Skip to content


प्यारी संगिनी बेचिनी,

सप्रेम सम्झना ।

म र मसँग सम्बन्धित सबै मान्छेहरू आराम छौँ । त्यहाँ तँ र तँसँग गाँसिएका मान्छेहरूमा पनि कुसलमङ्गल छ भन्ठान्छु । चिठ्ठी नलेखीकनै नहुने त्यस्तो कुरा त केही थिएन तर जीवनरथ हाँक्ने क्रममा अनुभूतिहरू बाँडचुड गर्नाका निम्ति लेख्न बसेकी छु ।

लगभग पन्ध्र वर्ष पछि तेरो र मेरो भेट यसै पत्रमार्फत् हुँदै छ । यस बीचमा तेरो जीवनमा पनि ठूलै परिवर्तन भएको होला । आज म तेरो अगाडि एउटा सर्त तेर्साउँदै छु । त्यो के हो भने आजसम्मको मेरो जीवन कहानी पढेपछि तैँले पनि आफ्नो जीवन कहानी हुवहु अक्षरमा उतारेर मकहाँ पठाउनुपर्छ ।

बेचिनी ! म यस पत्रमा सम्पूर्ण कुरा लेख्छु । जे भए पनि लेख्छु, लेख्छु । म तँलाई मेरो विगत सुनाउन सक्छु, सुनाउँदै छु । पढाउन सक्छु, पढाउँदै छु । मेरो कथा तँलाई सुनाएर, पढाएर म हल्का हुन चाहन्छु । मेरो थाप्लोको पीडा केही हदमा तँलाई सार्न चाहन्छु । के तँ आफ्नो पीडा पनि मकहाँ सार्ने सर्तमा मेरो पीडा लिन रुचाउँछेस् ?

हेर् संगिनी बेचिनी,

-म बहुलाएँ धेरैका लागि तर एक जनाका लागि मात्र बहुलाइनँ केही वर्षसम्म ।

-केही कालसम्म छोराकी आमा बन्नबाट बञ्चित गरिएँ तर तीन छोराकी महतारी भइछाडेँ ।

-कलुषित मन छिद्र पार्ने संकल्प गरेँ र संघर्षबाटै जितेँ पनि ।

-म मुखिया थिएँ, मण्डल भएँ र केही वर्ष गोइतमा समेत परिणत भएँ ।

-अहिले भने ती सबै थर पाखा लागे र म कडगर मौगी (दरिली स्त्री)मा दरिएँ ।

– आफ्नो थर मनुवा रोजेँ र औतारी मनुवा, प्रकाण्ड मनुवा र प्रसाद मनुवाकी महतारीका रूपमा चिनिइरहेकी छु ।

-कतै बाध्यता, कतै रहर, कतै जिद्दी मेरो जीवन वरपर घुमिरहे, घुमिरहेछन्, संभवत घुमिरहने छन् ।

प्यारी संगिनी बेचिनी, लोग्ने फेर्दै हिँड्ने यो मोहिनीसँग के कुरा गर्नु भनेर तँ तर्कन लागिस् होला । धन्दा नमान । अवश्य, मीठो रस र सुगन्धदेखि लट्ठ परेर मौरी फूलमा झुम्मिन्छ । तातो भेटेर बलेको आगोछेउ मान्छे झुम्मिन्छ । मान्छे सुखमा साथ दिन्छ दुःखमा पर-पर तर्कन्छ । अहिले म निभेको आगो हैन, बलेको आगो नै हुँ । मात्र म मेरो विगतको पाटो पल्टाउँदै छु । थोरै चाख लिइस् भने म धन्य हुने थिएँ । अहिले ममा पीडा पचाउने सामथ्र्य छ । घृणा बोक्ने बानी छ । पीडाले गर्दा मैले सपनाको महललाई विपनामा बदलेँ । घृणाले गर्दा मैले मेरो मनोकांक्षा पूर्ण पारेँ ।

मेरो जीवनमा धेरै पात्र आए र गए । एक पात्र जो मेरो पतिको भूमिकामा धेरै दिन अडिएको थियो, त्यसले पनि सम्बन्धविच्छेद गरेको आज ठ्याक्कै चार वर्ष पूरा भयो । अब मेरो कथा मेरै मुखबाट सुन् । मैले मात्र चौध वसन्त फक्राएकी थिएँ । ममा कुरकुरे वैंस चढ्दै थियो । बौद्धिकताको सुको थिएन तर व्यवहारिकताको भँगालो थियो । म आफ्ना संगिनीहरूका साथमा खाँडो खोलाको किनारमा बाख्रा चराउँदै थिएँ र सारा धर्ती थर्कने गरी गीत पनि गाउँदै थिएँँ । त्यसै बखत एक पुरुष स्वर मेरो कानमा ठोक्किन आइपुग्यो ।

– ई खाँडोके घाटपर कतके लता मंगेष्कर गाविरहल अछि ? (यस खाँडो खोला किनारमा कहाँकी लता मंगेष्कर गाउँदै छिन् ?)

