Skip to content

मुर्झाएको अतित

  • by


चकमन्न रातको अँध्यारो साम्राज्य बीच, सुनसान समयमा म एकाएक झसङ्ग ब्युझिएँ । स्मृतिपटलको ढोका अनयासै खुल्न पुग्छ । एकाएक सम्झनाको हुरीले बिगतको धमिलिएको एल्बमलाइ पल्टाई दिन्छ । म बाध्य हुन्छु । एल्बमका चहकिला तस्बिर नियाल्न । हो, चाँदनी ! धेरै पछि आज, यो मध्ये रातमा मक्किएको बिगतबाट मुर्झाइसकेको अतितलाई हुकाइरहेकोछु । निभिसकेको सलेदोमा फेरि बल्झाईको तेल थपेर सल्काइरहेको छु । खाटा बसिसकेको घाउँबाट फेरि सम्झनाका पाप्रा उब्काउँदै छु म ।

मलाई सबै थाहा छ । तर …..तर जानि जानिकन पनि किन ? निको हुन थालेको घाउँलाई कोट्याउने प्रयास गर्दैछु । अस्तिसम्म त्यही घाउँको दुखाई खप्न नसक्दा कयौं रातलाई यी एकजोर निराश आँखा मंै लमतन्न सुताएको थिए । कति सम्झनाका छरपस्टिएका बिस्कुनलाई एकै घाममा उठाएको पनि थिए मैले । त्यो बिगत नै छ मेरो साक्षी, बाँकी म र म जस्तै यो रातको सन्नाटा पनि निरुत्तरित छन यो क्षण ।

तिम्रो टुटिसकेको मायाका एक एक गेडीलाई बडा जतनकासाथ मेरो अतितको मालामा उनीरहेको छु । यो अतितको माला जहाँ थरिथरिका स्मृतिका चम्किला गेडीहरूले सजिएको छ । कहिले नओइलिने अनि कहिले नमक्किने मेरा यी स्मृतिका गेडीहरू । म तिनैसँग खेल्छु । तिनैसँग रुन्छु । तिनैसँग ठोक्किन्छु र तिनैसँग बेलाबेला टुक्रिन्छु पनि ।

छिप्पिदो रातको बाक्लिदा सन्नाटासँगै मृगतृष्णाको भ्रममा एक्लै, नितान्त एक्लै टोलाइरहेको छु म । शुन्यता भित्र बिक्षिप्तताका बाक्ला रेखाहरू नियाल्दै भाँचिएको मन, छुटिसकेको साथलाई पुनराबृत्ति गर्दैछु । हो, म कदापि चाहँदिन मेरो स्मृतिको भित्तोमा सजिएका सुन्दर अतित शिशाको फ्रेम जस्तै चकनाचुर होउन ।

छोटो समयका महत्वपूर्ण अविस्मरणीय क्षण हामीले दुई भएर रंगाएका थियौ । तिनै पल प्रतिपलको योगफलको बाक्लो ढड्डा नै हो यो मसँगको अतितको सुन्दर एल्बम । कहिले मेरी हुन नसकेकी तिमी अनि मेरो हुन नसकेको तिम्रो प्रेम सदा मसँगै हुनेछ केवल स्मृतिमा मात्रै । साच्ची कै चाँदनी ! तिमी त मसँगै मेरो मनको खोकिलामा बन्द भएकी हुनेछौं । जसको ढोका यसै गरी बेला बेला खुल्नेछ र म यसरी नै एकलौटी सम्झनाको साम्राज्यमा रजाई गर्ने छु ।

भित्तामा टाँसिएको घडीले यो समय घण्टा–घण्टामा मेरो खबरदारी गरिरहेको छ । मेरा यी एकजोर आँखा ती सलबलाइरहेका मसिना सुईमा ठोक्किन पुग्छन् । जबरजस्त स्मृतिपटलको ढोका बन्द गर्ने प्रयत्न गर्दैछु । आशा छ, सपनामा पनि तिमी मसँगै हुने छौं । बाँकी रहेका यी रातका प्रहरलाई रंगिन बनाउने छौं । बिपनीमा कहिल्यै मेरो भागमा पर्न नसकेको खुशीलाई सपनी मै भए पनि मेरो पोल्टामा खन्याउने छ्यौ र म त्यसैलाई नै प्राप्ति ठान्ने छु जुन मेरो भ्रम सिवाय केही हुने छैन ।

यसरी भएको थियो उनीसँगैको मेरो पहिलो तथा अन्तिम भेट अर्थात हाम्रो मिलन अनि विछोड ।

बसन्तले बिट मार्ने र गृष्मले संघार टेक्ने बेलाको परिपक्त लालिमाले पोतिएको एक टन्टलापूरमा भएको थियो उनको र मेरो भेट । उसो त काम कै शिलशीलामा पन्ध्र बीस मिनेटका कफी भेट दुई चार पटक भइसकेका भए पनि त्यो भेट नै अविस्मणीय हुन पुग्यो उनी र म बीचको । यही भेट नै अन्तिम भेट हुन पुग्यो ।

कतिपय खुशीहरू खोसिनका लागि अनि कतिपय साथ छुट्टिन कै लागि नै प्राप्त भएको हुँदा रहेछन् । बल्ल थाहा पाएँ ।

अजिङ्गर झैँ लमतन्न तेर्सिएको नागबेली सडकमा मान्छेको लर्को बाक्लिएको थियो । लगातार नेपालबन्दको पाँचौ दिन थियो त्यो । सडक सवारी साधन बिना नियास्रिएको थियो । फ्याट्ट फुट्ट कर्कश धुनमा चर्को साईरन सुसेल्दै एम्बुलेन्स र सुरक्षाकर्मीका भ्यान निर्वाध दुगुरिरहेका देखिए पनि अरु भने ठप्प नै थियो ।

यस्तै सुनशान सडकमा तीनै मान्छेको लर्कोसँग मिसिदै हल्लिएर हिड्नुको आनन्द बेग्लै हुन्छ । म प्रायः नेपाल बन्दमा खुबै हिड्न रुचाउँछु । त्यसैले मिसिए म पनि त्यही लस्करसँगै । म एक्लो थिए । निकटको साथी मोवाईल साथमा थियो । हेडफोन कानमा लगाए यही गीत गुन्जिदै दियो ।

“यात्रा रहेछ जिन्दगी, एक्लै म हिंडिदिन्छु,

घुम्तिमा लोलाउँदै फूलसँगै हाँसिदिन्छु ।”

बिपरित दिशाबाट सडक नाप्दै हिंडिरहेका हामी । गैरीगाउँनिरको कुइनेटोमा ठोक्किएका थियौ । हो, त्यही निलाग्ने शिरीषको बोट मुनि भएको थियो त्यो पटकको उनी सँगको मेरो जम्काभेट । एक्कासि उनलाई देख्दा त्यही ठिङ्ग उभिन पुगे म । एकाएक चार भएका आँखा भुईमा ठोक्किकएर दुई भएका थिए । मान्छेको ब्यस्त भिडबाट छानिएर एकछिन त्यही शिरिषको तन्किएको छायाँ मुनी ओत लाग्यौ र त्यस पछि मात्रै पोखाएका थिए हाम्रा औपचारिकताका शव्दहरू । छोटो बार्तालाप पश्चात थाहा पाएँ । म जस्तै उनी पनि एक्लै गन्तब्य बिहानी यात्रामा पट्यारतालाई भुलाउन निस्किएकी रहिछिन् ।

बेहुलीको रक्ताम्मे घुम्टोले सजिएको सुन्दर आकृति झैं निलाम्मे शिरीषका बैशालु फूलले रुखलाई छपक्कै ढाकेका थिए । झरेका असंख्य फूलको भुईभरि निलाम्मे फलैचा जस्तो देखिन्थ्यो । निलै फलैचामा निलै शिरीषको छाता ओडेर त्यही उभिएका थियौं हामी । उनलाई यस्ता दृप्यले निकै नै छुने गर्छ । जुन उनका आँखाबाट प्रस्ट झल्किन्थ्यो । यत्तिकैमा सुस्ताएको पवनले पालै–पालो कयौं सुन्दर फूललाई बरबरी भुईमा झारी दिन्छ । एउटा सुन्दर फूल आएर उनले घाँटीमा बेरिराखेको सलमा लट्पटिन्छ र निकै भावुक हुदै भनेकी थिइन् — “कुसुम ! यो फूललाई हेर त, अक्सर आत्मिएताको प्रेमले जोडिएका झिना सम्बन्धहरू यही फूल जस्तै यसरी नै चिसिएर झर्ने गर्छन् ।”

उनको यो वाक्यले म झस्किए । बनावटी हाँसो फिस्स हाँस्छु म तर मन मनै यो वाक्यले मलाई नराम्रोसँग थप्पड हानिसकेको थियो । र सोच्न थाले – “केही समय अगाडि मात्रै सामान्य चिनजान कै भरमा गाँसिएको हाम्रो आत्मियाताको प्रेम, उनी र म बीचको यो सम्बन्ध पवनले छुदाँ पनि झर्ने कतै यही फूल जस्तै झर्ने त होइन ?”

दुवैको दिमागमा एकछिन निकै हलचल ल्याईदियो त्यो झरेको फूलले । अगाडि बोल्ने शव्द नै रहेनन् हामीसँग । निःशब्द भयौ दुवै एकछिन ।

गौशालाबाट हिडेको म । कोटेश्वरबाट हिंडेकी उनी । अनायासै एकाएक ढोक्किन पुग्यौ एयरपोर्टतिर जाने गैरीगाउँको त्यही शिरीषको बोट मुनी । कता पुगिन्थ्यो थाहा छैन । तर त्यहीबाट हाम्रो गन्तव्य फेरियो । यात्राले नयाँ रुप लियो र हानियौ त्यो दिनको नयाँ यात्रामा ।

कहिलेकाही सोच्दै नसोचेको खुशीले गल्र्याम्म अंगालोमा कस्दो रहेछ । छुटाउनै नमिल्ने गरी । जुन त्यो दिन भयो । सबै खुशीहरू एकै पटक सोहोरिएर मेरो अगाडि खनिए जस्तै लाग्यो मलाई । उनी पनि खुशीले निकै फुलेकि थिइन ।

उनका चम्किला रहस्यमय लाग्ने नयन हेरेर नअघाउने भइसकेको थिएँ म । छाती मै टाँसिएर भनेकी थिइन – “कुसुम ! जिन्दगीमा यस्तो भेट पनि हुनु लेखेको रहेछ हाम्रो लेखान्तमा र भयो पनि । जसलाई हामी दुवै बीचमा मात्रै सिमित नराखि सुनौला अक्षरमा सजाएर सदा–सदा जीवन्त राख्नु है ! ताकि हाम्रो प्रेम अमर होओस हाम्रो अस्तित्व विलिन भएर गए पनि ।” उनले मनशाय बुझिसकेको थिए मैले र आज तीनै क्षणलाई यहाँ जीवन्त गर्दैछु ।

उमेरले माझिएकी, बैशले फक्रिएकी, मध्यम मोटाई र उचाई, गोरो बर्ण, कसिलो नितम्ब, आकर्षित जीउडालमा सजिएकी चाँदनी । चिप्ला सलल बगेका चम्किला केशराशी, तिख्खर आँखा अनि रहस्यमय हेराई । चाँदनी साच्चिकै उनीसँग जोडिएको उनको सुन्दर नाम जत्ति कै सुन्दर चम्किली चन्द्रमा अर्थात चाँदनी नै थिईन् । उनलाई राम्रोसँग नजिकबाट देखेको त्यो नै पहिलो दिन थियो शायद । खैरो रंगको कटनको चुडिदार कुर्तामा लोभलाग्दि देखिएकी थिइन उनी । हुन त उनी र म बीचमा उमेरको फरक त्यति सारो छैन । एउटी नेपाली महिलाले त्यो उमेरसम्म पार गर्नुपर्ने धेरै खुड्किलाहरू तय गरिसकेकी थिइन उनले पनि । तर सामाजिक मर्यादाले उनको तन मनलाई बन्धन बनाएको थिएन । मेरो मान्यता पनि यही नै हो । मन स्वतन्त्र रुपमा स्वयंम कै नियन्त्रणमा हुनु जरुरी छ । मन माथि अरुको लगाम होइन, स्वयंमले नै लगाउनु पर्छ ताकि जता आफूले चाह्यो उतै मनपरी डोर्याउन सकियोस् ।

लगत्तैको नयाँ यात्राको गन्तव्य फेरिए झैं मौसम पनि फेरिएको थियो त्यतिबेला । पश्चिम क्षितिजबाट सर्किरहेका बादलका गुजुल्टाहरूले मध्य आकाशमा अवस्थित बैशालु रविको प्रखरतालाई ओझेल पारि दिएका थिए । मौसम अनुकल भएको थियो हिड्नका लागि । त्यो सडक छेउको निलाम्मे शिरीषको हरियाली भित्र ढुङ्गे फुटपाथमा बराबर पाइला नापि रहेका थियौ हामी । सिनामंगलबाट तिलगंगातिर जाने सडक छेउको फुटपाथ, जहाँ हामी जस्तै थुप्रै जोडि देखिन्थ्ये । तिनै मध्येका केही परिचित अनुहार पनि थिए होलान् । तर हामी हाम्रै दुनियाँमा मस्त थियौ तिनै मस्ताएका शिरीषका फूल जस्तै ।

उकालो चढ्दै माथि पशुपतिको बीच जंगलमा पुगिसकेका थियौ हामी । म थिए । उनी थिइन र थिए त्यहाँ उन्मुक्त जिन्दगी बाँचिरहेका बाँदरका हुलहरू । निकै बेर हामीले त्यो बाँदरको चर्चिकला टोलाएर हेरिरह्यौं । आहा ! त्यस्तो पो जिन्दगी अनि त्यस्तै निश्चल माया । न त छुट्नुको डर, न टुक्रिनुको नै । कति विशुद्ध प्रेम छ ती प्राणीको बीचमा । तर ….तर मान्छे ? त्रास र भयको अड्डा जमाएर बिवशतामा बाँच्न बाध्य छ नचाहँदा नचाहँदै पनि । यो उसको मान्छे हुनुको नियति पनि हो ।

हामी एक आपसमा ढेपिएर बसेका थियौं । सँगैको निकट्ताले मभित्र कता कता कुत्कुती नलागेको कहाँ हो र ? तर मनलाई निकै सम्हालेर आफूलाई बसमा राख्छु म । त्यो शान्त वातावरण अनि ती श्लेष्मान्तकका लहराउँदै गरेका लताले हामीलाई नै देखेर साउती मारेको जस्तो भान हुन्थ्यो । हावाको एक झोक्का आई जव हामीमा ठोक्किन्छ, उनका चम्किला केशराशी चिप्लेटि खेल्न थाल्छन् र अनुहार भरी छरपस्टिन्छन मसिना काला त्यान्द्राहरू । चिप्लिएका केशराशीलाई बडा जतनकासाथ मिलाउँछिन उनी ती बान्की परेका मसिना खिरिला औलाले । म एकतमास हेरिरहन्छु त्यो सबै दृष्यलाई र महशुस गर्छु हावामा मिसिएको उनको मिठो सुवासलाई । एकाएक चार भएका आँखा धेरै बेरको हेराहेर पछि दुई हुन्छन् । मुस्कुराउछिन् उनी । त्यति बेलाको उनको मुस्कानमा अचम्मको मोहकता झल्किन्छ । त्यो मुस्कानले गुलावी गालामा झन गुलावी हुनेगरी खोपिल्टो पर्छ । मलाई त्यो छुन मन लाग्छ तर सक्तिन । उनी पनि पग्लिन्छिन् शायद तर पोखिएकी भने थिइनन् ।

हेर्दा हेर्दै तप्किए एकनासका मसिना पानीका थोपाहरू । केही समय अगाडि मात्रै जेठको उखरमाउले गर्मीले गलाएको शिथिल ज्यानले श्लेष्मान्तकको छहारी ओड्दा जति आनन्द प्राप्त भएथ्यो मलाई । त्यति नै आनन्द त्यो समय चाँदनीसँगै तप्तिरहेका असंख्या पानीका थोपाले भिजाउँदा भएको थियो । धित मर्ने गरी भिज्यौ हामी त्यो दिन । सिमसिमे पानीले भिजाउँदा उनले लगाएका पुरै बस्त्र जिउ मै टाँसिएका थिँए । अनुहारबाट तैरिदै गरेका पानीका थोपाहरू उनका गुलावी ओठलाई चुम्दै तल बक्षस्थलतिर दौडिन्छन् । मन लाग्छ मलाई पनि, पानीका थोपाले झैँ उनका थरथराइरहेका ओठका केस्रालाई चुम्न । अह ! सक्तिन, कज्याउँछु मुस्किलैले पोखिन खोज्ने मनलाई ।

हो, हामी बाफिएका थियौ एक आपसमा आत्मीयताले । निथ्रुक्कै भएका थियौ प्रेमले । कसिएका थियौ एकआपसमा धेरै बेरसम्म धड्कन जोडदै न्यानो अंगालोले तर अह ! तातिएनौ हामी बासनाका छिटाले किनकि हामीले अर्ध्याएको प्रेम स्वार्थ भन्दा माथिको थियो ।

पानी थामियो । आकाश छ्याङ्ग उज्यालिदै गयो । घर्किएको समयले छुट्टिनु पर्ने क्षणलाई निम्त्याएको पत्तो नै भएन । घडी हेरे मैले । तीन बजिसकेको रहेछ । अर्को भेटको झिनो आशा मनमा संगाल्दै लुगा टकटक्याउँदै फुर्तिसँग ओरालो झर्यौ । उनीलाई पुरानो बानेश्वरसम्म छोड्न जाने शर्तमा हामी गौशालातिर लाग्यौ । बन्दकर्ताको ठूलो जमात गौशाला चोकको चारै तिरको सडकको मुखमा चर्को नारा जुलुश सहित जम्मा भएका थिए । आक्रोशित बन्दकर्ता चारै तिरबाट सुरक्षाकर्मी माथी दवाव दिइरहेका थिए । चोकको बीच भागमा सुरक्षाकर्मीको ठूलो संख्या परिचालित थियो । बन्दकर्तालाई सतर्क रहनका लागि माइकिङ गरि रहेको सुनिन्थ्यो तर आक्रासित भिड झन बढी ताती रहेका थिए । हामीले बल्ल–बल्ल चोकमा रोड क्रस गर्यौ र पुरानोबानेश्वर तिरको रोड किनाराको फुटपाथको रेलिङ सकातेर त्यो भिडमा मुस्किलले पाईला सारिरहेका थियौ । अगाडि ढुङ्गा हानाहान शुरु भइसकेको रहेछ । एकैछिनमा सुरक्षाकर्मी परिचालन भए । मान्छेको भागा भाग मच्चियो । मैले अगाडिको कुरो बुझ्न पाईन् । भिड तितरभितर पार्दै सुरक्षाकर्मीले अश्रुग्याँस, लाठिचार्ज, हवाई फाईरिङ्ग सबै एकैसाथ गर्यो । म पनि चाँदनीको हात समात्दै दौडिदै थिए । दौड्दा दौड्दै एक्कासि चाँदनी पुर्लक्क ढल्न पुगिन । खुट्टा भुईमा नटेकिएपछि फर्केर हेर्छु उनलाई । उनको दाहिने खुट्टाको पिडौलामा गोली लागेछ । हे भगवान ! कल्पनामा पनि नसोचेको यस्तो पनि क्षण आउँदो रहेछ जिन्दगीमा । उनी आत्तिदै कराइरहेकी थिइन– “कुसुम ! कुसुम ! मलाई बचाऊ ।”

निमेसभरमै त्यहाँ रगतको अहाल जम्मा भयो । मैले केही सोच्न नै सकिरहेको थिइन त्यो क्षण । एक्कासि एउटा आइडिया दिमागमा आउँछ । उनको घाँटीमा बेरिराखेको कटनको सल तान्छु र घाउँमा जोरसँग बाँधिदिन्छु ।

पछाडिबाट बेगसँग सुरक्षाकर्मी भेटिएका जतिलाई सोतर पार्दै यतैतिर दौडिरहेका दुख्छु म । सँगसँगै पत्रकार पनि हानिदै थिए यतैतिर । चार पाँच जनाले एकै साथ आक्रमण गर्छन ममाथि । लाठी, लाती र गाली सबैसँगै बर्सिन्छ । म प्रतिकार गर्न खोज्छु झन बढी भकुर्छन । रगत धेरै बगेर होला चाँदनी त्यही बेहोस भइसकेकी थिइन । पत्रकार र केही सुरक्षाकर्मी मिलेर चाँदनीलाई छिट्छिटो एम्बुलेन्समा राख्न्छन् । त्यो निर्मम कुटाइले म अधमरो भइसकेको थिए । कानले मात्रै अलि अलि सुन्दै थिए “नजिक मेडिकियर हस्पिटल छ त्यही लैजाउ” कसैले जोरसंग भन्दै थियो ।

अनौठो साईरन सुसेल्दै एम्बुलेन्स मेडिकियरतिर सोझियो । त्यो आवाज मेरो कानमा गुन्जिरह्यो एम्बुलेन्स ओझेल नपरुन्जेलसम्म । दुई तीन जनाले कठालोमा समातेर घिसार्दै मलाई पनि जबरजस्त भ्यानमा कोच्छन । म बोल्न नसक्ने भई सकको थिए त्यति बेलासम्म । म जस्तै अध्मरा मान्छेको जमातले भरिसकेको भ्यानमा खुट्टासम्म राख्ने कतै खाली ठाउँ थिएन । मान्छेमाथि मान्छे हुल्दै भ्यान महाराजगंजतिर लाग्छ । चाबहिल पुगिसकेपछि मेडिकियर हस्पिटललाई नियाल्न खोज्छु । बाहिर हेर्न मिल्ने कतै ठाउँ नै छैन । सानो चिरो भेट्छु । राम्रोसँग त केही देख्दिन, खाली हस्पिटलको माथि लेखिएका अंग्रेजी अक्षर मात्रै देखिन्छन् । रिल घुमे झैं फन्फनि एकपछि अर्को गर्दै सबै दृश्य दिमागमा मडारिन थाल्छन र सम्झिन्छु, केही समय अगाडि पानी पर्दाको चाँदनीको मुखाकृति अनि त्यो माया र भर्खरैको दृश्य सबै सबै । मनलाई थाम्न सक्तिन । भित्रैबाट भक्कानो फुटेर आउँछ । सम्हाल्न सक्तिन आफूलाई । जोरसँग आवाज निस्किएछ मेरो मुखबाट, “चाँदनी ! चाँदनी !”

पुलिसले सुनेछ क्यारे । गालीका पर्रा बर्साउँदै भनिरहेको थियो — “फेरि कराउँछस साला दुस्मन !”

उसले जोरसँग मेरो मुखैमा बर्जाछ । मेरो दाँत नै भित्र छिरेछन शायद । मुखभरि रगत भरिएको थियो । वरिपरिको बातावरण मैले केही पनि देख्न सकिन र कानले पनि सुन्न छोडे । मुखभित्र कै रगतको घुट्को पिउँदै म पनि जहाँको त्यही बेहोस भएँ ।

त्यस पनि के–के भयो मैले केही थाहा पाएन । लामो समयको अन्तराल पछि जब यथास्थितिमा आए तर अझैं पनि अह ? उनको बारेमा जान्ने साहस मनमा पलाएको छैन् ।

(कृपया हजुरहरूका अमुल्य सल्लाह, सुझाब को अपेछ्या गरेकी छु)

पार्वती शाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *