गन्तब्य बिहिन यात्रामा लर्बराएका पाइलाहरू
कहिले टोपी खस्ने भिरमा उकालिन्छन् त
कहिले चिप्लिएर खोल्सामा ओरालिन्छन्
धर्खरिंदा धर्खरिंदै रगताम्मे भएर
तातो बालुवाको पोलाई
अनि, काँडा र चुचे ढुंगाको घोचाइलाई
मुटूभित्र सम्हाल्दै
पसिनाको नुनिलो धाराले तिर्खा मेटाएर
जुनकिरीको धिपधिपेमा
कछुवा झैं घिस्रिँदैछ्न् पाइलाहरू
ननिदाएको आँखामा
उज्यालोभित्र मडारिएको अन्धकारलाई समेट्दै
विवसताको भारीसँगै
सुनसान् चौतारीमा एक्लै टोलाउँदै गर्दा
कहाँ कहाँ नेपथ्यमा
कोही गुन्गुनाए जस्तो
झर झर गर्दै झर्ने झर्नाको झंकारमा पनि
शुन्यताले छाए जस्तो
फेरि पनि, अमिलो आभासलाई
मनको मझेरीमा थन्क्याउँदै
अनि, सुसेलीको भाकामा
पीडाका गाथाहरू मिसाउँदै
थकाइ र दुखाइलाई पटुकिमा टम्म कसेर
अझै पनि रोकिएका छैनन् लखतरान् पाइलाहरू
गन्तब्य बिहिन यात्रामा अझै पनि रोकिएका छैनन् लखतरान् पाइलाहरू
अझै पनि रोकिएका छैनन् लखतरान् पाइलाहरू ।
लक्ष्मी अनुरागी
हाल इजरायल
