भाषा विचार विनिमयको सशक्त माध्यम नै हो । निश्चित व्यवस्था र नियमको सीमामा आवद्ध हुनु भाषाको विशिष्ट विशेषता हो । विभिन्न विद्वान्हरूले बेलाबखतमा आ-आफ्नै तरिकाले भाषाका वारेमा आ-आफ्ना मतहरू सार्वजनिक गरे पनि मानव समूदायमा सरल, ठोस एवं सार्थकतवरले विचार प्रेषणको काम गर्ने यादृच्छिक वाक्प्रतीकहरूको व्यवस्था नै भाषा हो भन्न सकिन्छ । उत्तेजनाको प्रतिक्रियास्वरूप निश्चित ढाँचाका सीमित-असीमित वाक्यहरू समुच्चय भाषामा हुन्छ । विश्व मानचित्रमा १,४७,१८१ वर्ग कि.मि. क्षेत्रफल ओगटेको नेपाल भौगोलिकरूपमा सानो भए पनि भाषिकरूपमा ठूलो छ । विश्वमा अस्तित्वमा रहेका भारोपेली, द्रविड, चीनी या एकाक्षरी, सेमेटिक-हैमेटिक, यूराल-अल्टाइक, काकेशियन, जापानी कोरियाई, मलय-पाँलिशियन, आस्ट्रो-एसियाटिक, बुशमैन, बांटू, सूडान र अमेरिकी परिवार गरी जम्मा १३ भाषा परिवारमध्ये भारोपेली, भोटचिनियाँ (भोटबर्मेली, चीनी या एकाक्षरी तिव्वती), आग्नेली (आस्ट्रिक) र द्रविड गरी चार परिवारका भाषा मात्र नेपालमा बोलिन्छन् । नेपाल बहुभाषिक राष्ट्र हो । नेपालको संविधानले नेपाली भाषालाई राष्ट्रभाषा र अन्य मातृभाषालाई राष्ट्रिय भाषा मान्दै आएकोमा अन्तरिम संविधान २०६३ ले भने नेपाली भाषालाई सरकारी कामकाजको भाषा भनेको छ । भारतले भारतीय संविधानको आठौँ अनुसूचीमा सूचीकृत १८ भाषामध्ये १८ औँ संविधान संशोधनबाट नेपाली भाषालाई समेत समावेस गरेको छ । (घोष, २००३ःपृ.के,२१७) २०५८ सालको जनगणनाअनुसार ४८.९८ प्रतिशत नेपालीले नेपालमा नेपाली भाषा मातृभाषाको रूपमा बोल्छन् । त्यस्तै १,२८६, ८२४ जनाले भारतमा नेपाली भाषा बोल्छन् । (घोष, २००३ःपृ.के,२१६) नेपालीहरू बहुभाषी, बहुसांस्कृतिक भएका जाति भनेर विश्वमा चिनिएका छन् । यही विविधतामा नै नेपालको राष्ट्रियता अडेको छ । आ-आफ्नै परम्परा एवं सांस्कृतिक पहिचान बोकेका भाषालाई राष्ट्रिय पहिचान दिएर नेपालको संविधानले मातृभाषाहरूलाई राष्ट्रका अमूल्य निधिका रूपमा स्विकारेको छ । विशेष गरी नेपाल र भारतमा स्वतन्त्र एवं सम्भ्रान्त भाषाको रूपमा परिचित मैथिली भाषा नेपालको दोस्रो ठूलो भाषा हो । २०५८ सालको जनगणनाअनुसार १२.४ प्रतिशत नेपालीले मैथिली भाषालाई मातृभाषाको रूपमा बोल्दछन् । भारतमा भने ६,१२१,९२२ जनाले मैथिली भाषा बोल्छन् । (घोष, २००३ःपृ.के,२१६) भारतले मैथिली भाषालाई पनि संविधानको आठौँ अनुसूचीमा राखेको छ । (अर्पण, २०१०ःपृ.