पछिल्लो समय राजुबाबु श्रेष्ठको नियात्रा लेखन निकै तिक्खर देखिएको छ । विशेष गरेर द्वन्द्व व्यवस्थापनका क्रममा अफ्रिकी मुलुकका अनुभव समेट्ने क्रममा त्यहाँका द्वन्द्वग्रस्त जनताका कारुणिक प्रसंगहरूलाई मार्मिक र कलात्मक शैलीमा प्रस्तुत गरेर उनले यस विधालाई अझ पठनीय बनाएका छन् । हुन त माझिएको कलमले जे लेखे पनि पठनीय मानिन्छ, यसमा पनि घटनाको विस्तार गर्ने उनको शैलीले नियात्रा सतही होइन, गम्भीर आलेख हुन सक्छ भन्ने उदाहरण दिएका छन् ।
यही मेसोमा उनको पछिल्लो कृतिले पाठकहरूमाझ गहिरो छाप छोड्ने अनुमान गर्न सकिन्छ । यद्यपि, यो नियात्रा होइन, कथासंग्रह हो । अधिकांश कथा आफ्नै देशभित्र अर्काको सुरक्षामा बाँच्न बाध्य सुडानी जनताको अपार मरुभूमिमा खसेर बिलाएका आँसुको विस्तृति हुन् । केही कथामा बेलायत र अमेरिकाका द्वन्द्वका कुरा पनि छन् तर ती अभौतिक छन्, खालि मानसिक रूपमा अनुभूत द्वन्द्वका कथन छन् । मुख्य त सुडान र वरपिरिका युद्धले क्षतविक्षत जनजीवनको दुर्दान्त कथा छन् मृत्युमेलामा ।
यस संग्रहभित्रका १५ वटा कथाले राजुबाबुको आख्यानात्माक सबलतालाई शैली, प्रस्तुति र घटनाको बुनोटले त सघाएकै छ । त्यसबाहेक उनले मूल घटनाको उठान गर्नुअघि त्यसवरपिरकिो परदिृश्यलाई जसरी वर्णन गरेका छन्, त्यसले पाठकलाई कथाभित्र पस्न सहज आकर्षण गर्छन् । यो पक्ष उनको कथा विस्तारको अनुपम शैली मान्न सकिन्छ ।
राजुबाबुको कथा लेखनबारेको कथन छ, “म अक्सर देखेका र भोगेका कुरा मात्र लेख्ने गर्छु । मलाई नदेखेको, नसुनेको लेख्न आउँदैन । इमानदार भएर बोल्नुपर्दा कुनै काल्पनिक विषयवस्तुमा काल्पनिक पात्र खडा गरेर साहित्य सिर्जना गर्न नसक्नु मेरो कमजोरी हो ।” एक हदसम्म यी कथन सत्य होलान् तर उनले कथामा चर्चा गरेका परदिृश्य र विषयवस्तु अकाल्पनिकै भए पनि पाठकका लागि मीठा काल्पनिक पाठ लाग्न सक्छन् । यद्यपि, यी वियोगान्त छन् । र, उनको कथाविस्तारमा पाइने विशेषताले हाम्रा लागि यथार्थ नै भए पनि कारुणिक कल्पनाजस्तै लाग्छन् । कतैकतै त पीडाको गर्तमा पुगेर कथाका पानाहरू पल्टाउँदै जानुपर्दा पाठक यति मार्मिक हुन्छ, उसलाई यो कल्पनै भइदिए हुन्थ्यो जस्तो लाग्न सक्छ ।
द्वन्द्वको कोलमा एक दशक लामो समय पिल्सिएका नेपालीले बुझेका छन्, सुरक्षाहीन अवस्थामा जीवन बाँच्न कति कठिन हुन्छ । अझ सुरक्षाको घेराभित्रै असुरक्षित भएर बाँच्नुको नियति त्यस द्वन्द्वकालमा नेपाली जनताले कति कष्टकर रूपमा भोगे । यो स्मृति अझै विस्मृत भइसकेको छैन । तर, राजुबाबुका कथा जो उनकै भनाइमा यथार्थको धरातलमा उभिएर लेखिएका छन्, यिनलाई पढ्दा सुडानी जनताले भोगेको कष्ट अझ अकल्पनीय र भयावह छ ।
सुडान र युगोस्लाभियाको युद्धलाई मृत्युसम्मुख राखेर देखेका र भोगेका कथाकार श्रेष्ठले मानिसको विनाश मानिसले नै गर्दाको विकराल अवस्थालाई पनि आफ्ना कलममा उतारेका छन् । यति मात्र होइन, बहुपत्नीप्रथाका नाममा महिलामाथि हुने गरेको पशुवत् व्यवहारको पनि उनको कथा (फतिमाको अनिदो रात)मा मार्मिक चित्रण छ ।
समग्रमा राजुबाबुले मृत्युमेलामार्फत आफूलाई सरल भाषामा जीवन्त कथा लेख्न सक्ने पछिल्लो पुस्ताका सशक्त हस्ताक्षरको रूपमा स्थापित गराएका छन् ।
मृत्युमेला
लेखक : राजुबाबु श्रेष्ठ
प्रकाशक : रत्न पुस्तक भण्डार
पृष्ठ : १४९
मूल्य : १७५ रुपियाँ
रमण घिमिरे
नेपाल साप्ताहिक अंक – ५२०
२०६९ कार्तिक २६
