गिजाको विश्वप्रिसद्ध पिरामिड, अफ्रिकाका धेरै देशहरू छिचोल्दै इजिप्टको भूमध्य सागरमा आएर टुंगिने संसारको सबैभन्दा लामो नाइल नदी, त्यसैगरी असंलग्न आन्दोलनका एक प्रणेता गमाल अब्दल नासेरको नामसँग जोडिएका धेरै प्रसंगका कारण इजिप्ट भ्रमण गर्ने मेरो धेरै पुरानो चाहना थियो ।
विन्टर होलिडेज र नयाँ वर्ष मनाउन मस्कोको ट्राभल कम्पनीबाट लिएको होलिडे प्याकेज अन्तर्गत २९ डिसेम्बर २००६ का दिन हामी इजिप्टको सिनाई प्रायद्वीपमा अवस्थित शार्म अल शेख सहर पुग्यौँ । भ्नुकोवो मस्को एयरपोर्टबाट चार्टर उडानमा छुट्टी मनाउन इजिप्ट आउने रिसयन पर्यटकहरूले जहाज पूरै भरिएको थियो ।
सधैँको चक्रीय जीवनचर्या र एकैखालको जीवनशैलीबाट मुक्ति पाउन पछिल्लो समय नयाँ वर्ष घरबाहिर मनाउने चलन बढ्दो छ । हाम्रा लागि ट्राभल कम्पनीले बुकिङ् गरेको बारोन रिसोर्ट निकै सुविधासम्पन्न होटल रहेछ । भूमध्य सागर र लाल सागरको बीचमा रहेको सिनाई प्रायद्वीप इजिप्टको एसियामा पर्ने भूभाग हो । इजिप्टका अरू भूभाग अफ्रिकी महादेशमा पर्छन् ।
सन् १९५६ को स्वेज नहर क्राइसिस र सन् १९६७ को ६ दिने युद्धमा इजरायलसँग इजिप्टको हार भएपछि सिनाई प्रायद्वीप इजरायलीहरूको स्वामित्वमा गयो । सन् १९८२ मा भएको इजरायल-इजिप्ट शान्तिवार्तापछि यो भूभाग इजिप्टले फिर्ता पाएपछि मात्रै यसलाई एउटा पर्यटकीय नगरीका रूपमा विकास गरिएको हो । सन् १९८२ मा इजरायलसँग गरिएको त्यही सन्धिका कारण इजिप्टका तत्कालीन राष्ट्रपति अनवर अल सादातको हत्या भएको थियो । सादातको हत्यापछि होस्नी मुबारकले ३० वर्षसम्म एकछत्र राज्य चलाउँदै आए ।
यात्राको दोस्रो दिन अर्थात् ३० डिसेम्बरको बिहान ब्रेकफास्ट गर्न निस्कँदा होटलको लबीमा भएका सबै अरेबियन पत्रिकाहरूको प|mन्ट पेजमै सद्दाम हुसेनका फोटो थिए । अरेबियन भाषा केही नबुझे पनि गए राती उनलाई फाँसीमा चढाइएको होला भन्ने बुझ्न मलाई कठिन भएन । किनभने, उनलाई मृत्युदण्ड दिइँदै छ भन्ने समाचार यसअघि प्रचारप्रसार भएको थियो ।
मैले हाम्रो एकहप्ते बसाइका लागि हेक्ट्रिक नहुने गरी केही योजना अतिरिक्त पैसा तिरेर व्यवस्था गरेँ । त्यही प्याकेज अन्तर्गत हामीहरू डल्फिनारयिम र सर्पको नृत्य हेर्न गयौँ । डल्फिनको नृत्य निकै मनमोहक हुन्छ । डल्फिनलाई मानिसको सबैभन्दा नजिकको जनावर मानिन्छ । त्यसैले होला, पानीमा डान्स गर्न लगाउने प्रशिक्षकका निर्देशन अनुसार डल्फिनहरू आकाश र समुद्रलाई जोडेर नाचिरहेका देखिन्थे । सबै ट्रिक पालना गरिरहेका हुन्थे ।
हामीहरू ‘रेड सी’मा बिहानैदेखि पौडी खेल्न जाँदा पर्यटक प्रशस्तै भए पनि समुद्रको पानी चिसो भएकाले पौडी खेल्नेहरूको लाम पातलो थियो । त्यहाँको पानी अन्यत्रको भन्दा बढी नुनिलो हो कि जस्तो मैले अनुभव गरेँ । साँझमा टुर एजेन्टले क्रोकोडाइल र कोब्रा सोको लागि लग्यो । स्नेक म्युजियममा धेरै प्रजाति र रूपरंगका सर्प थिए ।
