Skip to content


ऋषिकेश घर फर्कंदा रातको ११ बजिसकेको थियो। स्वास्नी टीभी खुल्लै राखेर झ्काएकी थिई। छोराछोरी झुलभित्र सुतिसकेका थिए। एउटा मच्छरले झुलमा टाँसिएको छोरीको गालामा रजाइँ गरिरहेको देखेर उसको पारा तात्यो, “साला!” उसले हान्दा नहान्दै मच्छर फुर्र भयो, छोरी पो कहालिएर रुन थाली। छोरीको रुवाइले स्वास्नी झ्सङ्ग भई, छोरा पनि ब्यूँझियो।

“कति खेर आउनुभयो?” स्वास्नीले टाउकोमा घुम्टो मिलाउँदै सोधी।

“जब तँ सुतेर मरिरहेकी थिइस्” ऋषिकेश रिसायो, “झुल मिलाइदिन सक्दिनथिस्?”

“चुपचुप”, छोराछोरीलाई सुताउन थाली, स्वास्नी। काठमाडौं जानुपर्ने भएपछि लोग्ने पछिल्ला केही वर्षदेखि यसैगरी तनावमा आउन थालेको थियो। उसले जवाफ फर्काइन। नत्र त ऊ पनि कहाँ कम थिई र!

खाना खाएपछि ऋषिकेशले खाटछेउको झोला चलाउन थाल्यो। स्वास्नीले सब सामान ठिक्क पारेको उसलाई थाहा थियो। ऊ जहाँ जाँदा पनि टुथपेष्टदेखि अन्डरवेयरसम्मका सामान स्वास्नीले ठिक्क पारिदिएकी हुन्थी।

“के गर्नुभएको?” स्वास्नीले सोधी।

उसले चटाइमाथि झोला खन्यायो। प्यान्ट, सर्ट, गन्जी, कट्टु, काइँयो, टुथब्रस, टुथपेस्ट आदिसँगै एउटा गम्छा पनि फ्यात्त झ्र्‍यो। अनि त के चाहियो र!

“म कहाँ जान लागेको?”

“काठमाण्डू।”

“थाहा रै’छ त” ऋषिकेश गर्ज्यो, “तेरो बूढा जनकपुर जान लागेको हो र यो गम्छा हालिस्। खोइ, पोहोर ल्याएको तौलिया?”

आफैंले पनि कोठामा सरर्र आँखा डुलायो। ऐना भएको काठको दराज, कुनामा बेरेर राखिएका प्लाष्टिकका चटाइ, अर्को कुनामा छोराछोरीका किताब, भित्तामा लोग्नेस्वास्नीको फोटो, भित्तेघडी, उसैका प्यान्टसर्ट, स्वास्नीको ब्लाउज आदि देखिए।

“यो के झुण्ड्याएको?” उसले फेरि स्वास्नीको हुर्मत लियो, “फ्याल्दिऊँ झयालबाट?”

स्वास्नीले झ्म्टेर उसको हातबाट ब्लाउज लिई। दुई छोराछोरी पाइसक्दा पनि उसको शरम बाँकी नै थियो। दिउँसो धोएका लुगाहरू पानी परेपछि उसले भित्र टाँगेकी थिई।

“केटाकेटी छन् घरमा भन्ने बिर्सिस्?”

स्वास्नी बोलिनँ। ब्लाउज देख्दा पनि लोग्ने रिसाउँदा ऊ चित खाइरहेकी थिई।

“खोइ मेरो तौलिया?” ऊ जंगिन छाडेको छैन, “कि सग्लै निलिस्?”

स्वास्नीले खाट मुनिबाट टीनको बाकस तानी। पट्याएर राखेको निलो तौलिया निकालेर थमाई।
“काठमाण्डू नै त गइराख्नुभएको छ, अमि्रका त होइन नि!” अब स्वास्नीको पनि पारा चढ्न थाल्यो।

“बरु मलाई अमि्रका जान सजिलो हुन्थ्यो” ऋषिकेशलाई भन्न त मन लागेको थियो, तर सकेन। कहिल्यै गएको भए पो भनोस्! उसले झ्ुक्किएर पनि चमेलीको तेल, लुँगी, गम्छा नपरोस् भनेर एकएक सामान दोहोर्‍याएर हेर्‍यो अनि स्वास्नीको छेउमा गएर पल्टियो।

२० वर्षअघि जागिर थालेकै साल पहिलो पटक ऋषिकेश पशुपति दर्शन गर्न आमाबुबालाई लिएर काठमाडौं गएको थियो। बाले लुँगी र काँधमा गम्छा हालेका थिए। आमाले घुम्टो ओढेकी थिइन्। उसले एक से एक नयाँ प्यान्ट, सर्ट, पेटी, जुत्ता, कपालमा चमेलीको तेल लगाएको थियो। उनीहरू पशुपति, बौद्ध, नयाँसडक, सुन्धारा, स्वयम्भु जहाँ–जहाँ गए सबै ठाउँमा नेपथ्यमा कसैले ‘धोती–धोती’ भनेको सुने। बिहेपछि स्वास्नी लिएर जाँदा पनि त्यही आवाज सुन्यो। गाउँमा अरूको पनि उही अनुभव थियो।

काठमाडौं फेरि फेरि गयो, छोराछोरी भएपछि पनि गयो। सडकमा ‘मढिसे’ भनेर धकेलियो, कसैले ‘भैया’ भने। एकपटक रत्नपार्कको आकाशेपुल उक्लँदै गर्दा माथिबाट हुर्रिएर आएकी एउटी फुच्ची छोरीसँग ठोक्किएर लडी। आमा छेउमा आइपुग्नासाथ फुच्चीले ‘यो भैयाको छोरीले लडाइदिई’ भन्दै ऋषिकेशलाई औंलाई। त्यसपछि उसलाई भीडका कसैले के भने कसैले के भने। उसले कति सुन्यो, कति सुनेन। उसको हात कस्सिएर समाएकी त्रस्त छोरीले के सुनी, के बुझ्ी। पछि गाउँमा छोरीले साथीहरूसँग ‘मेरो बुबालाई काठमाण्डूमा सबले भैया भनेर मान्छन्’ भनेको उसले सुन्यो।

काठमाडौंप्रति उसको उत्साह नै मर्‍यो। उसले एकदिन ट्वाइलेटमै कसम खायो, ‘साला काठमाडौं जान्नँ।’ त्यसपछिको दुई वर्ष त उसले काठमाडौं जानुपर्ने अफिसको काम पनि ज्वरो आयो भनेर टार्‍यो। कसैले गुदपाक ल्याएर दियो भने पनि ट्वाइलेटमा हालिदिन्थ्यो। मधेश आन्दोलनपछि भने ऊ शानले काठमाडौं जान तयार भयो। धोती–गम्छामा सजिएर चमेलीको तेलले मग्मगिंदै मुखमा चट्ट पानको बिंडा राखेर गाडीमा चढ्यो, ऊ। काठमाण्डू ओर्लने वित्तिकै उसको सामना ट्याक्सीवालासँग भयो।
“सिनामंगल कति?”

“पाँचसय!”

“पाँचसय?” उसले मोलमोलाइ गर्‍यो, “दुईसयमा लानुस्।”

“तीनसय देउ भैया, नत्र बसमा जाउ।”

“कसलाई भन्यौ भैया?” उसले पाखुरा सुर्क्यो।

“तिमीलाई धोती भन्नुपर्ने” ट्याक्सीवालाले पनि पाखुरा सुर्क्यो, “धोती फुस्काइदिऊँ?”

ऋषिकेशले वरपर हेर्‍यो। आधा दर्जन जति ट्याक्सी ड्राइभर उसको धोती तान्न तयार थिए। ऊ चुपचाप बस चढ्यो। कन्डक्टर भाडा उठाउँदै आयो।

“सिनामंगल”, उसले १० रुपैयाँ दिंदै भन्यो।

“पाँच रुपियाँ पुगेन”, कन्डक्टर कड्क्यो।
“अस्ति आउँदा यति नै दिएको थिएँ।”

“अरे, उहिलेको कुरा नगरन भैया!”

उसलाई बहस गर्न मन लागेन, पाँच रुपियाँ निकालेर दियो।

होटलमा कोठा देखाउने केटोले उसलाई पान खाएर भित्तामा थुके ठीक हुँदैन भनेर पाँचचोटि चेतावनी दियो। बातै पिच्छे ‘भैया यसो गर्‍यौ भने ठीक हुँदैन है’ भनेर सम्झ्ायो। त्यही केटोले पल्लो कोठामा बसेको झापातिरका पहाडी मूलका ‘गेष्ट’लाई भने सरका सर ठोकिरहेको थियो।

ऋषिकेशले घर फर्केपछि फेरि कसम खायो– अब त मरिगए’नि काठमाण्डू जान्नँ। तर कसम फेरि फुस् भयो। मन्त्री नभेटे बढुवा नहुने भएपछि ऊ फेरि तयार भयो। स्वास्नीले राति नै उठेर पकाएको रोटी–तरकारीको टिफिन बक्स थमाउन खोज्दा ‘बाटोमै नास्ता गरुँला’ भन्दै ऊ निदाइरहेका छोराछोरीको कपाल सुम्सुम्याएर हिंडिहाल्यो।

यसरी साढे पाँच बजे नै स्टेशनमा आएको ऊ साढे आठ बज्दा पनि बस नआएपछि रीसले बहुलाउन लागेको थियो। त्यसमाथि बिहानै हातमा लोटा बोकेर निस्केका सयौं चिनारुलाई काठमाण्डू हिंडेको सुनाउँदा–सुनाउँदा हैरान्। हरेक बस आउँदा उठ्यो, त्यो हैन भनेपछि फेरि बस्यो। छोरा बिरामी भएर हरिया काका घर गएकोले छेवैको चियापसल पनि बन्द छ। नत्र त, कपका कप चियाले पनि समय कटाउन सकिन्थ्यो। अरूको गफले पनि समय कटनी हुन्थ्यो। हद भएपछि उसले बस काउन्टरमा फोन गर्दा कसैले उठाएन। अब बसले छाडेर त गएन भन्ने चिन्ता थपियो।

उसको आँखा सडकमै थियो। विपरीत दिशाबाट आएको एउटा बस पारिपट्टि रोकियो। ओर्लिने मान्छेहरू उसको वास्तामा परेन। बस हुँइकिएपछि उनीहरू सडक काटेर वारि नै आए। ढाका टोपी लगाएको एकजना बाहेक अरू फटाफट आ–आफ्नो बाटो लागे। तनावमा रहेको ऋषिकेशले ढाका टोपी ढल्काउनेलाई पनि वास्ता गरेको थिएन।

त्यो मान्छेले टोपी एकछेउमा राखेर सुटकेशबाट गम्छा, तेल, सानो ऐना र काइँयो निकाल्यो। गम्छा काँधमा हाल्यो, टाउकोमा तेल हाल्यो। तेलको कडा वासनाले अनुहार बेस्सरी कुच्चिए पनि एक हातले ऐना समातेर हेर्दै कपाल कोरेर मुसुक्क मुस्कुरायो। उसले मुखमा पानको बिंडा कोच्यो। टोपी बाहेक सबै सामान सुटकेशमा राखिसकेपछि सतर्क हुँदै यताउता हेर्दा उसका आँखा ऋषिकेशसँग जुध्यो। ऋषिकेशले हेरिरहेको थाहा पाएपछि त्यो मान्छे टोपी फ्याँकेर हिंड्यो। सुटकेशसँग गाह्रो हुँदाहुँदै पनि ऊ लगभग दौडिरहेको थियो।

बस बिग्रिएको रहेछ। दुई बजे घर आइसकेको ऋषिकेशलाई बसवालाले फोन गरेर फेरि स्ट्याण्डमा आउन लगायो र ‘सरी–सरी’ भन्दै झोला डिक्कीमा राखिदियो। गाडीमा छट्पटिंदा छट्पटिंदै निदाएको उसले आँखा खोल्दा अर्को दिन भइसकेको रहेछ। ऋषिकेशले कपाल मिलायो, मुख पुछपाछ पार्‍यो र त्यही हातले कचेरा फाल्यो। त्यो ढाका टोपी सर्टको गोजीबाट खस्न लागेको रहेछ।

“दाइ, काँ जाने?” बसको ढोकैमा ट्याक्सी ड्राइभरले सोध्यो।

“सिनामंगल।”

“छ सय दिनुस्” ड्राइभरले उसको झोला समाउँदै भन्यो।

“भैगो, म बसमा जान्छु।”

“जा मधिशे” ऊभन्दा अगाडि हतार गर्दै बसबाट र्झ्ने मान्छेलाई अर्को ट्याक्सी ड्राइभर भन्दै थियो। ऋषिकेशको ज्यान सिरिङ्ग भयो। उसलाई अब ड्राइभरले समातेको आफ्नो झोलाको पीर भयो। उसले ड्राइभरतिर हेर्‍यो।

“भैगो दाइ, तीनसय दिनुस्” ड्राइभर ङिच्च हाँस्यो।

ऋषिकेश ट्याक्सीमा सवार भयो। एफएम रेडियोमा ‘मधेश आन्दोलन पछि काठमाडौंमा मधेशीको अवस्था’बारेको छलफल प्रसारण भइरहेको थियो। ट्याक्सी ड्राइभर दिल खोलेर हाँस्यो। ऋषिकेश पनि हाँस्यो।

“बसमा निदाउँदा होला तपाईंको टोपी छड्के भएछ, मिलाउनुस्” गन्तव्यमा पुगेपछि ड्राइभरले पैसा लिंदै भन्यो।

“होला”, ऋषिकेशको हात टाउकोमा पुग्यो, “धन्यवाद!!”

हिमाल खबरपत्रिका
१-३० कात्तिक २०६९
14 Oct- 15 Nov 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *