,
अर्काको चाकडीमा पाइने रेमिटेन्स प्यारो ।

बिश्वमा प्रचारीत वीर गोर्खाली होइन यहाँ,
आन्तरिक द्धन्दले कलंकित नेपाली प्यारो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *