घटना २०६५ साल कार्तिक २२ गते शुक्रबारदेखि एक हप्ताभित्रको हो । नेपालबाट ओशो मन्दाकिनी ध्यान केन्द्र, वाराणासी, भारत जानेहरुमा पंक्तिकार सहितको २०, २२ जनाको टोली थियो । त्यो टोलीको नेतृत्व लहानका स्वामी राजुको काँधमा गए पनि अर्का अधोषित नेतृत्वकर्ता थिए..स्वामी पुन्य कार्की । उनी लामो समयदेखि ध्यान, योग, प्रणायाममा लागेका र अनेकन पटक स्वदेश र विदेशका नाना थरिका ध्यान केन्द्र, ध्यान शिविरहरु भ्याएका रहेछन् । मौन साधना शिविरमा फिटिक्कै बोल्न नमिल्ने भएकोले लिखितरुपमै यस पंक्तिकार र स्वामी पुन्य कार्कीबीच लामो वार्तालाप भएको थियो । यत्तिखेर ओशो मौलश्री ध्यान केन्द्र, राजविराजले यही बैशाख २४ गतेदेखि २६ सम्म अनुप दास धर्मशालामा ओशो ध्यान शिविर संचालन ग्रिसकेको छ । प्रेम, ध्यान र उत्सवका निम्ति प्रेमपूर्ण आमन्त्रण गरिएको यस घडीमा साधना शिविरमा हुने क्रियाकलापको र ध्यान, योग, प्रणायामको वारेमा सामान्य भए पनि पाठकवर्गलाई ज्ञान होस् भनी प्रश्नोत्तर शैलीमा वार्तालाप प्रस्तुत गरिएको छ । प्रश्नकर्ता पंक्तिकार र समाधानकर्ता पुन्य कार्की हुन् ।
प्रश्नः—ः घण्टौंघण्टा मौनमा बस्नुपर्दा घरिघरि सकस हुन खोजे पनि यस ओशो मन्दाकिनी ध्यान केन्द्र, वाराणासी, भारतको वातावरण नियाल्दा बडो अपूर्व आनन्द आइरहेछ । यस्तो महसुसका वावजुत मेरो मनमा एकाध जिज्ञाशाहरु तँछाडमछाड गरिरहेछन् । ती जिज्ञाशाहरुले समाधान कसरी भेट्लान् त ? म त हजुरकै सामु प्रश्नको ढेरी लगाउने सुरमा छु ।
पुन्य कार्की—ः निश्चय नै । मनका कुरा खोलेर राख्नुपर्छ । राखौँ समाधानको लागि प्रयत्न गरिन्छ ।
प्रश्नः ध्यान, योग र प्रणायाम भन्नाले के बुभm्नुपर्छ ? स्वामीजीको सुझबुझमा उत्तर पाऊँ ।
स्वामी पुन्य कार्कीःः कुरा योगबाट शुरु गरौं । योगका प्रथम प्रणेता पतञ्जली हुन् । यिनी प्राचीनकालिन संबोधी प्राप्त ऋषि थिए । उनको अष्टांग योग नामको ग्रन्थ र पतञ्जली योग सूत्रमा योगका जम्मा आठ ओटा सिँढीको वर्णन गरिएको छ । (१) यम (२) नियम (३) आसन (४) प्रणायाम (५) प्रत्याहार (६) धारणा (७) ध्यान र (८) समाधी । यी आठै वटा अंगहरुका बेग्लाबेग्लै साधना पद्धतिहरु छन् । यी सबै कुरा बुझ्नलाई ओशोको पतञ्जली योग सूत्र भाग १ देखि ४ सम्म पढ्नुपर्छ । मेरो बुझाइमा ध्यान भनेको निर्विचार मनोदशा हो अर्थात् शून्य विचार आनन्दमा लिन हुनु ध्यान हो । अर्को शब्दमा ध्यान भनेको होसपूर्ण जीवन र होसपूर्ण कृत्य हो । प्रणायाम शब्द प्राण+आयाम मिलेर बनेको छ । प्राण अर्थात् जीवन तत्वको विस्तार प्रणायाम हो । यो श्वास प्रश्वास क्रियासँग सम्बन्धित छ । योगको अर्थ जोडिनु वा जोड्नु हो । आत्मालाई अस्तित्वको परम सत्तासँग जोड्नु नै योग हो ।
प्रश्नः—ः धेरै धेरै धन्यवाद, मलाई संस्मरण वा यात्रा विवरण वा त्यस्तै खाले लेख लेख्न सहयोग पुग्यो । ध्यानमा बस्दा विशेष गरी केमा ध्यान दिनुपर्छ ? कसो गर्दा सही ध्यान हुन्छ ? मैले बुझेअनुसार श्वास लिने र फ्रयाक्ने कुरामा ध्यान केन्द्रीत भयो भने उपयुक्त हुन्छ । मेरो ठम्याइका वावजुत अरु कुरा बताइदिन अनुरोध छ ।
पुन्य कार्कीः—ः पहिलो कुरा त उत्कृष्ट स्रष्टा हुन चाहने व्यक्तिको लागि ध्यान उजार्, उत्प्रेरणा, स्फुरण र ऊर्वरताको खानी नै हो । तपाईँको लेखकीय जीवनमा यस्ता अनगिन्ती सुन्दर ठाउँहरुको असिम अनुभूति आर्जनका संयोगहरु त्यस्ता अनुपम अवसरहरु मिल्दै जान्छन् । यदि तपाईँले ध्यानी, ज्ञानी र काव्य चेतनालेयुक्त स्रष्टा बन्छु भन्ने संकल्प लिएर साधना पथमा डुबुल्की लाउनु भयो भने । ध्यानमा बस्दा कुनै कुरा नसोच्ने, कुनै विचार नगर्ने, कुनै कुराको चाहना, कामना नगर्ने । सिर्फ श्वासप्रश्वासको आउने जाने प्रक्रियामा साक्षी भएर हेर्दै जाने, हेर्दै जाने, हेर्दै जाने । आखिर एउटा क्षणमा पुगेपछि तपाईँ निर्विचार साक्षीभावलाई समात्न सक्नुहुन्छ । अनि असिमताको अनुभूति हुन थाल्छ । त्यसपछि घट्ने घटनाहरु विचित्र, विचित्र किसिमका पनि हुन सक्छन् । यो आफैले प्रयोग गरेर हेर्ने हो ।
प्रश्न—ः ः हामीलाई ध्यानको प्रशिक्षण दिने गुरु घरिघरि भगवान् ने कहा हैं, भगवान् कहतें हैं जस्ता पदावलीको प्रयोग गर्नुहुन्छ । उहाँले भन्ने गरेको भगवान्को नाम के होला ? हिजै सिकेको र उस्तै ध्यान पटकपटक गर्नुपर्छ । प्रशिक्षणमा त हरेक खाले ध्यान गर्ने विधि उदाहरणस्वरुप सिकाउँदै लग्नुपर्ने होइन र ? मैले मनको गाँठो खोंलेँ, उपयुक्त जवाफ पाएमा मनको मैलो हट्ने थियो ।
पुन्य कार्कीः—ः ओशोको वाल्यकालको नाम रजनिशचन्द्र मोहन थियो । उहाँ सागर विश्वविद्यालयमा प्रोफेसर रहुँञ्जेल उहाँका शिष्य लगायत सम्पूर्ण व्यक्तिहरुले उहाँलाई आचार्यश्री नामले पुकारे । जब विश्वविद्यालयमा प्रोफेसर पदबाट राजीनामा गरेर ध्यान सिकाउन थाल्नुभयो अनि भगवान्श्री रजनिसको रुपमा संसारभरि परिचित भयो । सन् १९८९ बाट त्यो नाम पनि हटाइयो र ओशो नामले संसारभर परिचित हुनुभयो । भगवान्श्री भन्नाले ओशोलाई बुझ्नुपर्छ । हामीले विपस्ना ध्यान, निश्चल ध्यान, अनापान सतिपान सतियोग ध्यान गरी तीन खालका ध्यान मात्र गरिरहेका छौँ। हरेक ध्यान शिविरमा अलग अलग खालका ध्यान सिकाइन्छ । एउटै शिविरमा ११२ ध्यान सिकाउनु सम्भव पनि छैन । किताब पढेर कतिपय विधिलाई आफै पनि प्रयोग गर्न सकिन्छ ।
प्रश्नः—ः मौन व्रत पनि काइदाको व्रत रहेछ । लेखनलाई उर्जाशील बनाउने मजस्ता धेरैको जीवनको धोको हुन्छ । तर गहन कुरालाई गहन शैलीमा अभिव्यक्त गर्ने कला छैन भने उद्देश्यमा नपुगिएला कि ? ध्यानबाटै कला जन्माउने सोच लिँदा अन्यथा त नहोला । के सम्भव होला र ?
पुन्य कार्की—ः ः तपाईँ ध्यान र ओशो साहित्यलाई साथसाथै अघि बढाउनुस्, तपाईँको लेखनकला ओजपूर्ण, प्रसादपूर्ण र माधुर्यपूर्ण हुँदै जान्छ ।
प्रश्नः—ः संसारका विरोध संन्यास नही हैं, संसारकी सुद्धी संन्यास हैं भनेर ओशोले भन्नुभएको रहेछ । संन्यास लिन के कस्ता विधि विधानमा रहनुपर्छ ? के कस्ता कुराहरु अपनाउनुपर्छ ?
पुन्य कार्कीः—ः यसमा अपनाउनुपर्ने कुरा केही छैन । अपनाउनुबाट मुक्त मनोदशाको नाम नै सन्यास हो ।
प्रश्न—ः व्यवहारिक जीवन नवाँचे साध्य छैन । २४ घण्टामा एकाध घण्टा त ध्यान, योग, प्रणायाममा दिन सकिएला । के यसो गर्दा सन्यासको माला मान बच्छ त ?
पुन्य कार्की—ः ः गुरुले पनि तिमी बढी समय दिन सक्तदैनौ भने २४ घण्टामा एक घण्टा (विहान, राति, साँझ) जुन समय भए पनि ध्यानमा लगाऊ जीवनको सार्थकता भेटिनेछ भन्नुभएको छ । तपाईँले जुन संकल्प गर्नु भएको छ, सायद त्यो संकल्प गुरुले पुर्याउनुहुन्छ ।
प्रश्नः—ः धेरै धेरै धन्यवाद स्वामीजी, मौनव्रतको यस मनोविनोदमय क्षणमा अक्षरहरुमार्फत् कुरा गर्न पाउँदा अति नै हर्षित छु । जीवनमा नाच्न नजान्नेहरुलाई नाच्न सिकाउने मात्र होइन, बाँच्ने कला समेत यस्ता ध्यान शिविरहरुमा सिकिने रहेछ । तर मैले यहाँ मैले भन्न चाहेको कुरा के हो भने हाम्रो शरीर स्वस्थ राख्न अति नै आवश्यक पर्ने ध्यान चाहिँ कुन कुन हुन् ? ११२ वटा ध्यान सिकेर र अपनाएर पनि साध्य छैन क्यारे।
पुन्य कार्कीः—ः शरीर स्वस्थ राख्न विहान सक्रिय ध्यान (डाइनामिक मेडिटेशन) र वेलुकी कुण्डलीनी ध्यान गर्नु उत्तम हुन्छ ।
प्रश्नः—ः होस नै पुण्य र बेहोसी नै पाप भन्ने कुरा ओशोले भन्नुभएको रहेछ । यसलाई अझ खुलस्तरुपमा के भनेर बुझ्ने ?
पुन्य कार्कीः—ः सद्गुरु ओशोले होस नै पुण्य र बेहोसी नै पाप भन्नुभएको कुरा उहाँले धेरै पुस्तकहरुमा यसको वारेमा सविस्तार व्याख्या गर्नुभएको छ । ती पुस्तक पढेपछि छर्लंग हुनेछ । मेरो छोटो बुझाइमा होस भनेको ध्यानको अर्को नाम हो । त्यसैले पनि झुक्किएर पनि अरुलाई दुख पुग्ने, चोट पुग्ने काम गर्नुहुन्न । होस या नि कि ध्यानमा रहने मान्छेका हरेक कर्महरु पुण्य (मानव कल्याण, पशुपंक्षीको कल्याण)सँग गाँसिएका हुन्छन् । जो व्यक्ति वेहोसमा रहन्छ, वेहोसमा रहनेले जानअन्जान वस् अरुलाई पीडा पुग्ने काम गरिरहेको हुन्छ । यसले गर्दा ऊ पापपूर्ण कृत्यमा संलग्न भएको हुन्छ ।
प्रश्नः—ः मननीय एवं चित्त बुझ्दो जवाफका लागि धन्यवाद । गुरुभक्तिको उत्कृष्ट नमुना यस ध्यान शिविरमा अनुभूति गर्न पाइयो । आजको यस भड्किलो र अहम्ताले गाँजेको युगमा पनि गुरुको पाउमा परी श्रद्धा प्रकट गर्ने सहभागी साधकहरुको आचरणलाई नियाल्दा मन गद्गद् भएको छ । मान्छेको नैतिकता र आदर्शलाई यस खाले शिविरले जगाउने र ज्यूँदै राख्ने काम गर्दो रहेछ । जीवनको सारतत्व पहिल्याउन शिष्यले गुरुभक्ति दर्शाउनु हिजो पनि आवश्यक थियो, आज पनि छ र भोलि पनि हुनेछ । यहाँको ठम्याइ ?
पुन्य कार्कीः—ः गुरुभक्ति सम्बन्धमा यहाँको ठम्याइ एकदमै ठीक छ । गुरुप्रति आस्था र श्रद्धाभाव जाग्यो भने मात्र साधनाले त्वरित गति हाासिल गर्छ । त्यसैले शंका, सन्देह, अविश्वासले गरेको कुरा तलमा परिणाममुखी हुँदैन । ध्यानले सुखद परिणाम दिएपछि श्रद्धा झन बढ्ने रहेछ । यहाँका साधकहरुको शैली पनि नियालिरहनुभएको छ, हैन र ? सबै योगी, ऋषिमुनि गण र बुद्ध पुरुषले दिएको देशना र साधना पद्धतिको सार तत्व एउटै हो । नाभिकेन्द्रमा आत्माको वासस्थान रहन्छ । त्यसैलाई उद्दिप्त पार्ने अर्थात् निष्कृय उर्जालाई जगाएर आरोग्य, आनन्द र अमृतमय जीवन पथमा मानिसलाई हिँडाउने काम गर्छ ।
प्रश्नः—ः ध्यान गर्दा मनमा विचार नै आउँदैन । विचार शून्य अवस्था केही समय रहेमा नौलो विचार जन्मन्छ भनेको हो या अरु कुनै कुरो छ ?
पुन्य कार्कीः—ः निर्विचार अवस्था अर्थात् अकम्प चैतन्य साक्षित्वमा नै चीर नूतन अलौकिक तथा असीम विचारहरुको प्रष्फुटन हुन्छ । पुरानो मनमा खेल्ने त्यसमा पैदा हुने विचार मौलिक हुँदैनन् । ती त पुनरावृति भएर आएका घैलामैला स्वरुपका हुन्छन् ।
प्रश्नः—ः समाधि उपवन भन्नाले सरल तवरले कसरी बुझ्ने ?
पुन्य कार्की—ः ः समाधिलाई २ तरिकाले व्याख्या गर्न सकिन्छ । समाधिको एउटा अर्थ योगको आखिरी अवस्था अर्थात् यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधिमध्ये एक हो । समाधि ध्यानको आखिरी अवस्था हो । समाधिको चरम अवस्थामा मानिस पूर्ण अमनी अवस्था, आनन्दको अत्याधिक अवस्थामा पुग्दछ । समाधिको अर्को अर्थ जीवनको अन्त्य अर्थात् मृत्युलाई पनि चीर समाधि भनिन्छ । त्यसैले मृतकलाई गाडिएको ठाउँलाई समाधिस्थल भनिन्छ ।
प्रश्नः—ः ध्यानसाधनाकै क्रममा साधकहरु विचित्र प्रकारले रुनु र हाँस्नुको प्रयोजन बारे खुलस्त पार्दिनु हुन्छ कि ?
पुन्य कार्कीः—ः ध्यानको गहनता सघन हुँदै गएपछि आन्तरिक जगत्मा निकै आश्चर्यजनक र अद्भूत रमाइला घटनाहरु घट्छन् । कसैलाई रोदन भाव त कसैलाई हाँस्य भावले समात्ने गर्छ । ध्यानमा त्यस्तो घटना घट्नुलाई शुभसंकेत पनि मानिन्छ । कसैमा तीव्र अनुग्रहको भाव आउँछ । कसैमा तरल संवेदना चढ्छ । कसैमा सिर्जन तरंगले छोप्छ । कसैमा कर्मलीनताको भाव आउँछ त कसैमा प्रेम भाव उदय हुन्छ । जुन भाव घटित हुन्छ त्यसलाई निर्वाधरुपमा बग्न दिनुपर्छ । रोदन हुनुको पछाडि अस्तित्वप्रति अहो भाव हुनु हो । यसले मान्छेभित्रको तीव्र संवेदनालाई उकास्छ । ध्यानले मान्छेको कठोर दिललाई अत्यन्त नाजुक, कोमल र तरल बनाउँछ जुन आँसु बनेर पोखिनु वाहेक अर्को विकल्प हुन्न।
प्रश्न—ः ः ह्दयको कलम चलाउनका निम्ति ध्यानले कसरी भूमिका खेल्छ ? ठूला लेखकहरु प्रायः ध्यान गर्छन् भनेको सुनेको छु । ध्यानले नै ज्ञान दिन्छ र ?
पुन्य कार्कीः—ः ध्यानले तपाईंभित्रको संवेदनालाई, कोमलतालाई र सृजनात्मकतालाई मात्र विकास गर्न सहयोग पुर्याउँछ । बाँकी रह्यो अध्ययन गर्ने, मनन गर्ने, विश्लेषण, विवेचना, चिन्तन गर्ने कुरोमा त एउटा लेखक जति व्यापक आयामबाट साधनारत् हुनुपर्ने त छँदै छ । ध्यानको मतलव अध्ययन नै गर्नु पर्दैन, आफै हुरुरुरु आइहाल्छ भन्नु नितान्त अवैज्ञानिक, अवस्तुवादी र एकांकी सोच हो । ओशो एकै रातमा सय सय थान किताब पढ्नुहुन्थ्यो । ज्ञानको लागि, जानकारीका लागि त पढ्नैपर्छ। ध्यानले त विवेक र प्रज्ञा, समझ र संवेदना बढाउने मात्र हो । ज्ञानको लागि, सूचना लागि, शैली र शब्द ज्ञानको लागि त गहन अध्ययनलाई अंगाल्नैपर्छ । तपाईं नियमित ध्यान गर्नुस् अनि लेख्दै पनि जानुस् तपाईंको हिजो र आजको लेखनको गुणवक्तामा, अध्ययनको गुणवक्तामा निश्चय नै फरक आउँछ ।
प्रश्न—ः ः पढेका कुरा स्मरणमा राखिराख्न ध्यानले कसरी मद्दत पुर्याउँछ ?
पुन्य कार्कीः—ः ध्यानले स्मरण शक्ति अवश्य नै बढाउँछ । पश्चिमी मुलुकमा त बच्चाहरुको स्मरण शक्ति बढाउनको लागि केटाकेटीलाई योगध्यान गराउने परिपाटीको विकास हुन थालेको छ । ध्यान र स्मरण शक्तिको वारेमा सिधासिधा अन्योन्याश्रित सम्बन्ध छ । हाल आएर वैज्ञानिकहरुले पनि प्रमाणित गरिसकेका छन् । ध्यानले स्मरणशक्तिलाई मजबुत पार्छ । बाँकी रह्यो कुन ध्यानले स्मरणशक्ति बढाउँछ भन्ने कुरामा । मैले त्यति विधिहरु प्रयोग गर्न सकेको छैन । स्मरणशक्ति बढाउने साधनासूत्रहरु भैरबविज्ञान तन्त्र सूत्र भागः१ देखि ५ सम्मका ग्रन्थहरुमा समेटिएका छन् । त्यसलाई अध्ययन गरेर प्रयोगमा ल्याउन सकिन्छ । ध्यानबाट त अतितका कुरा पूरै स्मरण गर्दै गर्दै गर्भावस्थाका घटना पनि बताउन सक्ने समझको विकास हुन्छ रे । बुद्धले आफ्नो ५० औं जुनीको वारेमा बताएका कुराहरु र ओशोले आफ्नो अघिल्लो जुनीको वारेमा गरेको वर्णनले मानिसले आफ्नो अतितका कुराहरु थाहा पाउन सक्छ भन्ने कुराहरुको ज्ञात हुन्छ । पढेका कुराहरु विर्सनु भनेको चेतन खण्डमा रहेका कुरा अचेतन खण्डमा गएर छोपिनु हो । ध्यानले त्यही अचेतन मस्तिष्कलाई साधनाबाट उदांगो बनाइदिन्छ । जसले गर्दा विस्मृतिमा पुरिएका कुराहरु बाहिर आउँछन् ।
२०६५ पुस ५ गते ओशो ध्यान केन्द्र, लहानमा भएको शिविरमा सहभागी भएका साधक पुन्य कार्कीसँग भएको छोटो लिखित भलाकुसारीलाई पनि यहाँ पाठकका निम्ति प्रस्तुत गर्नु श्रेयष्कर ठानेको छु ।
प्रश्नः—ः रजनिस (ओशो) संसार हो र तपाईं स्व हो । स्व मा समाधान नभएसम्म संसारमा समाधान हुन्न भन्ने योगी डा. विकाशानन्दको कथनप्रति यहाँको दृष्टिकोण कस्तो छ ?
पुन्य कार्कीः—ः तपाईंको जीवनको मूल समस्या बाहिरबाटभन्दा तपाईंभित्रैबाट पैदा भएको हुन्छ । समस्या जहाँबाट जन्म्यो समाधान पनि त्यहींभित्र रहेको हुन्छ । त्यसैले आफूलाई, आफ्नो स्वभावलाई, आफ्नो क्षमता र प्रवृत्तिलाई सही ढंगले बुझ्न सक्नुभयो भने तपाईं समस्याबाट पार पाउन सक्नुहुन्छ । त्यसैले मूल वस्तु नै तपाईँ हो । ओशो त माध्यम मात्र हुनुहुन्छ । तपाईंको जीवनमा ओशोले बाटो दिनुहुन्छ, हिंड्ने काम त यात्रुको हो ।
प्रश्नः—ः ओशो अमेरिकाको ओरेगन भन्ने ठाउँको अर्ध बाँझो विशाल भूभागलाई ओशोले चार वर्ष भित्रमा स्वर्गतुल्य (अति उत्तम) ठाउँ बनाउँनुभयो रे । त्यहाँ ५ हजार मान्छे एउटै घरमा बसेर खाने, सबै मिलेर परिस्थिति अनुरुप काम गर्ने गर्थे रे । हरेक व्यक्तिलाई आ आफ्नै किसिमको काम सुम्पेको थियो रे । त्यहाँ भएका कुनै घरमा पनि ताल्चा मारेको पाइन्नथ्यो रे । यो कसरी सम्भव भयो होला ? के यस्तो कम्युन पद्धति हामीकहाँ पनि सम्भव छ ?
पुन्य कार्कीः—ः स्वामी ज्ञानभेदको फक्कड मसिहा ओशो भन्ने किताबको खण्ड ८ पढ्नुभयो भने ओशोले अमेरिकामा के के चमत्कारिक काम गर्नुभयो र आखिरमा तत्कालिन अमेरिकी राष्ट्रपति रोनाल्डरेगन ओशोलाई गिरफ्तार गरेर उहाँले सिर्जना गरेको कम्युनलाई ध्वस्त गरेर देश निकाला गर्यो । यी घटनालाई एक एक गरेर सूक्ष्म रुपमा बुझ्न सक्नुहुन्छ । म यहाँ यत्ति मात्र भनूँ, संसारको सबभन्दा ठूलो साम्यवादी (कम्युनिष्ट) सिद्धान्तलाई व्यवहारमै कम्युनको रुपमा प्रयोग गर्ने व्यक्ति चाहिँ ओशो मात्र हुनुहुन्छ । माक्र्स, लेलिन र माओ पनि क्म्युन (सामुहिक जीवनयापन) लाई सही ढंगले प्रयो गर्न सकेनन् ।
प्रश्न—ः ः इनलाइटमेण्ट भन्नाले के बुझने ? यो कसरी सम्भव हुन्छ ? इनलाइटमेण्ट प्राप्त गर्ने व्यक्तिहरु को को हुन् ?
पुन्य कार्कीः—ः इनलाइटमेण्ट भन्नाले नेपाली भाषामा संवोधि प्राप्त, वोधिसत्व प्राप्त वा बुद्धत्व प्राप्त व्यक्ति भन्ने बुझनुपर्छ । बुद्ध, लाउत्सु, महावीर, कृष्ण, कवीर, ईशु, महोम्मद, गुरु नानक, ओशो सबै संवोधि प्राप्त, वोधिसत्व प्राप्त वा बुद्धत्व प्राप्त व्यक्ति थिए । इनलाइटमेण्ट व्यक्ति भनेको स्वयम् प्रकाशित व्यक्ति हुन् । इनलाइटमेण्टको संभावना हरेक व्यक्तिभित्र हुन्छ । यसका लागि गहन साधनाको जरुरी हुन्छ ।
प्रश्नः—ः गुरु ओशोलाई धनाढ्यका गुरु भनेर आलोचना गरेको पाइन्छ नि ?
पुन्य कार्की—ः ः ओशोले धनको सार्थक काममा उपयोग गर्नुभयो । धनको दास हुनुभएन । जीवनमा गोजी भएको लुगा नै लाउनुभएन । जीवनको पछिल्लो समयमा करिव करिव पैसा नै छुनुभएन । उहाँका वारेमा यस्ता आश्चर्य लाग्ने अनगिन्ती कुराहरु छन् ।
प्रश्नः—ः अमेरिकाले त ओशोलाई थेलिएम नामको स्लो प्वाइजन खुवाएर उहाँको भौतिक शरीरलाई नाश गरेछ । ओशो साहित्य, ओशो दर्शनलाई पनि कुल्चने प्रयास गरेको थियो कि ?
स्वामी पुन्य कार्कीः अमेरिकाको एउटै डर ओशोले कम्युन प्रणालीलाई अमेरिकाभरि फैलाउने भयो, यो कम्युनिष्टको एजेन्ट हो भन्ने थियो । तत्कालिन रुसमा कम्युनिष्ट शासन थियो । त्यत्तिखेर रुस र सोभियत संघबीच कोल्ड वार चलेको थियो । त्यसकारणले अमेरिकाले रुसी कम्युनिष्टको एजेन्ट (रुसी गुप्तचर संस्थाको एजेण्ट) हो भनेर ओशोलाई नष्ट गर्न खोजेको हो ।
प्रश्नः ओशोले धर्म र धर्मग्रन्थहरुका विविध खाले पाखण्ड प्रवृतिको भण्डाफोर गर्दिएकाले उनीहरु ओशोदेखि रुष्ट भए । अमेरिका, वेलायत, स्वीस, ग्रीस लगायतका प्रजातन्त्रवादी देशहरुले ओशोलाई दुत्कारेछन् । राजनेता र देश नै ओशोमाथि खनिनुको कारण के हो ? ओशो र ओशो दर्शनको कुन पक्ष उनीहरुका लागि घातक थियो ?
पुन्य कार्कीः—ः ओशोले धर्मभिरु पाखण्डको मात्र पर्दाफास गर्नुभएन । राजनीतिको नाममा, धर्मको नाममा, जात र सम्प्रदायको नाममा ढोंग, आडम्बर, पाखण्ड, शोषण, उत्पीडन र विभेदको विरुद्ध अग्नी वर्षा गर्नुभयो । त्यसको विकल्पमा नयाँ मनुष्यको कल्पना गर्नुभयो । त्यसकारण रुढिविचारमा चलेका धार्मिक जनदेखि राजनेता समेत रुष्ट भए ।
प्रश्नः—ः आखिरमा ओशो साहित्य, ओशो दर्शन के हो त ?
पुन्य कार्कीः—ः ओशोले आफ्नो विचारलाई राजनीति, धर्म, सम्प्रदाय सिद्धान्त, दर्शन वादको आदिको रुपमा अस्विकार गर्नुभएको छ । उहाँले आफ्नो विचारलाई रुपान्तरणको विज्ञान मात्र भन्नुभएको छ ।
-नन्दलाल आचार्य
तपेश्वरी-१,गल्फडिया,उदयपुर
