दुई वटा गोरुहरू जुधेर उम्रिन लागेको धानको ब्याड भुर्कुट पारेको देखेपछि अर्थलाल चौधरी मुर्मुरिँदै आउँछ र मुकुन्दलाई सिर्कनाले दुई चार सुम्ला बसायो । मुकुन्दले पनि चौधरीले टेकेको कठबाँसको लौरो खोसेर न्वारन देखिको बल निकाल्दै टाउकामा बजायो । चौधरीको टाउबाट रगतको धारो बग्यो । मुकुन्द आफ्नो गोरु लिएर त्यहाँबाट सुइँकुच्चा ठोक्यो ।
भोलिपल्ट चौधरीको उजुरी परेपछि गाउँका मुखिया किसनलाल चौधरीले मुकुन्द र उसको बाबुलाई तुरुन्त कचहरीमा हाजिर हुन खवर पठाए । भेलामा गाउँका गन्ने मान्ने सबै थिए । निकै बेरको गल्बदीपछि मुकुन्दको बाबुले भने, “मेरो छोराले जानेर गल्ती गरेको होइन, यो एउटा दुर्घटना हो । अर्को कुरा यो नोक्सान हुनुमा अर्थालालज्यू तपाईको पनि उत्तिकै हात छ ।
अर्थालालले सोध्यो, “कसरी ? अनि यो मेरो टाउकाको चोट के नि ?”
मुकुन्दको बाबुले भने, “तपाईंले पनि मेरो छोरालाई निलडाम बनाउनु भएको छ । कुटाइबाट जोगिन उसले तपाईलाई प्रहार गर्यो । जुन बेला मेरो छोराले गोरुहरू लिएर साँझ घर फर्कंदै थियो, त्यति बेला तपाईका गोरुहरू डगरमा नभएको भए यस्तो क्षति हुने थिएन । फेरि तपाईले गोरु पगाहा लगाएको डोरी पनि कच्ची रहेछ । त्यसैले चुँडाएर ब्याडमा पुग्यो । हुने हुनामी टर्दैन जे भए पनि मैले बिगो तिर्छु भनेकै छु, त्यसैले कचहरीलाई नलम्याउनुस् ।”
चौधरीले भने,” बिगो त कुनै हालतमा तिर्नै पर्छ र केटालाई सजाय पनि हुनै पर्छ ।”
कचहरीमा भएका सबैको रायपछि अन्तिममा बिगो सहित मुकुन्दलाई सुंगुरको खोरमा थुन्ने निर्णय सुनाए मुखियाले ।
निर्णयले मर्माहत हुँदै मुकुन्दको बाबुले भने, “मुखिया बा ! यो अन्जानमा भएको गल्तीलाई लिएर बाहुनको छोरालाई सुंगुरको खोरमा थुन्ने यति कठोर निर्णय नगर्नुस ।”
मुखियाले भने आफ्नो ठाउँबाट डेग छोडेनन् । अति भएपछि पन्ध्र बर्षको मुकुन्दले अघि कचहरीमा आउँदा बाबुको आँखा छलेर दौराभित्र लुकाएको खुकुरी झिक्दै भन्यो, “कसले मलाई सुंगुरको खोरमा थुन्छ हेरौं त ? त्यसलाई म छाप्काइदिन्छु ।”
मुकुन्दको रवैया देखी थर्कमान हुँदै टाँडमाथि चढेर मुखिया र अर्थालालले हतार हतार घोप्टे लगाए ।
“बुवा हजुर धेरै सोझो हुनुहुन्छ । त्यसैले यी सामान्तीहरूले हामीलाई हेपेका हुन् । यस्तासँग यसै गरी डटेर लड्नुपर्छ, नत्र गरी खान दिंदैनन् बुझ्नु भयो !” भनेर फत्फताउँदै मुकुन्द बाबुको पछि पछि घर गयो ।
लक्ष्मी अनुरागी