३) विशेष गरी महोत्तरी, सर्लाही, धनुषा, सिराहा र सप्तरी जिल्लामा मैथिली भाषा बोलिन्छ । मिथिला क्षेत्रको पूर्व, पश्चिम, उत्तर, दक्षिण क्रमशः कोशी, गण्डकी, हिमालय, गंगा नदीले घेरेको ५५,९७० वर्ग कि.मि. क्षेत्रफलमा मैथिली भाषा बोलिन्छ । चम्पारण, मुजफ्फरपुर, दरभंगा, मुंगेर, भागलपुर, पूर्णियाका केही क्षेत्र र नेपालका दक्षिणी तराई भागका केही जिल्लामा मैथिली भाषा बोलिन्छ । (झा, १९९१ःपृ.१) प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म नेपाल र भारतमा मैथिली भाषा पठनपाठन हुन्छ । नेपाल सरकारले मैथिली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि रू. एक करोडको अक्षयकोष खडा गरी विद्यापति पुरस्कारको घोषणा गरेको छ । यसबाट पनि मैथिली भाषाको समुन्नतिमा ठोस योगदान पुग्न सक्छ । मैथिली भाषालाई बंगाली र हिन्दी भाषाको उपभाषिकाको रूपमा सम्बन्धित भाषाका विशेषज्ञहरूले सिद्ध गर्न खोजेर आफ्नो भाषाप्रति अन्धप्रेम दर्शाएका छन् । भाषावैज्ञानिक दृष्टिले मैथिली मागधी अनुवंशिक भाषा हो । तर हिन्दी शौरसेनी अनुवंशिक भाषा हो । विभिन्न कारणले समेत मैथिली स्वतन्त्र भाषा हो ।
क) मैथिली भाषाको सुदीर्घ साहित्यिक परम्परा हिन्दीभन्दा प्राचीन छ ।
ख) मैथिलीको स्वतन्त्र सांस्कृतिक, धार्मिक एवं सामाजिक विशेषता छ । त्यसैले मैथिली सम्पूर्ण आर्य भाषाभन्दा विलक्षण मानिन्छ ।
ग) मैथिली भाषाको स्वतन्त्र लिपि छ जसलाई तिरहुता अथवा मिथिलाक्षर भनिन्छ । (झा, १९९१ःपृ२९)
निश्चय नै कुनै पनि भाषामा नजिकका अन्य भाषाको प्रभाव परेको हुन्छ । भाषिक आवश्यकतालाई पूरा गर्न एक भाषाले अर्को भाषाको सहयोग लिनु भाषाकै विशेषता हो । भाषालाई एकबाट अर्कोलाई छुट्याउने मूल आधार भनेकै व्याकरणिक व्यवस्था हो । सबै भाषाका वर्ण, व्याकरण, शब्द र अर्थ तह फरकफरक हुन्छन् । तर केही मात्रामा समानता भेटिन्छ । असमानता भने मनग्यै पाइन सक्छ । भाषालाई शुद्ध, स्तरीय एव मानकीकृत गर्ने काम व्याकरणको हो । यसले भाषालाई व्यवस्थित गराउने काम गर्दछ । व्याकरणको क्षेत्रभित्र थुप्रै पक्षहरू अन्तर्निहित हुन्छन् । ती विविध पक्षहरूमध्ये व्याकरणिक कोटिहरूको स्थान महत्वपूर्ण छ । व्याकरणिक कोटिभित्र लिङ्ग, वचन, पुरुष, काल, पक्ष, भाव, वाच्य, आदर र कारक पर्दछन् । मैथिली भाषाको व्याकरण, शब्दकोश आदि प्रकाशन भएका भए पनि नेपाली भाषासँगको मैथिली भाषाको अन्तरसम्बन्ध स्पष्ट पारिएको पाइन्न । यस सम्बन्धी अन्यौलता र अस्पष्टता कायमै छ । कुनै पनि कुराको सत्य पक्ष खुट्याउने काम सजिलो छैन ।