नयाँ वर्ष आगमनको पहिलो दिन राती १२ बजेदेखि भोलिपल्ट बिहान अबेरसम्म मानिसहरू नयाँ वर्षलाई स्वागत गर्ने रमझममा व्यस्त भएकाले होला होटल सुनसान लाग्थ्यो । सायद सबै गेस्ट सुतिरहेका थिए ।
यात्राका क्रममा मैले इजिप्सियन साथी अब्दल मेगिदलाई सम्झन पुगेँ । मस्को सिभिल इन्जिनियरङि् युनिभर्सिटीमा हामी पाँच वर्षसम्म सहपाठी थियौँ । ऊ अहिले कहाँ होला ? त्यसबेला अहिलेजस्तो इमेल, इन्टरनेट हुँदो हो त हामी सायद नियमित सम्पर्कमा हुन्थ्यौँ होला ।
एसिया, युरोप, अफ्रिका, ल्याटिन अमेरकिाका विभिन्न राष्ट्रबाट सोभियत संघमा अध्ययन गर्ने विद्यार्थीहरूको त्यो बहुराष्ट्रिय जमातमध्ये आज कोही पनि सम्पर्कमा छैनौँ । यो अभाव र त्यो भाव सम्झँदा मनमा एक किसिमको नोस्टाल्जिया हुन्छ ।
भ्रमणको पाचौँ दिन हामी इजिप्टको राजधानी कायरो जानका लागि बिहान ४ बजे नै होटलबाट निस्कियौँ । शार्म अल शेखबाट कायरो पुग्न झन्डै चार घन्टा बसयात्रा गर्नुपर्ने रहेछ । डेढ करोड जनसंख्या भएको कायरो सिटी अति नै अव्यवस्थित सहर लाग्यो ।
मुख्य सहरबाट अलि छेउतिर लाग्नेबित्तिकैका झुपडी बस्ती र सहरमा व्याप्त फोहोरले हाम्रो राजधानी काठमाडौँलाई सम्झायो । कुर्बान बैराम परेकाले सहरमा मानिसको भीड अलि कम भएको भन्थे । तर पनि जताततै कमिलाका गोलाजस्ता मानिसको भीड देखिन्थ्यो ।
हाम्रो गाइडले त्यहाँको एउटा स्थानीय पफ्र्युमको सोरुममा लग्यो । पफ्र्युम निकै महँगा थिए । यो पसल राजकुमारी डायनासँग पेरिस कार दुर्घटनामा मारिने डोडी अल फयदका बाबु मोहम्मद अल फायदको हो भन्थे । अल फायद फेमिली इजिप्टको अरबपति फेमिली मानिँदो रहेछ ।
इजिप्ट भ्रमण गर्दा गिजा पुगेर त्यहाँका झन्डै पाँच हजार वर्ष पुराना पिरामिड नहेरी र्फकने हो भने यात्रा अधुरै रहेको मानिन्छ । प्राचीन सभ्यताका सात आश्चर्यमध्येको एक मानिएको पिरामिड झन्डै ४ हजार ६ सय वर्षअगाडि मानिसहरूले कसरी निर्माण गरे होलान् ? जुन समय अहिलेजस्ता निर्माण प्रविधि हुँदैनथे । हाम्रा भक्तपुर, पाटन, कान्तिपुरलगायत देशका विभिन्न स्थानका मन्दिर, गुम्बा, पौवा तथा पुरातात्त्विक महत्त्वका सम्पदालाई संरक्षण र पर्यटकीकरण गर्न सकेमा विदेशीका लागि यहाँका सम्पदा पनि पिरामिडजस्तै आकर्षक लाग्नेछन् ।
तीन दिदीबहिनीजस्तो लाग्ने गरी लस्करै ठडिएका तीनवटा पिरामिडलाई नजिकै लम्पसार परेर सुतेको स्फिन्स्कले सुरक्षा गरिरहेको हुन्छ भन्ने किंवदन्ती रहेछ । एउटा पिरामिडभित्रको सानो प्यासेजबाट तल झर्दै मम्मी राख्न बनाइएको स्थलसम्म पुग्यौँ । मम्मी भने त्यहाँबाट झिकेर अन्यत्र लगिसकेका रहेछन् । पुरातत्त्वविद्हरूका अनुसार यी पिरामिड इजिप्टका फराओ -बादशाह)को कब्रस्थानका लागि निर्माण गरिएका थिए । प्रायः सबै देशका इतिहासमा त्यतिबेलाका शासकहरूको सोखका लागि बनाइएका संरचना अहिले अमूल्य सम्पदा बनेका छन् । हाम्रो देशका लिच्छवि, मल्लदेखि राणाकालीन दरबारजस्तै । पिरामिडवरपिरि उपहार सामग्री बेच्ने र पर्यटकलाई ऊँटमा चढाएर आफ्नो गुजारा गर्ने मानिसहरूको ठूलै भीड हुँदो रहेछ । पर्यटकलाई आफूतिर तान्न के मात्रै गर्दैनन् उनीहरू । हामीसँगै शार्म अल शेखबाट बसमा आएका रुसीहरूमध्ये एक जनालाई सित्तैँमा चढ्न पाइन्छ भनेर एउटा उँटवालाले मेरो उँटमा चढाएछ । ओर्लने बेलामा मैले चढ्न मात्रै फ्रि भनेको हुँ, ओर्लेपछि १० डलर तिर्नुपर्छ भन्दा दुई जनाको निकैबेर गलफती चल्यो । पछि बल्लतल्ल पाँच डलरमा कुरा मिलाए ।
हामीले टाउकोमा बाँध्ने अरेबियन फेटा लगाएर फोटो खिच्ने बेलामा निकालेको अनुकृतको क्याप टिपेर एक जना चम्पत कसेछ । पर्यटकहरूलाई सताउनेहरूको भीड त्यहाँ प्रशस्तै देखियो ।
कायरोमा अर्काे दर्शनीय स्थल त्यहाँको नेसनल म्युजियम हो । इजिप्टका धेरै मम्मी लन्डनको बि्रटिस म्युजियम पुगिसके पनि केही मम्मीहरू र तिनलाई ढाक्न बनाइएका काठका खाली बाकसले गुमेका मम्मीको अस्तित्वबोध गराइरहेका थिए ।
नाइल नदीमाथि तैरिएको पानी-जहाजमाथिको रेस्टुराँमा लन्च गर्यौँ । काठमाडौँवासीले हाम्रो वाग्मतीलाई जस्तै कायरोवासीले पनि नाइल नदीलाई फोहोर पारेका रहेछन् । वाग्मतीमा त पानी नै नभएर फोहोर बगेर जान सक्दैन । तर, यति विशाल नदीलाई समेत कसरी प्रदूषित पार्न सकेका होलान् कायरोवासीले ? यो लेखिरहँदा एउटा पीडाले मलाई चिमोटिरह्यो । सायद हाम्रो सगरमाथामा थुप्रिएको फोहोरको डंुगुर देखेर विदेशीहरूले पनि यस्तै सोच्दा हुन् ।
६ हजार ६ सय ५० किलोमिटर लामो र इथियोपियाबाट सुरु भई अफ्रिका महादेशका दसवटा राष्ट्रलाई छिचोल्दै भूमध्य सागरमा आएर मिसिने नाइल नदीलाई अफ्रिकाको वरदान मानिन्छ । विशेष गरी इजिप्टको सभ्यता निर्माणमा नाइल नदीको योगदान अमूल्य मानिन्छ । नाइल नदीवरपिरि उर्वर जमिन भएकाले सबै ठाउँमा घना मानव बस्ती छन् । वास्तवमा नदीहरू आमा हुन्, धर्तीलाई सिञ्चित गर्छन् । आकाशलाई समेत सिञ्चित गरेर वर्षा गराउँछन् र यही चक्रमा प्राणीलाई जीवन दिन्छन् । मैले नाइल नदीमा नारायणी नदी देखेँ, आफ्नो बाल्यकालको साथी राप्ती नदीको पानी अञ्जुलीमा लिएको सपना देखेँ ।
अर्काे दिन ‘रेड सी’मा नयाँ अनुभव र अनुभूतिले द्रवित हुने अवसर प्राप्त भयो । ५० जना मानिस अट्ने सानो जहाजमा स्कुबा डाइभिङ्का लागि हामी बसेको होटलभन्दा झन्डै ३० किलोमिटर परको प्रायद्वीप नजिकै ‘रेड सी’को एउटा किनारातिर लाग्यौँ हामी ।
