Skip to content

भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद”

  • by
20121202_DeshSubba_News


भारतको आसाम राज्यको पहाडी कार्विआङलाङ जिल्ला, हवाइपुर गाउँमा प्रत्येक महिना हुने बसिबियालो साहित्यिक कार्यक्रममा ‘नेपाली साहित्यमा भयवाद’ यही नोभेम्बर २५, २०१२ सम्पन्न भयो । कार्यक्रम नेपाली साहित्य सभा हवाइपुर शाखाका सभापति तथा समाजसेवी देवीप्रसाद उपाध्ययको अनुरोध र संयोजनमा भएको थियो । यो तेस्रो बसिबियालो कार्यक्रम र आसाममा दोस्रो भएपनि भयवादको यो चौथो अन्तराष्ट्रिय कार्यक्रम हो ।

कार्यक्रमका मुख्य अतिथि स्काइप मार्फत भयवादका प्रवर्तक देश सुब्बा, पर्यवेक्षक आसाम नेपाली साहित्य सभाका पूर्व अध्यक्ष के. बि. क्षेत्री, समिक्षक आसाम नेपाली साहित्य सभाको वर्तमान उपाध्यक्ष डम्बर दाहाल, अतिथि नेपाली साहित्य सभाका पठनपाठन विभाग प्रमुख अभिकेशर शर्मा र साहित्य सभाका जिल्ला अध्यक्ष रमाकान्त पौडेल रहेका थिए । आसाममा गत महिनादेखि मासिक रूपमा स्काइप मार्फत देश सुब्बासित सम्पर्क गरेर भयवादबारे छलफल हुँदै आएको छ ।

कार्यक्रमको स्वागत मन्तव्य आसाम नेपाली साहित्य सभा कार्विआङलान जिल्लाका सचिव रण काफ्लेले गरेका थिए । स्काइपी मार्फत गर्ने भनिएको भएतापनि करिब ३ घण्टा प्रतिक्षा गर्दा पनि इन्टरनेट राम्रो नजोडिएपछि फोनबाट प्रश्नउत्तर भएको थियो ।

आसाम नेपाली साहित्य सभाका पूर्व अध्यक्ष के. बि. क्षेत्री, आसाम नेपाली साहित्य सभाको वर्तमान उपाध्यक्ष डम्बर दाहाल, नेपाली साहित्य सभाका पठनपाठन विभाग प्रमुख अभिकेशर शर्मा, हेमसागर पौडेल, रमाकान्त पौडेल, टीकाराम अधिकारी, केशव गहतराज, केशवमणि शर्मा, देवीप्रसाद उपाध्यय, विष्णु क्षेत्री, गुरुप्रसाद उपाध्यय, मिना घिमिरे, कुमारी दाहाल, चम्पा अधिकारी, कृष्ण शर्मा, नरबहादुर क्षेत्रीले भयवादसँग सम्बन्धीत विभिन्न प्रश्न सोधेका थिए ।

आफ्नो भनाइ राख्ने क्रममा अतिथिहरूले ‘भयवाद नौलो दर्शन हो । यसले समाजमा सकारात्मक भूमिका निभाउन सक्छ,’ निष्कर्ष सुनाएका थिए ।

छलफलमा महिलाहरूको उत्साहजनक उपस्थिति थियो । उनीहरूले महिलालाई हुने सामाजिक भयका कुरा सोधेका थिए । अभिकेशर शर्माले ३ वटा मैन बत्ती बालेर शुरु गरिएको कार्यक्रममा सरकारले नियुक्त गरेका लाइभस्टक बोर्डका अध्यक्ष कृष्ण शर्मा र पर्यवेक्षक के. बि. क्षेत्रीलाई नेपाली टोपी, डम्बर दाहाल र अभिकेशर शर्मालाई खदा लगाइ सम्मान गरिएको थियो । प्रमुख अतिथि देश सुब्बाले फोनबाट सबै सहभागीहरूलाई धन्यवाद दिएका थिए । कार्यक्रममा सहभागी हुन ६०, ७० कि.मी. टाढाबाट मोटर, मोटर साइकल चढेर आएका थिए ।

यस अघि वि.सं. २०६९ सालको बैशाख १९ गते झापाको सुरुङ्गा, साउन ६ गते इलाम, भाद्र ३१ गते भारतको सिलगुढी, असोज १७ गते ब्रुनाइ, असोज २८ गते भारतको आसाम राज्यको राजडुबा गाउँमा सम्पन्न भयो ।

सन २०१३, फेब्रुअरी १६, १७, १८ मा “भयवाद विमर्श र साँस्कृतिक आदानप्रदान” को ३ दिने कार्यक्रम धरानमा हुने भएको छ । त्यस कार्यक्रममा उत्तर भारतको ७ राज्यबाट ४० जना विशिष्ट साहित्यकारहरू उपस्थित हुने भएका छन् । ती मध्ये ४ जना साहित्यमा भारतीय एकेडेमी पुरस्कार पाउने साहित्यकार उपस्थित हुने छन् । कार्यक्रमको तयारीको लागि धरानमा भयवाद अध्ययन केन्द्रका अध्यक्ष प्रा.डा. टंकप्रसाद न्यौपानेको अध्यक्षमा एक समिति गठन भएको छ ।

देश सुब्बा

Leave a Reply

Your email address will not be published. Required fields are marked *