Skip to content


जति रोपे पनि
फुलेन, फुल्दै फुलेन– चिहानमा फूल!

गाउँदा गाउँदै
गीतको अन्तरा आफैं रुन थाल्यो
हाँस्दा हाँस्दै
ओठको छेउकुना आफैं रुन थाल्यो
रुनुको चरमोत्कर्ष सँगै
सारङ्गीहरू बगे– निर्जन रातका बाढीहरूमा
बगे उज्यालो पर्खिरहेकाहरू
बगे आवाजका सहस्र कोरसहरू
यही कुरुप बगाइको सीमान्तमा
जति रोपे पनि
फुलेन, फुल्दै फुलेन– चिहानमा फूल!

नक्कली संवेदनाका
एकोहोरो नक्कली सुसाइहरूसँगै
कतिले
चिहानलाई मागिखाने भाँडो बनाए
कतिले
चिहानलाई उक्लने भर्‍याङ पनि बनाए
अफशोच!
चिहान छेवैमा
मनभरि, तनभरि अस्थिपञ्जर बोकेर
चिहानलाई हेरिरहेका
समाजका आदिम गरीबगुरुवाहरू उस्तै छन्
र उस्तै छ आज पनि
चिहानमा नफुलेको फूलको आदिम कथा पनि!

देशको निम्ति
रगत बगाएर जानेहरूको रगतको मूल्य खै?
बलिदानलाई पाल्की बनाएर
बुख्याँचाहरू सिंहदरबार सवार भइरहँदा
कसरी फुल्न सक्छ
शहीदको चिहानमा फुल्नुपर्ने सम्भावित फूल?

जति रोपे पनि
फुलेन, फुल्दै फुलेन– चिहानमा फूल!

हिमाल खबरपत्रिका
१-३० कात्तिक २०६९
14 Oct- 15 Nov 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *