मृत्युशैयामा अन्तिम सास फेरिरहेको बुढो बिरालोलाई सोधियो -“यस्तो तिलस्मी योजना तपाईंलाई कसरी फुर्यो ?”
उसले सासले भन्न भ्यायो – “जुठो भात,” अनि आँखा चिम्ल्यो । अर्को दिन “जुठो भात” को रहस्य पत्ता लगाउन अनुसन्धान टोलीको गठन भयो ।
केही समयअघिको कुरा थियो, बिरालोको दुध चोर्ने बानीले दिक्दार किसानहरू दूधलाई भाँडोमा राखेर ताल्चा लगाउन थाले । सर्पले पनि मुसाहरू दुलोभित्रैबाट जिप्ट्याइदिन्थे, बिरालाहरू हेर्या-हेर्यै । न दुलोभित्र पस्न सक्थे, न त सर्पसँग कुस्ती खेल्न । भोकै मर्ने अवस्था देखेर बिरालोहरूको आपतकालीन बैठक बस्यो । बैठकमा बुढो बिरालोले अचम्मको योजना सुनायो । बुढाको जुक्ति देखेर सबै दङ्ग परे ।
योजना मुताबिक बिरालाहरूले बाँदरलाई भेटेर भने – “मुसा चढने गणेश चैं मन पर्दैन, तर हामी हनुमानको भक्त हौं, त्यसैले हजुर हाम्रो भगवान । हामी हजुरलाई दिनहुँ फलफुल चढाउछौं, तर हामीलाई हजुरले दैनिक हरियो घाँस-पात ल्याइदिने कष्ट गरिदिनुपर्यो ।”
बाँदर मन्जुर भयो ।
बिरालोले त्यसपश्चात भैंसीलाई भेटेर भने -“ब्ल्याक ब्युटी, किसानहरू तिम्रो शोषण गरिरहेछन् । तिमीलाई बाँधेर राख्छन, सुक्खा पराल खुवाउँछन, पाडा-पाडीलाई तिम्रो दुध पेटभरि खान पनि दिदैंनन, थुन सुकेपछि तिम्रै म:म खान्छन यी निर्दयीहरू । तिम्रो माया त बरु हामीलाई लाग्छ । तिमी त हाम्री धाईआमा नै हौ नि ! भोलिदेखि म तिमीलाई राति राति टन्नै हरियो घाँस-पात ल्याइदिन्छु। तर हाम्रो दुईवटा शर्त छ: १- हामीले राति राति तिम्रो थुनबाट सोझै दुध चुस्न पाउनु पर्छ २- तिमीले किसानहरूलाई दुघ दुहुन आउँदा दिनहुँ दुई लात हान्न्नुपर्छ ।
अलि बेर सोचेपछि भैंसीले हुन्छ भन्यो ।
भैंसीले पेटभरि हरियो-परियो पाउनथाले । वरिपरिका घाँस-हाँगाहरू घटेकाले सर्पहरू पनि घटे, बिरालोको थालमा मुसाहरू थपिन थाले । बिरालाहरू किसानको फलफुल चोरी बाँदरलाई ‘चढाँउथे’ । किसानलाई बिरालोप्रति कुनै शंका थिएन किनकि बिरालोहरू फलफुल खाँदैनथे । किसानहरूले भने दिनहुँ लात्ती खाइरहे ।
केही दिनपछि बिरालोले भैंसीलाई भने- “किसानहरूलाई आजबाट लात हान्न बन्द गरिदेउ ।”
बाँदर मोटाउन थाल्यो, भैसी पनि मोटायो । यी दुईलाई प्रयोग गरी बिचबाट बिना श्रम खान पल्केको बिरालो झन् मोटायो । चारैतिरबाट लुटिएका-चुसिएका सोझा किसानहरू भने भैसीले लात्ती हान्न छोडेको पट्टीले अन्धो बनी उल्टै भैंसीकै गुणगान गाइरहे । बुढो बिरालोको योजना सफल भयो ।
अनुसन्धान टोलीको प्रतिबेदन आयो । बुढो बिरालोलाई सानोमा दुई मानव दाजुभाइले पालेका रहेछन । एउटा राजनीतिज्ञ, अर्को वित्तीय संस्थाको गन्नेमान्ने । बिरालो यिनै दुईको जुठो भात खाएर हुर्किएको रहेछ ।
