‘शिक्षक मासिक’, जावलाखेल, ललितपुरले २०६९ असार/साउन अङ्कमा घोषणा गरिएअनुसार सञ्चालन गरेको ‘पूर्ण साक्षर नेपाल’ लेखन प्रतिस्पर्धामा लिटिल फ्लावर मावि, राजविराज-९, सप्तरीका शिक्षक नन्दलाल आचार्य र सरस्वती उच्च मावि, दुनै, डोल्पाका शिक्षक अर्जुनप्रसाद पोखरेल पुरस्कृत भएका छन् ।
पुरस्कारको रकम दामासाही रूपमा रु. २५,०००/- नगद रहेको छ । आचार्यको ‘जिउन सजिलो पार्छ’ र पोखरेलको ‘अक्षर मात्र साक्षरताको मानक रहेन’ शीर्षकका लेखलाई उत्कृष्ठ ठहर्याई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

यस अघि पनि आचार्यका ‘शिक्षक मासिक’को ०६८ पुस अङ्कमा ‘पिताको पत्र शिक्षकलाई’, २०६८ चैत्रमा ‘दिमाख खाली छ, दिमाख खाली छैन’, असार ०६९ मा ‘राजनीतियुक्तबाट मुक्ततिरको महायात्रा !’ शीर्षकका लेखहरू प्रकाशित भइसकेका छन् ।
आचार्य नेपाली र मैथिली भाषामा कविता, कथा, निबन्ध, नाटक/एकाङ्की, समीक्षा आदि विधामा समेत कलम चलाउँछन् । उनको २०६७ सालमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नामक नाटक/एकाङ्की कृति प्रकाशन भइसकेको छ ।
लेखक आचार्यले पुरस्कृत भएकोमा प्रसन्नता व्यक्त गर्दै ‘शिक्षक मासिक’, जावलाखेल, ललितपुर परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । साथै, २०६९ सालको बडा दशैं, दिपावली र छट पर्वको अवसरमा सबै नेपालीको लागि मंगलमय कामना व्यक्त गरेका छन् ।
“हाम्रा नेतानेतृको बुद्धिको बिर्को खुलोस्, मुलुकले समुन्नतिको ठोस गोरेटो पहिल्याओस्, सबैको ओठमा मुस्कान नाच्न सकोस्, शिक्षा र चेतनाको घामले पूरै नेपाल झलमल्ल होओस्, दानवी मन पाखा लागोस्, मानवी संस्कारको स्थायित्व होओस्,” उनले शुभकामना व्यक्त गरे ।
यस उपलब्धिको लागि हामी मझेरी परिवार लेखक आचार्यप्रति बधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छौँ ।
पुरस्कृत लेख यता – साक्षरता शिक्षाका आधारभूत पक्षहरू