एक गणनाअनुसार विश्वमा बोलिने भाषाको संख्या २,७९६ पुगेको छ । (घोष, २००३ःपृ.के,२१२) नेपाल पनि बहुभाषिक मुलुक हो । वि. सं. २०५८ को जनसंख्या गणनाअनुसार यहाँ ९२ थरीका मातृभाषी वक्ता बसोबास गर्दै आएका छन् । यतिका सङ्ख्यामा मातृभाषी वक्ताहरू रहे पनि यहाँ नेपाली पछिको दोस्रो स्थानमा रहेको मैथिली भाषा निकै प्रभावशाली र सम्भ्रान्त भाषा मानिन्छ । वि.सं. २०५८ को जनसंख्या तथ्यांकअनुसार यो भाषा १२.४ प्रतिशत (२७९७५८२ जना) नेपालीले मातृभाषाका रूपमा बोल्दछन् । पूर्वी नेपालको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही जिल्लामा अधिकांश नेपालीले मातृभाषाको रूपमा बोल्ने भाषा नै मैथिली हो । त्यसमा पनि जनकपुर क्षेत्रलाई मैथिली भाषा र संस्कृतिकोे आदिमथलो मानिन्छ । नेपालमै पनि मैथिली भाषाका स्थानीय भेद उपभेद छन् । यिनमा जनकपुररिया मैथिली, सिराहाली मैथिली र सप्तरीया मैथिली भाषाका आ-आफ्नै अलग पहिचान कायम रहेको पाइन्छ । नेपालको पूर्वी जिल्ला सप्तरीको राजविराज र भारतको मधुबनी क्षेत्रमा बोलिने भाषिकालाई स्तरीय मैथिली भाषाको आधार मान्नुपर्छ ।
मैथिली भाषा अध्ययन गर्ने अध्येताहरूमा जर्ज अव्राहम ग्रिअर्सन (१९०३) पहिला मानिन्छन् । उनले भारतका भाषाहरूको चर्चा गर्ने क्रममा मैथिली भाषाको चर्चा गर्दै मैथिली भाषालाई अरूबाट भिन्न भाषाका रूपमा चिनाएका छन् । पं श्री गोविन्द झाले “उच्चत्तर मैथिली व्याकरण” (१९७९ई.) मा मैथिली भाषालाई आधुनिक भाषावैज्ञानिक दृष्टिले विश्लेषण गरेका छन् । डा. रामावतार यादवले “मैथिलीको सन्दर्भ व्याकरण” (ई.१९६६) मा मैथिली भाषाको वर्ण, रूप, वाक्य आदि विषयहरूमा विशद् चर्चा गरेका छन् । डा. दुर्गानाथ झाद्वारा लिखित “मैथिली साहित्यक इतिहास” पुस्तकमा मैथिली जाति, भाषा, संस्कृतिको परिचय र मैथिली साहित्य वारेको विशद् चर्चा पाइन्छ । त्यसैगरी डा.प्रा. सुनिलकुमार झाले “मैथिली ः सम आस्पेक्ट अफ इटस् फोनेटिक्स् एण्ड फोनोलोजी” शीर्षकमा विद्यावारिधी शोधग्रन्थ प्रस्तुत गरेका छन् । सत्यनारायण गडेरीले “नेपाली र मैथिली भाषाका पदसंगतिको तुलना” शीर्षकमा एम. ए. को शोधपत्र (२०५४) प्रस्तुत गरेका छन् । नेपाली र मैथिली भाषाका व्याकरणिक कोटिहरू (लिङ्ग, वचन, पुरुष, कारक, काल, पक्ष र भाव)को व्यतिरेकी अध्ययन अझसम्म कसैले गरेको पाइएको छैन । नेपाल ९२ भन्दा बढी भाषाभाषीको विविधताले ढाकेकोे देश हो । भौगोलिक विविधताका आधारमा यहाँ विभिन्न भाषा बोल्ने वक्ताहरूको संङ्ख्या बढ्दै गएको पाइन्छ । यिनै विविधतामा मैथिली भाषा पनि एक महत्वपूर्ण भाषा मानिन्छ । मैथिली भाषा भारोपेली भाषा परिवारको भाषा हो । झापादेखि बारासम्म मधेशका जिल्लाहरूमा बसोवास गर्ने मैथिलीहरूले व्यवहार गर्ने गर्दछन् । हुन त मैथिली भाषीहरू राजधानी लगायत देशका पचहत्तर वटै जिल्लामा पुगेका र बसोबास गरेका पाइन्छन् । अल्प जनसंख्या भएका ठाउँहरूमा मैथिलहरूले स्थानीय भाषाकै प्रयोग गरेको पाइन्छ । यति ठूलो क्षेत्रमा फैलिएको हुनाले नै यसका अनेकौँ क्षेत्रीय भाषिका हुनु स्वभाविकै हो । भौगोलिक दूरी, सामाजिक सम्पर्कको अभाव र अन्य भाषाको प्रभावका कारण मैथिली भाषाका विभिन्न क्षेत्रीय भेदहरू रहेको पाइन्छ । नेपालमा विद्याजीवि जातिका बोली र कृषिजीवि जातिका बोली गरी मैथिली भाषाको २ वटा मुख्य स्थानीय भेद रहेका छन् । यसभित्र अनेकन् उपभेद छन् जसको अध्ययन भइसकेको छैन ।
जे होस्, मैथिली भाषा नेपालको संवैधानिक मान्यताप्राप्त राष्ट्रभाषा हो । अन्तरिम संविधान २०६३ ले नेपालभित्र बोलिने सम्पूर्ण मातृभाषालाई राष्ट्र भाषाको मान्यता दिएको छ । यसर्थ संविधानतः मैथिली भाषा नेपालको राष्ट्र भाषा हो । मैथिली भाषा देवनागरी लिपि बाहेक आफ्नै तिरहुता वा मिथिलाक्षर लिपिमा अभिव्यक्त गर्न सकिन्छ । संसारमा बोलिने हरेक भाषामा लामो ऐतिहासिक कालखण्ड, भाषिक भूगोल र आपसी सम्पर्कको अभावमा विभिन्न भाषिका र उपभाषिकाहरू जन्मन पुग्दछन् । यही सत्यताका आधारमा डा. ग्रियर्सनका अनुसार मैथिली भाषामा सात विभिन्न भाषिका रहेको पाइन्छ ।
१) आदर्श, २) दक्षिणी, ३) पूर्वी, ४) छिकाछिकी, ५) पश्चिमी, ६) जोलही, ७) केन्द्रीय जनधारणाको मैथिली । (बराल, २०५५ःपृ.६३४)
भौगोलिक दृष्टिले मैथिली भाषाका निम्नलिखित क्षेत्रहरू (उपभाषिकाहरू) छन् ः
१) आदर्श मैथिली-उत्तरी दरभंगा क्षेत्र, २) दक्षिणी मैथिली- क) दक्षिणी दरभंगा, मधुवनी, ख) पूर्वी मुजफ्फरपुर, सीतामढी, ग) उत्तरी मुंगेर, घ) उत्तरी भागलपुर, ङ) पश्चिमी पूर्णिमा, ३) पूर्वी मैथिली- क) पूर्वी पूर्णिया, ख) मालदह तथा दिनाजपुर, ४) छिकाछिकी मैथिली- क) दक्षिणी भागलपुर, ख) उत्तरी सन्थाल परगना, ग) दक्षिणी मुंगेर, ५) पश्चिमी मैथिली- क) पश्चिमी मुजफ्फरपुर, ख) पूर्वी चम्पारण, ६) जोलही मैथिली- क) उत्तरी दरभंगाका मुसलमानहरूको बोली, ७) केन्द्रीय जनधारणाका मैथिली- क) पूर्वी सीतापुरा बोली, ख) मधुवनी जिल्लाका निम्न श्रेणीका बोली, ८) नेपालमा विद्याजीवि जातिका बोली- ब्राह्मण, कायस्थ, राजपूत आदिको बोली र कृषिजीवि जातिका बोली- यादव, धानुक, कुर्मी आदि ।
यसरी नेपालमा भने व्यवसायिक हिसावले मैथिली भाषाको २ वटा मुख्य स्थानीय भेद रहेका देखिन्छन् । जसलाई नेपाल तराई मैथिली भाषिका भनी नामाकरण गर्न सकिन्छ । यसभित्र अनेकन् उपभेद छन् जसको अध्ययन भइसकेको छैन । जिल्लाहरूमा बसोवास गर्ने मैथिलीहरूले व्यवहार गर्ने मैथिली भाषामा निकै समानता पाउन सकिन्छ । वि.स. २०५८ को जनगणनाअनुसार मैथिली भाषी वक्ताहरूको सङ्ख्या १२.४% पुगेको पाइन्छ । नेपालको तराईमा बोलिने मैथिली भाषा नै नेपालको मैथिली भाषिका हो । नेपालमा विद्याजीवि जातिका बोली- ब्राह्मण, कायस्थ, राजपूत आदिको बोली र कृषिजीवि जातिका बोली- यादव, धानुक, कुर्मी आदिका भाषा यस अन्तर्गत आउँछन् । यसरी नेपालमा भने व्यवसायिक हिसावले मैथिली भाषाको २ वटा मुख्य स्थानीय भेद रहेको देखिन्छ । राष्ट्रिय जनगणना २०५८ का अनुसार यस मैथिली भाषिका अन्र्तगत धनुषा महोत्तरी, सिराहा, महोत्तरी, सर्लाही, झापा, मोरङ, सुनसरी, सप्तरी, बारा आदि जिल्लामा मैथिली भाषा भाषीको संख्या बाक्लो छ । विद्याजीवि जातिका बोली- ब्राह्मण, कायस्थ, राजपूत आदिका बोलीलाई स्तरीय मैथिली मानिन्छ । कृषिजीवि बोली चाहिँ ठेट मैथिली भाषाका रूपमा परिचित छ । यसमा पनि कतिपय ठाउँमा कथ्य र लेख्य रूपमा असमानता पाइन्छ । नेपालमा स्तरीय मैथिली बोल्ने स्थान भनेकै सप्तरी हो । यस जिल्लाका मैथिली भाषी वक्ताहरूको सङ्ख्या अधिक रहेको पाइन्छ । २०५८ को जनगणनाअनुसार सप्तरीको कुल जनसङ्ख्याको ७५.१% मैथिली भाषी वक्ताहरू बसोवास गर्दै आएका छन् । २०४८ सालको जनगणनाबमोजिम ७२.६ प्रतिशत थियो । विद्याजीवि जातिका बोली- ब्राह्मण, कायस्थ, राजपूत आदिका बोलीलाई स्तरीय मैथिली मान्नुको कारण के हो भने त्यो भाषिक रूप नै लेख्य मैथिलीको निकट छ । लेख्यरूप विद्याजीवि जातिका बोलीलाई नै मानिन्छ । भौगोलिक दूरी, सामाजिक सम्पर्कको, अभाव र विकासको द्रुतगतिका कारण स्तरीय मैथिली भाषामा पनि सामान्य भाषिक भिन्नता पाइन्छ । शब्दको रूप परिवर्तनका क्रममा प्रत्यय र उपसर्ग जोडाइमा भौगोलिक दूरी, समयको अन्तराल र मौखिक अभ्यास आदिका कारण भाषामा अपभ्रंस हुँदै गयो जसकारण एउटै क्रियाको प्रयोग पनि मैथिली सामाजमा फरक देखिन थाल्यो । यसले कतै कतै जटिलता थपेको छ । नेपाल ९२ भन्दा बढी भाषाभाषीको विविधताले ढाकेकोे देश हो । भौगोलिक विविधताका आधारमा यहाँ विभिन्न भाषा बोल्ने वक्ताहरूको संङ्ख्या बढ्दै गएको पाइन्छ । यिनै विविधतामा मैथिली भाषा पनि एक महत्वपूर्ण भाषा मानिन्छ । मैथिली भाषा भारोपेली भाषा परिवारको भाषा हो । झापादेखि बारासम्म मधेशका जिल्लाहरूमा बसोवास गर्ने मैथिलीहरूले व्यवहार गर्ने गर्दछन् । हुन त मैथिली भाषीहरू राजधानी लगायत देशका पचहत्तर वटै जिल्लामा पुगेका र बसोबास गरेका पाइन्छन् । अल्प जनसंख्या भएका ठाउँहरूमा मैथिलहरूले स्थानीय भाषाकै प्रयोग गरेको पाइन्छ । यति ठूलो क्षेत्रमा फैलिएको हुनाले नै यसका अनेकौँ क्षेत्रीय भाषिका हुनु स्वभाविकै हो ।
नेपालको तराईमा बोलिने मैथिली भाषा नै नेपालको मैथिली भाषिका हो । नेपालमा विद्याजीवि जातिका बोली- ब्राह्मण, कायस्थ, राजपूत आदिको बोली र कृषिजीवि जातिका बोली- यादव, धानुक, कुर्मी आदिका भाषा यस अन्तर्गत आउँछन् । यसरी नेपालमा भने व्यवसायिक हिसावले मैथिली भाषाको २ वटा मुख्य स्थानीय भेद रहेको देखिन्छ । राष्ट्रिय जनगणना २०५८ का अनुसार यस मैथिली भाषिका अन्र्तगत धनुषा महोत्तरी, सिराहा, महोत्तरी, सर्लाही, झापा, मोरङ, सुनसरी, सप्तरी, बारा आदि जिल्लामा मैथिली भाषा भाषीको संख्या बाक्लो छ । विद्याजीवि जातिका बोली- ब्राह्मण, कायस्थ, राजपूत आदिका बोलीलाई स्तरीय मैथिली मानिन्छ । कृषिजीवि बोली चाहिँ ठेट मैथिली भाषाका रूपमा परिचित छ । यसमा पनि कतिपय ठाउँमा कथ्य र लेख्य रूपमा असमानता पाइन्छ ।
भौगोलिक दूरी, सामाजिक सम्पर्कको, अभाव र विकासको द्रुतगतिका कारण स्तरीय मैथिली भाषामा पनि सामान्य भाषिक भिन्नता पाइन्छ । शब्दको रूप परिवर्तनका क्रममा प्रत्यय र उपसर्ग जोडाइमा भौगोलिक दूरी, समयको अन्तराल र मौखिक अभ्यास आदिका कारण भाषामा अपभ्रंस हुँदै गयो जसकारण एउटै क्रियाको प्रयोग पनि मैथिली सामाजमा फरक देखिन थाल्यो । यसले कतै कतै जटिलता थपेको छ । भाषा सम्बन्ध विस्तार र आत्मीयताको कडी हो । एक अर्काको भाषालाई महत्व नदिएमा न त सम्बन्ध विस्तार हुनसक्छ न आत्मीयताको भाव नै उत्पन्न हुन सक्छ । अंग्रेजी भाषामा ठीकै भनिएको छ-“रिस्पेक्ट अदःज एण्ड गेट रेस्पेक्टिड ।” (अरूको सम्मान गर र आफू सम्मानित होऊ ।) भनाइको तात्पर्य सम्बन्धविस्तार र आत्मीयताको भावना तब मात्र प्रगाढ हुनसक्छ जब पारस्परिक रूपमा एकले अर्काको भाषालाई महत्व-मान्यता दिइनेछ । कुनै पनि भाषा जतिसुकै समृद्ध भए पनि यदि त्यस भाषाका वक्ताहरूले अन्य भाषालाई महत्व-मान्यता दिँदैनन् भने तिनका भाषालाई पनि अरूले महत्व, मान्यता दिनेछैनन् । हुन त यो वेग्लै कुरा हो । तैपनि कुनै विशेष प्रयोजनका निम्ति जस्तै- राजभाषा, मानिसले बाध्यताबश स्विकारेर त्यसको प्रयोग जरुरतअनुसार गर्छन् तर मानिसको त्यस भाषाप्रति सम्मान र श्रद्धाको भाव हुन सक्दैन । आफ्नो भाषाको महत्व बढाउनका लागि तपाईँले अन्य वा अरूको भाषाप्रति पनि सकारात्मक र सहिष्णुतापूर्ण दृष्टिकोण राख्नु एकदम आवश्यक छ । सभभन्दा ठूलो कुरो त ज्ञानको भण्डार अभिवृद्धिका दृष्टिले अन्य भाषाहरूको जानकारी राख्नु पनि जरुरी छ । केही समुदाय वा केही भाषाभाषीमा अन्य भाषालाई हेलाका दृष्टिले हेर्ने भाव देखिएको छ । उनीहरू यप्रति उपेक्षा भाव राख्छन्, जुन वस्तुतः ज्यादै नराम्रो कुरा हो र यस्तो अवस्थामा अन्य भाषाभाषीहरूसँग सहयोग र सम्बन्धको सुमधुरता तथा प्रगाढताको समेत अपेक्षा गर्न सकिन्न । त्यसैले कुनै पनि भाषा एकअर्काको विरोधी नभएर सहयोगी मात्र हुन सक्छ, यस्तो मासिकता एवं विचारधारा राखेर भाषासेवीहरूले अघि बढ्नुपर्छ । कुनै भाषा कसैको विशेष सम्पत्ति होइन भन्ने पनि सोच्नु जरुरी छ ।
सन्दर्भग्रन्थसूची
१) शर्मा, दीप्ति (१९७५ ई.) “व्याकरणिक कोटियोका विश्लेषणात्मक अध्ययन” पटना, हिन्दी ग्रन्थ अकादमी ।
२) गौतम, रामप्रसाद (२०६१) “प्रायोगिक भाषा विज्ञानका विभिन्न आयाम” काठमाण्डौ, दीक्षान्त पुस्तक भण्डार ।
३) झा, पं. गोविन्द, (१९७९ ई.) “उच्चतर मैथिली व्याकरण” पटना, मैथिली अकादमी ।
४) ंंंंंंझा, डा. बालगोविन्द (१९७६ ई.) “आधुनिक मैथिली ब्याकरण आ रचना”, दरभंगा, भारती प्रकाशन केन्द ।
५) …………………….., (१९७० ई.) “आधुनिक मैथिली ब्याकरण रचना प्रवेश” दरभंगा, ग्रन्थालय प्रकाशन ।
६) मिश्र, देवेन्द्र (२०६६) “बगियाक गाछ” ललितपुर, साझा प्रकाशन ।
७) झा, दुर्गानाथ (१९९१ ई.) “मैथिली साहित्यक इतिहास” दरभंगा, भारती प्रकाशन केन्द्र, दरभंगा ।
८) झा, सुनिलकुमार “मैथिली ः सम आस्पेक्ट अफ इटस् फोनेटिक्स् एण्ड फोनोलोजी” विद्यावारिधी शोधग्रन्थ
९) सत्यनारायण गडेरीले “नेपाली र मैथिली भाषाका पदसंगतिको तुलना” एम. ए. को शोधपत्र (२०५४)
१०) पोखरेल, बालकृष्ण (२०४३) “राष्ट्रभाषा” ललितपुर, साझा प्रकाशन ।
११) बन्धु, चूडामणि, (२०५२) “नेपाली भाषाको उत्पति” ललितपुर, साझा प्रकाशन ।
१२) अधिकारी, हेमाङ्गराज, (२०५९) “भाषा शिक्षणः केही परिप्रेक्ष्य तथा पद्धति” काठमाण्डौ, विद्यार्थी पुस्तक भण्डार ।
१३) …………………………….., (२०५५) “समसामयिक नेपाली व्याकरण” काठमाण्डौ, विद्यार्थी पुस्तक भण्डार ।
