Skip to content


तुइनले काटिएको डुंडो हात लिएर
राजमार्ग पारि नदीले बारेको गाउँबाट
नियाल्दै बसेकी छ एउटी किशोरी
पर्यटक घुमाउन हिंडेको चम्किलो बसलाई।

परिवारले काढेको ऋण तिर्न
अब पर्दैन जानु अरूको खोपीमा
घरकै सुरक्षा घेराभित्र,
कुलीन कहलाइनेहरूको बाहुपाशमा
किचीमिची हुन पाउँछन्
फूल जस्ता कलिला बालाहरूले।

गर्नुपर्दैन लालनपालन नानीहरूको
शपिङ्ग कम्प्लेक्सका संगमरमरमाथि
रेफ्रिजिरेटरको कभर ओछ्याएर,
माघको तुषारो तताउन सक्छन् तिनले
र, दूधको खाली पोका सुँघेरै
जीवन धान्न सक्ने भएका छन् उनीहरू।

अनिकालमा ज्यान जोगाउन
परदेश पसेको लामो लस्करबाट
केही लाशहरू डिब्बा बन्द
प्रत्येक दिन नबिराइकन फर्किन्छन् स्वदेश।

बन्द छ न्यायको मार्ग
मासिंदैछन् न्याना बस्तीहरू एकपछि अर्को,
छानीछानी उडाउँदैछ मायाको पुल
निर्धाहरू झ्न्–झ्न् त्रासको दहमा डुब्दैछन्।

ऐशरत केही धमिराहरू
चपाइरहेछन् देशको नक्शा,
सीमा स्तम्भहरू धमाधम ढलिरहेछन्,
पसिरहेछन् घसि्रंदै संसारभरका गोहीहरू
नरम नितम्ब सुम्सुम्याउँदै चन्द्रको
लुछिरहेछन् चेतनाको सूर्यलाई।

यो कहालीलाग्दो परिवेशमा
अपूर्व बुद्धि भएको स्वाङ रच्दै
जनताका स्वघोषित भाग्यविधाताहरू
कहिले कुर्लिंदैछन्, कहिले उफ्रिंदैछन्,
कहिले काम्दैछन् थर्थरी झाँक्री झै
जनतालाई अझै लट्याउन खोज्दै,
मानौं तमासाको डमरु बजाइरहेछ चटके
र बन्धनमा परेको लाचार बाँदर
ङिच्च हाँस्दै पुल्टुङबाजी खेलिरहेछ,
हरेक बाजी हारेर जिल्लिएका जनता
व्यस्त छन् आफ्नो दैनिकीमा।

थाहा छैन,
कहिले हुन्छ यो त्रासद गाथाको अन्त्य
आँशुको दहमा कुन सुरले बाँच्लान् असंख्य मानिस
यिनका सन्तान दरसन्तानले
कसरी व्यहोरिरहलान् यो श्रापलाई,
र कस्तो मुटुले सहिरहलान् तक्दीरको तमाशा?
विपतका सुइराहरूले छेडिएर रगतपछ्य मानिसहरूको
वेदनाको विशाल पीपल कहिले ढल्ला?

सोचिरहेछु,
यतिविघ्न श्रापित मानिस र समाज
कहिले थियो होला वा हुनेछ मानव समाजमा
भूगोलको कुन खण्डमा,
या इतिहासको कुन कालखण्डमा?

हिमाल खबरपत्रिका
१-३० कात्तिक २०६९
14 Oct- 15 Nov 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *