ऊ विज्ञान विषयको स्नातक गरेपछि लक्का जवानीमा आजभन्दा चालिस वर्ष पहिला अध्ययन भिसामा अमेरिका छिर्यो । त्यहाँ पुगेर उसले स्नातकोत्तर तथा विद्यावारिधि पनि गर्यो राम्रो विषयमा । त्यहीँको सरकारी सेवामा जागीर पाउने सम्भवत पहिलो नपाली पनि बन्यो ऊ, साथमा अन्य काम पनि गर्यो । जसले गर्दा प्रशस्त पैसा कमायो । पछि प्रतिष्ठित कम्पनीमा कन्सल्टेन्ट भएर काम गर्यो । अरु आर्थिक स्थिति सुदृढ बनायो । अब ऊसँग अमेरिकाका ५ वटा ठूला शहर जस्तै न्यूयोर्क वाशिङ्गटन डि. सी. लगायतमा भव्य महलहरू र परिवारका हरेक सदस्यसँग कार र सबै सुविधा जम्मा भएका थिए । अनि ऊ करोडौं डलरको मालिक मात्रै भएन, अपितु संसारकै वैभवशाली र धनाढ्य मध्ये ऊ एक मानिन थाल्यो । भनिन्छ लक्ष्मी, सरस्वती र कालीमध्ये कुनै एकको वरदान पाएको व्यक्ति भाग्यमानी हुन्छ । तर ऊसँग विद्या, धन र शक्ति तीनै कुराको आशिर्वाद प्राप्त थियो ।
उसकी छोरी परार हव्शी टिपेर मेक्सिकोतिर छिरी, पोहोर साल छोरोले कुइरीनीसँग माया वसाएर क्यनाडातिर छिर्यो । हाल ऊ र उसकी श्रीमती राजधानीको शानदार महलमा मोजले बसेका थिए । एक हप्ता पहिले उसकी श्रीमती घरको हेरचाह र भाडा उठाउन न्यूयोर्कको निजी बीस तल्ले भवनतिर गएकी थिई । ऊ एक्लै आफ्नो लचकदार विछ्यौनामा पल्टिरहेको थियो । यस्तैमा अदालतको कर्मचारीले उसलाई एऊटा मोटो पत्र थमाएर गयो । खोलेर हेर्दा त्यसमा उसकी पचपन्न वर्षकी स्वास्नीको ऊसँगको डिभोर्स पेपर रहेछ । पढ्दै जाँदा उसका आँखा एक ठाँउमा गएर टक्क अडिए ; उसकी श्रीमती त वत्तीस वर्षिय अरेवियन मुसलमान युवकसँग, उसैले कमाएका अन्य चारवटा घर (जो उसले आफ्नो श्रीमती कै नाममा गरिदिएको थियो) सहित यो पनि गम्भिर आक्षेप उसमाथि लगाउँदै थिई कि तिमी जस्ता नामर्द र यौनमा असक्षम पुरुषसँग मेरो जीवन गुजारा गर्न असमर्थ भएकीले ; यो अमेरिकी कानूनको धारा… सहित डिभोर्स पेपर पठाएकी छु मलाई तिमीजस्ता हुतिहारा व्यक्तिबाट छुटकारा दिनु ।
यति पढेपछि उसका ओठमुख सुक्यो, हात थरथर काँप्यो र ऊ चक्कर लागेर लड्यो । अनि केही बेर पछि होश आयो र सम्झियो । उसले वावुआमा र परिवारका कुनै सदस्यलाई केही सहयोग गरेन । पढेर गर्नुपर्ने मातृभुमिको कुनै सेवा गरेन । ऊसँगैका उसका साथीहरू हाल नेपालमा उच्च ओहोदामा आसीन थिए र जो कमजोर हैसियतका थिए, उनीहरू पनि इमान्दार समाजसेवी नागरिक थिए । सबैले आफ्नो गच्छे अनुसारको स्थान बनाएका थिए । तर ऊ, ऊ त खाली पैसाकै पछि लागेको थियो र पैसामै सबैथोक जोख्न खोज्दथ्यो । अब ढिला भैसकेको थियो । ऊ साठीको हारहीमा चलिरहेको थियो र नेपालमा सबैसँग उसको सम्वन्ध तोडिइसकेकोको थियो । अमेरिकाले उसलाई सर्वस्व दिएको ठान्थ्यो ऊ ; तर अहिले उसलाई महसुस भो, अमेरिकाले उसलाई र उसका परिवारलाई त्यहाँको संस्कार दिएको थियो जो उसका लागि अति घातक र पीडादायक थियो । नेपाली संस्कारलाई उसैले बलपूर्वक लत्याएको परिणति थियो त्यो ।
उसलाई अब आफू जन्मेको घर परिवार र अविकसित देशको याद आयो । उसले कहिल्यै संसारकै प्रकृतिको सुन्दर मनमोहक तथा उत्कृष्ट रचना को साक्षात्कार गर्न सकेको थिएन । जब उसले यो सोच्यो समय झन धेरै पर पुगिसकेको थियो । उसलाई खाली आत्मग्लानि मात्र भै रह्यो ।
