Skip to content


सारा स्रिष्टिका जीवहरूमा सर्वश्रेष्ठ कहलाइएको,
मन-मुटुका साथमा अन्य प्राणी भन्दा हजारौं गुणा दिमाग रहेको,
अथाह जानकारी र सोचको नविनतम् भण्डारण र संचय,
उसले चाहेमा सम्पूर्ण मानव र लोकको कल्याण सम्भव ।
हो त्यही मान्छे, आज यस धरतिको अत्यन्त कुरुप,
सभ्यताको विरुद्ध द्रोही, ढोंगी अनि कृतघ्न,
आफ्नै मात्रिभूमिको छाती फोडेर तन्तनी रगत पिउँछ ।
देशको ढुकुटीमा नराम्रोसँग तर मारेर भक्षण गर्छ ।
आमा, दिदी, वहिनीको अस्मितामाथि धावा बोल्छ,
दाजुभाईलाई तर्साउँछ, थर्काउँछ मात्र होइन घात हान्छ ।
चोरी, लुट, व्यभिचार, हिंशा, दुराचार, भ्रष्टाचार सबैको पर्याय
के त्यही हो ? अति विकसित प्राणी, चन्द्र विजय गर्ने ?
त्यही नै हो कसरी भन्ने, न्यूटन र इलेक्ट्रोनको अनुसन्धाता,
अन्तरिक्षमा फैलिएर मंगलदेखि सूर्यसम्मको अवलोकनकर्ता ।
लाग्छ अन्धाले छामेको हात्तीको स्वरुप जस्तै छ मान्छे,
कतै खुनी कतै स्वाभिमानी, कतै ईमान्दार कतै वेइमान,
कोही दुष्ट दुराचारी अनि कोही अत्यन्त नैतिकवान सदाचारी ।
म के भनेर सम्वोधन गरुँ खै यो जीवलाई ?
चलाख जनावर ? या अधम् पशु ?
उत्तम जीवात्मा ? अथवा पतित दुष्टात्मा
ईश्वरको उपासक ? आध्यात्मिक जगतगुरु ? वा
नास्तिक र भौतिकवादी अकिन्चन मनुष्य ?
म अनायास कुनै निर्णयमा पुग्न सकेको छैन ।
मान्छे तँ को होस् ? देव होस् कि दानव ?
नभए बाँदरै हुनसक्छस् ! तेरो पुर्खा जस्तै ? या मानव ?
मूल्याङ्कन गर्ने साहश, रहेन मेरो मन – मष्तिष्कमा ।
मान्छे के हो ? मान्छे को हो ? मान्छे कस्तो हो र कसरी भयो ?
मान्छे कुन बाटो हिँडदैछ ? मान्छेले कसको सेवा गर्दैछ ?
तपाई वताउनुस् त भाई, वहिनी, दिदी, दाजु या काकाहरू,
मान्छेको परिभाषा, अर्थ, पहिचान, लक्ष्य अनि वास्तविकता,
मान्छे भनेको मान्छे नै हो लु खा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *