बन्ला देश भनेर आहुति दियौ, त्यो प्राण अर्पी दियौ,
होला वेश त देशको भनि तिमी, आकाशमा अल्पियौ ।।
बाल्यौ ज्योति चिराग त्यो चहकिलो, सामन्त मास्नै भनि,
थाल्यौ कार्य महान देश रचना, निर्माण गर्नै पनि ।।
आमाको खुन खान पल्कि जनको, आवाज कुल्ची दिने,
खोक्रो देश बनाइ खाक नरको, त्यो मासु चपाउने ।
द्रोही देशमहाँ बढेर जनले, दुखै त पायौं भनि,
ब्याँसाका मुखदेखि बाहिर गरौं, भन्दै त लड्यौ पनि ।।
आफैंलाइ हराइ आज तिमिले, माया गरी देशको,
चढ्यौ जो वलि त्यो शहिद् अमर हौ, नेपालका देशको ।
तिम्रो त्यो कलिलो उमेर जनका, सेवा महाँ खर्चियौ,
प्राणै त्यो पनि दी अपार मुटुको, माया यहाँ सिँचियौ ।।
तिम्रो सोच थियो महान धरती, सन्सार निर्माणको,
खाका त्यो मनमा बनाइ गतिलो, फाल्यौ नि ज्यानै निको।
नक्शा जो घरको गराइ मुटुमा, राखी रहेका थियौ,
फाले ती रचना भिखारि पशुले, सोची जलेका थियौ ।।
तिम्रा कोमल फूल झैं शरिर त्यो, फालेर लाग्यौ तिमी,
यो नेपाल अहो विशाल गतिलो, बन्नेछ नौलो जिमी ।
जस्को सोच थियो अपार तर त्यो, देखिन्छ उल्टो फगत्
नेता हो किन पो यहाँ शहिदका, खेलिन्छ होली रगत् ।।
राणालाइ हटाउनै भनि कयौं, योध्दा ति मारीयका,
भूत् पन्चायतको छुटाउन हिंडी, फालेर ज्यानै नि ता ।
फेरी ती हतियार ली कन उठे, त्यो राजतन्त्रै कन,
नेपाली एकजूट भो सडकमा, मास्नै भनी शासन ।।
नेपाली जव ती महान जनता, लाखौं करोडौं जुटे,
सामन्तीहरुले जहान घरका. मान्छे समात्दै कुटे ।
मारे बन्दुकले र राइफलले, ताकेर छाती महाँ,
मारे उत्तरका दखिनतिरका, बाँकी नराखी जहाँ ..
पूर्वैका पनि मारिने अनि परे, ती पश्चिमैका पनि,
थाकेनन् जनता समाइ विधिको, बाटो हिंडाऔं भनि ।
राजाको त गयो महान जनता, जूटेर त्यो शासन,
देशै चर्चित भो संसार भरमा, भन्दै गरे भाषण ।।
त्यै आन्दोलनमा सहादत बने नेपालका वीर ता,
ज्यादा मानिसको हताहत भयो, रक्तै वही धेर ता ।
योद्धा देश बनाउनै वलि चढी, हाम्रा शहीदै भयौ,
देशैको गतिलो मुहार हँसिलो, पार्नै त लागी गयौ ।।
आजैका मितिमा समेत बदली, कालो तुँवालो सरी,
ढाकेकै छ नि देशमा शहिदै, बन्नै छ बाँकी मरी ।
सम्झ्यौं आज तिमी शहीद कन ता, प्राणै दियौ के गरी ?
बन्ने लछ्यण छैन खै भुवनमा, यो देश राम्रो गरी ।।
हाम्रा वीर शहीद आज तिमि नै, सम्झी दुखी बन्दछु,
प्राणै आहुति दी महान वनि पो, छाड्यौ भनी भन्दछु ।
तिम्रो त्यो वलिदानले बनिरहोस्, यो देश मेरो यहाँ,
ल्यौ हाम्रा करको सलाम तिमिमा, अर्पण् छ हाम्रा जहाँ ।।
तिम्रै त्यो वलिदानले गरी भरे, यो देश नौलो बनोस्,
प्राणै त्यो कलिलो उमेर वयको, अर्प्यौ स्मरण रहोस् ।
भोली फेरि यहाँ उठेर जनता, दोश्रो लडाईं नहोस्,
नेता हो बन होशियार अव ता, नेपाल शान्तै रहोस् ।।
चुडा निर्भीक