स्कुबा डाइभिङ्मा पिठ्यँूमा अक्सिजनको सिलिन्डर बोकेर पानीमुनि पस्नुपर्छ । मैले त्यस्तो एडभेन्चरको अनुभव कहिल्यै गरेको थिइनँ । प्रशिक्षकहरूले समुद्रमा प्रवेश गर्नुअघि डाइभिङ्सम्बन्धी सामान्य जानकारी गराउँदा रहेछन् । स-साना कुराको अनुभव र खुसीका थोपाथोपालाई सँगालेर नै जीवनमा हरयिाली ल्याउन सकिन्छ । ठूलो खुसी र अग्लो अनुभवको प्रतीक्षामा बसेर स-साना खुसीलाई बिर्सने हो भने न त त्यो क्षण नै प्राप्त हुन्छ, न त स-साना खुसीको आनन्द नै ।
पहिलोपटक अलि डर लागेको थियो । तर, प्रशिक्षक सँगै भएकाले आँट गरेँ । निकै मज्जा आउँदो रहेछ । पानीमुनि माछासँगै आफू पनि पौडिरहेको अनुभूति हुने ।
२० मिटर तल समुद्रको पिँधबाट २० मिनेटपछि पनि म ननिस्कँदा विन्दिता र बच्चाहरू आत्तिएकाजस्ता देखिन्थे । गहिरो पानीमा डाइभिङ् गर्ने डाइभरहरू यदाकदा समुद्रमा बेपत्ता भएका खबर पनि आइरहेका हुन्छन् । केही वर्षअघि तीन जना रिसयन डाइभर यही रेड सीमा बेपत्ता भएका रहेछन् ।
पहिलोपटक जाँदा मैले प्रशिक्षकलाई पानीमुनि हुँदाको फोटो तथा भिडियो क्लिप लिनु भन्न बिर्सेछु । फेरि यस्तो एडभेन्चर कहिले गर्न पाइएला ? अनि, म फोटोका लागि मात्र दोस्रोपल्ट समुद्रमा पसेँ । २० मिनेटको डाइभिङ्मा झन्डै दसवटा जति फोटो र एउटा पाँच मिनेटजतिको भिडियो क्लिप २० डलर तिरेर अर्डर गरेँ । सुरुमा केही डर लागे पनि मैले स्कुबा डाइभिङ्को पूर्ण आनन्द लिएँ ।
मस्कोबाट उड्नुअघि भरत पौडेल दाइले इजिप्ट पुगिसकेपछि जसरी पनि लुक्सोरसम्म पुगेर आउनु भनेर सल्लाह दिनुभएको थियो । शार्म अल शेखबाट लुक्सोर टाढै रहेछ । लुक्सोर एयरबाट एक घन्टाको उडानमा बिहानै लुक्सोर पुगियो ।
लुक्सोरमा पर्यटकको आकर्षण भनेको त्यहाँ अवस्थित ३ हजार ८ सय वर्ष पुरानो कर्नाका मन्दिर र त्यहाँ रहेका अनगिन्ती टम्ब हुन् । डेड माउन्टेनमा मात्रै ६२ वटा विशाल टम्ब छन् । हामीहरूले भने तीनवटा टम्बभित्र मात्रै अवलोकन गर्न सक्यौँ ।
त्यहाँ एक प्रकारको फूलबाट निस्कने पूरै रातो रंगको चिया प्रिसद्ध रहेछ । पिउँदा राम्रै सुगन्ध आएकाले हामीले केही प्याकेट चिया किन्यौँ । पर्यटकहरूले इजिप्टको प्राचीन लिपि सिकाउने क्यालेन्डरहरू पनि सोभनियरका रूपमा किन्दा रहेछन् ।
एक साताको हाम्रो इजिप्ट बसाइमा धेरै कुरा अवलोकन गर्दै नौला अनुभव आत्मसात् गर्ने अवसर मिल्यो । पछिल्लो ३० वर्षमा पर्यटन उद्योगका कारण इजिप्टको आर्थिक विकासमा कायापलट भएको छ । यहाँ सबै वर्गलाई लक्षित गरी सस्ता होटलदेखि महँगा वल्र्ड हाइक्लासका होटल उपलब्ध छन् । विश्वसुन्दरी क्लियोपेट्राको यो अफ्रिकी राष्ट्र पर्यटन उद्योगको माध्यममबाट विश्वमानचित्रमा आफ्नो पृथक् अस्तित्व एवं सभ्यता स्थापित गर्न सफल छ ।
नेपाल साप्ताहिक
अंक: ५१६
२०६९ आश्विन २१
Oct 7, 2012