म झस्किएँ । लता प्रख्यात गायिकाको नाम हो भन्नेसम्म मलाई थाहा थियो । बोल्ने मान्छेको मुहार नहेरीकनै जवाफ फर्काएँ- “अपन रफी साहव भक एत के उगल ?” (आफू रफी साहव भएर यहाँ को झुल्किएको छ ?)

सुरिलो र कोमल स्वरले तानिएर मात्र म यहाँ झुकिएको हुँ भन्दै एक खाइलाग्दो ज्यान भएको युवक देखापर्यो । म अझ भयभित भएँ । बाटो हिड्ने बटुवा धेरै हुन्छन् । तर यस्तो लक्काजवान ठिटो म नजिक आउँदै छ । म त्यहाँ एक्लै छु, संगिनीहरू पर्तिर गट्टा खेल्दै छन् । म नजिक नजिक युवक आइपुग्नै लाग्यो म भने बुर्कुसी मार्ने दाउ हेर्ने थालेँ । म भयभित भएकै कारणले होला उसले मुख खोल्यो, “नाई, नाई डरायवा क कोनो जरुरत नहि अछि । हम जंगलक बाघभालु नहि छी । हम अहाँके डराब नहि आएल छि, हम भूतप्रेत सेहो नहि छी । गावु, गावु हम अहाँक गीत सुनैल आएल छी । कनिके काल सुस्तावी आ एतेक निक स्वरक धनीके मुहोँ देखली कहिक आयल छी ।” (पर्दैन, पर्दैन डराउनु पर्दैन । म जंगलको बाघभालु हैन । म तिमीलाई तर्साउन आएको हैन, म भूतप्रेत पनि हैन । गाऊ, गाऊ म तिम्रो गीत सुन्न आएको हुँ । एकैक्षण सुस्ताउनु पनि पर्यो र यति मीठो स्वरकी धनीको मुहार पनि हेर्नुपर्यो भनेर पो आएको हुँ ।)

ऊ दस मिटर परकै ढुंगामा टुक्रुक्क बस्यो । म आश्वस्त भएँ । मेरो वरपरको त्रास हरायो । उसले गाउने आग्रह गर्यो । म मुस्कुराएँ मात्र । मलाई संकोच लाग्यो । उसले मेरा पारिवारिक कुराहरू सोध्यो । मैले सविस्तार बताएँ । आधा घण्टे गफसफको क्रमलाई टुंगाउँदै ऊ उठ्यो र गन्तव्यतर्फ जान लम्कियो । जाँदा-जाँदै भन्यो, “मधुर स्वरजँका मुहोँ सुन्नर अछि अहाँके । अहाँक नाम त सुन्नरी होवाक चाही । लिए त, सुन्नरी ! फेर भेटव ।” (मधुर स्वरझैँ सुन्दर मुहार परेकी रहिछ्यौ । तिम्रो नाम त सुन्दरी हुनुपर्छ । लौ त, सुन्दरी ! फेरि भेटांैँला ।)

म खुब खुशी भएँ । आजसम्म सबै जना मलाई मोहिनी, मोहिनी भन्थे । आज एकजनाले सुन्दरी नाम राख्यो । सुन्दरी शब्दले सम्बोधित हुनु पाउनु गर्वको कुरा थियो मेरा निम्ति । संगिनीहरूलाई पनि सोधेँ । हैन यो मोहिनी पोक्ची के भन्छे भन्दै सबैले हाँसोमा उडाए । म हरघडी त्यही युवकको मुहार सम्झन थालँें । आधा घण्टे समय मेरो जीवनकै सौभाग्यको समय रहेछ भन्ठानेँं ।

सधैंँभरि बाख्रा चराइन्थ्यो, गीत गाइन्थ्यो, गट्टा खेलिन्थ्यो । यही क्रम जारी रह्यो । म युवकलाई कतै भेटिहाल्छु कि भनेर संगिनीहरूभन्दा अलिक टाढा पुगेर गीत गाउने गर्न थालेँ । हुँदाहुँदै एकहप्तापछि युृवकले मलाई भेट्यो । सहज वातावरणमा कुराकानी भए । उसले मसँग प्रेम प्रस्ताव राख्यो । मैले बुवाआमा नै सर्वैसर्वा हुनुहुन्छ भन्दिएँ । उसले व्यक्तिगत रूपमा निर्णय गर्न कर गर्यो । मैले त्यसलाई स्वीकार्न सकिनँ । ऊ केही निराश भएर उठ्यो र हिंड्यो । यस पटक भने ऊ रिसाएझैँ लाग्यो । बित्थामा रिसाउने बनाएँछु भनेर पछुताएँ । आफूले आफैँलाई धिक्कारेँ । मसँग अरू उपाय पनि थिएन । जीवन बारे निर्णय लिने क्षमता बिल्कुलै ममा थिएन ।

यस घटनाको पन्ध्र दिन पछि उसलाई मैले बुवाआमासँग कुरा गर्दै गरेको भेट्टाएँ । एउटा वाक्य चाहिं मेरो कानमा पर्यो ।…. हम कहुना क भी मोहिनीसँ विवाह करवे, करव । (म जसरी भए पनि मोहिनीसँग विहे गर्छु, गर्छु ।)

त्यसबेला मैले अरू कुरा सुन्न पाइनँ । मनको एक कुनामा उमङ्ग सञ्चार भइरहेको थियो, अर्को कुनामा त्रासले घोचिरहेको थियो । म विवेकशून्य भएँ । बाख्रा लिएर खाँडो खोलातिर हुइँकिएँ । साँझमा घर पुगेँ । परिवारजनमा उत्साह शून्य भएको पाएँ । कुनै अनिष्टको घडी आइरहेछ झैँ लाग्यो । एकले अर्काको मुहार हेर्ने क्रम मात्र दोहोरियो । हप्ता दिनसम्म कुराकानी गुपचुपमै रह्यो ।

एक साँझ बुवाले मलाई डाक्नुभयो । परिवारका सबै सदस्य बस्नुभएको रहेछ । सबै गम्भीर मुद्रामा देखेर म पनि गम्भीर भएँ । केही वेरको सन्नाटालाई चिर्दै बुवा बोल्नुभयो, “हेर् छोरी, तेरो पुरपुरोमा यस्तै लेखेको रहेछ । दुनियाँलाई सचेत पार्ने म ज्योतिषी आज भड्खारामा परेँ । त्यो भड्खारमा तँलाई जाक्न पुगेँ । केटाको जिद्दीको अगाडि मेरो केही लागेन । इज्जत जानुभन्दा तँलाई सुम्पनै जाति भन्ठानेर तँलाई गोठालामा भेट्ने केटालाई तेरो जोडी बाँध्न बाध्य भएँ ।”

म भित्रभित्रै खुशी भएँ । बुवाको भूमिकाले भने मनको एक कुनामा खैलाबैला मच्चिन थाल्यो । अझ प्रष्ट्याउँन आमा अघि सर्नुभयो,“हेर छोरी ! त्यो केटो विहे नगर्दिए, भगाएर लैजान्छु भन्छ । भाग्न नमाने घिसारेर लैजान्छु भन्छ । घिस्रिन पनि नसके ढुङ्गाले हानेर मार्छु र आफू पनि मर्छु भन्छ । यस जन्ममा तँलार्ई श्रीमती बनाउन नसके पनि अर्को जन्ममा त अवश्य बनाइछाड्छु भन्छ ।”

केटो त लायकको थियो । जोडा नमिल्ने पनि हैन । किन बुवाआमाले नमान्नु भएको रहेछ भन्ने जिज्ञासा मनमा उब्जिरह्यो । मुख खोल्न सकिनँ । चुपचाप मुर्तिवत् बसिरहेंँ ।

यस हिसाबले विवाह भयो युवक अर्थात् रामसुरत मण्डलसँग । सुरुसुरुका दिन सुखद नै भएर बिते । मनग्यै सम्पत्तिको मालिक रहेछ रामसुरत । तराईको घरखेती ऊ आफू हेर्दो रहेछ । पहाडतिरको व्यापार अरूले गर्दा रहेछन् । ठूली छोरी जन्मिई, कहिले काहीँ ठाक्कठुक्क गथ्र्यो । वर्षेनी जसो तीन वटी छोरी जन्माएँ ।

ऊ विस्तारै रक्सी पिउन थाल्यो । दिनभरि सँगसँगै काम गथ्र्यो । साँझमा भट्टीमा पस्थ्यो र टन्न पिएर मलाई नानाथरी भन्थ्यो । मैले मुख खोलेँ भने लादी फर्किउँजेली पिट्थ्यो । छुट्याउन कुनै छिमेकी आए भने तिनीहरूलाई नै सात हात पर धकेलिदिन्थ्यो । तर एउटा कुराचाहिँ भन्नुपर्छ । ऊ मलाई आसाध्यै माया गथ्र्यो । रक्सीको नाशा हराएपछि मलाई पिठिउँमा बोकेरै सगरमाथा अंचल अस्पताल, राजविराज पुर्याउँथ्यो । त्यसवेला रिक्सागाडी भेट्न मुस्किल थियो । एक त बाटोघाटोको असुविधा, अर्कातिर रिक्सागाडीको संख्या नै कम थियो । बयलगाडाको चलन थियो, आफूसँग थिएन । अरूसँग माग्ने कुरा आएन । सायद पत्नीलाई पिटेकोमा ऊ पनि लज्जित हुँदो हो । उसले मलाई दर्जनौँ पटक कुटेर उपचार गराउन लगेको थियो । उपचारका लागि लगेको देखेर सबै गाउँलेहरू रामसुरतलाई हेर्दै भन्थे, “मदिराके नहि छुवेत धेर रामसुरत मण्डल देवते छियैक, मदिराके छुविते देरी ई राक्षस भ जाइत अछि ।” (रक्सीले नछुँदा रामसुरत मण्डल देउतै हो, रक्सीले छोयो कि यो राक्षस भइहाल्छ ।) रक्सी खाएको बेलामा तैंले मुख खोल्दै नखोल्नु भनेर मलाई पनि सचेत पार्थे । मैले पनि त्यसै गरेंँ । एकदिन हैन, दुई दिन हैन, सधैँं जसो भट्टीको रस नपिइकन नहुने देखेर कहिलेकाहीँ मेरो पनि रिसको पारो तातिहाल्थ्यो । म तातिएपछि रामसुरत आगो बन्थ्यो र मलाई कच्याककुचुक पाथ्र्यो । पीडा खेप्दै गएँ । घरभरि धन थियो, छोरीहरू थिए तर छोरा थिएनन् । अंगालाभरि श्रीमान् थियो । ऊ राक्षसमा परिणत भइदेला कि भन्ने त्रास पनि थियो ।

एक दिन दिउँसो बुवा घरमा आउनुभयो । रामसुरत मण्डल र काका नरनाथ भैँसी गोठाला गएका थिए । बुवा त्यस क्षेत्रकै नामी ज्योतिषी कहलाउनु हुन्थ्यो । उहाँले नातिनीहरू मात्रै जन्मेका देखेर भन्नुभयो, “तेरो यो भाग्यमा छोरा छैनन् । ज्वाइँ पनि अल्पायुमै मर्छन् । धन मनग्यै छ । दुःख त हुँदैन । तर छोराको आश अब मारिदे । यही कुराले गर्दा मैले तिमेरूको विहे नगर्दिने सोच बनाएको थिएँ । ज्वाइँले जिद्दी गरे, मैले हारेँ । इज्जतकै लागि म हारेको हुँ ।” यस कुराले भने मलाई दुःखित तुल्यायो । छोरा नभए, पिण्ड दान पाइन्न, स्वर्गको बास भेटिन्न भन्ने कुरा मैले बुझेकी थिएँ । म छोरोको चाहमा पिल्सिरहँें । पछि कुरा बुझेँ, रामसुरत मण्डललाई पनि यी सबै कुरा थाहा रहेछ । त्यसैले मैले छोरी, छोरी जन्माउन थालेपछि रक्सीमा डुब्न थालेको रहेछ । नभन्दै कान्छी छोरी डेढ वर्ष पुगेकी मात्र थिई रामसुरत मण्डलले धर्ती नै छाडिदियो ।

दुःखसुख छोरी हुर्काउँदै गएँ । छोराको चाह पूरा गर्न मैले काका नरनाथलाई आफ्नै घरमा खान र सुत्न भनेकी थिएँ । उनी पुरुष थिए । उनी भए पछि घरमा भूतप्रेत आउँदैन भन्ने मलाई विश्वास थियो । तीन छोरी हुर्कंदै गएँ । काकालाई हेरेर नै म छोराको तिर्सना मेट्थेँ । मेरी जेठी छोरीभन्दा थोरै जेठा मात्र थिए काका । तिनलाई मैले दूध चुसाएकी छु, उनको गुहुमुत पनि गरेकी छु । असल धाइआमाको भूमिका निर्वाह गरेकी छु । म ईश्वरसँग पुकारा गर्थेें-“हे ईश्वर ! उनलाई हजुरआमाले जन्माए पनि उनी मेरा छोरा हुन् । म उनलाई जीवनभर छोराकै दर्जामा राखिराख्न पाऊँ ।”

हामी सामाजिक संस्कारले जेलिएका थियौँ । म उनलाई छोरा भन्न पाउँदिनथेँ, काका नै भन्थेँ । उनी मलाई आमा भन्न सक्दैनथे । मोहिनी भनेर सम्बोधन गर्थे । मैले एक दिन भावुक हुँदै उनीसँग प्रस्ताव राखेँ -“काका, तोँ हमरा माए कह त ! हम तोरा अच्छा वेटा कहब ।” (काका, तिमी मलाई आमा भन ल ! म तिमीलाई प्यारो छोरा भन्छु ।) मेरो कुराले उनको बालमनस्थितमा खै कस्तो चोट पर्यो कुन्नि ? मैले अनुमान गर्न सकिनँ । उनी त्यस दिनदेखि मसँग खुलेर कुराकानी गर्न हिच्किचाउन थाले । यो कुरा कसैलाई नभन्नु नि भनेर सम्झाउँथेँ । एक दिन मैले ठट्यौलो पारामा उनलाई ज्वाइँ खोजिदेऊ भनेँ । उनले प्रौढ मनस्थितिझैँ पारेर नातिनीहरू सानै छन् भन्ने जवाफ फर्काए । उनको जवाफ परिपक्व थियो । मैले ज्वाइँ मेरो लागि खोज्न भनेकी थिएँ तर उनले छोरीहरूको लागि सम्झेछन् ।

रामसुरत मण्डलका पहाडका परिवार पनि व्यापार छाडेर तराई झरे । थप जग्गा किने, घर बनाए । रामसुरतले ओगटेको जमिनको अधिकांश भाग मलाई नै दिए । छोरीहरू ठूला भएपछि नामसारी गर्दिउँला, समेत भने । खेतीपातीमै गुजारा चल्दैथ्यो । गाउँघरका आइमाईहरू काकालाई छोरो बनाउँछे यो मोहिनी, बरु अर्को विहे गरेर छोरो जन्माउनु नि भन्न थाले । गाइगुइँ कुरा चल्दाचल्दै धेरैले मेरा कानैमा पनि भने । बाइस वर्षमै लोग्ने परलोक भयो । बाँकी जीवन कसरी विताउने होला भन्ने पिरलो मलाई पनि लागेको थियो । छोरीहरू विहे गरेर आ-आफ्ना घर जान्छन् । मैले भने फक्रदो वैँसलाई ओइलाउँदै काल पर्खेर एक्लै झोक्राएर जीवन विताउनुपर्ने भो भन्ने सोच्न थालेँ । मनको वह पोख्ने एउटै पात्र थिए काका । उनीसँग मनको वह पोखेँ । विचरा काका के जवाफ दिन्थे र ! उनले भने, “मोहिनी, वियाह करैके वात नहि सोच । आब वियाह करैसँ निक पागल भेनाइ अच्छा अछि ।” (मोहिनी, विहे गर्ने कुरा नसोच् । अब विहे गर्नुभन्दा बहुलाउनु निको हुन्छ ।) हो, साँच्चै उनको कुरा सही हो भन्ने लाग्यो केही दिन ।

एक दिन धान कुटाउन राइस मिल पुगें । अन्तिममा मेरो पालो पर्यो । सबै मान्छे हिँडिसकेका थिए । गोइत ड्राइभर र म मात्र थियौँ । एकान्त पारेर उसले मलाई आज राती तिम्रो घरमा आउँछु है भन्यो । म छक्क परेँ । उसले नाना भाँतिका लोभ देखायो । मैले स्वीकृति दिन सकिनँ । मन भारी भयो । घर फर्किएँ । छोरीहरू टुलुटुुलु मेरै बाटो हेरिरहेका रहेछन् । म ढिलो आएकाले काकाले किन ढिलो गरिस् भनेर प्रश्न तेर्साए । मैले मिलमा भीड भएकाले ढिलो भयो भनेर टारेँ ।

खाना खाइवरी काका र छोरीहरू निदाइसकेका थिए । करिब रातको १० वजेको थियो । ढोका कसैले ढक्ढकायो । खोल्दा त उही ड्राइभर पो देखियो । म के गरूँ न कसो गरूँ भएँ । ऊ भित्र पस्यो । म ढोकै नजिक उभिइरहेँ । उसले ढोका लगायो । उसको एउटा हातमा रक्सीको बोतल थियो भने अर्को हातमा कुखुराको काँचो मासु थियो । ऊ पिरा तानेर बस्यो र मलाई पनि बस्न आग्रह गर्यो । मैले अस्विकार गरेँ । त्यहाँबाट निस्किहाल्न अनुरोध पनि गरेँ तर ऊ मानेन । ऊ मेरो रूप रङ्ग र जवानीमा लठ्ठ परिसकेको रहेछ । विन्ती गर्न थाल्यो । मैले गाउँलेहरूलाई हारगुहार गर्छु भनेर धम्क्याएँ । उसले पटक्कै मानेन ।

बेचिनी ! त्यसबेला उसले भनेका कुरा अहिले पनि झल्झली सम्झन्छु । उसले भनेको थियो, “हेर मोहिनी ! तिम्रो मनको अबको राजकुमार मै हुँ । मसँग ती दुईटी श्रीमती भएको देखेर तिमी आत्तिएकी हौली तर डर नमान । त्यो जेठी मभन्दा तीस वर्ष जेठी हो । सम्पत्तिको लोभले ल्याएको थिएँ । अहिले मसँग जे जति सम्पत्ति छ, त्यो त्यसकै कारण हो । त्यो अब चाडै मर्छे, टी.बी. रोगले ग्रसित छे । त्यसले तिमीलाई कुनै डिस्टर्व गर्दिन । अर्की त्यो चण्डाल खालकी छे । त्यसबाट मैले छोराछोरी पनि जम्माएको छैन । त्यसलाई ल्याएको वर्ष सातेक भयो । मनोरञ्जनका निम्ति ल्याएको हुँ । त्यो चुपचाप आफ्नो लगनी गरेर बसी भने बसोस् । त्यसका लागि भिन्नै घर छँदै छ । हैन, हामीलाई डिस्टर्व गर्न थालिछ भने पिटपाटे कम्पनी लगाउन थाल्छु । एउटालाई टिपेर त्यो हिँडिहाल्छे । अनि हुन्न त हाम्रो चैन ।” उसको लामो गन्थन पछि म यही निर्णयमा पुगेँ कि जेठी मरिहाल्छे, कान्छी पोइल हिँडिहाल्छे, ड्राइभरकी श्रीमती म मात्र हुन्छु ।

यस्तै सोचेर त्यो रात मासु पकाएँ । उसले रक्सीसँगै मासु खायो । मलाई पनि खान आग्रह गर्यो । मैले सुरुमा मानिनँ तर विभिन्न हाउभाउका साथ उसले मलाई खुवाइछाड्यो । गफ गर्र्दै खाइयो । काका र छोरीहरू व्युउँझेलान् कि भन्ने त्रास भइरहन्थ्यो । म नखाने मान्छेलाई थोरैले पनि नशा चढिहालेछ । बोल्दा मेरो आवाज ठूलो भइहाल्दो रहेछ । ड्राइभर नै कन्ट्रोल गर्दो रहेछ । त्यस रात खाँदा खाँदै कति खाइयो र कतिखेर सुतियो पत्तै भएन । विहान झलमल्ल घाम लाग्दा पो व्युउँझिएँ । मेरा कपडाहरू ल्याङ्फ्याङ् थिए । मेरो सारा अस्मिताको बलिदान भइसकेको थियो । मेरो चेतन मनले भने गोइत ड्राइभरलाई लुट्न दिएको थिएन । अचेतन मनले भने सर्वस्व दिएछ । ड्राइभरले लुट्नसम्म लुटेर टाप कसेछ ।

धन्न, काका र छोरीहरूले मेरो त्यो अर्धनङ्न अवस्था देखेनन् । विहान मैले नउठाई नउठ्ने उनीहरूको बानी थियो । त्यसैले म जोगिएँ । यो क्रम निरन्तर चलिरह्यो । म नशामा लठिन्थेँ । ऊ के के गथ्र्यो, मेरो अवचेतन मनलाई सब स्वीकार थियो । पछिल्ला दिनहरूमा मलाई त्यति विघ्न नशाले गाँज्दैनथ्यो । चेतन मनले नै यौनभोक तृप्त गरेको महसुस गर्न थालेँ । पछि गर्भ बोकेको थाहा पाएँ । उसले नै विहे गरौँ भन्यो । मलाई निर्णय लिन गाह्रो भयो । छोरीहरूको मुहार हेर्थें, ती अबोध बालिकाहरूलाई कसरी एक्लै छाडेर पोइल जानू ? म विलखबन्दमा परँें । मानसिक द्वन्द्वमा केही समय फसिरहेंँ । काकाले ‘पागल भेनाई निक’ (बहुलाउनु निको) भनेको कुरो सम्झिएँ । अर्थोक गर्ने सामथ्र्य थिएन । म बहुलाएँ भने रामसुरत मण्डलका बाउआमाले छोरीहरू जिम्मा लिन्छन्, घरबारी जिम्मा लिन्छन् र म फुर्सिदिली हुन्छु भन्ने ठहरमा पुगेंँ ।

ड्राइभरसँग सल्लाह गरेँ । ड्राइभरले ‘गुड आइडिया’ भन्दै स्वीकृति दियो । अब भने मेरो कठिन परीक्षाको घडी आयो । कसरी बहुलाएको अभिनय गर्ने भन्ने सोचमा म हरदम डुब्न थालेँ ।

एकदिन योजना मुताविक विहानै झिसमिसेमा उठेँ । शारीरिक रूपमा बहुलाहीको रूप धारण गरेंँ । घरको चारै दिशामा आगो बालेँ । भैँसी र गाई खोलेर कलकलाउँदो गहुँबारीमा हुलिदिएँ । आफू भने टिन ठटाउँदै नाच्न थालेँ । हरेक किसिमका कुराहरू बकेको र टिन ठटाएको आवाजले मान्छेहरू आए । म बौलाएको ठम्याए । सचेत पार्न खोजेंँ । मैले अझ उग्ररूप लिएँ । धामीहरू बोलाइए । कसैले केही ठम्याउन सकेनन् । संयोगले मेरो ड्राइभर पनि नामी धामी थियो । उसलाई डाकियो । सुरुमा आफू आउन नसक्ने वहाना गर्यो । पछि मेरा बाबुआमा र सासूससुराको विनम्र आग्रहलाई स्वीकार्दै ड्राइभर आयो । धामी बस्यो । जोखाना हेर्यो र भन्न थाल्यो, “ई बच्चियाके अल्पायुमे स्वर्गवास भेलाहा श्रीमान् एकर दोसर वियाह होय से चाहत अछि । ई बच्चियाके जल्दी वियाह करादेलासँ मात्र एकर उद्दार होयत, दुःखधन्दा हेैट जायत अछि । नैत देरी भेलै त पूरै जीवन अहिना भ क गुजारा चलाव पड सकैत अछि ।”(यस बालिकेको अल्पायुमा स्वर्गवास भएको श्रीमान्ले अर्को विहे गरोस् भन्ने चाहेको छ । यस बालिकेलाई चाँडै विहे गर्दिए मात्र यसको उद्दार हुन्छ, सेसन्तरहरू हटेर जान्छन् नत्र ढिलो भएमा पूरै जीवन यस्तै भएर गुजारा चलाउनु पर्नेछ ।) यस कुराले सबैलाई चकित तुल्यायो ।

अब मेरो विहेको ढोका खुल्यो । मेरा बुवाआमा र सासूससुराले सरसल्लाह गरे । उनीहरू बाध्य भएर विहे गराइदिने निर्णयमा पुगे । चारैतिर केटा खोजियो । एक त विधुवी अर्कातिर बहुलाही पनि । कोही पनि मसँग विहे गर्न राजी भएनन् । महिना दिनसम्म नभेटेपछि दुवै थरी विलखबन्दमा परे । कुनै विकल्पको बाटो छ कि भनेर पुनः ड्राइभरलाई जोखाना हेराइयो । उसले ढिलो विहे गर्न ढिलो भइसकेको कुरा बताउँदै अगाडि थप्यो, “जेतक बेसी सौतिन होएत, ओतेक वेसी लाभ ई बचियाके भेटत ।” (जति धेरै सौता हुन्छन्, त्यतिकै लाभ यस बालिकेलाई मिल्दछ ।) धामीको कुराले अझ संकट थपियो । त्यस एरियाभरि दुई जोईको पोइ ड्राइभर मात्र थियो । धामी बसिसकेपछि गाउँलेहरूको सभा बस्यो । त्यस सभामा ड्राइभर पनि ससम्मान डाकियो । सभामा कुरा सुरु हुनु पूर्व नै एकजना गाउँलेले मुख खोले, “धेरै सौता हुन सक्ने घर त धामी बाजेको मात्र छ । अब मोहिनीको उद्दार गर्ने काम धामीबाट मात्र हुन्छ । त्यसैले घुमिफिरी धामीकै पोल्टामा गोल छिरिरहेको छ ।” यस कुरामा सबैले सहमति जनाए । यसरी भयो धामी अर्थात् ड्राइभर कुलानन्द गोइतसँग मेरो विहे ।

ड्राइभरले खुशीका साथ मलाई भित्र्यायो । म पनि खुशी नै थिएँ । छोरीहरूको सम्झना आउनासाथ खपिनसक्नुको छटपटी हुन्थ्यो । ड्राइभर सम्झाउँथ्यो । विस्तारै विस्तारै मैले पागलपनको अभिनय कम गर्दै गएँ र दुई महिनापछि सद्दे भएँ । त्यतिञ्जेलसम्ममा मेरो पेट पनि बढिसकेको थियो । छोरो जन्मियो । दुःखले जीवन चल्दै गयो । ड्राइभरसँग जग्गा थिएन । दुईटी स्वास्नी बसिबसी खान्थे । म पनि थपिएपछि अरू सङ्कट थोपरियो । ड्राइभरले एउटा झुप्रो बनाएर मलाई र माइलीलाई अलगै राख्यो । ऊ आफू भने जेठीसँग बस्थ्यो । जेठी कुप्री परेकी थिई । ऊ यौन भोक मेट्न प्रायः मकहाँ आउँथ्यो । कहिलेकाहीँ माइलीकहाँ पनि धाउँदो रहेछ । मेरा प्रत्येक वर्ष जसो गरेर लगातार तीन जना छोरा भए । पछि ल्याप्रोस्कोपी गराएँ । मसँग रस छउन्जेल ड्राइभरले चुस्यो । मन लागी चुस्न पाउँदा आफूले कमाएको केही रकम दिन्थ्यो । पछि त दिनै छाड्यो । बनिबुतो गरेर छोराहरू हुर्काउन थालेँ । सहयोग माग्दा ड्राइभर ‘मङनीपर चडनी तैपर दतखिस्टी’ (आफू त महादेव उतानो टांग कसले देला वर) भनेर मलाई निरास बनाउन थाल्यो । उसको यस्तो चालामालाप्रति रुष्टता देखाउँदा उल्टै रहस्य खोलिदिन्छु भनेर मलाई त्रास देखाइरह्यो । साँच्चै, म बहुलाही भएको कुरा अभिनय मात्र थियो भन्ने अरूले थाहा पाए भने माइती पक्षले समेत मलाई घृणित नजरले हेर्नेछन् भन्ने त्रासले मेरो मनमा डेरा जमायो ।

म बनिबुतो गरेर जेनतेनले जीवन चलाउँदै थिएँ । उल्टै भण्डाफोर गर्दिने कुरा गर्दै ड्राइभर मसँग पैसा चुड्न थाल्यो । केही दिनसम्म त आफूले खाइनखाई जम्मा गरेको पैसा दिएँ । पछि दिन सकिनँ । उसको र मेरो झडपको अवस्था सिर्जना भयो । दुःखबाट आएकी नारीलाई अझ घनघोर दुःखमै जाक्नुपर्छ भन्ने मानसिकता उसमा जन्मिएको ठहरमा पुगेँ ।

आजित भएपछि मैले पनि रिसकै झोँकमा ड्राइभरलाई लोप्पा खुवाउँदै साफ साफ भनिदिए- “अहिले छोराहरू हुर्काउन मद्दत गरेनौ, बुवाको धर्म पालना गरेनौ । नेपाल सरकारले नयाँ कानुन बनाएको छ । सन्तानको परिचयका लागि आमा नै काफी हुने व्यवस्था छ । तिमीलाई म मेरो लोग्ने नै मान्दिन र बुझ यी छोरा पनि तिम्रा होइनन् । मेरा मात्र हुन् । म अर्थात् मोहिनीका मात्र । अब यी छोराहरूको जीवनमा कुनै घडी पनि तिमीजस्तो बुवाको आवश्यकता पर्दैन । आमा नै काफी छे । बच्चाको लागि आमा पहिलो र प्राथमिक सम्बन्ध हो र बुवा त आमाले चिनाइदिएको गौण विषय मात्र हो । तसर्थ आइन्दा मलाई आफ्नी श्रीमतीको रूपमा नहेर्नू । विगतका सम्पूर्ण उठबस बिर्सिदिनू । यसैमा तिम्रो कल्याण छ ।” मेरा कुरा सुनेपछि उसको मुखमा भोटे ताल्चा लाग्यो ।

त्यसपछि जीवन चलाउन मैले किराना पसल थापेँ । त्यसबाट उत्तिसाह्रो प्रगति गर्न सकिनँ । विहान बेलुकाको छाक टार्न पनि धौ-धौ भयो । छोराहरूको उचित स्याहारसुसारको कुरा त परै रह्यो । भोकै मर्नुभन्दा केही गर्नु वेस भन्ठानेर रक्सी बनाउने र बेच्ने काम गर्न थालेँ । सुँगुर पनि पाल्न थालेँ । राम्रो आम्दानी हुन थाल्यो । मुखियाकी छोरी भएर रक्सी बनाउँछे, सुँगुर पाल्छे भनेर अरूहरू नाक खुम्च्याउन थाले । भोकभोकै मर्नुभन्दा सकेको गरेर बाँच्नु नै जाति भनेर जवाफ फर्काउन थालेँ । अहिलेसम्म मेरो गुजारा त्यसैबाट चलिरहेको छ ।

म चारैतिरबाट गलहत्तिएँ । खुट्टा नकमाई कर्मपथमा जुट्न भने छाडिन । छोराहरूको अनुहार हेरेर संसारसँग युद्ध गर्ने साहस आयो । उनीहरूको भोलिको लागि आज म लडिनँ भने क्षमायोग्य रहन्न भन्ने लाग्यो । अहिले मसँग आफ्नै घर छ सुन्दर खालको । समाजले पनि मलाई मान्छेको रूपमा हेरेन । एक विवस नारीको दर्द बुझिदिने कोही भएन । त्यसैले मैले पनि सबैलाई त्यागिदिएँ । छोराहरूको नाम क्रमसः औतारी मनुवा, प्रकाण्ड मनुवा र प्रसाद मनुवा राखेँ र आफूचाहिँ मोहिनी मनुवा भएँ । उनीहरू मध्ये जेठो र माहिलो लेखपढ सिध्याएर आआफ्नो जीविकोपार्जनमा लागेका छन् । कान्छो भने क्याम्पस पढ्दै छ । घरपरिवार चलाउन कामदारहरू छन् । उनीहरूले नै सबै काम गर्छन् । मेरो काम मात्र रेखदेख गर्नु भएको छ । मकहाँ छोरीहरू र नातिनातिनीहरू पनि भेटघाट गर्न बेलाबेलामा आइरहन्छन् । अहिले मसँग सबथोक छ । म परितुष्ट नारी भएकी छु ।

प्यारी बेचिनी, धेरै लामो समयपछि मात्र नरनाथ काकाले ड्राइभरसँग मैले हिमचिम बढाएको कुरा बुझेका थिए । उनले त्यतिबेला त्यो रहस्य खोलिदिएका भए म साँच्चैकी पागल्नी बन्थेँ । मैले उनलाई यो कुरा कसैलाई नभन्नू नि भनेर मीठामीठा खानेकुरा खुवाउने गरेकी थिएँ । जहाँ गुलियो त्यहीँ बच्चा भुलियो भनेझैँ उनी भुलिए । अहिले भने मोहिनीले जात फाली भन्छन् रे । न म उनलाई भेट्छु न उनी नै मलाई भेट्छन् । मेरो अनुहार नै नहेर्ने कसम खाएको कुरा सुन्छु । मलाई भने मेरा प्यारा काकाको मुहार नहेरी भएको छैन । एक समयमा मेरा छोरा भएका तिनलाई भेट्न सकेँ म भन्ने थिएँ- “काका ! मैले तिमीलाई पनि जितेँ । भविष्यवाणी गर्ने मेरा ज्योतिषी बाबुलाई पनि जितेँ । हुँदाहुँदै मैले ड्राइभरलाई पनि जितेँ । मेरो अन्तर्हृदयको इच्छा भने नारीलाई तुच्छ सम्झने साराका सारालाई जित्नेछ ।”

प्यारी संगिनी बेचिनी, मेरो जीवनको एउटा लामो पाटो सुनाएँ । मेरो साँचो जीवन तेरा अगाडि ओछ्याएँ । म समाजको आँखामा गलत हुँदै, अहिले भने सत्यतिर लम्केँ । तँ पनि आफ्नो जीवनको रहस्य आफ्नो पत्रमा खोल्नेछेस् भन्ने अपेक्षा प्रकट गर्दै पत्रान्त गरेँ । धन्यवाद ।

०६७।११।१२

तपेश्वरी-१, गल्फडिया, उदयपुर, मो. नं. ९८४२८२९२०६/९८१४७०००९९

Leave a Reply

Your email address will not be published. Required fields are marked *